ब्लग


श्रीलंका भ्रमणको अन्तिम गन्तव्य : नेगोम्बोको सिद्रा, समुद्र र बजार

श्रीलंका भ्रमणको अन्तिम गन्तव्य : नेगोम्बोको सिद्रा, समुद्र र बजार

ईश्वर पोखरेल
जेठ २२, २०८२ बिहिबार १६:७,

श्रीलङ्काको भ्रमणमा छौं हामी। आज सिरिगियाबाट नेगोम्बो जाँदैछौं। हाम्रो यो सडक यात्रा हो। हामी बाबुछोरा ट्याक्सीमा छौं। सिगिरियाबाट नेगोम्बो आउँदा बाटाभरि कतै हामीले पहाडबाट गुज्रिनु परेन। यात्रामा नजिकमा पहाड देखिएन पनि। हो, एउटा कुरा भने देखियो- लायन रक निर्माण भएको जस्ता तर त्योभन्दा साना ‘रक’ भने अरु पनि रहेछन्।

हेर्दा समथर भूक्षेत्रमा आँगनको बीचमा थपक्क भकुन्डो राखे जस्तै गरी यामान्का ढुङ्गा! प्रकृतिको यस्तो चमत्कारपूर्ण दृश्य सिगिरियाबाट नेगोम्बोतर्फ भएको हाम्रो यस सडक यात्रामा देखियो।

यस यात्रामा हाम्रो चासोको एउटा पक्ष यहाँको कृषि प्रणाली पनि हो। समथर क्षेत्र भन्नेबित्तिकै हामी कृषि उत्पादनका लागि अनुकूल क्षेत्र भनेर बुझ्ने गर्दर्छौं। कृषि उत्पादन भन्दा हाम्रा आँखामा धान, मकै, गहुँ, कोदो, फापर जस्ता अन्न; दलहन, तेलहन, तरकारी र उखु, सुर्ती, सनपाट आदि नगदे बाली आउँछ। हामीकहाँ किसानहरू अन्न उत्पादन घटाउँदै र तरकारी र फलफूल खेती बढाउँदै गरेझैँ देखिएका छन्।

केहीयता टनेलमा तरकारी खेती गर्ने प्रचलन पनि बढ्दै गएको छ। पहाडको चुलीमा वा अग्लो ठाउँमा गएर बेसी वा खोंचतिर हेर्ने हो भने हाम्रातिर टनेलैटनेल ओछ्याए जस्तै देखिन्छ। तर हामी श्रीलङ्का भ्रमणका क्रममा यस यात्रामा जुन रुटमा हिँड्यौं, टनेलमा तरकारी खेती गरेको कतै देखिएन। हो, एलाबाट क्यान्डी आउने ट्रेनको रुटमा चियाबारीका बीचोबीच दौडिए पनि कतिपय स्थानमा तरकारी खेती पनि देखिएको थियो; तर टनेलमा होइन।

कृषि कार्य मौसममा आधारित हुने। नेपालको मौसम प्रणाली र श्रीलङ्काको मौसम प्रणाली फरकफरक रहेछ भन्ने हामीलाई एलाको बिरौटो खेतमा धान रोप्दै गरेका किसानहरूलाई देख्दै लागेको थियो। मिरिसाबाट एला आउँदा बाटामा हामीले खेतका गह्रामा झुल्दै गरेका धान देखेका थियौं। हिन्द महासागरमै रहेकाले पोखरी बनाएर माछा पालन गर्ने अवस्था श्रीलङ्कामा नहुनु स्वाभाविक नै होला। बजारमा माछाको प्रचुर उपलब्धताबाट खानपान प्रभावित हुनु पनि अस्वाभाविक होइन होला।

सिगिरियाबाट नेगोम्बोको यस यात्रामा हामीले अन्नबाली झुलेका खेत र हरिया/पहेँला बालीनालीले एक रङमा रङ्गिएका फाँट देख्ने जुन अपेक्षा गरेका थियौं, त्यस्तो पाइएन। नरिवल खेती हुँदो रहेछ, ठूलो क्षेत्रफल नरिवल नै नरिवलले ढाकेको देखियो; दलहन, तेलहन र उखुजस्ता नगदे बालीको खेती पनि खासै देखिएन।

सिगिरियाबाट नेगोम्बो आउँदा बाटामा पर्ने एउटा ठूलै सहर रहेछ— कुरुनेगेला। कुरुनेगेला हाम्रै मधेसका सहरजस्ता। घरहरू पनि उस्तै। बजार पनि उस्तै। बिक्रीका लागि राखिने सामान पनि लगभग समान। मोटरको ट्वाँट्वाँ पनि उस्तै। गर्मी भने अलिक कम। हुन सक्छ— सडकमा ओर्लिने अवस्था नपरेकाले पनि यस्तो लागेको होस्। हामीलाई आज नेगोम्बो पुग्ने हतार छ। हाम्रो ड्राइभरलाई हामीलाई तोकिएको गन्तव्यमा पुर्‍याएर घर फर्किने हतार! उसको हतारलाई सपोर्ट गर्दैमा हाम्रो पनि कल्याण हुने। उसको हतारमै हाम्रो हतार पनि लयबद्ध भयो।

नेगोम्बोसँग हाम्रा धेरै चाहनाहरू जोडिएका छन्। एक त श्रीलङ्कामा आएर हामीले समुन्द्रमा सूर्यास्तको दृश्य देख्न पाएका छैनौं, हामी नेगोम्बोमा त्यो अवसर छोप्न चाहन्छौं। दोस्रो, नेगोम्बो हाम्रो श्रीलङ्काको यस पर्यटकीय भ्रमणको अन्तिम गन्तव्य पनि हो। आज १० फाल्गुण २०८१ (तदनुसार २२ फेब्रुअरी, २०२५) हो।

हामी भोलि बिहानै नेगोम्बोबाट कोलम्बोस्थित बन्दरनायक कोलम्बो इन्टरनेसनल एयरपोर्ट जान्छौं र श्रीलङ्कालाई ‘स्तुति, श्रीलङ्का!’ भन्छौं। (श्रीलङ्कामा ‘स्तुति’को अर्थ ‘धन्यवाद’ रहेछ।) हामी अब घर फर्किने क्रममा छौं र नेगोम्बो हाम्रो यो विदेश यात्राको अन्तिम बजार हो। यति भनी सकेपछि हाम्रा लागि नेगोम्बोको सान्दर्भिकतालाई थप व्याख्या गर्नु परोइन। यसबाहेक, यात्राको सुरसार गर्दा हामीले काठमाडौँमै नेगोम्बोलाई सामुन्द्रिक माछाको राम्रो बजारका रूपमा पहिचान गरेका थियौं, हाम्रो भान्सामा सामुन्द्रिक माछाका सिद्रा खासै रुचिकर ठहरिएन; त्यसैले सिद्रा घर लगिरहनु परेन। तर हामी जो नेगोम्बोमै आइपुगेका छौं, चाख्न पनि बन्चित रहौं? हाम्रो ध्यान त्यतातिर पनि छ।

हामी दुई बजेतिर आइपुग्यौं— नेगोम्बो। सर्तअनुसार, मुख्य बजारबाटै हामीले ट्याक्सीलाई बिदा गर्‍यौं। अब हामीलाई हाम्रो यहाँको होमस्टे ‘भिलाताप्रोबेन’ पुग्नु थियो। झोला बोकेर बजार घुम्नु भनेको घ्युको टिनको कुम्लो बोकेर जनकपुरको गल्लीमा भौँतारिए जस्तै हुने! हामी झोला थन्क्याउन हतारियौं। तर टुकटुक खोज्नुअघि हामीले ‘किङ कोकोनट’को पसल खोज्यौं। पसलको शितलमा बसेर पिक मिमा टुकटुक बोलाउनुभन्दा स्वादको कुरा हाम्रालागि यतिखेर अर्को के हुन सक्थ्यो र!

टुकटुकले हामीलाई आवासीय क्षेत्रको एउटा घरको कम्पाउन्डबाहिर रोकिदियो। यो थियो— हाम्रो यहाँको होमस्टे ‘भिलाताप्रोबेन’। हामी गेट खोलेर भित्र पस्यौं। कम्पाउन्डभित्र फूल र फलफूल। फूलबारीको एक छेउमा कुर्सीमा बसेर गफिइरहेका दुई युगल वयस्क देखिए। तीमध्ये महिला मुस्कुराउँदै हामीतिर आइन्।

‘तपाईंहरू नेपालबाट है!’ उनले हाम्रो स्वागतमा बोलिन्।

हामीले यता लाग्नुभन्दा केही दिनपहिले घरबाटै लज/होमस्टे र कतिपय यात्राका टिकटहरू बुकिङ गरेका हौं। हामी श्रीलङ्का हेर्न आएका हौं। हामीले हेर्दा जुन कुरा सही स्तरमा बुझेनौं, हामीले त्यो स्थितिमा मात्र कसैलाई सोध्यौं। नत्र भने हाम्रो सम्पर्क/वार्तालाप मुख्यतः लज/होमस्टेवाला, रेस्टुरेन्ट/होटलवाला र ट्याक्सी/टुकटुकवालासँग नै भयो। हाम्रो भ्रमणको प्रकृतिले जनस्तरसँगै हाम्रो बढी सम्पर्क/वार्तालाप हुनु स्वाभाविक थियो। हाम्रो सम्पर्कमा आएका व्यक्तिहरूमध्ये यिनै एकजना महिला फेला परिन्, जसले नेपालको नाम उच्चारण गरेकी छिन्।

हामी दङ्गदास भयौं।

एउटा अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाको कार्यक्रममा यिनको छोरो गएको रहेछ— काठमाडौँ। झन्डै हप्तादिन बसेछ— त्यहाँ। बौद्ध गएछ; स्वयम्भू गएछ, मःमः खाएछ र फर्किँदा दिदीबहिनीहरूलाई पस्मिनाको बर्को र मनभरि काठमाडौँको वर्णन कोसेली ल्याएछ।

यिनले हाँसीहाँसी यी कुरा गर्दा यी महिला हामीलाई हाम्रै दिदीबहिनी जस्ती लाग्यो।

यी साँचो खोज्न घरभित्र पसेका बेला हामीले आगन्तुक दर्ता रजिस्टरका केही पाना पल्टाउन भ्यायौं। केही महिनाअघि बुढाथोकी थरकी एक महिला पनि बास बसेकी रहिछिन्— यस होमस्टेमा।

हामीलाई रुम चाहिँ यिनका श्रीमानले देखाए। जोसँग खासै कुराकानी भएन।

झोला थन्क्याएपछि हामी निस्कियौं र दौडियौं— बजारतिर। केही कुराहरू थिए, जो श्रीलङ्का आएको बेला हामीले छुटाउनै हुँदैनथ्यो, तीमध्ये एउटा थियो- नीलम (पत्थर)। अर्को- चिया।

श्रीलङ्काको बजारमा आफ्नै घरेलु/राष्ट्रिय उत्पादन पनि प्रशस्त देखिने। श्रीलङ्काको बजार काठमाडौँको बजार जस्तो आयातीत वस्तुको मात्रै बजार जस्तो नलाग्ने। श्रीलंकाको बजारमा त्यहाँकै राष्ट्रिय उत्पादन बढी देखिने। त्यहाँ बहुराष्ट्रिय कम्पनीहरू पनि रहेछन्। तर तिनीहरूको उत्पादन त्यहीँकै संस्कृति अनुकूल हुने रहेछ। उदाहरणका लागि कोलम्बोमा हामीले टुथब्रस खोज्यौं। छान्ने क्रममा कुनै मन नपरेपछि र बहुराष्ट्रिय कम्पनी ‘लिभर’को पनि त्यहाँ प्रोडक्सन छ भन्ने भएपछि हामीले त्यही कम्पनीको टुथब्रस लियौं. हामी घरमा लिभरकै ब्रस प्रयोग गर्दथ्यौं। तर त्यहाँ किनेको त्यो टुथब्रस हामीले प्रयोग गर्न सकेनौं।

बजारका काम सकिएपछि हामीलाई समुन्द्र तटमा पुग्ने हतारो पर्‍यो। तर समुन्द्रतिर लाग्नुपहिले सामान थन्क्याउन हामीले रुममा पुग्नु अनिवार्य जस्तै भयो। हामी त्यतै दौडियौं।

साँझ पर्नै लागेको छ। बादल लागेको छैन र यहाँबाट सूर्यास्त हेर्न पाइन्छ भन्ने छ। सडकमै टुकटुकलाई छाडेर हामी समुन्द्रतिर दौडियौं। लामै बगर छ; बालुवामा खुट्टा भासिन्छ। तर सूर्यास्त त समुन्द्रको छेउमा गएर अझ पानीमा टेकेर हेर्नु पर्ने! कम्तीमा पनि किनारामा त पुग्नै पर्‍यो।

सूर्य क्षितिजमा अन्तिम विन्दुमा छ र दिनभरको तेज कतै गुमाएर रातो गोला जस्तो मात्र देखिएको छ; मलिन देखिएको छ। सूर्यसँग कहाँ आँखा जुधाउन सकिन्छ! तर यहाँ जति हेरे पनि हुने भएको छ। विविध देश/संस्कृतिका पर्यटकहरूसँगै नेगोम्बोको यस समुन्द्र तटमा त्यो रातो सूर्यास्तलाई हेरेर रमाउनेमा त्यो साँझ हामी पनि थपियौँ। सूर्यास्तलाई लक्ष्य गरेर त्यो साँझ नेगोम्बोको त्यस तटमा हाम्रो पनि क्यामरा चम्कियो।

हामी सन्तुष्ट भयौं।

कोलम्बो, गाल, मिरिसा र नेगोम्बो गरी यस यात्रामा हामी चारपटक हिन्दमहासागरको किनारामा उभिन पुग्यौं। नेगोम्बोको यो ‘बिच’ पनि मिरिसाकै जस्तो समुन्द्रसँग जिस्किन सकिने रहेछ, पर्यटकहरू खुबै झुम्मिने।

नेगोम्बोसँग संवादका हाम्रा केही बुँदाहरू अझै बाँकी छन्।

समुन्द्र किनारमा रमाइरहेका पर्यटकहरूको जय होस्। हामीलाई भने बजारतिर लाग्न हतार छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad