कतै न कतै हामीले पढेको वा सुनेको त पक्कै छौँ होला- नेपाल सतीले सरापेको देश हो भनेर। प्राचीन हिन्दु समाजमा खासगरी राजा महाराजाहरूकहाँ मृत पतिसँगै जीवित जल्ने नारीलाई 'सती' र त्यस्तो प्रथालाई 'सतीप्रथा' भन्ने गरिन्छ।
विभिन्न कालखण्डमा विभिन्न राजाहरूको पालामा यो प्रथालाई निरन्तरता दिँदै आएको देखिन्छ तर 'नेपाल सतीले सरापेको देश हो' भन्ने प्रसङ्ग मल्ल वंशका राजा प्रताप मल्लको पालादेखि चर्चामा आएको देखिन्छ। प्रताप मल्लले आफ्नै बुवा लक्ष्मीनरसिंह मल्ललाई बन्दी बनाएर विस १६९७ मा राजा भएको इतिहास छ। उनले काजी भीम मल्लको सहयोगमा गद्दी हत्याएका थिए।
काजी भीम मल्ल भनेको स्वामीभक्त र सैन्य परिचालनमा कुशल पात्र थिए। स्वामीभक्त भन्नाले आफ्नो राजाको सेवामा समर्पित व्यक्तिलाई बुझिन्छ। अर्थात् देशभक्त व्यक्ति थिए। उनले आफ्नो नेतृत्वमा कान्तिपुरको सेना लिएर तिब्बतमाथि आक्रमण गरे अनि कुती, केरुङ र खासा लगायतका क्षेत्रमा कब्जा जमाए। तिब्बतको भित्री क्षेत्रमा समेत कब्जा जमाउन थालिसकेपछि डराएको तिब्बतले काजी भीम मल्लसमक्ष सन्धि गर्ने प्रस्ताव पठाए। त्यो बेला नेपाल (कान्तिपुर) र तिब्बतबीच भएको सन्धि इतिहासकै सबैभन्दा बढी फाइदाजनक मानिन्छ।
त्यसपश्चात् कान्तिपुरमा भीम मल्लको चर्चा बढ्न थाल्यो। त्यो बेलाका अरु दुई जना काजी नरदेव र मयासिंहलाई यो कुरा पचेन। भीम मल्ललाई षड्यन्त्रपूर्वक पछाडि पार्न उनीहरूले राजा प्रताप मल्ललाई काजी भीम मल्ल विरुद्ध भड्काए। अब भीम मल्लले तपाईंलाई हटाएर आफै राजा हुने षडयन्त्र गर्दै छ भनेर उक्साए। राजाले पनि केही सत्यतथ्य पत्ता नलगाई भीम मल्ललाई कान्तिपुर बोलाएर दरबारको मूल ढोकामै आदेशपालक सैनिकबाट मार्न लगाए। यो दुःखद घटना वि. स १७०६ माघ २ गतेको हो।
काजी भीम मल्लले कान्तिपुर राज्यको भलाइको लागि दिलोज्यानले काम गरेका थिए। भीम मल्लले दुराशययुक्त कार्य गरेको तथ्य इतिहासमा कतै पनि पाइन्न। उनी निर्दोष एंव कान्तिपुर राज्य र राजाप्रति पूर्ण समर्पित थिए।
यस्तो अवस्थामा उनका तर्फबाट कुनै सफाइ नपर्खिई झुट्टा आरोपमा मृत्युदण्ड दिइएको थियो।
काजी भीम मल्लकी धर्मपत्नी भुवनलक्ष्मी मल्ल 'देशको भलाइ गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै पनि राम्रो नहोस्' भन्ने श्राप दिएर पतिको चितामा बसेर सती गएकी थिइन्।
त्यहीँबाट नेपाल सतीले सरापेको देश हो भन्ने प्रसङ्ग पटकपटक आउने गर्छ। अरूको भलाइ र राम्रो गर्न खोज्ने मान्छेको यो देशमा कहिल्यै भलो नहुनाले हाम्रो देशको राजनीतिक इतिहासमा आजसम्म पनि यो भनाइको स्मरण भइरहने गरेको छ।
यो प्रसङ्गलाई विभिन्न कोणबाट हेर्न र बुझ्न सकिन्छ। जबजब यो देशमा कसैले राम्रो गर्न खोज्छ, तबतब त्यो व्यक्तिको खुट्टा तान्ने काम वा उसका विरुद्ध षड्यन्त्र रचिन्छ। त्यस्तै यो देशमा पनि जबजब राम्रो काम हुन थाल्छ वा देशमा स्थिरता, शान्ति, सुरक्षा र विकासको गति अगाडि बढ्न थाल्छ, तब कुनै न कुनै बहानामा देशमा ठूलै उथलपुथल हुन थाल्छ, जसको कारण देशको राजनीति र अर्थतन्त्र कमजोर बन्न पुग्छ।
यस कुरालाई पुष्टि गर्ने धेरै आधारहरू छन्। हामीले धेरै टाढा जानै पर्दैन। २००७ साल फाल्गुन ७ गते निरङ्कुश राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र आउँदा सबै नेपाली खुसी भएका थिए। अब नेपालमा स्वतन्त्र ढंगले बाँच्न पाउने वातावरण सिर्जना हुन्छ, नेपालले अब विश्वमै आफूलाई चिनाउनेछ भन्ने इतिहास बनाउँछ। तर विस २०१७ सालमा राजा महेन्द्रले दलीय व्यवस्थामाथि बन्देज लगाई सुरु गरेको पञ्चायती व्यवस्थाले फेरि जनतालाई दुःख दिने र जनताको अधिकारमाथि बन्देज लगाउने काम भयो।
त्यसबीच संविधान-कानुन पनि बने तर ती संविधान-कानुन सम्पूर्ण नेपालीका लागि हुन सकेनन्। त्यो बेला नेपालमा विकासका काम केही हदसम्म भए पनि निरङ्कुश शासकले जनतामाथिको शोषणलाई कायमै राखे।
फेरि २०४७ सालमा बहुदलीय व्यवस्थाको पुनःसुरुवात भयो र नयाँ संविधान पनि बन्यो, त्यो संविधानलाई अहिलेको संविधान पछाडिको सबभन्दा उत्कृष्ट संविधान मान्ने गरिन्छ।
बहुदलीय व्यवस्था आइसकेपछि जनताकै प्रतिनिधिबाट जनताहरू शोषित हुन थाले। नेता र तिनका कार्यकर्ताहरूको रजगज बढ्न थाल्यो। २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्ध विस्तार हुँदै गयो
तत्कालीन प्रधानमन्त्री कृषणप्रसाद भट्टराईविरुद्ध आफ्नै पार्टीका नेताहरूले अविश्वासको मत दर्ता गरेपछि राजीनामा दिँदै संसदलाई सम्बोधन गरेका थिए।
'माओवादीहरू वार्ताको टेबलमा आएर समस्याको टुङ्गो लगाउन तयार भई जुन बेला प्रतिनिधि खटाइरहेका हुन्छन्, त्यही मौका पारेर अविश्वासको तानाबाना किन बुनिइरहेको हुन्छ?' उनले सोधेका थिए, 'देशभक्त दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो?'
शाह वंशीय राजाहरूमध्ये वीरेन्द्रको छवि लोकप्रिय थियो। अधिकांश नेपालीको माया र स्नेह पाइरहेका राजा वीरेन्द्रको २०५८ जेष्ठ १९ गते राति वंशनाश भयो।
त्यसपश्चात् राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए, विस्तारै उनले प्रत्यक्ष शासन गर्न खोज्दा जनताले विरोध जनाएपछि शासन सत्ता छोडेर जनताकै जिम्मा लगाए। त्यस बेला भएको १० वर्षे सशस्त्र विद्रोह, ६२/६३ को जन आन्दोलन र मधेस आन्दोलनले देशमा अथाह परिवर्तन ल्याए, जसको परिणामस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो। समानुपातिक समावेशी सिद्धान्तको आधारमा पिछडिएका समुदायलाई राज्यको हरेक निकायमा पुर्याउन प्रयास गरियो।
त्यसपछि भएको दुईदुई पटकको संविधान सभाको निर्वाचनले देशमा नयाँ संविधानको घोषणा भयो। जुन संविधानबाट धेरै आशा गरिएको थियो। यो संविधानको उद्देश्य 'सुखी नेपाली, समृद्ध नेपाल' बनाउने रहेको भए तापनि त्यसपछि राजनीतिक उतारचढावले अहिलेसम्म पनि देशमा राजनीतिक स्थायित्व, स्थिरता, आर्थिक र भौतिक विकासले गति लिन सकेन। हरेक कुराको लागि आन्दोलन गर्नु पर्ने स्थिति आइपरेको छ। बितेको १/२ वर्षमा देशमा शिक्षक आन्दोलन, यातायात व्यवसायीको आन्दोलन, निजामती कर्मचारीको आन्दोलन, चिकित्सकको आन्दोलन, उखु किसानको आन्दोलन लगायत धेरै आन्दोलनहरू मात्र भएको देखिन्छ। यसरी हेर्दा हरेक कुरा पाउन, सरकारको ध्यााकर्षण गराउन र जवाफदेही बनाउन आन्दोलन नै गर्नुपर्ने स्थिति बनेको छ।
तथ्याङ्क हेर्ने हो भने नेपालभन्दा साना देशहरू र नेपालभन्दा पछाडि परेका देशहरू आज विकासको फड्को मारेर कति अगाडि बढिसके।
नेपालमा पहिला व्यवस्था राम्रो नभएर देशको विकास र जनताको अधिकार सुनिश्चित हुन सकेन। अहिले व्यवस्था राम्रो हुँदा नेतृत्व राम्रो नहुँदा देशले स्थायित्व, स्थिरता र विकासको गति लिन सकेको छैन।
अहिले नेपालको संविधान जारी भएपछि देशमा राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक लगायत हरेक कोणबाट अगाडि बढ्ने अपेक्षा गरिएको थियो। तर नेतृत्व राम्रो नहुँदा र राजनीतक स्थिरता नहुँदा जुन गतिमा देश अगाडि बढ्नु पर्थ्यो, त्यो हुन सकेन।
नेतृत्व गैरजिम्मेव र भ्रष्ट हुँदा जेनजी पुस्ताले गरेको आन्दोलनले अहिले ठूलो परिवर्तन ल्याएको छ। तर भदौ २३-२४ को आन्दोलनमा देशले अपूरणीय क्षति बेहोर्नु पर्यो। संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायत निजी क्षेत्रका ठूला संरचनाहरू पनि ध्वस्त हुन पुगे। यसले नेपाललाई अझै धेरै पछाडि पारेको छ। अहिले विश्व राजनीतिमा नै युवा पुस्ताको सक्रियता बढेसँगै नेपालमा पनि युवाहरू भ्रष्टाचार, बेथिति, अनियमितता, बेरोजगारी र राज्यको गैरजिम्मेवारीपनका विरुद्ध खडा भएका छन्। पुस्तान्तरणको माग अगाडि सार्दै अबको देशको विकास र निकास युवा पुस्ताबाटै सम्भव रहेको आशय आन्दोलन मार्फत उनीहरूले व्यक्त गरेका छन्।
नेपाल जब राजनीतिक स्थायित्व, स्थिरता, सामाजिक, आर्थिक रूपले अगाडि बढ्न खोज्छ तब कुनै न कुनै बहानामा वा कारण देखाएर नेपालमा ठूलै विध्वंस आइपर्छ। र, देशलाई कहिल्यै पनि उठ्न र अगाडि बढ्न दिँदैन। यसरी हेर्दा साँच्चै नेपाललाई सतीको श्राप लागेकै होजस्तो महसुस हुन्छ।
राजनीतिक चेतना, कूटनीति ज्ञान, अध्ययन–अनुसन्धान, बाह्य हस्तक्षेपको ज्ञानको अभावले गर्दा गलत र सही छुट्याउन नसकेको हो वा उत्तेजनामा आएर नेतृत्वले निर्णय गर्ने हुनाले हो, देशको अवस्था झनझन् खस्किँदो छ।
(शिवाजीप्रसाद कुशवाहा बीए एलएलबीका विद्यार्थी हुन्)
Shares

प्रतिक्रिया