राजनीति


सर्लाहीमा माओवादीले आजदेखि गर्ने भनेको आम हड्ताल स्थगित

बागमतीका मेयर भरत थापालाई राजनीतिक प्रतिशोध राखेर फसाउन खोजेको आरोप
सर्लाहीमा माओवादीले आजदेखि गर्ने भनेको आम हड्ताल स्थगित

नेपालखबर
माघ १६, २०८१ बुधबार १०:५१, सर्लाही

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई सरकारले झुटा वन मुद्दा लगाएर फसाउन खोजेको दावी गर्दै चरणवद्ध आन्दोलन गरिरहेको माओवादी केन्द्रले आजदेखि सर्लाहीमा गर्ने भनेको आम हड्तालको कार्यक्रम स्थगित गरेको छ। 

आज सहिद दिवस र भोलि तामाङ समुदायको सोनाम ल्होछार पर्व परेकाले आम हड्तालसहितका विरोधका कार्यक्रम तत्कालको लागि स्थगित गरिएको माओवादी सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिए। 

‘हाम्रो पहिलो चरणको आन्दोलनका कार्यक्रम मंगलबारबाट सकिएका छन्। आजदेखि गर्ने भनिएको आम हड्तालसहितका कार्यक्रम तत्कालको लागि स्थगित गरेका छौँ,’ काफ्लेले भने, ‘सरकारले राजनीतिक प्रतिशोधका आधारमा हाम्रा जनप्रतिनिधिमाथि लगाएको झुटा आरोप खारेज नगरेसम्म आन्दोलन जारी रहन्छ। थप आन्दोलनका कार्यक्रम हामी पछि घोषणा गर्नेछौँ।’

बागमती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोप लगाउँदै जिल्ला वन कार्यालयले मेयर थापा र उपमेयर लीला मोक्तानविरुद्ध वन मुद्दा दायर गर्ने तयारी गरेकाे दाबी गर्दै माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो। 

जिल्लामा चरणवद्ध सडक संघर्ष गर्दै आएको माओवादीले हिजो मंगलबार सर्लाहीको बागमतीमा राजमार्ग नै अवरुद्ध गरेर जनसभा गरेको थियो। त्यसअघि मसाल जुलुस, मोटरसाइकल र्‍याली, मधेस प्रदेशका मुख्यमन्त्री, वनमन्त्री र सागरनाथ वन विकास परियोजनामा ज्ञापनपत्र बुझाउनेसहितका आन्दोलनका कार्यक्रम माओवादीले सम्पन्न गरिसकेको छ। 

मंगलबार बागमतीको पुतली चोकमा आयोजित जनसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज लीलामणि पोख्रेलले आफैँ भ्रष्टाचार र अनियमिततामा लिप्त भएको सरकारले विकासप्रेमी प्रतिनिधिलाई राजनीतिक प्रतिशोध साधेर झुटा मुद्दा मामलामा फसाउन खोजेको आरोप लगाए।  

आफ्नो पार्टी नेतृत्वको सरकारले भ्रष्टाचारको फाइल खोल्न थालेपछि आत्तिएर एमाले र कांग्रेसले गठवन्धन गरेर वर्तमान सरकार बनाएको दाबी गर्दै उनले यो सरकारले देशमा सुशासन कायम गर्न नसक्ने दाबी गरे।

उनले अहिलेको सरकारले पुँजिपतिकै स्वार्थ पूरा हुनेगरि भूमि सम्बन्धी अध्यादेश ल्याएको आरोप पनि उनले लगाए। ‘सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशले सुकुम्बासीलाई कुनै सुविधा दिँदैन,’ उनले भने, ‘यसले सहर बजारमा सरकारी जग्गा अतिक्रमण गरेर ७/८ तलाका घर ठड्याउनेको पक्षमा वकालत गर्ने काम मात्रै गर्छ।’  

बागमती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोपमा जिल्ला वन कार्यालयले थापा र मोक्तानविरुद्ध वन मुद्दा अख्तियारमा दायर गर्ने तयारी भएपछि माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो। माओवादीले राजनीतिक प्रतिशोधको आधारमा मेयर थापा र उपमेयर मोक्तानलाई झुटा वन मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाउँदै आएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धि दुईवटा मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन्।  

माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले विशेष अदालतमा चलिरहेको मुद्दामा अहिले आफूहरुले केही नबोलेको बताए। उनले प्रधानमन्त्री कार्यालयको निर्देशनमा मेयर थापा र उपमेयर मोक्तानलाई वन मुद्दामा फसाउने षड्यन्त्र भएपछि आफ्नो पार्टी सडक संघर्षमा उत्रिएको तर्क गरे। 

‘प्रधामन्त्री कार्यालयका मुख्य सचिवले बागमतीका नगरप्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि र कर्मचारीहरुलाई वन मुद्दा चलाउन अख्तियारलाई निर्देशन दिएका छन्,’ काफ्लेले भने, ‘प्रधानमन्त्री कार्यालयको निर्देशनपछि अख्तियारले मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय, वन मन्त्रालय, जिल्ला वन कार्यालय, सागरनाथ वन विकास परियोजना, जिल्ला प्रशासन लगायतका निकायमा पत्राचार गरेर हाम्रा जनप्रतिनिधिविरुद्ध वन मुद्दा अघि बढाउन निर्देशन दिएकाे हामीले पाएका छौँ। सरकारी षड्यन्त्र हामी टुलुटुलु हेरेर बस्दैनौँ।’

उनले अहिले मेयर थापाले सुकुम्बासी बस्ती बसाएको भनिएको सागरनाथको वन विकास परियोजना क्षेत्रको वन सशस्त्र द्वन्द्व कालमै सकिएको बताए। ‘जहाँ वर्षौंदेखि वन नै छैन, त्यो ठाउँको वन हाम्रा जनप्रतिनिधिले मासेको आरोप लगाइँदैछ,’ उनले भने, ‘यो राजनीतिक प्रतिशोध बाहेक केही होइन। यसलाई सहने कुरा हुँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad