ब्लग


गोविन्द केसीलाई सुन्नुस्, समाजवादको अब बदनाम नगरिदिनोस्, प्लीज!

गोविन्द केसीलाई सुन्नुस्, समाजवादको अब बदनाम नगरिदिनोस्, प्लीज!

डा. सरोज धिताल
असोज २४, २०७७ शनिबार ९:३८,

अब भने चुप लाग्न सकिएन। मौनव्रतबाट एकछिन अलग्गिनै पर्‍यो।

केही महिना यता म सामाजिक सञ्जालबाट पर बसेको छु। अत्यावश्यक काम वा नितान्त व्यक्तिगत संवादका निम्ति बाहेक मेसेन्जर, भाइबर आदि समेत धेरै चलाउँदिनँ। टेलिभिजन त हेर्दै हेर्दिनँ, समाचारपत्रहरु पढ्दिनँ। वर्षौँदेखि लेखिरहेको अखबारी स्तम्भ पनि नलेखी बसिरहेको छु। यो बीचमा महत्वपूर्ण आन्दोलन भए, जसमा मेरो नैतिक समर्थन रह्यो। तर ती आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्न समेत बाहिर देखा परिनँ। सञ्चार जगतका विभिन्न आग्रहलाई विनम्रतापूर्वक टारेरै बसेँ।

यो सब बिनाकारण थिएन। केही समय यता यस्तो लाग्दैछ– यो उमेरसम्म पनि मैले न त संसारलाई चिनेको रहेछु न त आफैँलाई। त्यसैले केही समय सकेसम्म चुपचाप रहेर द्रष्टा भावले आफैँलाई र आफ्नो वरिपरीको संसारलाई हेरूँ, बुझ्ने प्रयत्न गरूँ भन्ने यत्न थियो यो।

किन हामी यति निरीह भएका? किन नहुनुपर्ने कुरा भएका भयै छन्? हुनै पर्ने कुरा किन भैरहेका छैनन्? किन जहिले पनि पाखण्ड र आडम्बरकै विजय भइरहेको देखिन्छ? मानिसको उज्यालो तर्फको यात्रा किन प्रायः तुहिन्छ? ६५/६६ वर्षको उमेरमा पुगिसकेका हामीजस्ता मान्छेले के गर्दा बाँच्नुको सार्थकता रहन्छ? केही समय ‘म’ भावलाई सकेसम्म एकातिर पन्छाएर यी प्रश्नमा डुबुँ भन्ने चाहना थियो।

तर गोविन्द केसीको यसपालीको सत्याग्रह चार हप्ता पूरा हुन लागिसकेको यो बेला, उनी फेरि एकपल्ट मृत्युको संघारमा पुगिसकेको यो बेला– जति यत्न गरे पनि अब भने मौन रहन असम्भव नै भयो। मलाई थाहा छ, सबै सरोकारवालाका कानमा मेरा शब्दले प्रवेश पाउने छैनन्। तर पनि केही महिनादेखिको आफ्नो मौनव्रत तोडेर बोल्दैछु।

विनम्र भाषामा बोल्न चाहन्छु म। तर विनम्रताले समेत ठाउँ नपाउने परिस्थिति सृजना हुँदोरहेछ कुनै कुनै बेला। यतिबेला त्यही अन्धकार परिस्थितिको पीडाबोध गर्दैछु।

राजनीतिक लगायत कुनै किसिमका पूर्वाग्रह नराख्ने हो भने गोविन्द केसीको आन्दोलनको मूल दिशामा कतै कुनै खोट लगाउने ठाऊँ नै छैन। यतिबेला सत्तामा रहेको पार्टी आफ्नो चुनावी घोषणापत्रमा वा घोषित उद्देश्यप्रति साँच्चै इमानदार मात्रै रहन सकेको भए गोविन्दले उसकै निम्ति अत्यन्त सकारात्मक स्थिति तयार पारिदिएका थिए – देशको स्वास्थ्यससेवालाई साँच्चै समाजवाद उन्मुख बनाउने र स्वास्थ्यको बजारीकरणलाई रोक्ने।

एउटा कम्युनिष्ट पार्टीका निम्ति त्यो भन्दा ठूलो अवसर के हुनसक्छ? तर सत्ताधारी पार्टीको घोषित मार्गप्रति नै इमानदारी नभएकाले पार्टीपंक्तिभित्र भ्रष्टाचार लगायत विभिन्न विकृतिले झन् झन् मौलाउने अवसर पाए। उसको चुनावी घोषणापत्र त अहिले ठट्टा गर्ने मसला भयो।

कस्तो विरोधाभासपूर्ण स्थिति! आफूलाई समाजवादको निर्माता भन्ने र सिद्धान्तमा पूँजीवादको विरोध गर्ने पार्टीको सरकार छ। उसले आफ्ना राजनीतिक प्रतिस्पर्धीको खेमामा राखेर हेर्ने गरेका गोविन्द केसीका माग भने समाजवाद उन्मुख छन्। अनि त्यही सरकारको गतिविधि भने उल्टै अति–बजारमुखी! के जात्रा भइरहेको हो यो देशमा?

वर्तमान सरकारका नाइकेहरुलाई मेरो विनम्र आग्रह छ – यतिबेला गोविन्दका सबै मागलाई पुरा गरेर आफ्नो घोषित दिशाप्रति इमानदार रहन चाहेको प्रमाणित गरिदिनोस्। यसो गर्दा नै सबैको भलो हुन्छ। कृपया यति सुकर्म गर्ने आँट गर्नोस्। यति गरे अझै जनताको स्याब्बासी नै पाउनुहुनेछ। तपाईंको आफ्नै अनुभव हेर्नोस् न, कोभिड–१९ को विरुद्धको वर्तमान युद्धमा पाटन अस्पतालका स्वास्थ्यकर्मीले रात दिन खटेर गरेका काममा तपाईंले पनि श्रेय नै पाइरहनु भएको छ नि, हैन? तर यस्तो लाग्छ, तपाईं नै यस्तो श्रेय लिन तयार हुनुहुन्न। अझै पनि नयाँ जोगिले खरानी धेरै घसे झैँ तपाईं किन बजारीकरणको कट्टर अभियन्ता बन्न चाहनु हुन्छ?

समाजवादलाई अब बदनाम नगरिदिनोस्, प्लीज!

गोविन्दको जीवन खतरामा परिसक्यो। केही भइहालेछ भने तपाईंको भलो होला र? अब पनि शब्दका खेलमा रमाइरहने र सत्याग्रहीलाई अल्मल्याइरहने कामले हानी गर्छ – आफ्नै पनि, देशको पनि! त्यसो नगर्नोस्।

(जनस्वाथ्यकर्मी डा सरोज धितालको फेशबुक पेजबाट)

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad