बिहान बाटुगुफा मन्दिर अनि दिनभर क्वालालम्पुर सहरको गगनचुम्बी भवनहरूको अवलोकन गरेर थकित भएको ज्यानमा मसाज गरेर झ्याम्म सुत्ने सोच पलायो र दाइलाई भनेँ, 'दाइ अब मसाज जाऔं।'
२० वर्ष मलेसियामा बसेर आफ्नो कम्पनी चलाउनु भएका प्रितम दाइ अलि अकमकाउनु भयो, 'जाने र भाइ? म त जिन्दगी छिरेको छैन त्यस्तो ठाउँमा।'
मलाई झन् कौतुहल जाग्यो र सोधेँ, 'किन? त्यस्तो ठाउँ भन्नाले?'
सजिलै जवाफ दिनु भो, 'भाइ भट्टीबाट दूध खाएर निस्केँ भन्दा कसैले पत्याउँछ?'
आशय बुझेँ, मैले मसाजका विविध रूपबारे फेहरिस्त सुनाएँ। यसरी धारणा बनाउने प्रितम दाइ एक्ला थिएनन्, एक हप्ताअघि दक्षिण कोरिया जाँदा गणेश भाइको नि यही तर्क थियो।
व्यक्तिगत रूपमा त आफ्नो अनुभव सुनाएर कन्भिन्स गर्न सकिन्छ। दक्षिण कोरियामा पूरै नाङ्गै जान पर्ने ठाउँ छिर्नै हिच्किचाएका भाइ दिलिप पछि साउना फ्यान भएका थिए, धेरै कुरा भोगेपछि मात्रै थाहा हुन्छ।
न त प्रितम दाइ न त गणेश भाइ, दोष कसैको हैन। न त बुझाइ नै गलत हो, यो त समाजले सिर्जना गरिदिएको गलत अवधारणा हो। नेपालमा मसाज भन्नासाथ, मसाजभित्र ससाज, मसाज धन्दामा लागेका पक्राउ आदि इत्यादि समाचारमा छाइरहने कुरा हुन् जसले परापूर्व कालदेखि चलिआएको मालिस, जिउ माड्ने, तेल घस्ने परिपाटीलाई गलत व्याख्या गरिदिएको छ। लामै समय घोत्लिएर सोचेँ, 'हैन यसबारे त लेख्नै पर्छ, यो भ्रम त चिर्नै पर्छ।'
तेते भिजभिज, नानी बढबढ, नानी तेते लाइलाइ धेरैले सुनेका शब्द हुन्। प्रायः सबै केटाकेटीलाई यसरी तेल घस्दा लुटुक्क निदाउँथे, निदाउँछन्। यही प्रचलनको आधुनिक 'विकसित' रूप हुन्, थाइल्यान्डमा प्रचलित शब्द 'ह्याप्पी एन्डिङ'। दुवै सत्य हुन्, मसाजका पर्यायवाची हुन्। भ्रमित शब्दजालहरूको सही अर्थ लगाउने हो भने 'ह्याप्पी एन्डिङ' भन्नु नै सुखान्त हो। वास्तवमै मसाज, जिउ माडमुडको अन्तिम नतिजा सुखान्त नै हो, जहाँ तनाव, थकान मेटिएर मिठो निन्द्रा लाग्ने वा शरीर तन्दुरुस्त र फुर्तिलो हुने गर्छ।
मेरो ध्येय मसाजप्रेमीका नाताले नेपाल, फिनल्यान्डलगायत अन्य युरोपेली मुलुक, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, दक्षिण कोरिया, इन्डोनेसिया आदि ठाउँहरूका मसाज/स्पामा प्राप्त अनुभव सेयर गर्नु हो।
मसाजका प्रकारहरू
मसाजका प्रकार, नामकरण अनि विशेषता अनेक छन्। मसाजका विविध रूपका सबिस्तार बयान गर्न कठिन छ तर चाहना हुनेलाई यी सबै मसाजबारे सजिलै जानकारी हासिल गर्न सकिन्छ।
हाम्रो बोलिचालिमा 'माड्ने', 'रगड्ने', 'घोट्ने', 'सुम्सुम्याउने', 'मुसार्ने' जस्ता शब्दावलीहरू मसाजकै सेरोफेरोमा प्रयोग हुन्छन्। कति ठाउँमा ढुङ्गा घोटेर ('स्टोन मसाज'), कति ठाउँमा नरिवलको धुलो घोटेर ('कोकोनट स्क्रब') गरिन्छ भने धेरैजसो मसाज त्यत्तिकै गरिन्छ। नेपाली परम्परामा, तोरीको तेलमा 'लसुन', 'मेथी' पड्काएर घस्ने चलन अत्यधिक छ। यसरी जिउमा तेल र अन्य जडिबुटीको मिश्रणयुक्त मसाजले आनन्द महसुस हुनुका साथै छालाको रेखदेखमा मदत पुर्याउने विश्वास पाइन्छ।
चुरो कुरा माडमुड पार्ने रहे तापनि यसैलाई व्यावसायिक बनाउन विश्वमा विभिन्न नामले प्रचलित छ। जस्तै 'स्विडिस मसाज', 'थाइ मसाज', 'स्पोर्ट मसाज', 'हिकारी मसाज', 'स्टोन मसाज', 'डिप टिस्यु मसाज', 'आयुर्वेदिक मसाज' आदि इत्यादि। र सबै मसाजहरूमा केही समानता अनि केही भिन्नता रहने गर्छन्। जे जस्तो नाम दिए तापनि मसाजले शारीरिक र मानसिक थकान मेटाएर शान्त बनाउन मद्दत गर्छ भने कतिपय अवस्थामा मासु डल्ला परेको, नसा खुम्चिएको वा च्यापिएको केसमा पनि नियमित मसाजले सहयोग पुर्याउनुको साथै छालामा चमक ल्याउँछ।

कस्तो ठाउँमा मसाज गर्ने?
झन्डै एक दशक ठमेलमा बिताएको यो पंक्तिकारलाई त्यतिखेर सुनिने 'मसाज' ले बालपनमा बाआमाले तेल घसेर लुटुक्क निदाएको मसाज नै बिर्साएको थियो। त्यो शब्द सुन्दा नै माथिका प्रितम अनि गणेशका जस्तै भाव जाग्थ्यो। तर लामो समयको विदेश बसाइमा मलाई यो निकै चाख लाग्न थाल्यो र आफू बसेको मुलुक फिनल्यान्डमा विविध खाले मसाज गर्न थालियो। लामो समय ढाड झम्झमाउने समस्या थियो, तालिम प्राप्त स्पोर्ट मसाजरबाट तीन पटक 'डिप टिस्यु मसाज' गरेपछि झम्झमाउने समस्या पूरै निको भयो। झन्डै ७ घन्टाको बस यात्रापछि थकित शरीरलाई लाट्भियामा एक मसाजरले 'रिल्याक्सेसन मसाज' गरेकी थिइन्, त्यहीँ भुस भएछु, कराएरै उठाउन परेको थियो।
तुलनात्मक रूपमा युरोपतिर महँगो पर्छ भने मसाजका लागि पूर्वी एसियाका मुलुकहरू जस्तै थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया प्रख्यात छन्। ती मुलुकहरूमा कतिपय पर्यटकहरू जहाजबाट होटल पुग्नुअघि मसाज सेन्टर जाने रहेछन्। 'फुट मसाज' (खुट्टा मालिस) एकदमै प्रख्यात छ, जुन जहाजको एकोहोरो बसाइ अनि लामो हिँडाइपश्चात थकित भएका लागि एकदमै उपयुक्त हुन्छ। यो मसाज खुला अनि सामूहिक रूपमा गरिन्छ, कतिपय ग्राहक मसाजकै समयमा निदाइरहेका भेटिन्छन्।
थाइल्यान्डको पताया अनि क्याम्बोडियाको सियान रिप सहरका गल्लीगल्लीमा माछाले टोक्दै, खेल्दै गरिने खुट्टाको मसाज पनि अद्भुत लाग्ने रहेछ। ती सडकहरूमा ग्राहकहरू माछा राखिएको भाँडोमा खुट्टा डुबाएर 'स्न्याक्स' अनि पेयको चुस्कीसँगै सडकको रमझम नियालिरहेको दृश्य मनोहर लाग्छ।
हुन त जापानी नामको हो तर दक्षिण कोरियामा चाहिँ 'हिकारी मसाज' लोकप्रिय रहेछ।
पैसाको हिसाबले इन्डोनेसिया, थाइल्यान्ड निकै सस्तो छ, तैपनि मसाजको प्रकृति अनि मसाज केन्द्रको स्तर, सरसफाइले मूल्यमा फरक पर्दछ। उदाहरणको लागि बालीमा १ घण्टा 'फुल बडी मसाज' त्यहाँको पैसा ७० हजार रुपैयाँदेखि ४ लाखसम्म लिने रहेछन्, जुन नेपालीमा लगभग ६०० देखि ४ हजार पर्न आउँछ। मसाजबाट हुने लाभ उस्तै भए पनि अन्य सेवाले मूल्यमा फरक पार्दछ। जस्तै सस्तो खाले ठाउँमा, तौलिया अनि तन्नाहरू नफेरेको ठ्वास्स गनाउने हुन सक्छन्। तर महँगो ठाउँ भने ५ तारे होटल जस्तै महसुस हुन्छ, जहाँ मसाज गर्नुअघि काँक्रो, कागती पानीले खुट्टा धोइदिने, जुसहरू पिलाउने, प्राइभेट रुम अनि नुहाउने व्यवस्था, मसाजपछि पुन चियाकफी जस्ता सुविधा हुन्छन्।
यो केवल सामान्य तुलना मात्र गर्न खोजेको, धेरै पैसा तिरेकै भरमा सन्तुष्टि मिल्छ भन्ने चाहिँ छैन, व्यक्तिगत रोजाइको कुरा हो, मुख्य कुरो मसाजबाट लाभ महसुस हुनुपर्यो।
मसाजका अनगिन्ती लाभ हुनुका साथै कतिपय ठाउँमा भने मसाजका नाममा अन्य गतिविधिलाई बढावा दिएको पाइन्छ। जस्तै भियतनामको हो ची मिन्ह सहर अनि थाइल्यान्डका विभिन्न ठाउँमा मसाज गर्न सस्तोमा छिराउने अनि भित्र लगेर अन्य सेवाजस्तै 'ह्याप्पी एन्डिङ', 'बुम बुम' का लागि प्रोत्साहन गर्ने रहेछन्। तर, ती सबै सेवाहरू उनीहरूले व्यवस्थित ढङ्गले प्रदान गर्ने रहेछन्- रोगव्याधबाट सुरक्षित हुँदै, सहमतिमै, कुनै छलछामबिना। अर्थात्, ग्राहकले जुन सेवा लिन्छ, त्यसैको मूल्य तिर्छ। व्यापारीले आफ्नो माल बेच्न खोज्छन्, सामान्य व्यापारको नियम।
त्यसो त विभिन्न रेड लाइट क्षेत्रमा देह व्यापार गर्नेहरू लामबद्ध हुन्छन्, ग्राहकले चेकजाँच गरेर मोलमोलाइ गरेर होटलतिर लैजान्छन्। आजभोलि यस्तो व्यापारमा लामबद्ध हुनेमा महिला, पुरुष अनि समलिंगी पनि हुने रहेछन्। यहाँ जे उल्लेख गरे तापनि थाइल्यान्डले त आफूलाई मसाज अनि सेक्स पर्यटन गन्तव्यका रूपमा परिचय बनाएको छ। अनि यसै क्षेत्रबाट आर्थिक विकास गरेको छ।
'थाइ फुल बडी मसाज' अनि त्यसमा पनि 'आयल मसाज' चाहिँ अन्य गतिविधिका लागि उत्प्रेरक हुने रहेछन्। त्यसकारण शुद्ध मसाज मात्रै गर्ने उद्देश्यका लागि 'आयल मसाज' बाहेक अन्य रोजेर जाँदा हुन्छ। तर जुन रोजे पनि ग्राहकको मर्जीअनुसार सेवा अनि शुल्क लिन्छन्। पर्यटकहरूको चाहना अन्य सेवा वा थप सेवा पनि हुने हुँदा कतिपय मसाज केन्द्रहरूले त सूचना नै टाँसेर 'नो ह्याप्पी एन्डिङ, नो सेक्स' लेखेका हुन्छन्।
इन्डोनेसिया मूलतः मुस्लिम बाहुल्य मुलुक भएकाले होला, अल्कोहल अनि यौनजन्य क्रियाकलापमा कडा रहेको पाइन्छ। त्यसैले बालीतिर थाइल्यान्ड, भियतनाममा जस्तो मसाजमा थप सेवा विरलै भेटिन्छन्। तर त्यहाँको मौलिक 'बालिनिज मसाज' संरक्षण भने सरकारी स्तरमै गरिएको पाइन्छ।
त्यसैगरी थाइल्यान्डको मौलिक 'थाइ मसाज' विकृति नआओस् भनेर सरकारी स्तरमा नै कदमहरू चालिएको भेटिन्छ। उदाहरणको लागि कैदी महिलाहरूलाई तालिम दिएर कैद भुक्तानपछि यो पेसामा लगाइने रहेछ। यसरी पूर्वकैदीहरूबाट सञ्चालित मसाज केन्द्रहरू 'ट्रिप एडभाइजर २०२४' को उत्कृष्ट सूचीमा पर्न सफल भएका रहेछन्।
त्यसैगरी दृष्टिविहीनहरूले सञ्चालन गरेको मसाज केन्द्रहरू पनि निकै लोकप्रिय छन्। यस्ता केन्द्रहरूमा उच्च स्तरका मसाज सेवा बाहेक अन्य गतिविधि हुँदैन र वास्तविक मसाज प्रेमीहरूको रोजाइमा पर्ने रहेछ।
नेपालमा मसाज
थोरै बुझेको भरमा ठूला कुरा गर्न मनासिव हुँदैन। नेपालमा मसाजका सेवाबारे आफै सहभागी नभएकोले धेरै थाहा छैन। माथि उल्लेख गरिएभन्दा उच्च स्तरको भइसकेको नि हुन सक्छ तर मैले सुनेको भरमा, अरेको भरमा लेख्दा गलत सन्देश जान सक्छ। इन्टरनेटमा यसो चिहाउँदा नेपालमा पनि योग, ध्यान, स्पा, साउना, स्तरीय मसाज केन्द्रहरू व्यावसायिक रूपमा सञ्चालन भैरहेको देखिन्छ तर आफैले सेवा नलिएसम्म उल्लेख गर्न प्रत्युत्पादक हुन सक्छ।
नेपाल जाँदा प्राय फिनिस साथीहरू पनि सँगै जान्छन्, उनीहरूको अनुभव, उमेर, चाहनाका आधारमा मिश्रित प्रतिक्रिया पाएको छु। मेरो आफ्नै अनुभव भने, आजभोलि खुलेका स्पोर्ट क्लबमा साउनासँगै गरिने मसाज राम्रो लाग्छ। तर नेपालमा केही वर्षदेखिको मेरो रोजाइ भने काठमाडौंको ज्याठामा रहेको दृष्टिविहीनहरूले सञ्चालन गरेको 'सिइङ ह्यान्ड्स नेपाल' पर्ने गरेको छ।
त्यसो त मेरा रमाइला अनि उरन्ठेउला मित्रहरू– 'ह्या बल्लबल्ल नेपाल आको छस्, कहाँ त्यस्तोतिर लाग्या, ल हिँड् अन्तै लैजान्छु' भनेर प्रोत्साहित गर्छन्। तर उनीहरूको सदासयतालाई सम्मान गर्दै पनि मैले भने 'सिइङ ह्यान्ड्स नेपाल' छोडेको छैन। नेपालमा मात्रै हैन, एक महिनाअघि थाइल्यान्डको चियाङ माइ सहरमा पनि यही ब्रान्डको मसाज केन्द्र पुगेर दृष्टिविहीन मसाजरबाट सेवा लिनुको साथै भलाकुसारी गरेको थिएँ। नेपालमा पनि थाइल्यान्डबाट तालिम दिन आउने रहेछन्।
मसाजबारे यति बेलिबिस्तार ल्याएपछि कताकता अरु देशको प्रचार गरेको जस्तो नि लाग्न सक्छ, तर मैले केवल आफ्नो भोगेको अनुभव बाँडेको मात्र हो। यो अद्भुत स्वास्थ्यवर्धक प्रविधिको विकास होस् भन्ने ध्येय हो। मौका मिल्नासाथ तोरीको तेलमा 'लसुन', 'मेथी' फुराएर घाममा ढुङ्गामाथि बसेर तेल घस्नु जीवनको उत्कृष्ट अवसर लाग्छ।
वर्षको आधा समय मात्रै घाम लाग्ने फिनल्यान्डमा यो क्षण लामो समयको पर्खाइमा मात्रै प्राप्त हुन्छ, त्यसैले यस्तो समय चुकाउने गरेको छैन।
शब्दजालको समय छ, भाइरलवालाको समय छ। यत्ति लामो गन्थन पढेर कसैले 'मेथी मसाज', 'फुराको लसुन मसाज', 'सिस्नो मसाज' खोलेर अहिले प्रचलित 'स्विडिस मसाज', 'थाइ मसाज' प्रेमी पर्यटकको सानो अंश मात्रै तान्न सकियो भने, हाम्रा मौलिक पद्धतिको जगेर्ना गर्दै आर्थिक उन्नति गर्न सकिन्थ्यो होला।
अझ हामी त बुहारीले सासूलाई, भाउजूले नन्दआमाजुलाई तेल लाउने, खुट्टा मिच्ने संस्कार (गलत अर्थमा नबुझिएमा) बाट हुर्केका, अनि विविध जडिबुटीयुक्त वातावरण रहेको साथै स्वास्थ्यवर्धक तेलहन वस्तुहरू आफैँ उत्पादन गर्न पनि सक्छौँ। त्यसकारण नेपालमा मसाज पद्धति विकसित अनि लोकप्रिय बनाउन त्यति कठिन नहोला।
यो दिशामा थोरै पनि अघि बढ्न सकियो भने गणेश दाइ अनि प्रितम भाइहरूले मसाज केन्द्र धाउँदै 'ह्याप्पी एन्डिङ' को साटो मेथी मसाजको 'सुखान्त अन्त्य' अनुभव गर्ने थिए।
Shares

प्रतिक्रिया