राजनीति


सडकमा मञ्च बनाएर प्रधानमन्त्री ओलीले अराजकता फैलाए : प्रभु साह

सडकमा मञ्च बनाएर प्रधानमन्त्री ओलीले अराजकता फैलाए : प्रभु साह

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १५:३८, काठमाडौँ

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सडकमा मञ्च बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता फैलाएको टिप्पणी गरेका छन्। काठमाडौंमा प्रदर्शनका साथै अतिव्यस्त दरबारमार्गमा सभा गरेर प्रधानमन्त्री ओलीले अराजकता फैलाएको उनले बताए।

आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आज सञ्चारकर्मीसंगको भेटघाटमा अध्यक्ष साहले प्रधानमन्त्री ओलीसँग प्रश्न गर्दै भने, ‘के सडक सभा गर्नका लागि हो?’ सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सत्तामा भएको बेला सडकमा शक्ति प्रदर्शन कसका विरोधमा गरेको हो भनेर प्रश्न समेत उनले गरे।

‘एमालेको यो सडक प्रदर्शन कसको विरोधमा हो? सत्तामा बसेर कसलाई देखाउनका लागि प्रधानमन्त्रीजीले प्रदर्शन गर्नुभएको हो? यो प्रदर्शन कांग्रेसलाई देखाउनका लागि हो की छिमेकीलाई देखाउन हो? विपक्षीलाई तर्साउनका लागि हो की? प्रधानमन्त्रीजीको यो सडक प्रदर्शन बेमौसमी बाजा मात्रै हो’ आजपा अध्यक्ष साहले भने।

विगतमा पनि एमालेले दरबारमार्गमा यस्तै प्रदर्शन र सभा गर्दै आएकोमा आजपा अध्यक्ष साहले दरबारमार्ग के एमालेको बिर्ता हो भन्दै प्रश्न समेत गरे। कानूनी शासन स्थापना गर्ने, सुशासन कायम गर्ने सरकारले सडकमा आएर अराजकता किन मचाएको होला भन्दै आजपा अध्यक्ष साहले यस्तो अराजक कार्यमा सिंगो सुरक्षाकर्मी ओलीको व्यक्ति पुजामा लागेको भन्दै आफूलाई अचम्म लागेको टिप्पणी गरे।

‘हाम्रो पार्टीले पनि सडकमा मञ्च बनाएर सभा गर्न किन नपाउने?’ भन्दै उनले प्रश्न गरेका छन्। सत्तामा बसेर सडकबाट अराजकता फैलाउन नपाउने बताउँदै उनले प्रधानमन्त्रीले कानूनी शासनको उपहास गरेको टिप्पणी गरे।

‘स्थिरता ल्याउने भनेर बनेको सरकार आफैं सडक आतंक मार्फत अराजकता फैलाईरहेको छ। सुशासन दिनुको साटो कानूनी शासनको उपहास हो। अरुलाई सडकमा प्रदर्शन गर्न नदिने। आफैं सडकमा सभा गर्ने यो पनि ध्रुवे हातिको आतंककै निरन्तरता हो। यस्तै रवैया रहिरह्यो भने केपी ओलीको राज्य लुटको आयू छोटो छ’ आजपा अध्यक्ष साहले भने।

सिंहदरबार र बालुवाटारमा बसेर बालकोट जस्तै तमासा देखाउन नपाईने बताउँदै साहले भने, ‘यदी तपाई (ओली)लाई चल्नै गाह्रो हो भने प्रधानमन्त्रीजी सिंहदरबारमा, बालुवाटारमा बसेर बालकोट जस्तै तमासा देखाउन पाईंदैन। तपाई बालकोटमा जानुस्, बार्दलीबाटै तमासा देखाउनुस्। अति व्यस्त दरबारमार्गमा जनतालाई दुख दिन पाईंदैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad