ब्लग


आकाशमा जहाजको र सडकमा ट्राफिकको भिजिबिलिटीले दिएको सास्ती

आकाशमा जहाजको र सडकमा ट्राफिकको भिजिबिलिटीले दिएको सास्ती

देवकी बिष्ट
मंसिर ३, २०८१ सोमबार १४:५०, काठमाडौँ

कात्तिक २८ गते भैरहवामा मेरो लागि कहिले नबिर्सने दिन भयो। जबजब म भैरहवा सम्झनेछु, त्यो दिन याद गरिरहनेछु।

एउटा कार्यक्रममा भैरहवा पुगेकी थिएँ। तेस्रो दिन काठमाडौँ फर्कने तयारी थियो। फर्कने तयारी गरिरहँदा मेरो ब्यागमा रहेको ९ हजार होटलबाट चोरी भयो। यति धेरै तनाव भयो कि यतै कतै राखेँ कि भनेर होटेलका कोठा र हलमा खोज्दै गर्दा एक घण्टा बित्यो। 

होटल सञ्चालक भन्दै थिए, तपाईंका साथीहरू नै सीसीटीभीमा देखिएका छन्। होटलका कर्मचारी पनि देखिएका थिए। मुखले भन्नलाई प्रमाण थिएन। चुप लाग्नुको विकल्प रहेन।

भैरहवाबाट साढे ६ बजे काठमाडौँ जाने यती एयरलाइन्सको टिकट थियो। पैसा हराएको तनावका बीच ५ बजे नै एयरपोर्ट पुगेँ। भित्र छिर्नासाथ काठमाडौँबाट जहाज उडेकै छैन भन्ने सुनेँ। एयरपोर्ट भरिभराउ थियो। बुद्ध, श्री र यती एयरलाइन्सका यात्रुहरू थिए। जहाज नउड्ने भनेर पक्कापक्की भयो। त्यत्तिकैमा साथी चाँदनीको फोन आयो। 

‘फ्लाइट क्यान्सिल भयो भनेर सुनेँ। बसमा एउटा सिट छ आऊ। राम्रो छ सिट सोफाजस्तै,’ उनले भनिन्। 

जाऊँ कि भनेर सोचेँ। अनि आफ्नो ढाडको दुखाइ सम्झेँ। यती एयरका इन्चार्जलाई सोधेँ, टिकट क्यान्सिल हुन्छ? 

अँ हुन्छ। 

क्यान्सिल प्रक्रिया गर्दागर्दै पुनः इन्चार्जलाई फोन आयो– काठमाडौँबाट जहाज आउने भयो। स्टाफलाई लगेज लोड गर भन्दै इन्चार्ज हिँडे। 

त्यस्तो सुनेपछि खुसीको सीमा भएन। साथीलाई म फ्लाइटमै जान्छु भनेर खबर गरेँ। साढे ६ को जहाजको समय सरेर ९ बजे पुग्यो। ठिकै छ। ९ बजे भए पनि उड्न त उड्छ भन्ने आशा जाग्यो। 

हेर्दाहेर्दै बुद्ध, श्रीको विमान उड्यो। एयरपोर्ट खाली भयो। बाँकी रहेका बुद्धका यात्रुलाई श्री एयरमा व्यवस्थापन गरियो। यतीले आफ्नो यात्रुलाई केही गर्न सकेन। काठमाडौँबाट उड्न तयार भएको यती काठमाडौँ एयरपोर्ट मर्मतसम्भार गर्नुपर्ने कारण रोकियो भन्ने खबर आयो। एयरपोर्टमा यात्रु र स्टाफबीच विवाद भइरहेको थियो। सबैभन्दा चिन्तित वैदेशिक यात्रामा जाने यात्रुहरू थिए। लोड गर्न लगिसकेको लगेज फेरि लिन गयौँ। सबैका आ–आफ्ना गुनासा थियो। बुद्धको काउन्टरमा गएर सोध्यौँ– टिकट छ? 

अब पोखराको फ्लाइट मात्रै छ। पोखरा जानुहुन्छ? 

हामी फर्कियौँ।

लगेज बोकेर बाहिर आएँ। एकछिन रनभुल्ल भइयो। बाहिर क्याउँक्याउँ गर्दै ट्याक्सी ड्राइभरहरू आए। लाग्दै थियो हाम्रो फ्लाइट क्यान्सिल हुनु यिनीहरूका लागि उत्सव हो। एयरपोर्टबाहिर आउँदा साढे १० भइसकेको थियो। ट्याक्सीको उत्सवलाई बुझेको थिएँ। उनीहरूले भनेको मूल्यमा नजाँदा जिस्क्याउने ट्याक्सीवालाहरू पनि थिए। एकछिन विवाद होलाजस्तो भयो। तर आफ्नो गन्तव्य सम्झेँ। केही भर्खरैका युवकयुवतीहरूको हुल प्रतिव्यक्ति ५ हजार तिरेर अल्टो ट्याक्सीमा काठमाडौँ हिँडे। किनभने उनीहरूको बिहान विदेश जाने फ्लाइट थियो। यसरी बाध्यताको फाइदा उठाइँदै थियो कि यो कमाइले आजीवन पुग्छ। 

भैरहवामा बसौँ, दोस्रो दिनको फ्लाइट निश्चित थिएन। किनभने दुई दिनदेखि भिजिबिलिटी राम्रो थिएन। चहार्दाचहार्दै एयरपोर्ट गेटबाहिर आएर दियो पोस्टका सुदीपले यहाँ १२ सयमा ट्याक्सी पाइएको छ। बुटवलबाट नाइट बस पाइन्छ भने। अनि मसँगै चारपाँचजना सोही ट्याक्सीमा बुटवल गयौँ। ट्याक्सीवालाले हाम्रो बाध्यता थाहा पाएपछि आफ्नो बाध्यताको अनेकन बहाना बनाउँदै थियो। हामी चुप लागेर सुनिरह्यौँ। बुटवल पुगेपछि १२ सयले पुगेन बढी दिनूस् भन्न थाल्यो। अनि म र एकजना अंकल करायौँ। सबैजना बोले र ऊ चुप लागेर गयो। 

अब अर्को तनाव १२ बज्न लाग्यो तर पश्चिमबाट आउने बस एउटै खाली आउँदैन। कोही होटलमा बस्छौँ भनेर हिँडे। कोही आफन्तकहाँ। चोकमा झगडा भइरहेको थियो रक्सी खाएका केटाहरूको। मैले बुटवल चोकमा रहेको प्रहरी पोस्टमा 'सर, पश्चिमबाट आउने बस कति बजेबाट सुरु हुन्छ?' भनेर सोधेँ। उनले 'खै, थाहै हुन्न' भने। 

महिला मध्यरातमा सोध्न गइसकेपछि उनले दिने प्रश्नको उत्तर र हाउभाउ ठिक लागेन। म फर्कें। एउटा लोकल बस आयो। नारायणघाट पुगेपछि केही न केही पाइन्छ भन्ने आशा थियो। हामीले बुक गरेर काठमाडौँ जाने भनेर पनि समूहमा योजना बनायौँ। ठूलो हाइसमा पनि प्रतिव्यक्ति ५ हजार भनेपछि चुप लागेका थियौँ। हामीसँगै भएका अंकल र आन्टी बसमा चढे। म पनि उनीहरूकै पछि उभिएर जानुपरे नि जान्छु भनेर चढेँ।  

आफूसँग भएको नगद होटलमा चोरी भएपछि बाँकी भएको १ हजार रूपैयाँ सकिँदै थियो। टिकटवालाले ५ सय माग्यो। पछाडिबाट सँगै भएको अंकलले 'मसँगै आएको साथी हो, ४ सय दिनु' भन्यो। मैले मान्छेपिच्छे फरक मूल्य गर्ने भन्दै ४ सय दिएँ। अब चिन्ता लाग्न थाल्यो, नगद पैसा मसँग सकियो। मोबाइल बैकिङ सबैसँग हुँदैन। अब के गर्ने? 

राति २ बजे शौच गर्न बस रोक्यो। पाँच मिनेट भन्यो। म पिसाब रोकेरै बसेँ। किनभने पाँच मिनेट पिसाब फेर्ने ठाउँ हेर्नमै बित्छ। आफूलाई पिरियड भएको २ दिन भएको थियो। राति ३ बजे नारायणघाट पुग्यौँ। ठिक्क ईभी हाइस पायौँ। यात्रु खोज्दाखोज्दै। गाडी ४ बजे हिँड्यो।

मसँग नगद थिएन। मसँगै भएका अकंललाई 'बैंकमा ट्रान्सफर गर्छु, मेरो पनि भाडा तिरिदिनूस् न' भनेँ। अब हाइस पाएपछि ढुक्क भएँ। रातभरि एक आँखा लगाउन पाइएको थिएन, न त खाना नै। कुन बेला काठमाडौँ पुगौँला भन्ने भएको थियो। नारायणघाटबाट दुईतीन किलोमिटर अगाडि दुई घण्टा जाममा परियो। 

उज्यालो भइसकेको थियो। ठाँउठाँउमा ट्राफिक प्रहरी देखिन थाले। नास्ता खानेमा ठाँउमा रोक्यो। ८० रूपैयाँमा एउटा चिया र एउटा समोसा खाएँ। मोबाइल बैकिङ गर्दा ९१ रूपैयाँ तिरेँ। चार्जमा राखेको गाडी पनि चार्ज भइसकेको थियो।  

ईभीका चालकलाई दुई स्थानमा प्रहरीले रोक्यो। ट्राफिक प्रहरीले नाइट बसलाई रोक्दैनथ्यो। साना ईभी, हाइस वा ट्रकहरू बाटोमा रोकिने धेरै थिए। अब पुग्यौँ, थानकोट १०ः३० बजेतिर। अब काठमाडौँ पुगियो भन्ने भयो। 

थानकोटमा ट्राफिक प्रहरीले फेरि 'गाडी साइड लगा' भन्यो। यात्रुहरू कराउँदै थिए– यसलाई मात्रै कति रोक्छ, फेरि पैसा माग्ने होला। 

ड्राइभर चुप लागेर गए। उनको मुहारमा पूरै बादल लागिसकेको थियो। यसपटक ट्राफिक प्रहरीले कागज मागे र ड्राइभरलाई ट्वाइलेटतिर पठाए। मैले सोचेँ, १ घण्टा भएको छैन। यो ड्राइभर किन गयो ट्वाइलेट? मैले तस्बिर र भिडिओ खिचेँ। त्यसपछि पुनः ट्राफिक प्रहरीलाई भेटेर फर्किएँ। हामी माछापोखरी उत्रियौँ। कौतुहलले छोडेन। सोधेँ, ‘तपाईं थानकोटमा ट्वाइलेट किन जानुभयो?’ 

उनले मलाई अचम्मको पाराले हेरे। पैसा ट्वाइलेटमा हाल्नुभयो र? मैले सोधेँ।

उनले भने, ‘ट्राफिक प्रहरीले ट्वाइलेट छेउमा दिएर आइजो २ सय भनेको थियो। त्यही भएर गएको हो।’

‘बाटोमा रोकेको बेला कति पैसा दिनुभयो? 

‘एक ठाँउमा २ सय र अर्कोमा ५ सय।’

म केही बोल्न सकिनँ। सबै मेरो मुखतिर हेर्दैथिए। आजकाल यात्रुहरू चलाख भएसँगै ट्राफिक प्रहरीको सडक भिजिबिलिटी फेरिएको रहेछ। सवारी चालकले गल्ती गरेको छ भने कारबाही गर्ने हो। ट्राफिक प्रहरीले छाया पारेर पैसा लिने होइन। हातमा पैसा दिँदा यात्रुहरूको आँखा छलेर पैसा दिन ट्वाइलेटतिर जानुपर्ने रहेछ। 

धादिङ, नौबिसे र थानकोट पोस्टमा खटिने ट्राफिक प्रहरीले त्यहाँ ड्युटी परेवापत हाकिमलाई हिसाब बुझाउनुपर्ने बाध्यता भनेको सम्झिएँ। नारायणघाटबाट ९ जना यात्रु लिएर आएका ती ड्राइभर तीनजना अरू थप्न खोजिरहेका थिए। तर सबैजना कराएपछि उनी हिँडेका थिए।

नारायणघाटमा अरू हाइस गाडीले यात्रुहरूलाई तानेर लान्थ्यो। ती ड्राइभरले २ घण्टामा पनि गाडी भर्न सकेका थिएनन्। एक महिनाअगाडि ईभी हाइस किनेका उनलाई राम्रोसँग थाहा रहेछ, ट्राफिक प्रहरीलाई पैसा बुझाउनुपर्छ। 

जे होस्, यतीको भिजिबिलिटी नहुँदा र ट्राफिकको भिजिबिलिटी ज्यादा हुँदा हामीजस्ता यात्रुले निकै सास्ती बेहोनुपर्‍यो।

(देवकी बिष्ट मल्टिमिडिया जर्नलिस्ट हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad