प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको समर्थन गरेको भन्दै प्रचण्ड–नेपाल समूहले संसदीय दलका नेताबाट मण्डललाई हटाउने तयारी गरेको हो।
अविश्वासको प्रस्ताव ल्याएर मण्डललाई दलको नेताबाट हटाउने तयारी भएको प्रचण्ड–नेपाल समूहका प्रदेश सांसद सत्रुधन महतोले बताए।
शुक्रबार बिहान जनकपुरमा प्रदेश कमिटीले आयोजन गरेको पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीयसमेत रहेका महतोले मण्डललाई संसदीय दलको नेताबाट हटाउने बताएका हुन्।
प्रदेश २ मा नेकपाको ३२ जना प्रदेश सांसद रहेकामा प्रचण्ड–माधव पक्षले २० जना सांसद आफ्नो पक्षमा रहेको दावी गरेको छ।
मंण्डल प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता हुन्। पार्टी विभाजनपछि मण्डलले ओली नेतृत्वको नेकपाको प्रदेश २ को इन्चार्जको जिम्मेवारी समेत पाएका छन्।
प्रचण्ड नेपाल–समूहले मण्डललाई दलको नेताबाट हटाउने तयारी गरे पनि नयाँ दलको नेताको कसलाई बनाउने भन्ने टुंगो लगाएको छैन्। संसदीय दलको बैठक बसेर दलको नेताको टुंगो लगाउने एक सांसदले बताए।
पूर्व माओवादीमध्येबाट दीलिप साह र पूर्व एमालेबाट लगनलाल चौधरी र अनिता यादव भने अहिलेसम्म कुनै पनि समूहमा खुलेका छैनन्।
पूर्व माओवादीबाट चार जना प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, मोहम्मद समीर र ज्वाला कुमारी साह ओली समूहमा लागिसकेका छन्। यस्तै प्रमिलाकुमारी यादव, फुलियादेवी सदा, भरतप्रसाद साह, रामकुमार यादव, जगतप्रसाद यादव र रुबीकुमारी कर्ण प्रचण्ड–नेपाल समूहमा छन्।
पूर्व एमालेबाट गोविन्द बहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, शत्रुधन महतो, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सीता गुरुङ गरी १३ जना आफूहरुको पक्षमा रहेको महतोले दावी गरे।

प्रतिक्रिया