‘नेपाल भरमुलुकको प्रहरी फोर्सको पुनर्गठन गर्न र त्यसलाई अपराध रोक्ने र पत्ता लगाउने सुयोग्य साधन बनाई शान्ति र व्यवस्था कायम राख्न आवश्यक देखिएकोले श्री ५ महाराजाधिराजबाट यो ऐन बनाई जारी गरिबक्सेको छ।’
-प्रहरी ऐन, २०१२
यसरी ऐन जारी भई लागू भएको मितिका आधारमा आज नेपाल प्रहरीले २०८१ असोज ३० गते ६९ औँ प्रहरी दिवस मनाउँदै छ। आज नेपाल प्रहरीसँग जुन पूर्वाधार, संगठन सञ्जाल, राष्ट्रिय-अन्तर्राष्ट्रिय पहिचान र व्यावसायिक उचाइ छ, यहाँसम्म आइपुग्न मुख्य भूमिका खेल्ने प्रहरी प्रमुख हुनुहुन्थ्यो, स्वर्गीय खड्गजित बराल।
प्रहरी संगठनको विकास र सुदृढीकरणमा गरेको अतुलनीय योगदानकै कारण बराललाई ‘नेपाल प्रहरीका पिता’ सम्बोधन गरिन्छ।
प्रहरीमा भएका सबै उन्नति र सुधारको श्रेय उहाँलाई मात्रै दिँदा अरूमाथि अन्याय होला। विसं २००७ सालपछि प्रहरीलाई नेतृत्व दिएर योगदान गर्नेहरू अरू पनि हुनुहुन्छ। उहाँहरूको कार्यकालमा पनि संगठनलाई सुदृढ बनाउन केही न केही योगदान भएको कुरा बिर्सिनुहुँदैन। तर, बरालको कार्यकालमा भएका धेरै कुरा प्रहरी संगठनको विकास र सुदृढीकरणमा कोशेढुंगा सावित भएका छन्।
स्वर्गीय खड्गजित बराल नेपाल प्रहरीका नवौँ प्रमुख हुनुहुन्थ्यो। २०१३ सालमा इन्स्पेक्टरको रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका बराल २०२९ मा महानिरीक्षक (आईजीपी) भई २०३५ मा अवकाश हुनुभयो। उहाँले बेलायतबाट सिनियर डिटेक्टिभ ट्रेनिङ, जापानको इम्पिरियल पुलिस कलेज, भारतको माउन्ट आबुबाट इन्डियन पुलिस सर्भिस (आईपीएस) कोर्स आदि धेरै किसिमका प्रशिक्षण लिनुभएको थियो। बरालले संगठनको सुदृढीकरण गरी नेपाल प्रहरीको गरिमा बढाउन विभिन्न कदम चाल्नुभएको पाइन्छ।
कसैको पनि मूल्यांकनमा उसका कर्महरूको वस्तुपरक अध्ययनबाट गर्नुपर्छ। संगठनमा कर्मचारीलाई अनुशासनमा राख्न अवस्थानुसार कहिलेकाहीँ खरो बोल्ने, ठाडै गाली गर्न पनि पछि नपर्ने र माथिल्लो ओहोदाका कतिपय व्यक्तिले नचाहिँदो दबाब दिँदा नटेर्ने बरालका उदाहरणीय स्वभावबारे धेरैले धेरै कोणबाट टिप्पणी गरिसकेका छन्। तर, उहाँको कार्यकालको समग्र मूल्यांकन गर्दा नेपाल प्रहरीको इतिहासमा त्यस्तो नेतृत्वलाई ‘अभूतपूर्व’ मात्र होइन, ‘न भूतो न भविष्यति’ भन्ने गरिन्छ। किनभने उहाँको अवकाशपछि पनि नेपाल प्रहरीमा २१ जना आईजीपी भइसके।

बरालको कार्यकालमा नेपाल प्रहरीका अधिकृतहरू जस्तै- अवकाशप्राप्त आईजीपीत्रय स्व. हेमबहादुर सिंह, अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधान, अवकाशप्राप्त एआईजीद्वय स्व. ढालमान थापा र स्व. तीर्थकुमार प्रधान, अवकाशप्राप्त डीआईजी गोविन्दकर्म थापा (पछि विशेष प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख), अवकाशप्राप्त एसपी शेरबहादुर कार्की, अवकाशप्राप्त डीएसपीत्रय नरध्वज थापा, श्रीकृष्ण थापा र कमल भण्डारी तथा पूर्वप्रहरी भक्तबहादुर प्रधानलाई भारतको सीमा सुरक्षा बल अर्थात् बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) का प्रशिक्षण प्रतिष्ठानमा सीमा सुरक्षादेखि प्यारा-मिलिटरी (अर्धसैनिक) कोर्सजस्ता विभिन्न प्रशिक्षण गराएर नेपाल प्रहरीलाई दक्ष बनाउने प्रयासको सुरुआतको गरिएको थियो।
बरालकै नेतृत्वकाल २०२९ मा सर्वप्रथम संयुक्त राज्य अमेरिकाको बीएनडीडी (पछि डीईए) मा लागु औषध नियन्त्रणसम्बन्धी प्रशिक्षण लिन प्रहरी अधिकृत स्व. रुद्रबहादुर पाण्डे (पछि डीआईजी) लाई पठाएको पाइन्छ।

नेपाल प्रहरीभित्र सूचना प्रवाह प्रभावकारी बनाउन केही प्रहरी अधिकृतका लागि भारतमा वायरलेस (ताररहित सञ्चार प्रणाली) सम्बन्धी प्रशिक्षणको व्यवस्था गरी तिनलाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको आकाशवाणी (आवा) शाखामा खटाउनु, सवारी साधन र चालकलाई चुस्त र व्यवस्थित गर्न सवारी-शाखाका लागि जापानबाट काजमा प्रशिक्षक भित्र्याउनु, २०३१ सालमा नेपाल प्रहरीमा छुट्टै इन्जिनियरिङ शाखा स्थापना गरेर इन्जिनियर तथा शाखा प्रमुखमा डीएसपीको दरबन्दी बनाई इ. भरतराज शर्मा (पछि डीआईजी) लाई त्यसको जिम्मेवारी दिनु, २०३५ सालताका पुलिस हेडक्वार्टरको हातामा विधिविज्ञान प्रयोगशाला (फरेन्सिक साइन्स ल्याब्रेटरी) को छुट्टै भवन निर्माण गरी अपराध अनुसन्धानलाई थप प्रभावकारी तुल्याउनु बरालका कदरयोग्य कदम हुन्।
यसका लागि २०३३ सालतिर भारतको कलकत्तास्थित सीबीआईमा प्रहरी अधिकृत (अवकाशप्राप्त एसपीद्वय हरिबहादुर थापा र कमल खड्का एवम् अन्य दुई जना) का लागि औँठाछाप र हस्तरेखा परीक्षणसम्बन्धी प्रशिक्षणको व्यवस्था गराउनुले उहाँको नवीन सोच झल्किन्छ।

थोरै बजेट भएको बेला पनि स्थानीयवासीहरूको मद्दत लिएर आईजीपी बरालले विभिन्न ठाँउमा प्रहरी चौकी, थाना तथा जिल्ला प्रहरी कार्यालय (जिप्रका) लगायत एकाइका भवनहरू बनाउन लगाउनुभयो। आधुनिक ढंगबाट बनेका पक्की भवन एकैनास (प्यागोडा शैली) का बनाउन सुरु गराउनु उहाँकै परिकल्पना थियो।
कहाँ बस्ने, के खाने र कसरी खाने भन्ने ठेगान नभएको अवस्थामा बरालले २०३० सालमा सकल दर्जाका प्रहरीका लागि नेपाली सेनाको जस्तै रासन-पानीको व्यवस्था गर्नुभएको तथ्य हामीजस्ता अवकाशप्राप्त प्रहरीलाई अहिले पनि सम्झना छ।
साथै, प्रहरी नियमावली, २०३३ व्यवहारमा आएपछि नेपाल प्रहरीका सबैले तोकिएबमोजिम नि:शुल्क पोसाक (लत्ताकपडा) लाउन पाएको कुरा पनि सबैका लागि सदैव स्मरणयोग्य छन्।

नेपाल प्रहरीमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारजनको सहज स्वास्थ्योपचारका लागि बरालले छुट्टै अस्पताल बनाउने सपना लिएर उहाँको कार्यकालमा डा. प्रेमलाल श्रेष्ठलाई नेपाल प्रहरीको प्राविधिक डीएसपी पदमा नियुक्त गरियो। सर्वप्रथम प्रहरी अस्पतालको आवश्यकता महसुस गर्ने बरालकै अवधारणाको प्रतिफल आज नेपाल प्रहरी अस्पतालबाट प्राप्त सेवा सबैका लागि सर्वसुलभ भएको छ। पछि डा. श्रेष्ठ प्रहरी अस्पतालको मेडिकल डाइरेक्टर (प्रमुख) भई डीआइजी पदबाट सेवानिवृत्त हुनुभयो।
बरालले आफ्नो कार्यकालमा नेपाल प्रहरीको प्रमुखको हैसियतमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को महासभामा भाग लिनुभयो। परिणामस्वरूप उहाँकै पहलमा नेपालको पहिलो लागु औषध (नियन्त्रण) ऐन निर्माणार्थ तथा त्यससम्बन्धी ज्ञान र कानुनी सल्लाह लिन पश्चिम जर्मनीका प्रख्यात कानुनविद्लाई नेपाल बोलाइयो।

स्वस्थ शरीरमा मात्र स्वस्थ मस्तिष्क कल्पना गरिन्छ। यो मानव जीवनको महत्त्वपूर्ण पक्ष हो। अझ प्रहरी कर्मचारीहरू त यसतर्फ विशेष सजग रहनुपर्छ। यस मान्यतामा प्रस्ट बरालले प्रहरीमा फुटबल, जुडो, कराते, हकी र बक्सिङलगायत खेलकुदका विभिन्न प्रशिक्षण गराउनुभयो। यसै उद्देश्यले सन् १९७३ सालमा बरालकै मनोनयनमा सई बाबुराम पुन (पछि एसएसपी) लाई इरानस्थित फिफा कोचिङ स्कुलमा प्रशिक्षकको तालिममा पठाउनु सानो उदाहरण मात्र हो।
बेलाबेला प्रहरी अधिकृतहरूबीच पनि खेलकुदका प्रतिस्पर्धा भइरहन्थे। बाबुराम पुन, रूपालशमशेर जबरा, अच्युतकृष्ण खरेल, स्व. रूपकराज शर्मा, सुरेश पन्थी, धीरेन्द्र प्रधान र स्व. लोकबहादुर शाहीजस्ता फुटबललगायत अन्य विधाका उत्कृष्ट खेलाडी जन्माउन बरालको महत्त्वपूर्ण योगदान थियो। त्यस्ता ‘खेलरत्न’ लाई नेपाल प्रहरीमा स्थायी नियुक्ति दिने क्रम बरालबाटै सुरू भएको थियो।

बरालले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय स्तरको पुलिस फोर्स बनाउन अनेक काम गर्नुभयो। २०३१ माघमा काठमाडौँ उपत्यकामा आकस्मिक सेवा दिन ‘गस्ती प्रहरी’ (पुलिस फ्लाइङ स्क्वाड) स्थापना, सोही साल ट्राफिक प्रहरीमा 'घोडचढी प्रहरी' को सुरुआत, २०३२ मा कुकुर शाखा स्थापना, २०३३ मा नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एड्भेन्चर फाउन्डेसन (हिमाली शाखा) स्थापना गरेर प्रहरी आरोहण दलबाट पर्वतारोहण सुरुआत आदि बरालकै देन हुन्। हाल काठमाडौँ उपत्यकामा देखिने सीआरभी भ्यानमा तैनाथ प्रहरी टोली पुलिस फ्लाइङ स्क्वाडकै विस्तारित रूप हो।
विविधताले भरिपूर्ण नेपालका आफ्नै कला, संस्कृति र चालचलन छन्। ती सबैलाई समेटेर नेतृत्ववर्गलाई लक्षित गरी व्यंग्यात्मक रूपमा सचेत गराउन बेलाबेला अन्य कलाकारसमेत आमन्त्रण गरी नेपाल प्रहरीद्वारा केन्द्र र क्षेत्रहरूमा विविध सांस्कृतिक कार्यक्रम आयोजनाको थालनी बरालकै पहलमा गरिएको थियो। तिनै कार्यक्रम हालसम्म परिमार्जित रूपमा सञ्चालन हुनु बरालबाट भएको थप पहलकदमीको प्रतिफल भन्न सकिन्छ।
त्यस्ता कार्यक्रममा स्व. राजपाल थापा, स्व. ध्रुवरत्न हाडा, क्षत्र गुरुङ, मिथिला शर्मा आदि (प्रहरीभित्रका कलाकार) र अन्य राष्ट्रियस्तरका कलाकारहरूको सहभागिता रहने गरेको छ। बरालबाट योग्य मानिसहरू छानेर प्रहरीमा नियुक्त गराउने, उनीहरूलाई सम्मान र सुविधासहित महत्त्वपूर्ण पदमा राखिने हुँदा कोही पनि निराश हुनुपरेन भन्दा अत्युक्ति हुने छैन।
प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली, २०३३ ले अनुमति नदिएका कतिपय विषयमा समसामयिक संशोधन गर्ने र त्यो अवस्था नभए दरबारको हुकुम प्रमांगी (हु.प्र.) बाट समेत प्रहरीमा योग्य मानिसहरू नियुक्त गराउने काम पनि बरालकै पहलमा भयो। उदाहरणका लागि ब्रिटिस गोर्खा सेनाका अवकाशप्राप्त कप्तान स्वर्गीय हस्तबहादुर थापालाई उमेर हदका कारण कानुनत: नेपाल प्रहरीमा प्रवेश गराउन नमिलेपछि २०३४ वैशाखमा तत्कालीन राजा वीरेन्द्रको हुकुम प्रमांगीबाट नेपाल प्रहरीको इन्स्पेक्टर पदमा स्थायी नियुक्ति दिइयो। पछि थापाले नेपाल प्रहरीको एसपी पदबाट अवकाश पाउनुभयो।
थापा ब्रिटिस गोर्खा आर्मीमा सेवारत छँदै बरालकै पहलमा उहाँलाई २०२९ चैतमा नेपाल प्रहरीको संगीत प्रशिक्षकको रूपमा काजमा काठमाडौँ झिकाई प्रहरी ब्यान्डलाई प्रशिक्षण दिइएको थियो। काठमाडौँको महाराजगन्जस्थित तत्कालीन सदर प्रहरी तालिम केन्द्र (हालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) मा २०३० कात्तिक २३ गतेदेखि वार्षिक रूपमा ‘बिटिङ दि रिट्रिट’ नामक सांगीतिक प्रदर्शनीको सुरुआत र नेपाल प्रहरीमा पाइप ब्यान्डको सुरुआत यसैका उपज हुन्।
अवकाशपछि एक्लोझैँ भएर छरपस्ट हुने प्रहरी अधिकृत र जवानहरूलाई वर्षमा एकपटक भए पनि एकै ठाउँमा भेला गराउन स्व. बरालले 'बिटिङ दि रिट्रिट' सँगै २०३० कात्तिक २३ गतेदेखि सुरु गर्नुभएको ‘प्रहरी पुनर्मिलन समारोह’ ले सेवानिवृत्त प्रहरीमा पनि 'हामी एउटै परिवारका सदस्य हौँ' भन्ने भावना बढ्दै गयो। यसरी राष्ट्रलाई 'संकट पर्दा सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ' भन्दै बराल सेवामा रहेका र नरहेकालाई घचघच्याइरहनुहुन्थ्यो।
बरालको कार्यकालमा नेपाल प्रहरीको आफ्नै विशेष छवि थियो। त्यसबेला नेपाल प्रहरीले शान्तिसुरक्षाबाहेक अध्यागमन विभाग, विमानस्थल सुरक्षा, ड्राइभिङ लाइसेन्स (सवारी-चालक अनुमति-पत्र) को परीक्षा सञ्चालन तथा लाईसेन्स वितरण लगायत धेरै काम गर्थ्यो।
बरालको कार्यकालमा अध्यागमनसम्बन्धी कार्य व्यवस्थित तथा परिमार्जित गरी अनुगमन गराउने अभिप्रायले नेपाल प्रहरीको नियन्त्रणमा सञ्चालन गर्न २०३० भाद्रमै दरबन्दी निकासा भयो। २०३१ देखि २०४६ सालसम्म नेपाल प्रहरीले यसमा अनवरत सेवा गरेको देखिन्छ।
हुन त बरालको कार्यकालमा 'अध्यागमनसम्बन्धी कामकारबाही गृह मन्त्रालयले हेर्नुपर्ने' सवाल पनि नउठेका होइनन्। तर, 'अध्यागमन सेवा प्रहरी संगठनबाट सञ्चालित हुँदा राष्ट्रिय सुरक्षामा कुनै प्रकारको आँच नआउनुका साथै नेपाल प्रवेश गर्ने विदेशीका व्यक्तिगत सुरक्षा र निगरानी निश्चित हुने’ बरालको तर्क कसले काट्ने?
त्यसबेला नेपालमा अवैध तरिकाले लुकेर बसेका सामान्य विदेशी र 'हिप्पी'हरूलाई अध्यागमन कार्यालयबाट खोजीखोजी देश निष्कासन र सपुर्दगी हुन्थ्यो। तर, २०४६ सालदेखि गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभाग र यातायात विभागअन्तर्गत लाइसेन्स शाखा खडा गरी तिनीहरूको प्रत्यक्ष नियन्त्रणमा राखियो, जसको काम गर्ने स्तर र प्रगति सबैका अगाडि छर्लंग छ।
विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघले द्वन्द्वग्रस्त क्षेत्रमा पठाउने ‘पिस मिसन’ मा नेपाल प्रहरीलाई समावेश गराउने सन्दर्भमा केही श्रेय बराललाई पनि जान्छ। पूर्वआईजीपी बरालले २०४९-०५० सालमा कम्बोडियामा संयुक्त राष्ट्र संघको ‘पिस मिसन’ (उन्टाक) को ‘प्रमुख सम्पर्क अधिकृत’ तथा ‘अन्तर्राष्ट्रिय मतदान पर्यवेक्षण अधिकृत’ का रूपमा सक्रिय भूमिका निर्वाह गर्नुभयो। त्यहाँ विद्रोहीका रूपमा रहेका खमेर्रूज लडाकुलाई निशस्त्र बनाउन बरालले सल्लाहकारको रूपमा खेल्नुभएको भूमिकाबारे संयुक्त राष्ट्र संघले पनि मुक्तकण्ठले प्रशंसा गरेको छ। उहाँको समेत प्रयासमा नेपालबाट नेपाली सेनामात्र जाने गरेको ‘वर्ल्ड पिस मिसन’ मा नेपाल प्रहरीले पनि प्रवेश पायो।
आफू मातहतका प्रहरीले राम्रो काम गर्दा तुरुन्तै पुरस्कार वा पदोन्नति दिने र गलत काम गर्दा तत्काल दण्ड दिने बरालको शैलीबारे धेरै वर्षसम्म पनि चर्चा भएको लेखकले पाएको छ।
बरालकै कार्यकालमा लेखकले केही समय महाराजगञ्जस्थित सदर प्रहरी तालिम केन्द्रमा काम गर्ने मौका पाएको र अग्रज प्रहरीहरूबाट सुनिएका, अभिलेखबाट देखिएका कुराहरूबाट उहाँलाई चिन्ने अवसर मिल्यो। भाइ, छोराझैँ सबै प्रहरीलाई निःस्वार्थ माया गर्ने र सफलताको कडीस्वरूप गाली गर्ने बरालको बानी भए पनि मनमा कुनै प्रकारको छलकपट थिएन।
बरालले प्रहरी सेवाबाट अवकाश पाएपछि पनि लेखकको उहाँसँग बेलाबेला विचारविमर्श भइरहन्थ्यो। विशेषत: लेखक २०६२-०६३ सालको दोस्रो जनआन्दोलनका क्रममा काठमाडौं जिल्लाको प्रहरी प्रमुख र २०६५-०६६ सालमा काठमाडौं उपत्यकाको ट्राफिक प्रहरी प्रमुखको रूपमा सेवारत रहँदा बरालबाट गहन विषयमा सल्लाह-सुझाव प्राप्त भएको सम्झना हुन्छ।
२०३५ सालमा प्रहरी सेवाबाट निवृत्त हुनुभएपछि बरालले २०३६ देखि २०४२ सालसम्म तत्कालीन बर्मा (हालको म्यानमार) का लागि आवासीय नेपाली राजदूतको जिम्मेवारी लिनुभयो। बर्माका काइदा कानुन बुझेको र राज्य संयन्त्रबारे समेत राम्रो ज्ञान भएकाले उहाँको राजदूतको कार्यकाललाई पनि सफल मानिन्छ। राजदूतको जिम्मेवारी सकिएपछि २०४३ सालमा उहाँ राष्ट्रिय पञ्चायतको सदस्यमा मनोनित हुनुभयो।
सुरक्षा प्रशासनमा थिति बसाउन सफल राष्ट्रसेवक सफल कूटनीतिज्ञ बन्नुभयो र केही समयका लागि राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभयो। स्नातकोत्तर पूरा गरी प्रहरी सेवा प्रवेश गर्नुभएका बराललाई धेरै विषयमा राम्रो ज्ञान थियो।
जोसेफ क्याम्पबेल भन्छन्, ‘कुनै पनि राष्ट्र वा संगठनको नायक त्यही व्यक्ति मात्र हुन सक्छ, जसले आफू र आफ्नो परिवारको स्वार्थभन्दा माथि उठेर काम गर्न सकोस्।’
बरालमा यस्तै व्यक्तित्व थियो, वास्तवमै निःस्वार्थी तथा निष्कलंक।
(नेपाल प्रहरीमा ३२ वर्ष सेवा गरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदबाट अवकाश पाएका लेखक इन्द्रप्रसाद न्यौपाने हाल संयुक्त राष्ट्र संघ अन्तर्गतको युएनओपीएस नेपालसँग सम्बद्ध छन्। तस्बिर सौजन्य: प्रहरी प्रधान कार्यालय, पुलिस मिरर, प्रहरी दर्पण, बराल परिवार)
Shares

प्रतिक्रिया