नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।
पार्टी विभाजनका क्रममा कुनै पनि समूहमा नलागी तटस्थ बसेका उपाध्यक्ष गौतम शुक्रबार बिहान साढे ९ बजे अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन्। उनीहरुबीच झण्डै आधा घण्टा छलफल भएको खुमलटार स्रोतले जनाएको छ।
‘अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष वामदेव गौतम बिहान साढे ९ बजे आइपुग्नु भएको थियो’, खुमलटार स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँहरुबीच आधा घण्टा समसामयिक राजनीतिक, पार्टी गतिविधि लगायतका विषयमा छलफल भयो।’
उपाध्यक्ष गौतम संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताउँदै आएका छन्। उनले आफू प्रधानमन्त्रीको कदम सच्याउने र पार्टी एकताको पक्षमा रहने भन्दै तत्काल कुनै पनि समूहमा नलाग्ने बताएका छन्।
गत शनिबार पनि उपाध्यक्ष गौतमले अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी एकताको विकल्प नरहेको भन्दै एक अर्काबीच दूरी बढाउने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरेका थिए।
उनी कुनै पनि समूहमा नलागे पनि प्रचण्ड–नेपाल समूहसँग भने निरन्तर छलफलमा छन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल दुवै समूहले उपाध्यक्ष राखेका छन्।

प्रतिक्रिया