सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रामेश्वर चौधरी नियुक्त भएका छन्।
प्रदेश प्रमुख कार्यालयका उपसचिव शेखरकुमार रोकायका अनुसार नागरिक उन्मुक्ति पार्टीका चौधरी मन्त्री नियुक्त भएका हुन्।
यसअघिका मन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि उनलाई मन्त्री नियुक्त गरिएको हो।
'मुख्यमन्त्रीज्यूको कार्यालयबाट सिफारिस भएर उहाँको नाम आयो र सोहीअनुसार भएको छ,' उनले नेपालखबरसँग भने, 'आज साँझ ५ बजे शपथग्रहण तय भएको छ।'
आर्थिक लेनदेनको विषयको अडियो बाहिरिएपछि लक्ष्मणकिशोरले पदबाट राजीनामा दिएका थिए।
चौधरीलाई संसदीय दलका नेता धनश्याम चौधरीले मन्त्रीका लागि सिफारिस गरेका थिए। तर नाउपा सांसद खुसीराम चौधरीले दल नेताले छलफल नै नगरी एकलौटी मन्त्री सिफारिस गरेर विधान विपरीत चलेको भन्दै रामेश्वरको शपथ ग्रहण रोक्न मुख्यमन्त्री कार्यालय, संसदीय दल र पार्टी अनुशासन समितिमा पत्र दिएका थिए।
त्यसपछि शुक्रबार हुने भनिएको शपथ रोकिएको थियो। आइतबार मात्रै पनि खुसीराम चौधरीले प्रदेश प्रमुख नजिर मियाँलाई संसदीय दलको विधिविपरीत रामेश्वरलाई मन्त्री सिफारिस गरेकोेले शपथ ग्रहण नगराउन पत्र लेखेका छन्।
दलको बैठकले बहुमतका आधारमा दल नेता धनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको समेत उल्लेख गरेका छन्। तर धनश्याम दल नेता र समिति सभापति भएको भन्दै पछि हटेर उनैले रामेश्वरलाई सिफारिस गरेका हुन्।
नाउपाभित्र मन्त्री छनोटमा रडाको मच्चिएकै बेला मुख्यमन्त्री शाहले रामेश्वरलाई मन्त्री बनाउने तयारी गरिरहेका छन्। नाउपाका मन्त्रीका विषयमा तीव्र मतभेद छ। सुदूरपश्चिम प्रदेशसभामा नाउपाका ७ सांसद छन्।
तीमध्ये दल नेता धनश्याम रेशम निकट मानिन्छन्। दल नेता धनश्यामले केहीदिन पहिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पत्र लेख्दै रायसहित सिफारिस मागेको थियो।
त्यसपछि अध्यक्ष श्रेष्ठले बैशाख ३१ मा कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिएकी थिइन्। कैलाश सुरुवातदेखि नै रञ्जितानिकट मानिन्छन्।
रञ्जिताले अघि सारेका कैलाशलाई मन्त्रीमा रोक्न रेशम पक्षले दल नेतासमेत रहेका धनश्यामलाई नै मन्त्री बनाउने गरी छलफल गरेको थियो। तर उनी दल नेता र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकाले पछि हटे।
त्यसपछि दल नेता धनश्यामले रामेश्वरलाई मन्त्रीमा अघि सारेका थिए। रामेश्वर नाउपाका संरक्षण रेशमलाल चौधरी निकट मानिन्छन्।
Shares

प्रतिक्रिया