ब्लग


सीले किन भने २०२० असामान्य वर्ष?

सीले किन भने २०२० असामान्य वर्ष?

चेतनाथ आचार्य
पुस १७, २०७७ शुक्रबार ५:२६,

‘सन् २०२० एक असामान्य वर्ष रह्यो।’

चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२० को अन्तिम दिन डिसेम्बर ३१ तारिख साँझ चिनियाँ संचारमाध्यममार्फत नयाँ वर्ष सन् २०२१ को शुभकामना दिँदा सुरु गरेको पहिलो वाक्य हो यो।

चिनियाँ राष्ट्रपति सीले भने जस्तै विश्वका तमाम मानिसले सन् २०२० लाई असामान्य वर्षका रुपमा गणना गरिरहेका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले सन् २०२० लाई असामान्य बनाएको हो। तर, चिनियाँ राष्ट्रपति सीले भन्न खोजेको कुरा चाहिँ कोरोना महामारी मात्र होइन, अन्य थुप्रै कुरा लुकेका छन् ‘यो असामान्य वर्ष’ का पछाडि।

दुःख, पीडा र द्वन्द्व मात्र होइन ती दुःखबाट प्राप्त उपलब्धिले पनि सामान्यलाई असामान्य बनाएको छ। कोरोना महामारीका बाबजुद् सन् २०२० मा उल्लेख्य उपलब्धि प्राप्त गर्ने देशमा साय चीन थोरै देशहरूमध्ये पर्छ। शुभकामना सन्देशमा चिनियाँ राष्ट्रपति सीले मुख्य रुपमा चीनका तीनवटा उपलब्धि औँल्याएका छन्। पहिलो उपलब्धि गरिबी निवारण, दोस्रो उपलब्धि महामारीको घनचक्कमार पनि चीनको आर्थिक वृद्धि र तेस्रो उपलब्धि अन्तरिक्ष क्षेत्रमा चीनले प्राप्त गरेको सफलता।

सीले असमान्य भनेर व्याख्या गर्दै औँल्याएका छन्, ‘हामीले आकस्मिक आक्रान्त कोभिड–१९ महामारीको समयमा जनताको जीवन र स्वास्थ्यलाई प्राथमिकतामा राखेर ऐक्यबद्ध भएर महामारी विरुद्धको इतिहास लेखेका छौँ, यसबाट मानव जातिले महान् माया देखाएका छन्।’

अन्य कतिपय देशका शासक र चिनियाँ शासकबीचको मुख्य भिन्नता नै यही हो। चिनियाँ नेताहरु सधैँ जनताका निम्ति काम गर्छन्। उनीहरु जनतालाई केन्द्रमा राख्छन् र पहिलो प्राथमिकता जनतालाई दिन्छन्। जनताको जीवन र स्वास्थ्य जोगाउने कुरालाई प्राथमिकता दिएरै चीनले चालु वर्षको सुरुमा कोरोना महामारी देखिएको हुपेई प्रान्तको वुहान र आसपासका क्षेत्रमा ७६ दिनसम्म लकडाउन गरेको थियो। जनताको जीवन र स्वास्थ्य बचाउनका लागि चीनले लकडाउन गर्दा पश्चिमा शक्ति र संचारजगत चीनले मानव अधिकार हनन गरेको भन्दै चीनमाथि हिलो छ्याप्न व्यस्त थियो। समयको परिवर्तनसँगै प्रभावकारी रुपमा चीनले महामारी नियन्त्रण गर्न सफल भयो भने बाँकी विश्व कोरोना नियन्त्रण गर्न नसकेर चीनतिर आशाको नजर फ्याँकिरहेको छ।

अमेरिकी गठबन्धनमा रहेका युरोपेली केही मुलुक र अष्ट्रेलिया लगायतका केही देशहरुले कोरोना महामारीलाई एकतावद्ध भएर नियन्त्रण गर्नुको सट्टा राजनीतिक पूर्वाग्रहका आधारमा लगातार चीनमाथि गालीगलौज र आरोप लगाउन व्यस्त रहे। तर चीनले चाहिँ खुरुखुरु महामारी नियन्त्रण गरिरह्यो र चीनमा नियन्त्रण गरिसकेपछि अन्य देशलाई सहयोग गर्न थाल्यो। यो कुरा चिनियाँ राष्ट्रपति सीले आफ्नो शुभकामना सन्देशमा निकै गहन ढङ्गबाट प्रस्तुत गरेका छन्।

महामारी विरुद्ध युद्धमा सहभागी हरेक जनतालाई महान् भन्दै कठिन घडीलाई चीनले जितेकोमा आफूलाई गौरव लागेको उनले व्यक्त गरेका छन्। कठिनाइले मान्छेमा उत्साह थप्ने र कठिनाइले नै उपलब्धि हासिल हुने कुरा प्रमाणित भएको उनले औँल्याएका छन्।

कोरोनाका कारण अब चीन उठ्नै सक्दैन भनेर धेरै देशहरुले अड्कल काटेका थिए। कतिपय पश्चिमा संचार जगतले त चीनको राजनीतिक प्रणाली भत्कने भन्दै विश्लेषण पनि गरेका थिए। तर महामारीलाई छोटो समयमै नियन्त्रण गरेर आर्थिक उत्थानमा चीन लागिसकेको छ। सन् २०२० मा आर्थिक वृद्धि हुने अर्थतन्त्रमा चीन परेको कुरा उल्लेख गर्दै राष्ट्रपति सीले उक्त कुरा उल्लेख गरेका हुन्। उनले भनेका छन्‘, ‘सन् २०२० मा चीनले महामारीको नकारात्मक असरको सामना गर्दै रोकथाम र नियन्त्रण गर्नुका साथै आर्थिक सामाजिक विकासमा विशाल उपलब्धि हासिल गरेका छ।’

साँच्चै यस्तो कठिन घडीमा पनि चीनले समुल रुपमा गरिबी निवारण जस्तो महत्वाकांक्षी कार्यक्रमलाई सफल बनाएको छ। कोरोना महामारीसँगै चीनमा बाढी पहिरोबाट ठूलो क्षति पुगेको थियो। महामारिले थला बसाएको आर्थिक क्षेत्रसँगै प्राकृतिक प्रकोपमा राज्यशक्ति केन्द्रित हुँदा पनि चीनले समुल रुपमा गरिबी निवारणलाई सफल बनायो। आफूले सन् २०२० मा १३ वटा प्रान्त, सहर तथा क्षेत्रको निरीक्षण गरेर प्राकृतिक प्रकोपसँग जुट्ने सबैको मिहिनेत देखेको राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गरेका छन्। गरिबी निवारणका लागि आफैँ १४ वटा अति गरिबी क्षेत्रमा पुगेर जनताको दुःखलाई नजिकैबाट नियालेको भन्दै गरिबी निवारण युद्धमा पनि निर्णायक बिजय प्राप्त गरेको कुरालाई उनले कठिन घडीको सबैभन्दा ठूलो उपलब्धि भनेर औँल्याएका छन्।

आफू सत्तामा आएको ८ वर्षदेखिको अथक प्रयासपछि वर्तमान मापदण्डमा लगभग १० करोड ग्रामीण गरिब जनसंख्यालाई मुक्त पारेको घोषणा गर्दै ८३२ वटा गरिब जिल्लाहरू पनि गरिबीबाट मुक्त भएको बताएका छन्। चीनको आर्थिक विकासको आँखी झ्यालका रुपमा रहेका सनचन र शाङहाईको फुतोङको उल्लेख गर्दै सी चिनफिङले चीनले निकट भविष्यमा थुप्रै सनचन र फुतोङ बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। सन् २०२० मै सनचन खुला विशेष आर्थिक क्षेत्र स्थापनाको चालीसौँ वर्ष मनाएको छ भने शाङहाईको फुतोङ खुला भएको तीसौँ वार्षिकोत्सव मनाएको छ। युरोपेली मुलुकहरुले एक सय वर्षको अवधिमा गर्न नसकेको विकास सनचनले चालीस वर्षमा गरेर देखाएको छ। चिनियाँ राष्ट्रपति सीले यी दुई क्षेत्रको नाम लिएर चीनको सुधार र खुलापन अझै अगाडि बढ्ने संकेत गरेका हुन्। सनचन र शाङहाई चिनियाँ विकासका क्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्ने आँखी झ्याल हुन्। यी दुई क्षेत्रले सुधार तथा खुलापनको विकासमा चीनले चमत्कार सिर्जना गरेको र भविष्यमा सुधार तथा खुलापनलाई गहन रूपमा विस्तार गर्दै सनचन र शाङहाईको विकास जस्तै अझ बढी क्षेत्रको विकास गरेर उपलब्धि हासिल गर्दै जाने उद्घोष गरेका छन्।

चिनियाँ राष्ट्रपति सीले आफ्नो शुभकामना सन्देशमा चिनियाँ जनतालाई मात्र होइन विश्वलाई पनि महत्वपूर्ण सन्देश दिएका छन्। उनले भनेका छन्, ‘सही बाटो रोज्नुपर्छ र एक्लै हिँड्नु हुँदैन। विश्वमा रहेका हामी सबै एकै परिवार हौँ। बिगत एक वर्षमा कठिनाइ पार गरेपछि हामी मानवजातिको संयुक्त भाग्य समुदायको गहन र वास्तविक अर्थबारे पहिलेभन्दा अझ स्पष्टसँग बुझिसकेका छौं।’

सीले यो सन्देश अमेरिकी राजनीतिक नेतृत्वलाई पनि दिएका हुन्। पछिल्लो समय अमेरिका विश्व जलवायु परिवर्तन, विश्व व्यापार संगठन, विश्व स्वास्थ्य संगठन जस्ता अन्तर्राष्ट्रिय सहकार्यबाट बाहिरिँदै गएको छ र ती क्षेत्रमा चीनको लगानी, प्रतिवद्धता, योगदान र उपस्थिति बढ्दै गएको छ। अमेरिका र उसका गठबन्धन मुलुकहरुले चाहिँ आफ्नो त्रुटी ढाकछोप गर्नका लागि चीनमाथि निरन्तर दोष लगाउँदै आएका छन्। चीनले चाहिँ अगल भएर होइन एकतावद्ध भएर साझा समस्याका विरुद्ध लड्नुपर्ने कुरा बारम्बार उठाउँदै आएको छ।

नयाँ वर्ष सन् २०२१ चीनका लागि अझै महत्वपूर्ण वर्षका रुपमा रहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी स्थापित भएको एक सय वर्ष पुगेको यो अवसरलाई चीनले महत्वपूर्ण खुड्किलाका रुपमा हेरेको छ। राष्ट्रपति सीले भनेका छन्, ‘शाङहाईस्थित सखुमनदेखि च्यासिङस्थित नान हु तालसम्म जनता र राष्ट्रको आशा बोकेर ती स-साना राता डुँगाहरूमा बसेका चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूले खतरनाक प्रवाहमा चीन स्थिरताका साथ अघि बढ्दै जाने यात्रामा पथ–प्रदर्शन गरिरहेका छन्। अहिले ती ससाना डुँगाहरू विशाल जहाजको रूपमा परिणत भएका छन्।’

सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना हुँदा शाङहाईमा यसको पहिलो सम्मेलन भएको कुरालाई सीले साना राता डुङ्गा भनेर उल्लेख गरेका हुन्। एक सय वर्षको अवधिमा ती साना डुङ्गाहरु विशाल जहाज बनेको भनेर चिनियाँ विकास र विश्वमा चीनले पुर्‍याएको सहयोगलाई उनले औँल्याएका हुन्।

कोरोना महामारी, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप, अमेरिकासँगको व्यापार युद्ध जस्ता वृहत्तर समस्या र अल्झनका बीचमा पनि चीनले पाएको उपलब्धिलाई असामान्य वर्षमा प्राप्त गरेको असामान्य उपलब्धि मान्नुपर्छ। यी उपलब्धिका पछाडि चीनको शासन व्यवस्था, चिनियाँ सफल नेतृत्व, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको मिहिनेतले अहं भूमिका खेलेको छ।

चीनका राष्ट्रपतिले सन् २०२० लाई असामान्य वर्ष भनेका छन्। यसको मतलव अबको समयलाई चीनले सामान्य बनाउनेछ। असामान्य समय त यत्तिका उपलब्धि प्राप्त गर्न चीन सफल भएको छ भने आगामी समयमा त उसले थप कायापलट गर्ने संभावना टड्कारो छ।

हामी नेपालीका लागि पनि सन् २०२० असामान्य वर्ष रहन गयो। असामान्य वर्षलाई बिदा गर्दै नयाँ वर्ष सन् २०२१ लाई नेपालले उपलब्धिमुलक बनाउन सक्ला?

[email protected]

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad