ब्लग


गोर्खा सैनिकबाट अवकाशपछि ४५ वर्षको उमेरमा नेपाल प्रहरीको इन्सपेक्टरमा नियुक्त हुँदा

गोर्खा सैनिकबाट अवकाशपछि ४५ वर्षको उमेरमा नेपाल प्रहरीको इन्सपेक्टरमा नियुक्त हुँदा

दशरथ रंगशालामा आयोजित ‘बिटिङ दि रिट्रिट’ कार्यक्रमको नेतृत्व गर्दै तत्कालीन नेपाल पुलिस ब्यान्डका प्रमुख स्वर्गीय हस्तबहादुर थापा। (तस्बिर सौजन्य: प्रहरी दर्पण २०४३)


हस्तबहादुर थापा
फागुन २२, २०८१ बिहिबार १०:१५, काठमाडौँ

त्यो स्वर्णिमकालको झझल्को आज पनि मेरा आँखामा झल्झली आइरहन्छ। म ब्रिटिस गोर्खा आर्मीमा कार्यरत थिएँ। मेरो ब्रिगेड कमान्डर मेजर जनरल बर्नी बर्नेड हुनुहुन्थ्यो। 

ब्रिगेड अफ गोर्खाको कमान्डरले नेपाल भ्रमण गर्ने नियमित तालिका अनुसार विसं २०२९ सालमा बर्नेड नेपाल जानुभयो। त्यस समय खड्गजीत बराल नेपाल प्रहरीको प्रमुख अर्थात् आईजीपी हुनुहुन्थ्यो। आईजीपी बरालका पिता बहादुरसिंह बरालले ब्रिटिस इन्डियन आर्मीको फर्स्ट गोर्खा राइफलमा काम गर्नुभएको थियो। जहाँ उहाँले सुरुवाती दनमा बर्नेडले गोर्खा पल्टनको तौरतरिका सिक्न मद्दत गर्नु भएको रहेछ। यही पारिवारिक सम्बन्धका कारणले आईजीपी बरालले बर्नेडलाई आफ्नै निवासमा रात्रीभोजको निम्तो गर्नुभएछ।

बेलायती सेनाको कमान्डरको स्वागतमा कुनै कमी हुन नदिन खड्गजीतले प्रहरी ब्यान्ड झिकाई सङ्गीत प्रदर्शन गर्न लगाउनुभयो, जुन ब्यान्ड हाल काठमाडौँको महाराजगञ्जमा अवस्थित नेपाल प्रहरी सङ्गीत विद्यालयको नामले चिनिन्छ। 

कार्यक्रममा नेपाल प्रहरीको ब्यान्ड प्रस्तुति सुर न तालको सुनियो। बर्नेडले तत्कालै भन्नुभएछ- ‘तपाईंहरूको ब्यान्डले राम्रो प्रस्तुति दिन सकिरहेको छैन, किन?’

बरालले जवाफ दिनुभएछ, ‘हाम्रो अर्धप्रशिक्षित ब्यान्डलाई आधुनिकस्तरको बनाउन कुशल प्रशिक्षण आवश्यक छ। यिनलाई प्रशिक्षण दिलाउने योग्य सङ्गीत प्रशिक्षक नेपालमा छैन। तसर्थ हाम्रो ब्यान्डको स्तरवृद्धिका लागि हामीले यहाँहरूको सहयोगको अपेक्षा गरेका छौँ।’ 

यति सुनेपछि योग्य प्रशिक्षक पठाइदिने वचन दिएर बर्नेड हङकङ फर्किनुभयो।

ब्रिटिस इन्डियन आर्मीको फर्स्ट गोर्खा राइफल्सका तत्कालीन अधिकृत बहादुरसिंह बराल। (तस्बिर सौजन्य: बरालको आँसु, वि.सं. २०६९)
   
हस्त, यु आर गोइङ टु काठमाडौँ
म ब्रिटिस गोर्खा आर्मीको कप्तान पदमा कार्यरत थिएँ। त्यसबेला म हङकङमा सेवारत थिएँ र मेरो भूमिका सहायक सङ्गीत निर्देशकको थियो। हङकङको टापुमा बेलायती सेनाको प्रधान कार्यालय (हेडक्वार्टर) थियो। त्यहाँ आयोजित रात्रीभोजमा म सङ्गीत प्रस्तुत गर्दै थिएँ।

त्यसदिन मैले बजाउन सुरु मात्र के गरेको थिएँ, मेजर जनरल बर्नेड मेरो नजिक आएर कानमा खुसुक्क भन्नुभयो, ‘हेइ हस्त, यु आर गोइङ टु काठमाडौँ टुमरो।’

यति भनेर उहाँ जानुभयो। म चकित भएँ, किनकि म यसअघि कहिल्यै काठमाडौँ गएको थिइनँ। 

अर्को बिहान कमान्डरबाट आदेश भयो- ‘मेजर जनरल साहेबबाट तपाईंलाई नेपाल पठाउने आदेश छ। तपाईं नेपाल प्रहरीलाई सङ्गीत सिकाउनका लागि काठमाडौँ जाँदै हुनुहुन्छ, त्यसैले जतिसक्दो चाँडो तयार हुनू।’   

२०२९ चैतमा म काजमा काठमाडौँ खटिएँ। म काठमाडौँ आएको खबर बेलायती दूतावासले दिएपछि आईजीपी बरालले मलाई नक्सालस्थित नेपाल पुलिस हेडक्वार्टर डाक्नुभयो। 

बरालको कार्यकक्ष पसी उहाँलाई सलाम गर्दै आफ्नो परिचय दिएँ। 

ठूलो टेबलमा एकपट्टि नेपालको राष्ट्रिय झन्डा र अर्कोपट्टि नेपाल प्रहरीको झन्डा राखी बीच कुर्सीमा खाकी पोसाकमा सजिएका आईजीपी बराल हुनुहुन्थ्यो। रवाफिलो सलाम फर्काएर उहाँले मलाई आदरपूर्वक ‘बस्नोस्, क्याप्टेनसाब,’ भन्नुभयो। पहिलो भेटमै उहाँको ‘डोमिनेटिङ’ व्यक्तित्वले मलाई प्रभावित गरायो, जुन व्यक्तित्व उहाँको वृद्धावस्थासम्म यथावत् थियो। 

उहाँले मप्रति आफ्नै परिवारको सदस्यसमान व्यवहार गर्नुभयो।

नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा तत्कालीन आईजीपी स्व. खड्गजीत बराल। (तस्बिर सौजन्य: नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल)

दयानीय पुलिस ब्यान्ड
फौजी स्वरूपको निकायमा ब्यान्ड-बाजाको महत्त्व अत्यधिक छ। ब्यान्डको दरिलो उपस्थिति नहुँदा कुनै पनि फौजी उत्सव नुनबिनाको तरकारीजस्तो खल्लो बन्छ भन्ने बरालको धारणा थियो। यस्तो महत्त्व बोकेको अङ्गलाई नेपाल प्रहरी स्थापनादेखि नै ‘बाजा बजाउने भनेको नीच कार्य हो’ भनी उपेक्षा गरिँदै आएको रहेछ। 

काठमाडौँ आएको केही समयपछि मलाई बेलायती दूतावासबाट नेपाल पुलिस ब्यान्डको निरीक्षण गर्ने निर्देशन भयो। त्यतिबेला पुलिस ब्यान्ड पुलिस हेडक्वार्टरस्थित सशस्त्र प्रहरी गण नं. १ सँग जोडिएर बसेको थियो। हाम्रो परिचय गराएपछि पुलिस ब्यान्डलाई केही धुन बजाउन लगाइयो। सबै धुन मोनोटोन (एकैनासे बेसुरा) थिए। त्यसबेला प्रहरीमा पुराना, थोत्रा वाद्य सामग्री मात्र थिए, जनशक्तिको नाममा एउटा २४ नफरीको ‘काम चलाउ’ टोली थियो। त्यहाँका ब्यान्ड-मास्टर र वाद्यवादक अर्थात् सङ्गीतकारहरूले सामान्य आधारभूत सङ्गीत प्रशिक्षण समेत पाएका थिएनन्।

मङ्गल धुनबाहेक कुन अवसरमा कस्तो सङ्गीत बजाइन्छ भन्ने सामान्य ज्ञान पनि पुलिस ब्यान्डमा काम गर्नेहरूलाई थिएन। ब्यान्डका अधिकांश अधिकृतस्तरका कर्मचारीलाई बिगुलले बनाउने सर्ट र लङ रिमाली, लास्टपोस्ट, रोलकाल, तयारी, आगलागी, लाइट-अफ र लाइट-डाउनका साथै ब्यान्डका विविध धुनबारे ज्ञान थिएन। सर्वाधिक लज्जास्पद कुरा त के भने उपयुक्त ज्ञान नभएका कारण दीक्षान्त समारोहलगायतका विविध औपचारिक कार्यक्रममा समेत पुलिस ब्यान्डले मलामी धुन बजाउँदो रहेछ।

नेपाल प्रहरीले भारतको कलकत्तास्थित पिराना कम्पनीबाट हाइपिचका बाजा किनेको थियो, जुन बाजा अन्य कुनै ब्यान्डसँग मेल खाँदैनथे। अर्को कुरा, युफोनियम र सेक्सोफोनभन्दा ठूलो सुरका बाजा नै थिएनन्। प्राय: कर्नेट, क्लारीनेट, सेक्सोफोन र युफोनियममात्र बजाउने चलन थियो।

समग्रमा भन्नुपर्दा प्रहरी ब्यान्डमा रहेका एउटै बाजाको कार्ड होल्डर थिएन। कुनै प्रकारको सङ्गीत नोटेसन गरिएको थिएन, कक्षा कोठा थिएन, सङ्गीत ज्ञान दिलाउने कुनै पुस्तक वा साधन थिएन।  

हरेक राष्ट्रिय कार्यक्रममा सामूहिक प्रदर्शनी गर्नुपर्दा नेपाल प्रहरीको ब्यान्डले नेपाली सेनाले बजाएको ब्यान्डमा मिसिएर ‘अभिनय’ मात्र गर्ने रहेछ। किनकि पुलिस ब्यान्डका बाजा सबै ‘हाइपिच’ का थिए। साथै, पुलिस ब्यान्डको कुनै औपचारिक पोसाक थिएन। समग्रमा पुलिस ब्यान्डको अवस्था दयनीय थियो।

प्रहरी ब्यान्डको दयनीय अवस्था देखेपछि मैले बेलायती पक्षलाई सामग्रीको सहयोगार्थ अनुरोध गरेँ। 

त्यसको करिब तीन हप्तापछि निम्न वाद्ययन्त्र तथा सरसामान बेलायती दूतावासमार्फत आइपुग्यो: डीबी पिक्कोलो र फ्लुट-२, ईबी क्लारीनेट-१, बीबी क्लारीनेट-२, ईबी हर्न्स-२, एफ फ्रेन्च हर्न्स-१, बीबी कर्नेट-२, जी बास ट्रोम्बोन-१, बीबी युफोनियम-१, १ ईबी बास, १ बीबीबी बास, म्युजिक स्ट्यान्ड-१५, १ सेट युनिभर्सल प्राइमर, टीटी बुक्स र बिग बेस ड्रम-२।

म आउनुअघि नेपाल प्रहरीका वाद्यवादकहरू साङ्गीतिक प्रर्दशनीमा जाँदा ठूला र गह्रौँ बाजा बोकेर कार्यक्रममा जानुपर्ने बाध्यता थियो, जुन कठिन थियो। साना बाजामा काम गर्ने वाद्यवादकहरू कार्यक्रम समाप्तिपश्चात् उतैबाट घर जान सक्थे। तर ठूला बाजामा काम गर्नेका लागि भने घरमा बाजा राख्ने ठाउँ नहुँदा कार्यालयमा ल्याएर बाजा नथन्क्याएसम्म कतै जानसक्ने अवस्था थिएन। यस्ता विविध कारणले गर्दा ठूला आकारका गह्रौँ वाद्य सामग्री बजाउन नपरोस् भनेर उनीहरूले चाबी नै भाँचेर स्टोरतिर फालिदिएको पनि देखियो। 

सुरुका दिनमा धेरै समस्या देखियो। एक त- जसलाई ठूलो बाजा दियो, ऊ जागिर छाड्छु भन्दै रुन्थ्यो।

वि.सं. २०३० सालमा नेपाल पुलिस ब्यान्डको टोली। तस्बिर सौजन्य: मेरो जीवन यात्रा: हस्तबहादुर थापा (पल्लीमगर) 

अर्को समस्या भनेको- नोटेसन सिक्ने करकापमा ब्यान्डमा रुचि नराख्ने सयौँ जवानलाई जबर्जस्ती ब्यान्डमा पठाइएको थियो। हरेक दिन ३-४ जना भागेका हुन्थे। 

ब्रिटिस गोर्खामा भएको भए यो अवस्था देखेर नै हार खाइन्थ्यो होला! तर आफ्नै जन्मभूमिमा रही मातृभाषामा काम गर्ने अवसर मिलेको हुँदा मन दु:खी भए पनि आफ्नो माटोका लागि केही गर्दैछु भन्ने सोचले हौसला बढाएको थियो। यसरी मेरो आगमनपछि पुलिस ब्यान्डमा संस्थागत प्रशिक्षण दिने परिपाटीको श्रीगणेश भयो।  

हुन त पुलिस ब्यान्डमा ५० जनाको दरबन्दी थियो, तर सइ-१, असइ-१, हवल्दार-५ र जवान-२२ गरी जम्मा २९ जना मात्र कार्यरत थिए। त्यसमा पनि विभिन्न बहानामा बिदा बस्ने हुँदा १० देखि १५ जना हाजिर हुन्थे। सबै उपत्यका आसपासका बासिन्दा भएकाले उनीहरू चाँडै निस्केर घरतिर जान खोज्थे।

पुलिस ब्यान्डको समावेशीकरण 
त्यतिबेला बाजा बजाउने काम दलितको मात्र हो भन्ने सामाजिक सोच थियो। यस प्रभावले गैरदलितहरू यस काममा लाग्न चाहँदैनथे। नेपाल पुलिस ब्यान्डमा मात्र होइन, नेपाली सेनालगायत अन्य ब्यान्डको अवस्था पनि उही थियो। दलितभन्दा बाहिरी समुदायका व्यक्ति ब्यान्ड समूहमा समावेश हुन चाहँदैनथे। यसबाट सामाजिक संकीर्णताले समाजलाई कतिसम्म गाँजेको थियो भनी अनुमान लगाउन सकिन्छ। 

संसारका हरेक ब्यान्डमा निश्चित समुदायमात्र नभई सबै जातजाति तथा समुदायका व्यक्ति समावेश हुन्छन्। आईजीपी बरालले नेपाली समाजको मानसिकतालाई चिर्दै नेपाल पुलिस ब्यान्डलाई समावेशी बनाउने प्रयास गर्नुभयो। 

त्यसबेला काठमाडौँको महाराजगञ्जस्थित प्रचण्ड भवनमा मध्यक्षेत्र प्रहरी तालिम केन्द्र (हालको सिन्धुली जिल्लाको दुधौलीस्थित बागमती प्रदेश प्रहरी तालिम केन्द्र) थियो। २०३० सालमा सो तालिम केन्द्रमा तालिमरत करिब २०० जना प्रहरी जवानलाई साङ्गीतिक प्रशिक्षण दिन बरालले मलाई निर्देशन दिनुभयो। यसरी नेपाल पुलिस ब्यान्डमा सर्वप्रथम गैरदलित समुदायका कर्मचारीलाई समावेश गराई बरालले नयाँ समावेशीकरणको सुरुआत गर्नुभयो।

 तत्कालीन नेपाल पुलिस ब्यान्ड अन्तर्गतको पाइप ब्यान्ड। (तस्बिर सौजन्य: पुलिस मिरर १९८५)

नेपाल प्रहरीमा पाइप ब्यान्ड
ब्यान्डमा ब्रास-ब्यान्ड र पाइप-ब्यान्ड एक अर्काका परिपूरक मानिन्छन्। यद्यपि त्यसबेलासम्म नेपालमा ब्रास-ब्यान्डलाई मात्र ब्यान्डको रूपमा लिइने परम्परा थियो। 

पर्याप्त बजेट नभएको नेपाल प्रहरीमा पाइप ब्यान्ड स्थापना गर्नु चुनौतीपूर्ण थियो। यसबारे प्रसङ्ग निकाल्दा बेलायती दूतावासमा कार्यरत तत्कालीन डिफेन्स एट्याची कर्नेल लिसले राम्रो सुझाव दिनुभयो- ‘सुरुमै नयाँ पाइप खरिद गर्न आवश्यक नहोला।’ यसका साथै उहाँले कम मूल्यमा उपलब्ध हुने केही च्यान्टर बाजाहरू संयुक्त अधिराज्य बेलायतबाट झिकाएर नेपाल प्रहरीलाई उपहारमा दिनुभयो।
 
मेरो निर्देशनमा च्यान्टरहरूमा नेपाल प्रहरीका पाइपरहरूले केही महिनाभित्र उल्लेखनीय प्रगति गरे। यसरी बरालको कार्यकालमा चाँडै नै नेपाल पुलिस ब्यान्डअन्तर्गत पाइप ब्यान्ड तयार भयो। र पाइप ब्यान्ड स्थापना भई पाइपर्स तथा बिगुलर्स टोलीलाई सुनियोजित प्रशिक्षण दिने परिपाटीको थालनी भयो।

प्रहरी गीत
कुनै पनि राष्ट्रको फौजी निकायको मनोबल र एकता उच्च बनाई त्यस राष्ट्रप्रति उत्तरदायी बनाउने सन्दर्भमा सङ्गीतको महत्त्व विदितै छ। त्यसैले पुलिस ब्यान्डको आधुनिकीकरणसँगै ‘प्रहरी गीत’ रचना गर्नको लागि आईजीपी बरालले सङ्गीतकार स्व. गोपाल योञ्जनलाई आग्रह गर्नुभयो। योञ्जनले केही महिना अनवरत मेहनत गरी मेरो समेतको सहयोगमा तयार गर्नुभएको प्रहरी गीतका शब्द, सङ्गीत र स्वर योञ्जनकै थिए।

गीत यस्तो प्रकारको थियो- ‘प्रहरी हो जीवन मेरो काम मेरो देशको रखवाली…’

प्रहरीका विविध कार्यक्रम, उत्सव, कवाज आदिका अवसरमा सो प्रहरी गीतले प्रहरीहरूमा नयाँ जोस र भावना उजागर गर्नुका साथै समस्त पुलिस फोर्सलाई राष्ट्र र नेपाल समाजप्रति निस्वार्थी सेवा गर्नको लागि प्रेरित गर्‍यो।

वि.सं. २०३० कात्तिक २३ गते सदर प्रहरी तालिम केन्द्रमा नेपाल प्रहरीबाट प्रदर्शित सर्वप्रथम ‘बिटिङ दि रिट्रिट' कार्यक्रम। (तस्बिर सौजन्य: नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल)

बिटिङ दि रिट्रिट
‘बिटिङ दि रिट्रिट' भनेको एक विशेष साङ्गीतिक प्रदर्शनी हो, जसको सुरुआत संयुक्त अधिराज्य बेलायतबाट भएको थियो। 

२०३० सालमा मैले पुलिस ब्यान्डलाई प्रशिक्षण दिने क्रममा आईजीपी बराललाई अचानक ‘बिटिङ दि रिट्रिट' प्रदर्शन गर्ने सोच आएछ। उहाँले यसबारे छलफल गर्न मलाई बोलाउनुभयो र प्रस्ताव गर्नुभयो- ‘लौ, क्याप्टेनसाब, एउटा बिटिङ दि रिट्रिट कार्यक्रम गराउने मेरो विचार छ, यसमा तपाईंको राय के छ?’ 

मैले बराललाई भनेँ- ‘सामग्री अलि नपुग्ला कि हजुर !’ 

उहाँ चट्टानसमान अठोट भएको व्यक्ति हुनुहुन्थ्यो। मतलब उहाँले चाहना राखेपछि कसैको केही चल्दैनथ्यो। बिटिङ दि रिट्रिट सञ्चालन गर्न आवश्यक पर्ने बाजा, औपचारिक प्रहरी पोसाक र पोसाकमा प्रयोग हुने ब्याज, ड्रेसकट, मास र पाइपमा लगाउने रिबन आदि खरिद गर्न म बरालको निर्देशनमा भारतको नयाँ दिल्ली पुगेँ। साथमा तत्कालीन इन्स्पेक्टर (पछि आईजीपी) प्रदीप शमशेर ज.ब.रा. हुनुहुन्थ्यो। 

नयाँ दिल्लीमा बरालका घनिष्ठ मित्र स्वर्गीय के.एफ. रुस्तमजीसँग हाम्रो भेट भयो। रुस्तमजी भारतको सीमा सुरक्षा बल अर्थात् बोर्डर सेक्युरिटी फोर्स (बी.एस.एफ.) का संस्थापक प्रमुख (महानिर्देशक) हुनुहुन्थ्यो। हामीले रुस्तमजीलाई भेट्ने प्रबन्ध बरालले पहिले नै मिलाइसक्नु भएको रहेछ। रुस्तमजीले धेरै सहयोग गर्नुभयो।

नयाँ दिल्लीमा हामीले केही आधुनिक बाजा किन्यौँ। हाइपिचका बाजालाई काटेर, गाँसेर स्ट्यान्डर्ड सुरमा ल्याउने कार्य भयो। यसका अतिरिक्त बरालको निर्देशानुसार भारतीय ब्यान्डका क्रियाकलाप, त्यहाँ साङ्गीतिक पुस्तकालय रहेको/नरहेको समेत बुझी काठमाडौँ फर्कियौँ। भारतबाट किनिएका केही बाजा स्तरहीन रहेकाले ती बाजा पछि बेलायतबाट मगाइयो।

यस क्रममा नक्सालस्थित नेपाल पुलिस हेडक्वार्टरमा रहेको पुलिस ब्यान्ड महाराजगञ्जस्थित तत्कालीन सदर प्रहरी तालिम केन्द्र (हालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) को हातामा सरेको थियो। बरालको निर्देशन र मेरो पहलमा बिटिङ दि रिट्रिटको पूर्वाभ्यासका लागि विशेष तालिम सञ्चालन गरियो। 

पूर्वाभ्यासमा पर्याप्त समय नभएकाले पहिलो बिटिङ दि रिट्रिटमा नेपाल प्रहरीको ब्यान्डमात्र प्रदर्शन गर्ने निर्णय भयो।

बरालको कार्यकालमा २०३० कात्तिक २३ गते सदर प्रहरी तालिम केन्द्रमा सइ भक्तबहादुर नेपालीबाट कन्डक्ट गरिएको नेपालको सर्वप्रथम बिटिङ दि रिट्रिट प्रदर्शन भयो। सो अवसरमा सो तालिम केन्द्रको मैदान भव्य रूपले सजाइएको थियो। बिटिङ दि रिट्रिट कार्यक्रममा विविध लोकगीत तथा अन्तर्राष्ट्रिय धुनहरू बजाई पुलिस ब्यान्डका ब्रास ब्यान्ड, बिगुलर्स, पाइपर्स तथा कलाकारहरूले विशाल समूहसमक्ष आफ्नो बेजोड व्यावसायिक दक्षता कलात्मक तवरले प्रदर्शन गरे र यसलाई पछिसम्म निरन्तरता दिए। 

२०३० सालको बिटिङ दि रिट्रिट कार्यक्रममा प्रस्तोताहरूले अङ्ग्रेजी अक्षर ‘ए’ को आकार बनाएर गुन्जयमान ध्वनि बज्दा सम्पूर्ण दर्शकले ताली बजाई हर्षोल्लास व्यक्त गरे। सो कार्यक्रममा प्रधानमन्त्री, प्रधानन्यायाधीश, राजसभा स्थायी समितिका सभापति, मन्त्रीगण, नेपाली सेनाका उच्चपदस्थ पदाधिकारी, आईजीपी बराल, अवकाशप्राप्त आईजीपीहरू, बागमती अञ्चल प्रहरी प्रमुख स्व. डीबी लामा (पछि आईजीपी) र सदर प्रहरी तालिम केन्द्रका प्रमुख का.मु. एसपी स्व. हेमबहादुर सिंह (पछि आईजीपी) लगायतका प्रहरी अधिकृतहरू र विद्यालयका छात्रछात्राको बाक्लो उपस्थिति थियो।

वि.सं. २०३० कात्तिक २३ गते प्रहरी तालिम केन्द्रमा नेपाल प्रहरीबाट प्रदर्शित सर्वप्रथम ‘बिटिङ दि रिट्रिट' कार्यक्रमका दर्शक।(तस्बिर सौजन्य: नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल)

कार्यक्रमको अन्त्यमा सूर्य डुब्न लागेको समयमा रिट्रिट बज्यो। सो कार्यक्रमलाई त्यसताका नेपालका प्रतिष्ठित पत्रिका गोरखापत्र र राइजिङ नेपालले प्राथमिकताका साथ मुखपृष्ठमा समाचार प्रकाशन गरे। एक हिसाबले भन्नुपर्दा त्यतिबेला काठमाडौँ उपत्यका नै सो कार्यक्रमले थर्कियो।

२०३० कात्तिकमा म हङकङ फर्किएपछि नेपाल प्रहरीलाई अप्ठ्यारो भएछ। बिटिङ दि रिट्रिट धेरैजनाले मन पराएको हुँदा यो कार्यक्रम नेपाल प्रहरीको इज्जत र प्रतिष्ठासँग गाँसिएको थियो। अब यो परम्परालाई तोड्न मिल्ने अवस्था थिएन। तर अनुभवी ब्यान्ड-मास्टर र योग्य वाद्यवादकको अभावमा यो परम्परालाई बचाइराख्न पनि गाह्रो थियो।

वि.सं. २०३४ कात्तिक २३ गते आयोजित पाँचौं बिटिङ दि रिट्रिट कार्यक्रम अन्तर्गत जिम्न्यास्टिक्स खेलको प्रदर्शनी। (तस्बिर सौजन्य: नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल)

बराल नेतृत्वमा रहेसम्म नेपाल प्रहरीले जस्तोसुकै विषम परिस्थितिमा पनि काम गर्न पछि परेन। नेपाल प्रहरीले बिटिङ दि रिट्रिटको परम्परालाई तोड्न त सकेन। तर मेरो अनुपस्थितिमा कार्यक्रमलाई व्यवस्थित बनाउन नसके पनि जसोतसो सञ्चालन गरिरहेको मैले जानकारी पाएको थिएँ। 

बरालको कार्यकालमा २०३१ सालको बिटिङ दि रिट्रिट कार्यक्रममा पुलिस मार्च, मार्चिङ थुरुजर्जिया, सधैँ प्रिय सुनिने स्कटिस धुन, देउचुली मार्च आदि आकर्षक रूपमा प्रस्तुत गरिएको थियो। 

तालिममा बिटिङ दि रिट्रिट कार्यक्रम अन्तर्गतका दृष्य बायाँबाट क्रमश: मार्सल आर्ट्स प्रदर्शनी र प्रहरी कुकुरले बाधा पार गरेको दृष्य। (तस्बिर सौजन्य: प्रहरी दर्पण २०४९)

मेरो प्रशिक्षणबाट दीक्षित सीमित प्रहरी कर्मचारीबाट प्रदर्शन हुँदै आएको बिटिङ दि रिट्रिटलाई व्यवस्थित बनाउन बरालकै कार्यकालमा जिम्न्यास्टिक्स खेल पनि प्रदर्शनीमा थपियो। साथै, बरालकै कार्यकाल अर्थात् २०३४ सालको कार्यक्रममा जुडो तथा करातेजस्ता मार्सल आर्ट्स र कुकुर प्रदर्शनी थप भए। कालान्तरमा घोडचढी ट्राफिक प्रहरी प्रदर्शनी, नमुना पर्वतारोहण प्रदर्शनी तथा हरेक तत्कालीन ५ वटा विकास क्षेत्रका प्रतिनिधित्व कलाकारको प्रदर्शनी आदि पनि बिटिङ दि रिट्रिटमा थपिए। 

तत्कालीन आईजीपी डीबी लामाको कार्यकालमा मोटरबाइक स्टन्टजस्ता कार्यक्रम पनि थपिए। पछि सर्वसाधारणले समेत अवलोकन गर्न मिल्ने गरी बिटिङ दि रिट्रिट कार्यक्रमलाई नेपाल प्रहरीबाट २०३९ सालमा आईजीपी डीबी लामाको कार्यकालमा काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रदर्शन भयो।

दशरथ रङ्गशालामा नेपाल प्रहरीबाट प्रदर्शित बिटिङ दि रिट्रिट कार्यक्रम। (तस्बिर सौजन्य: प्रहरी दर्पण २०४३)

ब्यान्ड प्रदर्शनीको भूमिका मुख्य रहने तथा हरेक वर्ष आयोजना गरिने बिटिङ दि रिट्रिटमा नयाँ-नयाँ सङ्गीत बजाउनुपर्ने भएकाले पुलिस ब्यान्डको आधुनिकीकरण गर्नुपर्ने बाध्यता भयो। सोहीअनुसार बराल र उहाँपछिका प्रहरी प्रमुखहरूको कार्यकालमा पुलिस ब्यान्डलाई समयानुकूल आधुनिकीकरण गरियो। 

करिब ३० वर्षसम्म नेपाल प्रहरीले कात्तिक २३ गते बिटिङ दि रिट्रिट प्रदर्शन गरेको थियो। 

वि.सं. २०३० कात्तिक २३ गते तत्कालीन सदर प्रहरी तालिम केन्द्रमा आयोजित सर्वप्रथम ‘प्रहरी पुनर्मिलन समारोह’ मा बायाँबाट क्रमश: पूर्वआईजीपी स्व. ढुण्डीराज शर्मा, आईजीपी स्व. खड्गजीत बराल, पूर्वडीआईजी स्व. नारायणसिंह शाह, स्व. टेकबहादुर रायमाझी, पूर्वआईजीपी स्व. पहलसिंह लामा, स्व. चांदबहादुर राई (पछि नेपाल गुप्तचर विभागका प्रमुख) आदि। (तस्बिर सौजन्य: नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल)

प्रहरी पुनर्मिलन समारोह
नेपाल प्रहरीका पूर्व तथा वर्तमान सदस्यबीच वार्षिक रूपमा भेटघाट गराई भाइचारा अभिवृद्धि गराउने मनसायले बरालले सर्वप्रथम ‘प्रहरी पुनर्मिलन समारोह’ आयोजना गर्ने परिकल्पना गर्नुभयो। नेपाल प्रहरीले बिटिङ दि रिट्रिट प्रदर्शन गर्ने दिन अर्थात् २०३० कात्तिक २३ मै सदर प्रहरी तालिम केन्द्रको परिसरमा प्रहरी पुनर्मिलन समारोह मनाउने प्रस्ताव बरालले गर्नुभयो। 

सङ्घ-संस्था सञ्चालन गर्न बन्देज रहेको पञ्चायतकालीन उत्कर्षको अवस्थामा प्रहरी पुनर्मिलन समारोह आयोजना गराउनका लागि बरालले तत्कालीन राजा स्व. वीरेन्द्रलाई कुशलतापूर्वक सहमत गराई उहाँबाट अनुमति लिनुभयो। यसरी २०३० सालदेखि बिटिङ दि रिट्रिट र प्रहरी पुनर्मिलन समारोह लामो समयसम्म कात्तिक २३ गतेका दिन आयोजना भए। 

प्रहरी पुनर्मिलन समारोहमा भलाकुसारीका साथै व्यावसायिक हितलगायतका विषयबारे गहन छलफल गर्न मिल्ने वातावारण सिर्जना भयो। अत: पूर्वप्रहरीका समस्याबारे वर्तमान प्रहरीलाई अवगत हुनुका साथै वर्तमान प्रहरीका हित तथा समस्या समाधानार्थ पूर्वप्रहरीसँग आवश्यक विमर्श गर्न सकियो। 

प्रहरी पुनर्मिलन समारोह मनाउने परम्परा नै पछि २०४७ सालमा बहुदलको पुनर्स्थापना भएसँगै भूतपूर्व प्रहरी सङ्गठन स्थापना गर्ने आधार बन्यो। 

हाल नेपाल प्रहरीले असोज मसान्तमा मनाउने प्रहरी दिवस कार्यक्रमसँगै प्रहरी पुनर्मिलन समारोह पनि गाभी मनाउँदै आएको छ।

वि.सं. २०३० कात्तिक २६ गते ब्रिटिस गोर्खा आर्मीका कप्तान हस्तबहादुर थापालाई मायाको चिनो प्रदान गर्दै तत्कालीन आईजीपी खड्गजीत बराल। (तस्बिर सौजन्य: नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल)

नेपाल पुलिस ब्यान्डलाई मैले साङ्गीतिक प्रशिक्षण दिन थालेको करिब ६ महिनापछि अर्थात् २०३० कात्तिक २६ गते नेपाल प्रहरीले मेरो बिदाइ कार्यक्रम आयोजना गरेको थियो। त्यस समय म दुखी थिएँ। जति दु:ख लागे पनि काठमाडौँबाट बिदा भई म हङकङ फर्कन बाध्य थिएँ र फर्किएँ।

२०३३ असोज १६ का दिन नेपाल प्रहरीको आरोहण-दलले मुस्ताङस्थित ६,९२० मिटर उचाइको टुकुचे हिमालको सफलतापूर्वक आरोहण गरेको थियो। यो विश्व इतिहासमा नेपालीमात्र सहभागी रहेको आरोहण-दलबाट भएको सर्वप्रथम सफल हिमाल आरोहण थियो। 

टुकुचे आरोही काठमाडौँ आएपछि नेपाल पुलिस ब्यान्डले आरोही सवार रहेको गाडीको अघिल्तिर सङ्गीत प्रदर्शन गर्दै भव्य बिजय जुलुसमा सहभागी हुँदै नगर परिक्रमा गराएको थियो।

नेपाल प्रहरीमा प्रवेश
२८ वर्ष ब्रिटिस गोर्खा आर्मीमा सेवा गरी सेवानिवृत्त भएपछि म स्याङ्जास्थित आफ्नो घर पुगेँ। 
अवकाश जीवन बिताइरहेको अवस्थामा अकस्मात आईजीपी बरालले बोलाउनुभएको खबर आयो र काठमाडौँ गई उहाँलाई भेटेँ।

भेटमा उहाँले भन्नुभयो- ‘क्याप्टेनसाबलाई पुन: मातृभूमिको सेवा गर्ने अवसर दिए कसो होला?'

म नेपाल प्रहरीमा भर्ना हुन चाहन्थेँ तर विभिन्न कानुनी बाधा थिए। पञ्चायतकालमा शाहवंशीय राजपरम्परामा राजालाई हुकुम प्रमाङ्गी अर्थात् हु.प्र. बाट स्वेच्छामा निर्णय गर्न सक्ने विशेषाधिकार थियो। सो अधिकारलाई कुनै संविधान, ऐन वा नियमावलीले छेक्दैनथ्यो।

यस सन्दर्भमा बरालले राजा वीरेन्द्रलाई प्रत्यक्ष भेटी सविस्तार जाहेर गर्नुभयो- ‘सरकार, हस्तबहादुर थापाले ब्रिटिस गोर्खा आर्मीबाट अवकाश पाए। उनले विगतमा नेपाल पुलिस ब्यान्डलाई कुशलतापूर्वक प्रशिक्षण दिई सक्षम ब्यान्ड बनाएको बारे सरकारलाई विदितै छ। उनको प्रशिक्षणस्वरूप नेपाल प्रहरीले वार्षिक रूपमा भव्यताका साथ बिटिङ दि रिट्रिट प्रदर्शन गर्दै आएको सरकार स्वयंबाट पटकपटक नजर भइबक्सेको छ।’

नेपाल प्रहरीमा स्थायी नियुक्तिपछि हस्तबहादुर थापाको नेतृत्वमा तत्कालीन नेपाल पुलिस ब्यान्ड। (तस्बिर सौजन्य: पुलिस मिरर १९८४)

बरालले राजालाई थप भन्नुभयो- 'नेपाल प्रहरीले थापालाई आफ्नो ब्यान्ड-मास्टरको रूपमा देख्न चाहन्छ। तर नियमानुसार इन्स्पेक्टर पदमा नियुक्त हुनका लागि उमेरले दिँदैन। उनी करिब ४५ वर्षका छन्। ३५ वर्षभन्दा बढी भएकाले उनलाई प्रहरीको प्राविधिक दरबन्दीमा भर्ना गर्न मिल्ने अवस्था छैन। उनको अनुपस्थितिमा नेपाल पुलिस ब्यान्डको द्रूततर गतिमा दीर्घकालीन विकास हुन सम्भव नहोला। यसकारण सरकारको हु.प्र. बाट उनलाई नेपाल प्रहरीको इन्स्पेक्टर पद बक्स भए पुलिस ब्यान्डको शीघ्र आधुनिकीकरण हुने कुरामा दुई मत नहोला।’

यसरी बरालले राजालाई सहमत गराई राजाको हु.प्र.बाट म नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्त भएँ। २०३४ वैशाख ३ गते इन्स्पेक्टर पदमा स्थायी नियुक्त भएको पत्र पाएँ। सम्भवत: राजदरबारको हु.प्र. बाट नेपाल प्रहरीमा अन्तिम नियुक्ति थियो त्यो।

यसरी नियुक्त भएपछि मैले फेरि नेपाल पुलिस ब्यान्डलाई प्रशिक्षण दिन सुरु गरेँ। पुलिस ब्यान्डको तत्कालीन युवा जनशक्तिमा ग्रामीण भेगका साधारण लेखपढ गरेका युवा मात्र थिए। तिनलाई साङ्गीतिक नोटेसन लेखाउन, पढाउन र सोअनुसार बाजाबाट मधुर धुन निकाल्न सिकाउन र कार्यक्रममा बाजा बजाउँदै विविध फर्मेसनमा हिँड्न-हिँडाउन सिकाउने कार्य निकै चुनौतीपूर्ण थियो। यी सबै चुनौतीलाई बरालको दृढ इच्छाशक्ति तथा सङ्कल्प र म स्वयम् तथा पुलिस ब्यान्डको अथक परिश्रमले पार लगाइयो। 

मेरो नेतृत्वमा पुलिस ब्यान्डको क्रमिक विकास हुँदै गयो र छोटो समयमै अन्तर्राष्ट्रियस्तरको ब्यान्डमा परिणत भयो। साथै, आईजीपी बराल सहभागी हुने विविध नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलगायतका अन्य कार्यक्रममा पुलिस ब्यान्डले दक्षताका साथ सङ्गीत प्रदर्शनी गर्न थाल्यो।

पूर्वाधारमा क्रमश: विकास गर्दै लगेर अन्तर्राष्ट्रियस्तरको ब्यान्डमा हुनुपर्ने सम्पूर्ण गुण प्रहरीको ब्यान्डमा स्थापित गराइयो। ब्रास ब्यान्ड, पाइप ब्यान्ड, अर्केस्ट्रा ब्यान्ड र महिला ब्यान्डका अलावा परम्परागत पञ्चे बाजालाई समेत पुलिस ब्यान्डमा समावेश गरियो। बिगुल, कर्नेट, क्लारीनेट, सेक्सोफोन, इफोनियम, ट्रम्पेट र हर्नजस्ता ब्रास ब्यान्डका लागि आवश्यक बाजालगायत अन्य बाजासमेत पुलिस ब्यान्डमा थिए। यसरी नै पाइप ब्यान्ड र अर्केस्ट्रा ब्यान्डमा आवश्यक पर्ने आधुनिक बाजासमेत पुलिस ब्यान्डमा व्यवस्था गरियो। यो आईजीपी बरालको दृढ इच्छाशक्तिबिना सम्भव थिएन। 

 तत्कालीन एआईजी स्वर्गीय तीर्थकुमार प्रधान। (तस्बिर सौजन्य: नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल)

हुकुम प्रमाङ्गीको अन्त्य
पहिला नेपाल प्रहरीबाट राजदरबारको शाही पार्श्ववर्ती (अङ्गरक्षक) अर्थात् एडीसीमा नेवार र ब्राह्मण समुदायबाट नियुक्ति हुने चलन थिएन। तत्कालीन आईजीपी बरालको अनवरत प्रयास तथा मनोनयनबाट सर्वप्रथम नेवार समुदायका इन्स्पेक्टर तीर्थकुमार प्रधान (पछि एआईजी) प्रहरीबाट एडीसीमा नियुक्त हुनुभयो।

पहिला उचाइ, शैक्षिक योग्यता वा अन्य योग्यता नपुगेका व्यक्तिलाई समुचित प्रक्रियाबिना नै राजदरबारको हु.प्र. मार्फत नेपाल प्रहरीलगायत अन्य सरकारी निकायमा स्थायी नियुक्ति दिने चलन थियो। मजस्ता केही अपवादलाई छोडेर हु.प्र. बाट प्रहरी सङ्गठनमा हुने नियुक्तिले अन्य प्रहरीको मनोबल खस्किने, सङ्गठनमा अस्थिरता आई अविश्वास बढ्दै जाने र अन्योलको वातावरण सिर्जना हुने आदि नकारात्मक पक्ष थिए। 

यी विषयबारे तत्कालीन आईजीपी बरालले साहसिक कदम चाल्नुभयो। जसअनुसार राजा वीरेन्द्रसमक्ष उहाँले तर्कसहित जाहेर गर्नुभयो- ‘हुकुम प्रमाङ्गी सरकारको विशेषाधिकार हो र स्वविवेकमा सरकारबाट समयसमयमा राज्यका विभिन्न अङ्गमा नियुक्ति बक्सेको छ। तर नेपाल प्रहरी जस्तो राज्यको अत्यन्त संवेदनशील सुरक्षा निकायमा यसबाट हुने नियुक्तिले सदैव सकारात्मक मात्र नभएर नकारात्मक परिणाम पनि ल्याउन सक्छ।’ 

राजाले प्रत्युत्तरमा ‘आईजी, मैले बुझेँ,’ भन्नुभएछ। 

यसरी राजालाई सहमत गराएपछि नेपाल प्रहरीमा हु.प्र. प्रयोग गरी नियुक्ति हुने परम्परा रोकियो।

म नेपाल प्रहरीमा वि.सं. २०२९ चैतदेखि २०३० कात्तिक २६ गतेसम्म ब्रिटिस गोर्खा आर्मीबाट सङ्गीत प्रशिक्षकको रूपमा काजमा खटिएँ। ब्रिटिस गोर्खा आर्मीबाट अवकाश पाएपछि २०३४ वैशाख ३ गते मेरो नेपाल प्रहरीमा स्थायी नियुक्ति भयो। २०५४ चैत ३ गतेसम्म नेपाल प्रहरीमा प्रमुख सङ्गीत प्रशिक्षकका रूपमा सेवा गरी प्रहरी उपरीक्षक (एसपी) दर्जाबाट अवकाश पाएँ। अवकाशपछि पनि २०५७ सालसम्म नेपाल सरकार र नेपाल प्रहरीले मलाई सोही दर्जामा प्रशिक्षकका रूपमा पुन: नियुक्ति दियो।

तत्पश्चात् २०५९ आषाढ ३१ गतेदेखि म सशस्त्र प्रहरी बल नेपालको ब्यान्डमा संस्थापक प्रमुख प्रशिक्षकको हैसियतमा करारमा नियुक्त भएँ र सो संस्थाबाट २०६४ आषाढ ३२ गते अवकाश पाएँ। २०६५ चैत २४ गतेदेखि २०६६ चैत ४ गतेसम्म फेरि सोही भूमिकामा रहेँ।

समग्रमा मैले नेपाल प्रहरीमा २२ वर्ष सङ्गीत निर्देशक र सशस्त्र प्रहरी बल नेपालमा ५ वर्ष संस्थापक सङ्गीत निर्देशकका रूपमा सेवा गर्ने अवसर पाएँ। विगतमा बेलायती सरकारबाट ‘मेम्बर अफ ब्रिटिस एम्पायर (एमबीई)’ तथा नेपालबाट ‘नेपाल भूषण’ तथा २०४२ वैशाख १ गते ‘गोर्खा दक्षिण बाहु-चौथो’ लगायतका कयौँ प्रतिष्ठित पदकबाट विभूषित हुने सुअवसर पनि पाएँ, जसलाई मैले जीवनकै सर्वाधिक सौभाग्य ठानेको छु।  

(हस्तबहादुर थापा नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी उपरीक्षक (एसपी) तथा ब्रिटिस गोर्खा आर्मीका अवकाशप्राप्त कप्तान थिए। उनले २०७६ सालमा लेखेको यो लेख उनको तेस्रो स्मृति दिवसका सन्दर्भमा प्रकाशित गरिएको हो)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad