ध्यान। शब्द सुन्दा लाग्छ, एउटा बम हो। अथवा, लाग्छ कुनै एउटा बृहत् यात्रा हो यो। त्यसमा कुनै शङ्का छैन। ध्यान भन्नु आफूलाई नजिकबाट छुनु हो। अर्थात् स्वको स्पर्श भन्नु नै ध्यान हो। ध्यान कुनै चरी हो। एउटा गुँड हो। घर हो। बिन्दु हो। स्थिरता हो। अस्थिरताको स्थिरता हो। कथा हो। अनि, हो एउटा सुन्दर कविता, आत्माको।
ध्यानमा रहनु अथवा नरहनुको अवस्था के हो? ध्यानमा कसरी छोइन्छ आफैँलाई? ध्यानमा कसरी छोइन्छ आफ्नै आत्मालाई? फेरि स्व भन्नु के रहेछ? आत्मा भन्नु के रहेछ? आफैँलाई अँगालो हाल्नु भनेको के रहेछ? के रहेछ अस्थिरताको स्थिरता भनेको? के रहेछ बिन्दु भनेको? त्यो निश्चित् बिन्दुको स्थिरता भन्नाले के बुझिन्छ?
मलाई लाग्छ, यी प्रश्नहरू आफैँमा ध्यान हुन्। कसैले बुझाइदिएर बुझिने कुरा होइनन् यी। यी यावत् प्रश्नहरूको उत्तर हामीभित्रै छ। हामीभित्रको समुद्रका माछाहरू हुन् यी प्रश्नहरू। अनि, यसका जवाफ जान्नका निम्ति हामीलाई आफूभित्रको समुद्रमा डुबुल्की मार्नैपर्छ। हराउनैपर्छ। चिन्तन गर्नैपर्छ। स्थिर हुनैपर्छ। यात्रारत रहेर त्यो विन्दुको यात्रा गर्दै स्थिर रहनैपर्छ।
आफूलाई ढुङ्गा पनि बनाउनु छ, अनि आफूलाई फूल पनि बनाउनु छ। आफूलाई आकाश पनि बनाउनु छ, अनि आफूलाई झरी बनाएर यो हरियो पृथ्वीको काखमा पनि खस्नु छ। गुमाउनु पनि छ, अनि पाउनु पनि छ। नहरनु पनि छ, अनि रहनु पनि छ। हिँड्नु पनि छ, अनि रोकिनु पनि छ। वास्तवमा, एउटा जादूको साक्षात्कार गर्नु छ हामी सबैलाई। त्यो हो– ध्यानको जादूको। यस्तो जादू जसको माध्यमबाट हामी छुन्छौँ आफैँलाई, जसलाई वर्षाैँवर्षदेखि छोएका छैनौँ। जोसँग राम्ररी बोलेका छैनौँ। जसलाई कहिल्यै बुझेका छैनौँ। हेरेका छैनौँ। ऊबारे कदापि सोचेका छैनौँ। त्यो आफ्नो सबैभन्दा निकट बन्धुलाई मायाले चुम्नु छ। उसका आशातीत रूहानी नयनहरूलाई गम्भीरतापूर्वक नियाल्नु छ। अनि, उसका नयनको महासागरबाट मोती झिकेर ल्याउनु छ अनि आफ्नो हृदयलाई सुम्पिदिनु छ।
ध्यानमा छौँ हामी। सर्वप्रथमतः आफूलाई सजिलो हुनेगरी आसन ग्रहण गर्छाैँ। आफ्ना हात अनि औँलाहरूलाई जसरी ठीक लाग्छ, त्यसरी राख्छौँ। शरीरलाई सीधा बनाउछौँ। अनि, बन्द गर्छाैँ आफ्ना आँखा। अनि, अगाडि बढ्छौँ ध्यानको यात्रामा।
ध्यानको यात्रामा यात्रारत छौँ। आँखाहरू बन्द छन्। थाहा छैन, मन खुल्लै छ कि बन्द? घरी यताको बाटो हिँडिरहेका छौँ त घरी हिँडिरहेका छौँ उताको बाटो। घरी यता पुगिरहेका छौँ त घरी उता हराइरहेका छौँ। घरी माथि, घरी तल। घरी आकाशमा, घरी पातालमा। घरी चरासँगै, घरी खोलासँगै। घरी हावासँगै, घरी साससँगै। हामी यता–उता गरिरहेका छौँ। नियालिरहेका छौँ, आफूले देख्न सकेको अनि देख्न नसकेको धेरै संसार, एकैपटकमा।
घरी घामजस्तो उज्यालो बिन्दु देखिन्छ। फेरि त्यो हराउँछ। घरी मन नै दिनजस्तो उज्यालो हुन्छ त घरी रातजस्तो अँध्यारो हुन्छ। घरी सबै कुराहरू देखिन्छन्, घरी केही पनि देखिँदैन। एकैछिनमा चलिइरहेको सास पनि रोकिएजस्तो हुन्छ। एकैछिनमा रहेका हामी नहरेकाझैँ प्रतीत हुन्छौँ। एकैछिनमा चलिरहेको हावा रोकिन्छ। बगिरहेको खोला रोकिन्छ। चम्किइरहेको आकाश विलीन भइजान्छ।
हराइरहेका हामी, एकैछिनमा फेरि अलमलिन थाल्छौँ। भित्र रहेका हामी, केही समयमा नै भित्र रहेको भन्ने कुरा नै बिर्सिजान्छौँ। यो कुरा बिर्सिएर हामी फेरि कुद्न थाल्छौँ बाहिर नै। बाहिरको संसारमा नै। घरी यता हल्लिन्छौँ। घरी उता हल्लिन्छौँ। उकुसमुकुस हुन्छौँ। मुख पुछ्न थाल्छौँ। जिउ कन्याउन थाल्छौँ। खोक्न थाल्छौँ। बन्द भएका आँखाहरू छिन–छिनमा खोलिरहन्छौँ। हाँच्छ्यु गर्छाैँ। पसिनाले लतपत भई पसिना पुछेको पुछ्यै गर्छाैँ। भित्रबाहेक सबैतिर रहन्छौँ हामी। ध्यान अनि ज्ञानको केन्द्रबाहेक सबैतिर यात्रारत रहन्छौँ हामी। यसरी हामी कुनै भूतझैँ भट्किइरहन्छौँ। मानौँ, हाम्रो कुनै हिँड्ने बाटो नै छैन, हामी तर्सिएर कतै लम्पसार परिरहेका हुन्छौँ। आफैँलाई अनि आफ्नै वास्तविक अनुहारलाई आफूभित्र नखोजेर बाहिर कतै ज्यान लगाएर निरर्थक रूपमा खोजिरहेका हुन्छौँ।
हामी विविध किसिमका बाधाव्यवधान, अवरोध अनि समस्याहरूसँग बाँचिरहेका हुन्छौँ। हामीसँग जटिलतम् अवरोधहरू अर्थात् समस्यहरूका जटिलताहरू छन्। जुन जन्मजात छन्। अनि, स्वाभाविक छन्। हामी जब जन्मन्छौँ, तब नै हामीसँग अवरोध अनि समस्याहरू पनि रहन जान्छन्। यी नै हाम्रो जीवनको एक हिस्सा पनि हुन जान्छन्। यद्यपि, हामीलाई अवरोधहरू हुँदा–हुँदै पनि, अनेक–अनेक समस्याहरू हुँदा–हुँदै पनि अगाडि बढ्नु छ, जसरी भए पनि। उड्नु छ। उक्लिनु छ। निकै दूर पुग्नु छ। अवरोध अनि समस्याहरूहरूसँग बचेर अगाडि बढ्नु छ। आकाशलाई चुम्नु छ। समात्नु छ आकाशका जून अनि ताराहरूलाई। आकाशको उज्यालोलाई।
जीवन सबैभन्दा सजिलो कुरा हो। अनि, जीवन सबैभन्दा जटिल कुरा हो। कुनै नियम होइन जीवन। कुनै सिद्धान्त होइन जीवन। न जीवन कुनै कठोरता हो न त जीवन हो कुनै समस्या। जीवन फुलिरहेको फूल हो, अनि हामीलाई फुलिरहनु छ जीवनभरि। जीवन आकाश हो। हामीलाई सदा उडिरहनु छ। जीवन चिन्तन हो। हामीलाई सदा ध्यानमा रहनु छ। जीवन गीत हो। जीवन सङ्गीत हो। हामीलाई सदा गुञ्जिइरहनु छ। जीवन लय हो। हामीलाई कदापि प्रलय हुनुछैन। हामीलाई हिँडिरहनु छ जीवनको पथमा। चरैवेती–चरैवेतीको रहस्यलाई आत्मसाथ गरेर हामीलाई जीवन–गीत गाइरहनु छ। सुवास फैलाइरहनु छ। हृदयहरू अनि आत्माहरूलाई माया गरिरहनु छ। सबैको हित सोचिरहनु छ। अनि, सबैभन्दा मुख्य कुरा, हामीलाई बन्नु छ– सत्य।
सत्य रहनु कुनै जटिल कुरा होइन। सबैभन्दा सजिलो कुरा हो, सत्य रहनु। अथवा, मिथ्या नरहनु। सत्य रहनुलाई केही गर्नुपर्दैन। बस् एउटा कुरालाई ध्यानमा राख्नु छ, सत्य अनि सत्यता। हामीलाई विकारहरूको वशीभूत हुनु छैन। नराम्रा सोच अनि विचारहरूलाई आफ्नो मनमा ल्याउनु छैन। असत्य हुनु अनि विकारहरूमा रमाइलो देखेर त्यै रमाउनु नै जीवन–दुःखको मुख्य कारण हो। र, यसकै कारणले जीवन कदापि ध्यानस्थ रहँदैन। स्थिर रहँदैन। सदा अस्थिर रूपमा रहिरहन्छ। जसले गर्दा निजलाई त घाटा हुन्छ नै, यद्यपि ऊसँग सम्बन्धित हरेक मानिस अनि ऊ रहेको पर्यावरणमा पनि नकारात्मक रूपमा दुष्प्रभाव पार्न जान्छ। यसले ब्रम्हाण्डलाई नै घाटा हुन्छ।
जीवन भन्ने कुरा जीवनको एउटा क्षणमा आएर बुझिन्छ। त्यो बेला हामी आफ्नो अनुहार हेर्छाैँ, आफ्नो जीवनको ऐनामा। यद्यपि, हामी यो क्षणमा हामी आफूले आफैँलाई हेरेर पनि खुसी हुन सक्दैनौँ। बरु टिलपिल–टिलपिल आँखाबाट आँसु झार्न थाल्छौँ। आफ्नो मनलाई बेस्सरी पिट्छौँ। पश्चात्तापको आगोमा परेर हामी खसानीसिवाय केही पनि रहँदैनौँ। जीवनका आकर्षणहरूमा फसेर अरूलाई दिएका चोट अनि पीडाहरू, अरूलाई ठगेका क्षणहरू, अरूलाई खसाएका खाल्डाहरू, अरूलाई कुभलो गरेका एक–एक क्षणहरू सम्झिएर हामी दुःखबोध गर्छाैँ। विगतका दुष्कर्महरूको स्मृति गरेर हामीलाई हाम्रो औकात थाहा हुन्छ। यो बेला थाहा हुन्छ, वास्तविकता आखिर के हो? हामी वास्तवमा को हौँ? हामी वास्तवमा के हौँ? गर्नु के थियो हामीलाई? के गरेर आयौँ हामी?
जीवनमा सत्य रहनु जरुरी छ। वास्तवमा, सत्यता जीवनको बाटो हो जसले हामीलाई एउटा सुन्दर अनि अर्थपूर्ण भूमिमा पुर्याउँछ। हामीलाई सम्हाल्छ। हामीलाई बुझाउँछ। हामी को हौँ भन्ने कुरा चिनाउँछ।
जीवनलाई सम्हाल्नुपर्दैन। यो आफैँ सम्हालिन्छ। आफैँ हिँड्छ। आफैँ कुद्छ। अनि, आफैँ उड्छ। मात्र आफ्नो जीवनलाई विकारमुक्त बनाएर ध्यानमा रहनु छ। सत्य अनि सत्यता भन्ने कुरा कदापि भुल्नु छैन। आफैँलाई छुनु छ। आफैँसँग बोल्नु छ। आफूलाई सुन्नु छ। अनि, आफूलाई बुझ्नु छ। सायद ध्यान भन्नु नै यही हो। जीवनको ध्यान। जसको केन्द्रमा हाम्रो स्वत्व रहन्छ। अनि, जहाँ अवस्थित रहन्छ, ज्योति बिन्दु।
Shares

प्रतिक्रिया