सोमबार पदोन्नती भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई सरकारले प्रदेश प्रमुखको रुपमा खटाउने तयारी गरेको छ।
हाल प्रदेश २ मा रहेका डीआईजी प्रद्युम्न कार्की र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहेका निरज शाहीलाई सरुवा गर्दै त्यहाँ पनि नवनियुक्त डीआईजीलाई पठाउने तयारी गृहले गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रदेश नम्बर १ मा डीआईजी ईश्वरबाबु कार्कीलाई पठाउने भएको छ।
प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्त लामा, गण्डकी प्रदेशमा धनश्याम अर्याल, प्रदेश नम्बर ५ मा रबिन्द्र बहादुर धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई पठाउने भएको हो। यस्तै सीआईबीमा सहकुलबहादुर थापालाई पठाउने गृह स्रोतले जानकारी दिएको छ।
निरज शाहीलाई प्रधान कार्यालय, प्रद्युम्न कार्कीलाई विशेष व्यूरो, अरुणकुमार बीसीलाई अख्तियार, प्रकाशजंग कार्कीलाई तालिम केन्द्रको जिम्मेवारी दिइएको छ।
सिफारिस भएको १० दिनपछि नवनियुक्त १० डीआईजीलाई सोमबार दज्र्यानी चिह्न प्रदान गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले नवनियुक्त डीआईजीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन्।
नवनियुक्त डीआईजीहरुलाई सोमबार नै पत्र थमाउने गरी तयारी भइरहेको पनि गृह स्रोतले जानकारी दियो।
गत चैत २८ गते बढुवा समितिले १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो।
Shares

प्रतिक्रिया