रगत, जसले जीवनलाई गति दिन्छ र अस्तित्वलाई धान्छ। सृष्टि र बलिदान, यी दुवैका लागि रगत अनिवार्य छ। जीवन दिन पनि र देश बचाउन पनि।
यो केवल शरीरभित्र बग्ने तरल पदार्थ मात्र होइन, यो हाम्रो इतिहास, संस्कार, र भविष्यसँग गहिरो रूपमा गाँसिएको छ। यो रगतले हाम्रो शरीरलाई जीवन्त मात्रै राखेको छैन, जीवनका नयाँ अध्यायहरू पनि लेखिएका छन्।
माघ १६ सहिद दिवस। शुकराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा मनाइन्छ, जसले आफ्नो रगतबाट स्वतन्त्रताको नयाँ बिहान रचिदिए। तर सोच्नुहोस्, जीवनको आरम्भ पनि रगतबाट हुन्छ– त्यो हो महिनावारीको रगत।
आज म देश बचाउने रगतप्रति सम्मान र सम्झना गर्दै जीवन दिने महिनावारीको रगतको कथा लिएर आएको छु।
सहिदको रगतले देशको भाग्य बदल्यो। तर, महिनावारीको रगतले जीवनको सुरुवात गर्यो, ती सहिदहरूको जन्म दियो। महिनावारीको रगतले नयाँ जीवन जन्माउने आधार हो भने सहिदको रगतले नयाँ युग जन्माउने आधार हो।
महिनावारीको रगतः सृष्टिको पहिलो चरण
महिनावारीको रगत प्रकृतिको चमत्कार हो। यो मानव जीवनको प्रारम्भिक स्रोत हो। महिनावारीको यही रगत हो, जसले नयाँ जीवनलाई गर्भमा बस्न र फक्रिनको लागि आधार तयार गर्छ। स्थान दिन्छ। महिनावारीको रगतले कुनै पनि मानव जीवनको पहिलो चरणको प्रतिनिधित्व गर्छ। यो सफा छ, शुद्ध छ, पवित्र छ। सहिदहरू जस्तै सयकरोडौ जीवन दिएको छ। संसारलाई चलाएको छ सहिदको रगतले देशको भविष्य रोप्छ। महिनावारीको रगतले जीवन रोप्छ। महिनावारीको रगत जीवनको प्रारम्भ हो।
‘सहिदहरूले आफ्ना सपनाहरू र शरीरका रक्तकणहरूलाई देशको माटोमा मिसाएर प्रजातन्त्रको उज्यालो ल्याए। सहिदको रगतले बलिदानको बीज छरेर नयाँ युगको सुरुवात गर्यो। देशको इतिहासमा परिवर्तन ल्यायो। महिनावारीको रगतले जीवनको बीउ रोपेर नयाँ संसारको सुरुवात गरिरहेको छ।’
रगतको प्रतीकात्मकता
महिनावारीको रगत र सहिदको रगत—दुवै रक्तका स्वरूप फरक भए पनि यी दुवै मानव अस्तित्व र परिवर्तनसँग जोडिएका छन्। यी दुवै रगत रातै छन्। जसले साहस, पवित्रता, र शक्ति झल्काउँछ।
महिनावारीको रगतलाई अपवित्र मान्ने समाजले सहिदको रगतको मूल्य कत्तिको बुझ्छ होला? जीवनलाई जीवन्त राख्ने रगतलाई जबसम्म हामी सम्मान गर्दैनौं, तबसम्म सहिदको बलिदानलाई पूर्ण रूपमा सम्मान दिन सकौला र?
रगतको यो विम्बात्मक यात्राले हामीलाई जीवन, संघर्ष, र बलिदानको मूल्य सम्झाउँछ। महिनावारीको रगत र सहिदको रगतले समाजलाई जीवन्त राख्न र सुधार गर्न प्रेरणा दिएको छ। यसैले, यी दुवै रगतको सम्मान गरौं, किनभने यो जीवन र स्वतन्त्रताको सार हो।
महिनावारीको रगत र सहिदको रगत—यी दुवै जीवनका आधार हुन्। एकले जीवनलाई सुरुवात गर्छ, अर्कोले जीवनलाई रक्षा गर्दछ। दुवै पवित्र छन्, दुवै मूल्यवान् छन्। समाजले सहिदको रगतप्रति सम्मान गर्दै उनीहरूले देखाएको बाटो पछ्याउनु पर्छ। महिनावारीको रगतप्रतिको सोच बदल्नुपर्छ। यी रक्तका विम्बहरूले हामीलाई सृष्टि र संघर्षको मूल्य सम्झाउँछन्। महिनावारी र सहिदको रगतलाई समाजले समान रूपमा पवित्र मान्नुपर्छ। एकले संसारलाई निरन्तरता दिन्छ भने अर्कोले संसारलाई सुरक्षित राख्छ।
सहिदको रगतले जसरी नयाँ परिवर्तनको सुरुवात गर्छ त्यसैगरि महिनावारीको रगतले नयाँ जीवनको सुरुवात गर्छ। यदि सहिदको बलिदानले देशलाई जन्म दिएको हो भने महिनावारीले मानव जातिलाई जन्म दिएको हो। महिनावारीको रगतलाई अपवित्र मान्ने र सहिदको रगतलाई सम्मान गर्ने समाजले आफैंभित्रको विरोधाभास बुझ्न जरुरी छ।
रगत, चाहे जीवनको सुरुवातको होस् या स्वतन्त्रताको मूल्यको, सधैं पवित्र र सम्माननीय छ। सहिदहरूको बलिदानको सम्मान गरौं र महिनावारीप्रतिको गलत धारणा हटाउँदै यसलाई पवित्रताको प्रतीक बनाऔं। त्यसैले, आउनुस्, जीवन र स्वतन्त्रताको यी दुई प्रतीकलाई सम्मान गर्दै, आज माघ १६ को दिन सहिदहरूलाई सम्झौं र महिनावारी रगतप्रतिको गलत धारणा बदलौं।
दुवै रगत पवित्र छन्। महिनावारीको रगत र सहिदको रगत जीवन र बलिदानका दुई कथा हुन्। यी दुवैले संसारलाई जिउँदो राखेका छन्।
Shares

प्रतिक्रिया