कोरोना भाइरसको महामारीले राजनीतिक नेताहरुको सबैभन्दा ठूलो परीक्षा लिइरहेको छ। संसारका हरेक नेताले उत्तिकै जोखिम सामना गरिरहेका छन्। प्रत्येक नेताले संकट समाधानका लागि गरेको प्रयास अलगअलग छन्, सबैको आआफ्नै शैली छ। नतिजा जे आउँछ, त्यसैबाट हरेक नेताको मूल्यांकन हुनेछ।
जर्मन चान्सलर एन्जेला मर्केलले विज्ञानअनुरुप निर्णय गरिरेकी छन्। ब्राजिली राष्ट्रपति जायर बोल्सोनारो विज्ञानलाई सीधै अस्वीकार गर्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दैनिक पत्रकार सम्मेलनमा सर्कसको दृश्य देखिन्छ। र, सवा अर्ब मानिसलाई लकडाउनमा थुनेर पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नियमित पत्रकार सम्मेलन गर्न आवश्यक ठान्दैनन्।
न्युजिल्यान्डकी ३९ वर्षीया प्रधानमन्त्री जासिन्डा आर्डेनले पनि आफ्नै शैली कायम गरेकी छन्। संकटका बेला पनि नेतृत्व गर्ने उनको शैली सहानुभूतिपूर्ण छ। जसले मानिसहरुलाई आफ्नो सुरक्षा आफैँ गर्न प्रेरित गर्छ।
उनले दिने सन्देश स्पष्ट, तर्कसंगत, गम्भीर र सुखदायक हुन्छ। उनको शैलीले मानिसहरुलाई भावनात्मक स्तरमा मात्र प्रभावित पारेको छैन, यसले राम्ररी काम पनि गरिरहेको छ।
‘आर्डेन बोल्दाखेरि मानिसहरु उनले उपदेश दिएको महसुस गर्दैनन्,’ सन् १९९९ देखि २००८ सम्म न्युजिल्यान्डकी प्रधानमन्त्री रहेकी हेलेन क्लार्क भन्छिन्। क्लार्क प्रधानमन्त्री भएकै बेला आर्डेनले राजनीति सुरु गरेकी थिइन्।
‘मानिसहरु उनलाई कतिसम्म विश्वास गर्छन् भने उनीहरु ‘सरकार किन यसो गरिरहेको छ, म ठ्याम्मै बुझ्दिनँ। तर केही छैन, हामीलाई हेर्ने प्रधानमन्त्री छँदैछिन् नि’ सम्म भन्छन्,’ क्लार्क सुनाउँछिन्, ‘उनको सहानुभूतिका कारण दृढ विश्वासको वातावरण बनेको छ। यो त्यस्तो संकट हो, जसले नेता बनाउँछ वा बिगार्छ। र, यो संकटले जासिन्डालाई अझ राम्रो नेता बनाउनेछ।’
आर्डेन मानिसहरुसँग फेसबुकमा नियमित लाइभ च्याट गर्छिन्। जसलाई उनले अनौपचारिक र सूचनामूलक बनाएकी छन्।
मार्चको अन्तिममा न्युजिल्यान्ड लकडाउनको तयारी गर्दै थियो। त्यसैबेला उनी पुरानो स्वेटर लगाएर घरबाटै फेसबुक लाइभमा आइन्। सानी छोरीलाई भर्खरै सुताएर आफू लकडाउनका लागि आवश्यक मार्गनिर्देश गर्न लाइभ आएको उनले बताइन्।
जनजीवन जस्तो थियो, अब अस्थायी रुपमा त्यस्तो नहुने स्पष्ट सन्देश उनले दिइन्। लकडाउनका बेला दैनिक जीवनमा आइपर्ने ससाना असुविधादेखि लिएर सरकारले कठोर नीति लिनुपर्ने बाध्यतालाई सरल रुपमा सम्झाइन् र मानिसहरुलाई दुःखमनाउ नगर्न आग्रह गरिन्।
सरकारी अधिकारीहरुका साथ पत्रकारसामु औपचारिक ब्रिफिङमा आउँदा पनि उनले आफ्नो व्यक्तित्वको छाप छोड्ने गरेकी छन्।
‘ट्रम्प पनि ब्रिफिङ गर्छन्। तर, त्यो बेग्लै खालको शो हो,’ क्लार्क भन्छिन्, ‘जासिन्डाले अहिलेसम्म प्रश्न गर्ने कुनै पनि पत्रकारलाई अनावश्यक जवाफ फर्काएकी वा गाली गरेकी छैनन्।’
राष्ट्रपति ट्रम्प पत्रकारलाई गाली गर्न नामुद छन्। तर, हालै एक पत्रकारले आफ्नो पालोमा प्रश्न बिर्सिंदा पनि आर्डेनले मजाक गर्दै भनेकी थिइन्– ठिक छ, फेरि सोध्नुहोला। तपाईंको निद्रा पुगेन कि भन्ने मलाई चिन्ता छ।
‘उनी गलत सूचना दिन्नन्, उनी दोष कसैको थाप्लोमा थोपर्दिनन्। उनी सबैको अपेक्षालाई पूरा गर्ने प्रयास गर्छिन्। सँगसँगै सबैलाई निश्चिन्त पनि तुल्याउँछिन्,’ भिक्टोरिया युनिभर्सिटी अफ वेलिङटनका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका विद्वान भान ज्याक्सन भन्छन्। उनीबाट एकअर्काप्रति सहिष्णु र दयालु हुन मानिसले सिक्ने गरेको उनको भनाइ छ।
आर्डेनको शैली चाखलाग्दो छ। सजिलो लुगा लगाएकी एक विश्व नेता अनौपचारिक रुपमा लाखौँ मानिससँग कुरा गरिरहेकी। सँगसँगै उनको नीतिले पनि वास्तविक र विश्वमै उम्दा नतिजा दिइरहेको छ।
मार्चदेखि कोरोना भाइरसको संक्रमणको दर नियन्त्रण गर्नु मात्र होइन, भाइरस नै उन्मूलन गर्नु न्युजिल्यान्डको राष्ट्रिय लक्ष्य बनेको छ। र, अहिलेसम्म यो मुलुक सही दिशामै देखिन्छ। कोभिड–१९ को परीक्षण व्यापक छ। स्वास्थ्य सेवा प्रणालीमा हालसम्म भार परिसकेको छैन। अप्रिलको सुरुपछि संक्रमितहरुको संख्या ओरालो लाग्न थालेको छ। झण्डै ५० लाख जनसंख्या भएको मुलुकमा यो लेख्दासम्म १२ जना मानिसको ज्यान गएको छ।
दक्षिणी प्रशान्त महासागरको पिँधमा एकान्तमा रहेको टापु न्युजिल्यान्ड भाइरसलाई उन्मूलन गर्न अनुकूल स्थितिमा छ।
‘यहाँसम्म धेरै कम केस आइपुगेकोले भाइरसलाई लखेट्न सम्भव छ,’ क्लार्क भन्छिन्, ‘पृथ्वीको किनारामा हुनुपनि फाइदै छ। किनभने संसारमा के भइरहेको छ हामी देख्न सक्छौँ।’
तर, आर्डेनको सरकारले तत्काल निर्णायक कदम चालेर पनि यो सम्भव भएको हो। न्युजिल्यान्डले अन्य मुलुकको तुलनामा एकदमै चाँडो लकडाउन घोषणा ग¥यो। एक जना पनि संक्रमित नदेखिई फेब्रुअरीको सुरुमै चीनका यात्रीलाई प्रतिबन्ध लगाइयो। मार्चको मध्यदेखि गैरनागरिक सबैलाई सीमा बन्द ग¥यो।
न्युजिल्यान्डका दुई प्रमुख जनस्वास्थ्य विज्ञ माइकल बेकर र निक विल्सनले गतसाता देशको महत्वाकांक्षी रणनीति अझै पनि असफल हुने सम्भावना रहेको बताएका छन्। तथापि चाँडै हस्तक्षेप गर्दा भाइरसको विस्तार रोक्न समय प्राप्त भएको उनीहरुको निश्कर्ष छ।
यो सफलता पक्कै पनि आर्डेनको मात्र होइन। यो जनस्वास्थ्यसम्बन्धी सम्पूर्ण संस्थाहरुको सामूहिक उपलब्धि हो। जसलाई विपक्षी नेता र सम्पूर्ण देशबासीले साथ दिए।
सरकारले आर्थिक पुनरुत्थानका कार्यक्रम घोषणा गरेको छ। तर, केही विपक्षी नेता र जनस्वास्थ्य विज्ञले लकडाउन हटाउनुपर्ने माग राखेका छन्। अनावश्यक लकडाउन गरेको आरोप उनीहरुले सरकारलाई लगाएका छन्। उनीहरुको तर्क छ– अस्ट्रेलियाले न्युजिल्यान्डको जस्तो कडा लकडाउन नगरी कोरोना संक्रमितको संख्या घटायो।
अन्तर्राष्ट्रिय सम्बन्धका विद्वान ज्याक्सन पनि आर्डेनलाई बाराक ओबामासँग तुलना गर्छन्।
‘ओबामाजस्तै उनी विदेशमा लोकप्रिय तर घरमा विवादित छिन्,’ उनी भन्छन्, ‘तर, यो संकटको बेला उनलाई जति समर्थन प्राप्त भएको छ, त्यति उनले कहिल्यै पाएकी थिइनन्।’
बजार अनुसन्धान गर्ने कम्पनी कोलमार ब्रन्टनले अप्रिलको सुरुमा गरेको सर्वेक्षणअनुसार न्युजिल्यान्डका ८८ प्रतिशत नागरिक कोभिड–१९ विरुद्ध सरकारले सही निर्णय लिने विश्वास गर्छन्। महामारी रोक्न सरकारले गरेका निर्णयहरुलाई ८४ प्रतिशतले समर्थन गरेका छन्। अमेरिकासहित विश्वका ७ विकसित अर्थतन्त्रमध्ये यो सबैभन्दा उच्च दर हो। आर्थिक पीडा बेहोरेर भए पनि न्युजिल्यान्डका नागरिकले सरकारको नीतिलाई साथ दिएका छन्।
आर्डेन र युरोपका थुप्रै युवा नेताहरुले कोरोना भाइरसको संकटमा राम्रो नेतृत्व गरेपनि यो पुस्ताका नेताहरुले महामारीपछिको समस्यालाई कसरी झेल्लान् भन्ने चिन्ता आफूलाई रहेको ज्याक्सन बताउँछन्।
‘संकटको बेला निर्णय गर्नु र रणनीतिक महत्वको निर्णय गर्नु अलग कुरा हुन्,’ उनी भन्छन्, ‘महामारीपछिका वर्षहरुमा संसार परिवर्तन हुँदैछ। त्यस्ता धेरै परिवर्तन नराम्रा नै हुनेछन्। आर्थिक महामन्दी अवश्यंभावी देखिन्छ। चीनको रणनीतिक अवसरवादको पनि कुनै सीमा छैन। महामारीको मौका छोपेर जहाँसुकै तानाशाहहरुले समाजमाथि नियन्त्रण कायम गर्दैछन्। बहुपक्षीय संस्थाहरुले बाचा गरेबमोजिम नतिजा दिइरहेका छैनन्। अहिलेको संकटबाट सहजै पार हुनु भनेको अझ कठिन संसारमा अझ लामो प्रक्रियामा प्रवेश गर्नु मात्रै हो।’
(दि एटलान्टिकबाट)

प्रतिक्रिया