ब्लग


मातृका कोइरालाको गलत कदमविरुद्ध उभिन सकेका देशभक्त छोरा कमल

मातृका कोइरालाको गलत कदमविरुद्ध उभिन सकेका देशभक्त छोरा कमल

कमल कोइराला


गिरिराजमणि पोखरेल
चैत ३०, २०८१ शनिबार १६:४७, काठमाडौँ

कमल कोइराला नेकपा स्थापना हुँदा ११ वर्षको हुनुहुन्थ्यो। २००७ सालको परिवर्तनपछि प्रतिबन्धित भएको कम्युनिष्ट पार्टीमा लाग्नु चानचुने कुरा थिएन। 

अझ पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको आफ्नै छोरा र त्यो बेलाको कोइराला परिवारबाट कम्युनिस्ट पार्टीमा लाग्नु सामान्य घटना थिएन। यस्तै असामान्यताको बीचमा कम्युनिस्ट आन्दोलनमा लागेर वामपन्थी नेताकै रूपमा जीवन व्यतीत गर्नु भएका कमरेड कमल कोइरालाको कृति शेष भएको शनिबार १३ दिन भएको छ। 

त्यतिबेला म काठमाडौँ उपत्यका बाहिर रहेकाले उहाँको अन्तिम विदाइमा सहभागी हुन सकिनँ। काठमाडौँ आएपछि परिवारमा समवेदना व्यक्त गर्न बानेश्वरस्थित उहाँ बस्दै आउनुभएको घरमा पुगेको थिएँ। 

कमल कोइराला आफू काजक्रियामा विश्वास नगर्ने भएपनि परम्परागत ढंगले गर्ने मृत्यु संस्कारलाई छोट्याएर परिवारले सातौँ दिनमै क्रियाकर्म सकेको रहेछ। कमल दाइको भावनालाई ध्यान दिने छोरा डाक्टर कञ्चन कोइराला र छोरी रीचा कोइरालालाई धन्यवाद!

विक्रम २०३० को दशकमा विराटनगरको महेन्द्र मोरङ कलेजमा अध्ययन गरिरहँदा हामी केही साथीहरू तत्कालीन नेकपा चौथो महाधिवेशनको पृष्ठभूमिको विद्यार्थी संगठनमा क्रियाशील भयौँ। देशको त्यो बेलाको सबभन्दा शक्तिशाली कम्युनिष्ट पार्टी भए पनि पूर्वमा चौथो महाधिवेशन कमजोर थियो। हामी विद्यार्थीमा खुला राजनीति गर्थ्यौ, तर मूल पार्टी भूमिगत थियो। 

कमल कोइराला, भरतमोहन अधिकारी लगायतका कमरेडहरू विराटनगरमा खुला ढंगले राजनीति गर्ने स्थापित पुराना वामपन्थी नेता हुनुहुन्थ्यो। उहाँहरू क. ज्योतिबसु र पश्चिम बंगालको वामपन्थी आन्दोलनबाट ज्यादै प्रभावित हुनुहुन्थ्यो। 

नेपालको हकमा कांग्रेस, कम्युनिस्टहरू मिलेर जनआन्दोलनको माध्यमद्वारा निरंकुश पञ्चायती व्यवस्था ढाल्ने कुरा त्यतिबेलै उहाँहरु गर्नुहुन्थ्यो। 

कहिले मोरङ र कहिले पूर्वाञ्चलका मुद्दागत वैचारिक विषयमा, कहिले आन्दोलनका विषयमा, कहिले मई दिवस मनाउने सन्दर्भमा भरत मोहन दाइको ल फर्ममा हाम्रो भेटघाट हुन्थ्यो। 

त्यसमा कमल कोइराला प्रायः सँगसँगै हुनुहुन्थ्यो। कमल कोइराला र भरत मोहन अधिकारीसँग हामीलाई अलिक नजिक बनाउने श्रेय कमरेड निर्मल लामालाई पनि जान्छ। लामा दाइ विराटनगर आउँदा कुनै न कुनै ढंगले उहाँहरु र विराटनगरमा सगरमाथा पुस्तक पसल चलाउने बैद्यजीलाई भेट्नुहुन्थ्यो।

पूर्वमा कोशी प्रान्तीय कमिटी थियो। त्यसको मूल नेताहरु भरत मोहन अधिकारी, महेश उपाध्याय र कमल कोइराला आदि हुनुहुन्थ्यो। क.मोहनविक्रम सिंह र क.निर्मल लामाले चौथो महाधिवेशन गर्ने तयारीको क्रममा मनमोहन अधिकारी, भरत मोहन अधिकारी र कमल कोइरालाहरूलाई जोड्नुभएको थियो।  

सायद २८ सालमा गठन भएको न्युक्लियसमा पनि उहाँहरु हुनुहुन्थ्यो। २६ सालमा जेलबाट छुटेपछि कमल कोइराला पनि चौथो महाधिवेशन तयारीको क्रममा सिराहा जानुभएको थियो र सिराहाका कमरेडहरुसँग पनि उहाँको विशेष सम्बन्ध बनेको थियो। 

देशभक्त तथा जनतान्त्रिक शक्तिको सरकारको नारा र क.पुष्पलाललाई हेर्ने दृष्टिकोण नमिलेपछि मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको मार्क्सवादी समूह चौथो महाधिवेशनमा सहभागी भएन। कमल कोइराला मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको मार्क्सवादी समूहको टिमकै एक नेता हुनुहुन्थ्यो। 

कमल कोइराला मातृका कोइरालाको छोरा भएकै कारणले मात्र आकर्षण थिएन, उहाँ मातृकाले गरेको असमान कोसी सम्झौताको विरुद्ध पनि उभिनु भयो। साँच्चै उहाँ एउटा देशभक्त वामपन्थी हुनुहुन्थ्यो। 

उहाँ निरंकुश पञ्चायती व्यवस्था विरुद्धको संघर्षमा सधैँ आन्दोलनमै रहनुभयो। १७ सालपछि उहाँ भूमिगत पनि हुनुभयो र पटकपटक जेल पनि पर्नुभयो। उहाँ साँच्चै एउटा लोकतान्त्रिक व्यक्तित्व पनि हो।

उहाँ मेरो पिताजी भन्दा ११ वर्ष कान्छो हुनुहुन्थ्यो। उहाँहरूको अगाडि हामी धेरै जुनियर र विद्यार्थी मात्रै थियौँ। तर भूमिगत रूपमा पार्टी क्रियाशील भएको र हामी विद्यार्थीहरू मार्फत् नै पार्टी गठन भएकोले मोरङ जिल्ला र पूर्व क्षेत्रका कतिपय बैठकहरूमा अन्य पार्टीसँग बस्नुपर्दा हामी पनि प्रतिनिधि हुन्थ्यौँ। 

छलफलमा भाग लिँदा अलिअलि संकोच हुन्थ्यो। तर उहाँहरुले कमरेड भनेर सम्बोधन गर्दा त्यो उमेरले सिर्जना गरेको मनोवैज्ञानिक फरकपना र संकोच घट्थ्यो। मलाई सम्झना छ, ४० को दशकमा भरतमोहन अधिकारीको घरमा भएको र म बस्ने विरानगरको बरगाछी घरमा भएका केही भूमिगत बैठकहरूमा मदन भण्डारी, भरत मोहन अधिकारी, कमल कोइराला, म, सुशील प्याकुरेल, अखिलेश्वर लाल दास आदि सहभागी भएका थियौँ।

कमल कोइरालाका भाइ सञ्जय कोइराला र म कलेजमा सहपाठी पनि थियौँ। सञ्जयजीले साहित्यकार पारिजातलाई भेट्न चाहनुभयो। मैले काठमाडौँमै त्यो भेटको प्रबन्ध मिलाइदिएको थिएँ। सञ्जयजीको असामयिक निधनपछि त्यतिबेला हामीले कमल दाइलाई नै भेटेर समवेदना व्यक्त गरेका थियौँ। 

कमल कोइराला नेकपाको दोस्रो महाधिवेशन (२०१४) मा प्रतिनिधि हुनुभएको थियो। नेकपाको तृतीय महाधिवेशन (२०१९) बाट उहाँ केन्द्रीय समितिमा छानिनुभयो। 

मार्क्सवादी र नेकपा मालेको एकता (२०४७) भएपछि उहाँ नेकपा एमालेको पहिले केन्द्रीय समिति र पछि २०४९ मा सम्पन्न महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभाको अध्यक्ष हुनुभयो। 

मोरङबाट (२०५१) चुनाव जितेर प्रतिनिधिसभाको सदस्य हुनुभएका कमल कोइराला संसद्को राज्य व्यवस्था समितिको सभापति पनि हुनुभयो। संसद्मा लेखापछि यसलाई महत्वपूर्ण समिति मानिन्छ। 

दक्षिण कोरियाका लागि नेपालको राजदूत हुनुभएका कमल कोइराला प्रखर बौद्धिक हुनुहुन्थ्यो। निरङ्कुश पञ्चायतको बेलामा वकालतको आवरणमा राजनीति गर्ने उहाँ लेखक र पत्रपत्रिकाको स्तम्भकार पनि हुनुहुन्थ्यो। भनिन्छ, झन्डै दुई हजारभन्दा धेरै उहाँका वैचारिक लेखहरु छन्।

राष्ट्रिय रूपमा परिचित कमल कोइरालाले मोरङ र विराटनगरको वाम लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकालाई बिर्सन मिल्दैन। अझ महाकाली सन्धिको विरुद्धमा खडा हुनुभएका कमल कोइराला वामपन्थीमात्र होइन दृढ देशभक्त हुनुहुन्थ्यो।

महोत्तरीको बर्दिबास नगर वडा नम्बर-३ गौरीडाँडामा हाम्रो एउटा सामूहिक घर छ, त्यसको नाम हो- आधारशिला। आधारशिलाले नेपालको कम्युनिष्ट तथा वाम आन्दोलनमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्ने गर्दै आएको छ। 

मोहनविक्रम सिंह, कृष्णराज बर्मा, विष्णुबहादुर मानन्धर लगायत धेरै अघिल्लो पुस्ताका नेताहरूलाई आधारशिलाले सम्मान पनि गरिसकेको छ। कतिपय गुमनाम व्यक्तिहरूलाई पनि खोजी खोजी सम्मान गरेको छ। 

विगतमा कमल कोइरालालाई पनि सम्मान गर्ने निर्णय आधारशिलाले गरेको थियो। हामीले कमल कोइरालालाई आधारशिला लैजाने प्रस्ताव राख्यौँ। त्यो कोरोनाको कहरको बेला थियो। उहाँका परिवारका सदस्यले मान्नु भएन। उहाँकी छोरी रिचा कोइरालाले जसरी उहाँको रेखदेख गरिरहनुभएको थियो, त्यसबाट हामी पनि प्रभावित भयौँ। त्यसपछि हामीले उहाँलाई आधारशिला लगेनौँ। हामीले उहाँलाई काठमाडौँको बानेश्वरस्थित निवासमै पुगेर सम्मान गर्यौँ।

जीवनको अन्तिममा उहाँ नेकपा एकीकृत समाजवादीको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो। पार्टीको केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा फुल चढाउन र सम्मान व्यक्त गर्न वर्तमान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल मात्र होइन नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, नेकपा मालेका संस्थापक सीपी मैनालीदेखि धेरै नेता कार्यकर्ता र बुद्धिजीवीहरू पुग्नु भएको थियो। यसले नै उहाँको व्यक्तित्वको गरिमालाई झल्काउँछ।

नेपाल आज युगान्तकारी परिवर्तनको एउटा अध्याय पूरा गरेर अर्को अध्यायतर्फ अगाडि बढिरहेको छ। यो परिवर्तनसँगै वामपन्थीहरूको जनमत बढाउन धेरै व्यक्तित्वहरूले महत्त्वपूर्ण योगदान गर्नु भएको छ। अग्रणी पुस्ताका त्यस्तै व्यक्तित्वमध्ये एउटा सम्मानित नाम हो कमल कोइराला। 

सरलता, निरन्तरता, अध्ययनशीलता र सङ्घर्षशीलता उहाँका विशेषता नै हुन्। आफ्नो बाबु प्रधानमन्त्री हुँदा बाबुकै सरकारको विरुद्धमा सडकमा उत्रेर पटकपटक पक्राउ पर्ने कमल कोइरालाको जीवन साँच्चै सिक्न लायक र पढ्न लायकको छ।

अझ अहिले गणतन्त्र र राजतन्त्रको बहस उठिरहेको बेलामा वर्तमान प्रणालीको रक्षा र यसलाई जनमुखी बनाउने सन्दर्भमा आउने पुस्ताले उहाँको जीवनबाट धेरै पाठ सिक्नुपर्छ।

सम्भ्रान्त परिवारमा जन्मिएर पनि नेपालका मजदुर, किसान र श्रमिक वर्गको पक्षमा जीवनभर सेवा गर्नुभएका र निरन्तर कम्युनिष्ट आन्दोलनमा लागिरहनुभएका कमल कोइरालाले खेल्नुभएको भूमिकालाई हामीले समग्रमा प्रेरणादायी रुपमा लिनुपर्छ।  

हामीले शहिदलाई सम्मान गर्ने र योद्धाहरुलाई कदर गर्ने संस्कृतिलाई अगाडि बढाउनुपर्छ। कमल कोइराला यस्तै सम्मान पाउने योद्धा हुनुहुन्छ। 

अलविदा कमरेड कमल कोइराला!

२९ चैत २०८१, आधारशिला महोत्तरी।

(पूर्वमन्त्री गिरीराजमणि पोखरेल नेकपा (माओवादी केन्द्र) का नेता हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad