हरेक वर्ष जुन ५ लाई हामीले विश्व वातावरण दिवसको रूपमा मनाउने गरेका छौँ। यो दिवस सन् १९७२ मा स्विडेनको स्टकहोममा आयोजित संयुक्त राष्ट्रसंघको पहिलो वातावरण सम्मेलन पश्चात् सुरु भएको हो। सन् १९७३ देखि मनाउन थालिएको वातावरण दिवसको मुख्य उद्देश्य भनेको पर्यावरणीय संकटप्रति जनचेतना अभिवृद्धि गर्दै मानिसको बानी, व्यवहार परिवर्तनका लागि प्रेरित गर्ने र विश्वव्यापी समस्यामा विश्वव्यापी ऐक्यबद्धता जाहेर गर्नु हो। हरेक वर्ष पर्यावरणीय हिसाबले महत्वपूर्ण सवालमध्ये कुनै एक जल्दोबल्दो सवालमा केन्द्रित रहेर नयाँ नारा तय गर्ने गरिन्छ। सन् १९७३ मा पहिलो वातावरण दिवसमा ‘एकमात्र पृथ्वी’ नाराबाट सुरु वातावरण दिवस मनाउन थालिएको थियो।
यस वर्षको नारा ‘प्लास्टिक प्रदूषणको अन्त्य गरौँ’ रहेको थियो। विश्व वातावरण दिवसको अवसरमा नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित विशेष संवाद कार्यक्रम मार्फत नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना सबै तहका कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरेका छन्। उनले जुन ५ (विश्व वातावरण दिवस) देखि लागू हुने गरी पार्टीको सबै तहका कार्यालयहरू, भ्रातृ संस्था, शुभेच्छुक संगठनहरू तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरूलाई प्लास्टिकविहीन क्षेत्र बनाइने घोषणा गरेका हुन्।
देउवाले वातावरणमा प्लास्टिकजन्य वस्तुहरूले पुर्याउने नकारात्मक असरप्रति गम्भीर ध्यानाकर्षण गराउँदै, पार्टीले लिएको निर्णयको प्रभावकारी कार्यान्वयनमा सबै तहबाट सकारात्मक सहयोग हुने विश्वास व्यक्त गरेका थिए। उक्त घोषणा सभामा सन् ‘२०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा पुष्टि भइसकेको उल्लेख गर्दै देउवाले ढिलो नगरी जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न निर्णायक र ठोस कदम चाल्न आवश्यक रहेको उल्लेख गरेका थिए।
पृथ्वीको वायुमण्डलमा आवश्यकताभन्दा बढी मात्रामा हरितगृह ग्यास (जस्तैः कार्बन डाइअक्साइड, मिथेन, कार्बन मोनोअक्साइड आदि) को सघनता बढ्दा पृथ्वीको तापक्रम बढ्छ र त्यसको कारण जलवायु परिवर्तन हुन्छ। यी ग्यासहरूको अत्यधिक उत्सर्जन सन् १७६० देखि पश्चिमा देशहरूले सुरु गरेको जीवाश्म इन्धन (कोइला, तेल र प्राकृतिक ग्यास)मा आधारित औद्योगीकरणको परिणाम हो। जलवायु परिवर्तनका कारण पृथ्वीमा अत्यधिक मात्रामा हिउँ पग्लने, खडेरी पर्ने, भूस्खलन हुने, बाढी आउने, जैविक विविधता नष्ट हुने, अतिवृष्टि वा अनावृष्टि हुने र समुद्री सतह बढ्ने जस्ता घटनाहरू दैनिक रूपमा घटिरहेका छन्।
असार २४ गते नेपाल–चीन सीमाबाट करिब ३५ किमि माथि तिब्बती क्षेत्रमा अवस्थित प्युरेपू हिमनदीमा रहेको सुप्रग्लेसियल तालबाट पानी निकास हँुदा ल्हेन्दे खोला हुँदै भोटेकोसी नदीमा आएको बाढीले ठूलो विनाश निम्त्याएको छ। उक्त बाढीका कारण कम्तीमा १० जनाको ज्यान जानुका साथै १९ जना बेपत्ता भएका छन्।
उता बारा, पर्सा, सिरहा, सप्तरी लगायतका जिल्लामा खडेरीका कारण पानीका मुहान सुक्दा पिउने पानीको अभाव भएपश्चात् नेपाली सेना र नगरपालिकाले वारुणयन्त्र मार्फत नागरिकहरूलाई पानी वितरण गरिरहेको छ। अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र चुरे क्षेत्र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुका साथै नदी तथा कुलोहरूमा पानीको कमीले सिँचाइ प्रणालीमा समेत प्रभाव परेकाले नेपाल सरकारले मधेस प्रदेशका ८ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा हो।
बढ्दो तापक्रम र हिमतालको तीव्र विस्तारका कारण हिमताल विस्फोटका घटना बढ्दै गएको छ भने हिमबाढीले महत्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुर्याउने गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा यस समस्यासँग जुध्नका लागि हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने, प्रविधिको हस्तान्तरण गर्ने, क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने र औद्योगिक देशहरूले आर्थिक स्रोत तथा साधनको हस्तान्तरण गर्ने जस्ता प्रतिबद्धताहरू गरिएको छ। तर, तिनको कार्यान्वयनको अवस्था भने निकै कमजोर र चुनौतीपूर्ण छ।
प्लास्टिक हाम्रो दैनिक जीवनको एक अभिन्न अंगजस्तै भएको अवस्थामा कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले २०८२ असार २ गते देखि साउन ६ गतेसम्म आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तन सरोकार विषय सम्बन्धी ३० दिन लामो प्रशिक्षण कार्यक्रममा ४५ जिल्लाका करिब ८० जना सहभागीलाई १ सय १४ जना विज्ञ, प्राज्ञले सहजीकरण गरेर जलवायु परिवर्तनको संकट, प्रकृति, भूमि र जैविक विविधता नष्ट हुने संकट र प्रदूषण तथा फोहोर व्यवस्थापनको संकट न्यूनीकरणका लागि योगदान गर्न अभिप्रेरित गरिरहेको छ।
यी सहभागीलाई विषय विज्ञको रूपमा विकास गर्न पुनः ७० दिनको प्रशिक्षण सञ्चालन गर्ने योजनाले कांग्रेस पछिल्ला दिनहरूमा वातावरणीय र सार्वजनिक स्वास्थ्यका सवालमा जिम्मेवार तथा अग्रसर राजनीतिक दलको रूपमा आफूलाई प्रस्तुत गर्न थालेको छ। पर्यावरणीय न्याय, जलवायु सचेतना र जनस्वास्थ्य संरक्षणका सवालमा पार्टी भित्रको पहलले नीति र व्यवहार दुवैमा नयाँ चेतनाको संकेत दिएको छ।
नेपालको सन्दर्भमा पनि प्लास्टिकजन्य प्रदूषणले विकराल रूप लिँदैछ गएको छ। सहरी फोहोरको प्रमुख हिस्सा प्लास्टिक र ढलले ओगटेका छन्। अधिकांश नगरपालिका र गाँउपालिकामा प्लास्टिकको प्रयोगपश्चात छुट्टाछुट्टै संकलन, पुनप्र्रयोग गर्ने संरचना र चेतना छैन। प्लास्टिक फोहोर खुला ठाउँमा जलाउने, नदी किनारमा लगेर फ्याल्ने वा डम्पिङ गर्ने बढ्दो प्रचलनले माटो, पानी र हावामा विषाक्तता बढाइरहेको छ।
काठमाडौँ, विराटनगर, पोखरा, नेपालगञ्ज, चितवन, हेटौँडा, धरानजस्ता ठूला सहरका सडकछेउ फ्यालिएका प्लास्टिकका झोला, बोतल र प्याकेटहरूले हाम्रो चेतनालाई नै चुनौती दिइरहेका छन्। वागमती, विष्णुमती, नक्खु, हनुमन्तेजस्ता सहर केन्द्रित नदीहरू प्लास्टिक फोहोरले थिचिएका छन्। हिमाली क्षेत्रदेखि ग्रामीण भेगमा समेत प्लास्टिक पोका र बोतल मानवबस्ती वरपरका चौर, वन क्षेत्र र संरक्षित क्षेत्रमा समेत छरपस्ट देखिनु सामान्य दृश्यजस्तै बनेको छ।
वातावरण संरक्षणका लागि भन्दै अधिकांश स्थानमा तामझामपूर्ण रूपमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरेका समाचार प्रकाशन, प्रसारण भएको देखिन्छ। यो वातावरण संरक्षणका दृष्टिकोणबाट सुखद नै हो तर यस्ता गतिविधि प्रचारमुखी बन्न थालेका छ्न। प्रचार हैन परिणाम निस्कने गरी काम गर्न आवश्यक छ। पर्यावरणीय चेतना फैलाउने नाममा फोटो सेसनका लागि रूख रोप्ने तर पछि त्यसको हेरचाह र संरक्षण नगर्ने प्रवृत्तिले वातावरणको संरक्षण र प्रोत्साहनभन्दा नागरिकलाई निरुत्साहित गरेको पाइन्छ।
इन्धन प्रदूषण र औद्योगिक प्रदूषण दुवै एक अर्कासँग जोडीएका चुनौती हुन्। दुवै क्षेत्रको सुधारका लागि उच्च गुणस्तरको इनधन उपलब्धता, पुराना सवारी साधन प्रतिबन्ध, विद्युतीय सवारी साधनलाई प्रोत्साहन र औद्योगिक प्रदूषण नियमन गर्नुका साथै प्रदूषण नियन्त्रण प्रविधिमा लगानी र प्रविधिको आधुनिकीकरण, प्रदूषणका कारण स्वास्थ्य जोखिम र पर्यावरणीय प्रभावबारे नागरिकलाई सुसूचित गर्दै प्रभावकारी निगरानी संयन्त्रको निर्माण, दण्डात्मक कारबाहीको व्यवस्था गर्न आवश्यक देखिन्छ।
कांगे्रसले पार्टीको केन्द्रीय कार्यालय, संघीय र प्रदेशका संसदीय दलको कार्यालय, प्रदेश, जिल्ला, क्षेत्रीय, स्थानीय तह, वडा कार्यालयहरू र प्रवासी जनसम्पर्क समिति, शुभेच्छुक तथा भ्रातृ संस्था सहित सबै तहका कार्यालयहरूलाई धूमपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गरेको छ। यो निर्णयले पार्टी संरचना भित्रैबाट स्वस्थ्य जीवनशैली र जिम्मेवार व्यवहारको अभ्यासको स्पष्ट संकेत दिएको छ प्लास्टिक बहिस्कार र सुर्तीजन्य पदार्थको निषेध केवल आन्तरिक घोषणामा सीमित नहुने हो भने यसको प्रभाव राष्ट्रिय स्तरमा पर्नेछ।
यी निर्णयले जलवायु संकट, वातावरणीय प्रदूषण र सार्वजनिक स्वास्थ्यको संवेदनशीलतालाई आत्मसात गर्दै अबको राजनीति सामाजिक रूपान्तरण र जनस्वास्थ्य प्रवर्द्धनतर्फ उन्मुख हुनुपर्छ भन्ने गम्भीर सन्देश प्रवाह गर्नेछ। यदि कांग्रेसले यी निर्णयलाई नीति र कार्ययोजनामा संस्थागत गर्दै देशव्यापी व्यवहार रूपान्तरण गर्यो भने यो अभियानले नागरिकस्तरमा पनि चेतनाको लहर जगाउन सक्छ। राजनीति केवल सत्ता प्राप्तिको साधन नभई समाज परिवर्तनको संयन्त्र पनि हो भन्ने प्रमाणित गर्ने अवसर हुनेछ।
Shares

प्रतिक्रिया