ब्लग


रोटरी क्लबका लागि समाजसेवी खड्गजीत बरालले दिएको योगदान

रोटरी क्लबका लागि समाजसेवी खड्गजीत बरालले दिएको योगदान

गणेशबहादुर थापा
जेठ ५, २०८२ सोमबार १४:११, काठमाडौँ

आज वि.सं. २०८२ जेठ ५ गते, रोटरी क्लब अफ पशुपति काठमाडौँका संस्थापक सदस्य तथा चौथो अध्यक्ष स्व. खड्गजीत बरालको चौथो स्मृति दिवस। २०५५ सालमा रोटरी क्लब अफ पशुपति काठमाडौँको स्थापना प्रक्रिया (चार्टर) मा बरालजले अग्रणी भूमिका खेल्नुभयो। उहाँकै अग्रसरतामा यस क्लबको चार्टर हुने दिनको अवसरमा नेपाल पुलिस ब्यान्ड (हाल नेपाल प्रहरी सङ्गीत विद्यालय) को टोलीलाई पनि झिकाई सङ्गीत प्रदर्शन गर्न लगाइयो।

पहिला नेपालको रोटरी सेवा भारतको कलकत्तामा रहेको रोटरी डिस्ट्रिक्ट ३२९० अन्तर्गत पर्थ्यो र भारतीय रोटेरियनहरूले उनीहरूकै मातहत परोस् भनी चाहन्थे। रोटरी डिस्ट्रिक्ट ३२९० लाई विभाजन गरी नेपाललाई छुट्टै रोटरी डिस्ट्रिक्ट ३२९२ बनाउनमा बरालको अतुलनीय भूमिका रह्यो।

बराल एक नेतृत्वदायी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ अत्यन्त श्रमशील र प्रष्टवक्ता हुनुहुन्थ्यो। उहाँसँगका कुराकानी, बहस आदिमा बिर्सन नसकिने र स्मरणयोग्य एउटा कथन थियो- कुरा कम, काम बढी गर।’ वास्तवमा उहाँ एक कर्मपुरुष हुनुहुन्थ्यो। उहाँले जुन काममा हात हाल्नुहुन्थ्यो, त्यसलाई फत्ते गरेरै छाड्नुहुन्थ्यो वा पछि गर्नेको पक्षमा उहाँ कहिल्यै हुनुभएन, अर्थात् उहाँ भोलिवादको विरोधी हुनुहुन्थ्यो।

उहाँले सबै कामको ‘फलो-अप’ पनि गर्नुहुन्थ्यो। उहाँमा कहिल्यै आलस्य देखिएन। कुनै पनि काम भोलि चित्त नबुझेका विषयवस्तु सम्बन्धित व्यक्तिलाई अवस्थानुसार मिलाएर प्रष्ट रूपमा बताउनुहुन्थ्यो। उहाँ कसैसँग डराउनुहुन्नथ्यो। त्यसैले विविध रोटरी संस्थाबाट आमन्त्रित हुने क्रममा मैले सम्बन्धित कार्यक्रममा भन्ने गरेको छु - ‘आज बरालजीको अनुपस्थिति ठूलो रूपमा खड्किरहेको छ।’ 

हाँसोठट्टामा साथीहरूसँग केही समय बिताए पनि उहाँको बानी यथाशीघ्र सम्बन्धित विषय र तत्सम्बन्धी गर्नुपर्ने र हुनुपर्ने काममा तुरुन्त प्रवेश गर्ने स्वभावको हुनुहुन्थ्यो। रोटरीको फेलोसिप मिटिङ सीमित अवधिको हुने हुँदा बराललाई लागेका र गर्नुपर्ने काम र कार्यक्रमहरूबारे राति १० बजे पनि कयौँपटक मलाई सम्पर्क गर्नुहुन्थ्यो।

आफ्नो सिद्धान्तमा अटल र त्यसको प्राप्तिको लागि बरालजी सधैँ सक्रिय रहनुहुन्थ्यो। राष्ट्र र समाजलाई यस्ता व्यक्तित्वहरूको आवश्यकता सदैव रहिरहन्छ। नेपालको सुरक्षा निकायको सेवामा प्रवेश गरी आफ्नो सेवाकालको सफलतापूर्वक पूर्णतापछि २०३५ सालमा सो निकायको सर्वोच्च पदबाट स-सम्मान अवकाश ग्रहण गर्नुभयो। समाजसेवामा हुने उहाँका कामकारबाहीमा पनि फौजका कठोर अनुशासन र प्रभाव झल्किरहन्थ्यो। सेवानिवृत्त हुनुभएको दशकौँसम्म पनि उहाँप्रति सम्बन्धित सुरक्षा निकायको सदैव सहयोग र अदब रहेको पाएँ।

बरालजीका सद्गुणहरू र सबै क्षेत्रको जानकारी राख्ने विशेषताहरूको उच्च मूल्याङ्कन गरी २०३६ सालमा उहाँ तत्कालीन बर्मा (हाल म्यानमार) को लागि आवासीय नेपाली राजदूतमा नियुक्त हुनुभयो। त्यस्तै, उहाँका लगनशीलता र राष्ट्रप्रतिको बफादारीले गर्दा तत्कालीन नेतृत्ववर्गले २०४३ सालमा उहाँलाई संसदको सदस्यमा मनोनीत गरी थप जिम्मेवारी प्रदान गर्यो। यसर्थ राष्ट्रका विविध क्षेत्रमा काम गरी सर्वत्र नाम कमाएका व्यक्तित्व विरलै देख्न पाइएला। उहाँले जीवनपर्यन्त लगनका साथ राष्ट्रको सेवा गर्नुभयो। २०७८ जेठ ५ गते उहाँको देहान्तबाट देशले एक सुयोग्य सपुतलाई गुमाएको अनुभूति भयो।

स्थापनाकालदेखि नै बरालजीले रोटरी क्लब अफ पशुपति काठमाडौँलाई धेरै क्षेत्रमा सहयोग गर्नुभयो। त्यस क्लबका प्रारम्भकालीन वर्षहरू अवश्य सहज थिएनन्। सो क्लबमा एउटा मान्य स्तरमा सदस्यहरूको संख्या पुऱ्याउन सक्नु, सदस्यहरूलाई क्लबको मिटिङ हुने दिनमा उपस्थित हुन प्रोत्साहित गर्नु, क्लब मिटिङको लागि उपयुक्त स्थानको व्यवस्था गर्नु, सो स्थानको भाडा तिर्न यथेष्ट आयश्रोतको व्यवस्था मिलाउनु आदि आदि।

यी सबै चुनौतीहरू सुल्झाउने काममा बरालजीबाट निरन्तर रायसल्लाह र सबै प्रकारका सहयोग प्राप्त भयो। ती कठिनाइहरूको सन्दर्भमा उहाँबाट प्राप्त सहयोग र सहभागिताका निम्ति उहाँप्रति सदैव कृतज्ञ रहनेछौँ। वास्तवमा उहाँ रचनात्मक प्रकृतिका व्यक्ति हुनुहुन्थ्यो र उहाँसँग हरेक समस्यासँग जुध्ने सामर्थ्य र प्रतिबद्धता थियो।

रोटरी क्लब अफ पशुपति काठमाडौँलाई तदुपरान्त क्रियाशील र रोटरीका आदर्श अनुरूप अगाडि बढाउन बरालजीले कयौँ परियोजना ल्याउने काम गर्नुभयो। जस्तो कि- अशक्तहरूका लागि खाद्यान्न र लत्ताकपडा वितरण गर्ने, नेत्रज्योति गुमाएकाहरूको सहजताको लागि सेतो छडी उपलब्ध गराउने, विभिन्न स्थानमा स्वास्थ शिविरहरू आयोजना गर्ने, सवारीसाधनको दुर्घटनामा परेर ज्यान गुमाएका आदर्श रोटेरियनको स्मृतिमा कोष स्थापना गर्ने, आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गर्ने, विद्यालयहरूका लागि खेलकुद सामग्रीहरू वितरण गर्ने आदि उहाँकै रचनात्मक सोचका उपज हुन्।

उहाँ ९० वर्षको वयोवृद्ध उमेरको दशक पुगिसक्दा पनि रोटरी क्लब अफ पशुपति काठमाडौँप्रति सदैव समर्पित तथा दान सहयोगमा आफै अगाडि बढेर चन्दा दिने र अन्य रोटेरियनहरूलाई पनि प्रोत्साहित गर्न सदैव समर्पित रहनुहुने एक अद्वितीय रोटेरियन तथा समाजसेवक हुनुहुन्थ्यो। उहाँका योगदान, प्रेरणा र कर्महरूको लागि रोटरी क्लब अफ पशुपति काठमाडौँ उहाँप्रति सदैव कृतज्ञित रहनेछ।

(नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त गभर्नर गणेशबहादुर थापा रोटरी क्लब अफ पशुपति काठमाडौँका संस्थापक अध्यक्ष हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad