ब्लग


तिब्बतसँग सम्झौता गरेपछि जब काजी भिम मल्ल दरबारमै काटिए

तिब्बतसँग सम्झौता गरेपछि जब काजी भिम मल्ल दरबारमै काटिए

विश्व पौडेल
जेठ २१, २०७७ बुधबार ८:२७,

काजी साहेबको हालत
वि.सं. १६९७ मा कान्तिपुरमा नयाँँ राजा आए, तर उनले उनका बाका दुई काजीलाई नै निरन्तरता दिएका थिए। ती दुई काजी एक अर्काका प्रतिस्पर्धी थिए। एकदिन दुईमध्ये एक काजी एक्स्पिडिसनको नेतृत्व गर्दै तिब्बततिर गए। तिब्बतमा पुगेपछि ती काजीले तिब्बत सरकारसँग कान्तिपुरको तर्फबाट निम्न लिखित सम्झौता गरेः

क. तिब्बतमा नेपाली साहुहरुले ३२ कोठी दोकान खोल्न पाउने।

ख. तिब्बतमा नेपाली वाणिज्य दूत रहने। तिब्बती र नेपालीबीच झगडा भयो भने उसैले मध्यस्थता गर्ने।

ग. तिब्बतमा नेपाली मुद्रा चल्ने। यो प्रावधानले काम गर्दा कति लाभदायी थियो भने पछि प्रताप सिंह शाहको पालामा पहिलो वर्ष १३,६०२ तोला, दोश्रो वर्ष ६,७१,५९० तोला र तेश्रो वर्ष २,६५,०१० तोला चाँदिका मोहर तिब्बतको लागि बनाएर पठाइएको थियो। लगभग एक तिहाइ भन्दा बढी फाईदा हुने यो व्यापारको आम्दानीले बहादुर शाहको पश्चिम तर्फको अभियानको बजेट जुटाउन सहयोग पुगेको थियो।

घ. नेपाली साहुले तिब्बतमा छोरा जन्माए नेपाली र छोरी जन्माए तिब्बती हुने। अहिलेसम्म तिब्बतमा यस्ता नेपाली साहुका छोराहरु छन्। यीमध्ये केहीका अनुसार उनीहरुलाई तिब्बतीहरु नेपाली जासुस जस्तो समेत मान्छन् र राम्रो व्यवहार गर्दैनन्। अहिलेको समयमा नराम्रो मानिने भएपनि त्यो बेला लड्नभिड्न सक्ने चाहिँ यताका हुने सन्धि गरिएकोलाई सफलता मानिन्थ्यो।

सबैतिरबाट हेर्दा ती काजीको राष्ट्रप्रेमप्रति शंका मान्नुपर्ने देखिँदैन। वास्तवमा अहिलेसम्म नेपालले गरेको विदेशी सन्धिमध्ये सबैभन्दा राम्रो यही होला।

जो सम्झौता गर्न बसेका थिएनन्, ती काजीको नाम नरदेव मयासिंह थियो। उनले आफ्नो एक हनुमान भारदार महादेव ओझा लगाएर तिब्बततिरका सम्झौताको गलत व्याख्या गरे। राष्ट्रघाति, राजद्रोहि काम भयो भने।

अहिलेजस्तै त्यो बेला पनि हल्लैहल्लाले बजार खान्थ्यो। राजाले ती काजीलाई कान्तिपुर बोलाए।

वि.सं. १७०६ माघ ३ को साँझ ती काजी कान्तिपुर आइपुगे। संभवतः ढोकाटोलको आफ्नो घरपनि नपसी दरबारको प्रांगणमा रहेको तलेजु भवानीको मन्दिर विधिपूर्वक दर्शन गरी बसन्तपुर दरबारको ढोकाभित्र छिरे।

लगभग सबै इतिहासकारहरुका अनुसार उनीसँग एक वचन पनि नसोधी राजाले छिर्ने बित्तिकै हत्याराहरु लगाएर काजीलाई काटेर मारे।

ती काजीको नाम भिम मल्ल थियो।

दुःख गर्ने, सन्धि सम्झौता गर्ने कामभन्दा काठमाडौंमा बसेर आरोप लगाउने र षड्यन्त्र गर्ने कुरा सधैं सजिलो थियो।
...
पूर्व–पश्चिम राजमार्ग बनाउने बेलाको कुरा सम्झनुस्।

हामीले सुगौली सन्धिदेखि तराईको समथर भूमि आफ्नो बनाउन निकै बल गर्‍यौं। सुरुमा सुगौली सन्धि प्रस्ताव गर्दा तराईको जमिन कम्पनी सरकारकै हुने सन्धि थियो। पछि १८१६ को डिसेम्बरतिर निकै वार्गेनिङ गरेपछि त्यो यताको बन्यो।

वि. सं. २००८ मा मातृकाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ बनाउन भारतको सहयोग मागे। शुरुमा भारतले त्रिभुवन राजपथ बनायो, पछि दुई तिहाईभन्दा धेरै पूर्व–पश्चिम राजमार्ग भारतले नै बनाइदियो।

भारतले पूर्व–पश्चिम राजमार्ग बनाइदिने कुरा सुन्दा अहिले भएकोभए मानिसले के प्रश्न गर्थे होलान?

‘किन सीमानाभन्दा २५ किलोमिटर यता बनायो? अब भारतले हाम्रो तराई खान्छ। सुगौली सन्धिदेखि नै प्रयास गरिराथ्यो।’

‘भारतले आफ्नो स्वार्थ नहेरी के दिन्थ्यो।’’

‘पक्का चीनको जासुसी गर्न बनायो। नेपालमा गाडी नै छैन, किन चाहिन्थ्यो यत्रो रोड।’

‘बनाउन सम्झौता गर्नेले कति खाए?’

अनि काम गर्नेहरुले यस्ता प्रश्नहरुको उत्तर दिएर बस्नुपर्ने? यसै त देशमा विकास गर्न गार्‍हो छ, झन् ‘झिकिदे गाँड भन्दा थपिदे गाँड’ जस्ता व्यक्तिहरु छन्।

(अर्थशास्त्री विश्व पौडेलको फेशबुक पेजबाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad