ब्लग


जय देश, जय जनेश

जय देश, जय जनेश

पुजन बराल
मंसिर ८, २०८१ शनिबार ९:५६, काठमाडौँ

वर्तमान नेपालका चार मुख्य आधारस्तम्भ छन्- गणतन्त्र अर्थात् राष्ट्रप्रमुख राष्ट्रपति हुने व्यवस्था, सङ्घीयता अर्थात् राष्ट्रलाई विभिन्न स्वायत्त एकाइमा विभाजन, धर्मनिरपेक्षता अर्थात् सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता र समावेशिता अर्थात् सबै जात, समुदाय तथा क्षेत्रका व्यक्तिको सरकारी सेवामा सम्मानजनक उपस्थिति।

यी अवधारणा कार्यान्वयन गर्ने क्रममा कति सफल भए/भएनन् त्यो आफ्नो ठाउँमा होला, तर अलिखित रूपमा विकसित भएका कयौँ परिवर्तनहरू मननयोग्य छन्। 

जस्तो कि, पहिला ‘जय देश जय नरेश’ भन्ने नारा राष्ट्रव्यापी रूपमा प्रयोग हुन्थ्यो। जसले राजालाई ईश्वरको समकक्षतामा राख्दथ्यो।

नर: मान्छे 
इश: ईश्वर 

नर+इश: नरेश

यसरी हिन्दु राष्ट्र रहेको तत्कालीन नेपालका ‘नरेश’ शाह वंशीय राजा थिए।

अहिले खासै प्रयोग नभएको तर धर्मनिरपेक्ष नेपालका हरेक नेपालीको मनमा जागृत भएको भाव हो- ‘जय देश जय जनेश’। जसको अर्थ यसरी बुझ्न सकिन्छ- 

जन: जनता अर्थात् सर्वसाधारण
इश: ईश्वर
जन+इश: जनेश 

यसरी ईश्वर कुनै व्यक्ति विशेषमा मात्र सीमित (नरेश) नभएर हरेक नेपालीको आत्मामा बास गर्छ भन्ने अवधारणालाई ‘जनेश’ शब्दावलीले जनाउँछ।

यसको ज्वलन्त उदाहरण गणतन्त्र आएपछिको एक प्रसङ्गलाई लिन सकिन्छ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई एउटा टीभी च्यानलले अन्तर्वार्तामा बोलायो। अन्तर्वार्ता लिने पत्रकारले उनलाई सम्बोधन गर्ने क्रममा ‘हजुर’ को ठाउँमा ‘तपाईं’ भने र सम्पूर्ण अन्तर्वार्ता अवधिभर ‘तपाईं’ भनेरै सम्बोधन गरे।

पूर्वराजा पनि अब सर्वसाधारणको हैसियतमा पुगिसकेको जनाउन लागि पूर्वनियोजित रूपमा सो सम्बोधन गरिएको थियो।

यस विषयलाई लिएर राजावादीहरू क्रुद्ध भए। अपमानजनक शब्द प्रयोग भएको भन्दै सम्बन्धित प्रत्रकार र टीभी च्यानलका प्रधान सम्पादकले सार्वजनिक रूपमा माफी माग्नु पर्ने भन्दै उनीहरुले गरेको हल्ला झल्झली सम्झना हुन्छ।  

के वास्तवमा ‘तपाईं’ले त्यस्तो अपमान जनाउँछ? के ‘तपाईं’ र ‘हजुर’ मा त्यति धेरै अन्तर हुन्छ?

नेपाली व्याकरणको आदरार्थीमा अनादरार्थी, मध्यम आदरार्थी, उच्च आदरार्थी र अतिउच्च आदरार्थीमा रहेका भिन्नता यस्ता छन्:

  • ऊ भुजा खाँदै छ। (अनादरार्थी)
  • उनी भुजा खाँदै छन्। (मध्यम आदरार्थी)
  • उहाँ भुजा खाँदै हुनुहुन्छ। (उच्च आदरार्थी)
  • उहाँ भुजा ज्युनार गरिबक्सँदै छ। (अतिउच्च आदरार्थी)
  • तँ आज फर्किन्नस् कि? (अनादरार्थी)
  • तिमी आज फर्किन्नौ कि? (मध्यम आदरार्थी)
  • तपाईं आज फर्किनुहुन्न कि? (उच्च आदरार्थी)
  • हजुर आज फर्किबक्सन्न कि? (अतिउच्च आदरार्थी)
  • तँ आइस्। (अनादरार्थी)
  • तिमी आयौ। (मध्यम आदरार्थी)
  • तपाईं आउनुभयो। (उच्च आदरार्थी)
  • मौसुफको सवारी भयो। (अतिउच्च आदरार्थी)

 

उदाहरणका लागि, पहिला नेपालका ठूलाबडा सेवाग्राहीको घरबाट विद्युत प्राधिकरणको (उदाहरण) कुनै काम सन्तोषजनक नलागेमा सम्बन्धित कार्यालयमा फोन गरी कर्मचारीलाई कड्किँदै भन्न मिल्थ्यो होला- ‘ए म फलानो चिफ साबको घरबाट बोलेको। काम छिटो गर्!’

अहिले नेपालमा जोकसैले पनि जोसुकैलाई त्यही लबज वा आदरार्थी प्रयोग गर्‍यो भने उल्टै चर्को आवाजमा गाली खाने जमाना आइसक्यो। 

त्यस्तै, पहिला नेपालका ‘शिक्षित’ वर्गका जनता अल्पमतमा पर्थे र अधिकांश जनता सरल स्वभावका थिए। सुरक्षा निकाय भन्नासाथ सर्वसाधारण डराउँथे, थुरथुर काँप्थे। सुरक्षाकर्मीले सर्वसाधारणलाई बिनाकारण गाली वा पिटाई दियो भने पनि सर्वसाधारण टुलुटुलु हेरेर बस्थे।

अहिले नेपालका अधिकांश जनता शिक्षित र टाठा छन्। सुरक्षाकर्मीले अलिकति पनि दायाँबायाँ गर्‍यो भने प्रतिवाद/प्रतिकार गरिहाल्छन्। 

यसको उदाहारणको रूपमा यी प्रसङ्गलाई लिन सकिन्छ-

प्रसङ्ग
वि.सं. २०४९ सालतिर कुरा हो। बहदुलीय व्यवस्था आइसकेको थियो। दिउँसोको समय थियो। 

काठमाडौंमा अवस्थित नारायणहिटी दरबारको उत्तरढोका नजिकैको फुटपाथमा एकजना पैदलयात्री धुम्रपान गरी हिँड्दै थिए। 

दरबारको उत्तरढोकामा तैनाथ सेनाका सुरक्षाकर्मीले उनलाई देखे। सैनिकले उनलाई आफूतिर बोलाए। 

उनी नजिकमात्र के पुग्न पाएका थिएनन्, सैनिकले उनको गालामा एक चड्कन हाने। 

उनी रन्थनिदै भुँइमा लडे। उनले लगाएको चस्मा भुँइमा झरेर सिसा चर्कियो र चुरोट भुँइमा खस्यो।  

उनले कुनै प्रकारको प्रतिवाद/प्रतिकार गरेनन्। चर्किएको चस्मा लगाए र हिँड्दै गए।  

प्रसङ्ग
२०७३ सालको कुरा हो। नेपालमा गणतन्त्र आएको करिब ८ वर्ष भइसकेको थियो। काठमाडौंको एउटा सहरी क्षेत्रमा नेपाल प्रहरीका सुरक्षाकर्मीको पैदल गस्ती हुँदै थियो। 

त्यसमध्ये एकजना भर्खर मात्र प्रहरी जवानमा भर्ना भएका थिए। उनलाई सवारी चालकलाई कसरी रोक्नुपर्छ भनेर विस्तृतमा ब्रिफ गरिएको रहेनछ। 

उनले हेल्मेट नलगाएका एकजनाले मोटरबाइक चलाइरहेको देखे। उनी नजिकै थिए। 

बाइकचालकको शरीर हल्का समाउँदै प्रहरी जवानले सोधे, ‘तपाईंको हेल्मेट खोइ?’

चालकले ‘यहीँ नजिकबाट आएको,’ भने।

चालक नभागोस् भनेर प्रहरी जवानले मोटरबाइकको चाबी झिके र एकदुई कदम पछाडि गए।

चालक पड्किए- ‘यही यो तरिका? खै साइड लाग्नुस् भनेको? तपाईंले आफ्नो अधिकारको दुरूपयोग गर्न मिल्छ? तपाईं प्रहरी! तपाईं प्रहरी!’

प्रहरी जवानलाई उनका गुरुबा (प्रशिक्षक) ले सवारी साधनको चेकिङ गर्ने क्रममा गल्ती भेटिएमा सबैभन्दा पहिला सवारीचालक नभागोस् भनेर सवारी साधनको चाबी झिक्नुपर्छ भनेर सुझाएका थिए। उनले त्यही नै गरेका थिए। उनको हिसाबले उनले कुनै प्रकारको दुर्व्यवहार गरेका थिएनन्। आफ्नो मर्यादामै रहेर सुरक्षाकर्मीको कर्तव्य निर्वाह गरेका थिए।

बाइकचालक भने ‘म पनि नेपालको नागरिक हुँ! मेरो पनि अधिकार छ!’ भन्दै कुरा नबुझेर उनीमाथि खनिए।  

नेपालका केही अलिखित परिवर्तनमध्ये यी पनि पर्छन्, जहाँ ‘जय देश जय जनेश’को भाव अधिकांश नेपालीको मनमा जागृत भएको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad