भारतको खतरासँग जुध्न चीनले आफ्ना सेनाको प्राथमिकतालाई पूर्ति गरिरहेको हो। त्यसकारण चीनले तिब्बतमा रहेका सेनालाई आवश्यक सामग्रीको आपूर्ति गरिरहेको छ।
जाडो समयमा भारत र चीनको उच्च हिमाली सिमानाको अवस्था ज्यादै खराब हुन्छ। अधिकारीहरुका अनुसार जाडोमा यस हिमाली क्षेत्रको तापक्रम माइनस ४० डिग्री सेल्सिएसभन्दा कमसम्म पुग्छ।
यस क्षेत्रसँग जोडिएका सबै सडक हिउँका कारण बन्द हुनेभएकाले दुवै देशले लद्दाख नजिकको विवादित क्षेत्रबाट सेनाहरु फर्काउने अपेक्षा गरिएको थियो।

तर पछिल्लो घटनाक्रमलाई हेर्दा दुवै देशका सेना जाडोमा पनि विवादित क्षेत्रबाट पछाडि नहट्ने देखिएका छन्।
गत जुनमा भारत र चीनका सेनाबीच गलवात उपत्यकामा झडप नै भएको थियो। त्यसबेला भारतका २० भारतीय सेनाको मृत्यु भएको थियो।
सीमा विवाद कम गर्ने विषयमा छलफल जारी रहँदा पनि दुवै देशका सेनाले शीतकालीन युद्धको तयारी थालेको स्पष्ट देखिएको छ।
केही समय अगाडि मात्र भारतले जाडो अवधिभर आफ्ना सेनाका लागि पुग्दो खाद्यान्न, गोली गठ्ठा लद्दाखको सीमामा पुर्याएको समाचारहरु सार्वजनिक भएका थिए।

त्यतिमात्र नभएर भारतले माइनस ४० डिग्री सेल्सिएसमा पनि प्रयोग गर्न सकिने ट्यांकहरु लद्दाख नजिक तैनाथ गरिसकेको छ। भारतले हिमाली क्षेत्रको सीमामा क्षेप्यास्त्रहरु पनि राखेको बताइएको छ।
यतिबेला चीनले पनि आफ्ना सेनाका लागि आवश्यक सामग्री सीमामा पठाइरहेको छ। चीनले पनि भारतले झैं पुग्दो खाद्यान्न र गोलीगठ्ठा पठाएको छ।
गत सेप्टेम्बर २० मा मात्र चीनले आफ्ना सेनाको लागि जाडोमा लगाउने पोशाकहरु तिब्बत पठाएको एससीएमपीले जनाएको छ।

चीनले आफ्ना सेनाका लागि थर्मल हुड, विन्टर ट्रेनिङ क्लोथ, ओभरकोट, मोइस्चर–एब्जर्भिङ कुइक ड्राइङ अन्डरवेयर, वाटरप्रुफ थर्मल ग्लोभ्स र मोजाहरु बनाएको छ जसले अत्यन्त जाडोमा पनि शरीरलाई तातो बनाउनसक्छ।
अहिले नै तिब्बतका अग्रपंक्तिका सेनाहरुले ती पोशाकहरु लगाएको बताइएको छ।
यस्तै चीनले सेनाको लागि ब्यारेकमा सोलर इनर्जी जडान गरिदिएको छ। बाहिर माइनस ५५ डिग्री सेल्सियसको तापक्रम भएपनि सोलर इनर्जीका कारण ब्यारेक भित्रको तापक्रम १५ डिग्री सेल्सिएस हुनेछ। एससीएमपी र एजेन्सीको सहयोगमा

प्रतिक्रिया