ad ad

ब्लग


खगेन्द्र संग्रौला धोकेबाज हुन्

खगेन्द्र संग्रौला धोकेबाज हुन्

लेखक खगेन्द्र संग्रौला (तस्बिर : विशाल कार्की)


डा. महेश मास्के
कात्तिक १९, २०७९ शनिबार १८:१५, काठमाडौँ

एक महिनाअगाडिको कुरा हो, खगेन्द्र संग्रौलाजीको फोन आयो– पुस्तक निस्कने भयो मैले बोलिदिनु पर्यो भनेर। वहाँको जीवनकथा उज्ज्वल प्रसाईले लेख्दै हुनुहुन्छ भन्ने मैले सुनेको थिएँ। त्यसबारे बोल्ने निम्तो पाउँदा प्रसन्नता र सम्मान दुवै एकैसाथ अनुभूत गरेँ र भनेँ, ‘तपाईंबारे बोल्न पाउनु त रमाइलै हुनेथ्यो। समय चाहिँ कति पाइने हो।’ 

‘तोकिएको २० मिनेट, तन्किँदा २५ पनि हुन सक्ला,’ संग्रौलाको उत्तर थियो।

‘काफी छ,’ भन्दै मैले सहर्ष स्वीकारेँ।

पछि उज्ज्वलले पठाउनु भएको पाण्डुलिपि हात परेपछि त्यसको आकार देखेर म झस्किएँ। एक पटक भारतका प्रसिद्ध साहित्यकार कमलेश्वरले अर्की प्रसिद्ध साहित्यकार अमृता प्रितमलाई जिस्क्याउँदै भनेका थिए रे– ‘तिम्रो जीवनमा उल्लेखनीय कति नै पो छ र? आत्मकथा लेख्यौ भने एउटा हुलाकको टिकटमा अटाउनेछ।’

कमलेश्वरको त्यही भनाइलाई उधृत गर्दै अमृता प्रितमले आफ्नो छोटोमिठो आत्मकथा लेखेकी छिन् र शीर्षक दिएकी छिन्– रसिदी टिकट अर्थात्, रिभेन्यु स्ट्याम्प।

मैले यहाँ संग्रौलाको जीवनगाथा एउटा सानो पुस्तकमा अटाउनु पथ्र्यो भन्न खोजेको होइन, खाली अवचेतनले गरेको अनुमानभन्दा धेरै विशाल आकारको पाण्डुलिपि देख्दाको भावना व्यक्त गरेको मात्रै हो। पढ्दै गएपछि के लाग्यो भने २० मिनेट त के २०० मिनेटले पनि नपुग्ने रहेछ। मैले लेखक खगेन्द्र संग्रौलाको बारेमा मात्र बोल्ने सोचेको थिएँ, लेखक उज्ज्वल प्रसाईबारे बोल्नुपर्ने दायित्व बिर्सेको रहेछु। त्यसैले अति संक्षिप्तमा, तन्किने समयसीमाभित्रै आफ्ना कुराहरु राख्ने प्रयत्न गर्ने छु। 

उज्ज्वल प्रसाईले यो पुस्तकमा एकैसाथ आख्यानको स्वाद, मौखिक इतिहासको गहिराइ, र शोधग्रन्थको अन्वेषण पस्केका छन्। यो पुस्तक पढिसकेपछि करिब एक लाख शब्दहरु आपसमा हातेमालो गर्दै खगेन्द्र संग्रौला र उनको समयको, त्रिआयामिक पारदर्शी रुपलाई सजीवता, ओज र गति प्रदान गर्छन्। त्यो चलायमान शब्दचित्र श्वेत–श्यामल मात्रै छैन, इन्द्रधनुषी पनि छ। संघर्षका कठोर ओरालीउकाली मात्र होइन, प्रेम, परिवार र अभिभावकत्व का स्नेह, आद्र्रकोमल भावनाहरुले आल्हादित पनि छ। जीवनयात्राका कोशेढुंगाहरु मात्र होइन, छेउकिनारमा ओझेलमा परेका कंकड–पत्थरहरुलाई पनि बडो कलात्मक ढंगले प्रसाईले पुस्तकका पानाहरुमा समेटेका छन्, सजाएका छन्। मैले उज्ज्वल प्रसाईका लेखहरु पढेको छु, हालसालैको मन्जुश्री थापाको पुस्तक अनुवादको उच्च प्रशंसा पनि सुनेको छु। आफ्नो नामझैँ वर्तमान र भविष्य उज्ज्वल बनाउन लागि परेका यी बहुप्रतिभाशाली युवाबाट हामीले धेरै आशा र अपेक्षा राख्नु अन्यथा नहोला।

खगेन्द्र संग्रौला र जमुना गुरुङको बन्दीपुरे पिरती

‘एक बागी’को सिरानमै प्रसाई संग्रौलाबारे केही प्रश्नहरु तेस्र्याउँछन्, आफूलाई र अरुलाई पनि र त्यसको उत्तर खोज्ने प्रयत्न गर्छन्। जस्तो, ‘तीसको दशकयता नेपाली समाजमा भएका सबै महत्वपूर्ण राजनीतिक र सामाजिक आन्दोलनका कहिले किनारमा र कहिले मूलधारमा आफ्नो पातलो काया लिएर एउटा लेखक किन कुदिबस्छ? कसरी एक इमान्दार साहित्यसमीक्षक अखबारमा हाकाहाकी भन्छ, राज्यको हठधर्मी बाँझो बुद्धिविरुद्ध उत्रिने जोदाहा कलमको अर्को नाम हो खगेन्द्र संग्रौला? राष्ट्रवादको बलशाली कक्षामा हुर्केको उही लेखक करिब चालीस वर्षको आफ्नो वैचारिक धरातलबाट कसरी बिरानो विचारमा हाम्फाल्छ? वामवृत्तका उनका घोर आलोचकदेखि, उनी नभए यो संसार किञ्चित बाँच्नलायक हुने थियो भनेर सोच्नेहरु पनि यहाँ छन्। यस्ता निन्दाका कारणहरु के हुन्?’ आदि।

यिनै यावत् जिज्ञासाहरुका उत्तर खोज्ने प्रयत्न गर्छन् उज्ज्वल यो पुस्तकमा र ‘सुन्ने यत्न गर्छन् नेपाली समाजले समयको खास फलक छिचोल्दा निसृत भएका ध्वनिहरू।’ अनि पुस्तकको कुनै एक ठाउँमा यस्तो निष्कर्षमा पुग्छन्, ‘संग्रौलाका सबै लिखत एक ठाउँमा भेला पारेर हेर्दा मात्रै पनि नेपाली समाजले छिचेलेको अक्करिलोबाटोको अन्दाज पाइन्छ। समाजले हिँडेका डोबशिवाय केही होइनन्, खगेन्द्रका कथा, निबन्ध, कविता र नाटक।’ 

उनको त्यो निष्कर्षमा उनले पुस्तकको सुरुमै उल्लेख गरेका प्रत्यूष वन्त र मेरी डेशेनको शब्दहरुको प्रतिध्वनि पनि सुनिन्छ। ‘जनआन्दोलनका छर्राहरु’ पढेपछि इतिहासविद् प्रत्यूषले लेखेका छन्, ‘संग्रौलाका संक्षिप्त तर धारिलो अध्ययनमा उनले जे हासिल गरेका छन् त्यो आन्दोलनबारे कथिएका अचाक्लीका ठेलीहरु मा पाइँदैन।’ मेरीले पनि मजैले भनेकी छिन्, ‘विद्यार्थी र शिक्षकको हैसियतले अमेरिकाका विभिन्न विश्वविद्यालयमा मिसेल फुकोदेखि ज्याक डेरिडासम्म धेरै प्रसिद्ध साहित्यिक र संस्कृतिक आलोचकहरुका प्रवचन सुनेको छु। तथापि चाबहिलको पिँढी मा एउटा जीवित विद्यालयमा बसेर मात्रै बल्लतल्ल साहित्यको सत्य अर्थ र सामाजिक सम्भावनाबारे बुझ्न पाएकी छु।’

समाजविज्ञानका यी गम्भीर शोधकर्ताहरुको मूल्यांकनलाई पनि ‘भावुकता’ भनि पन्छाइदिन सक्ने सम्भावनाबारे प्रसाईले हल्का संकेत गरेका छन्। विशेषतः खगेद्रको ख पनि सुन्न नचाहने उनका घोर आलोचकहरुले त्यसो गर्नु आश्चर्यको विषय पनि भएन। तर समाजका अन्तद्र्वन्द्वलाइ बुझ्ने सन्दर्भमा कुनै लेखकलाई धेरै महत्व दिनु नौलो कुरो भने होइन। कमसेकम वामपन्थीवृत्तमा संग्रौलाका प्रशंसक र निन्दक दुवै फ्रेडरिक एंगेल्सले सन् १८८८ मा ब्रिटिस लेखिका मार्गरेट हार्किंसलाई लेखेको पत्रमा फ्रान्सेली साहित्यकार बाल्जाकबारे गरेको प्रशंसाबारे कमोबेस परिचित नै छन्। उनले भनेका थिए, ‘मैले त्यो समयावधिका सबै पेसेवर इतिहासकार, अर्थशास्त्री र तथ्यांकविदहरुको सम्मिलित योगभन्दा बढी बाल्जाकबाट सिकेको छु।’

एउटा खास समय सन्दर्भमा कुनै खास लेखकले, त्यो प्रतिभा प्रदर्शन गर्न सक्छ, त्यसैले त साहित्यको एउटा विशिस्ट र बेगल महत्व छ समाजशास्त्रीय अध्ययनमा। बाल्जाक सम्भ्रान्तहरुसँग गहिरो सहानुभूति राख्थे, राजतन्त्रवादी थिए र पनि एंगेल्स ले उनको प्रशंसा गरे। किनकि उनका रचनाहरु आफ्नै कर्मकुकर्मले नासिएर अस्तित्वविहीन हुन अभिशप्त भइरहेको सम्भ्रान्त वर्गको त्रासदयुक्त तर जीवन्त यथार्थचित्रण थियो। बाल्जाकको व्यंग्य र विडम्बना त्यतिबेला सबैभन्दा सटिक र तिक्त हुन्थे जब उनी सम्भ्रान्तहरुका बिजोक कागजमा उतार्थे।

संग्रौलाले सम्भ्रान्त वा पुँजीपतिहरुप्रति होइन, साम्यवादीहरुप्रति गहिरो सहानुभूति राखे। संग्रौलाका व्यंग्य र उनले चित्रण गरेको विडम्बनाहरुका सटिकता र तिक्तता त्यतिबेला प्रचण्डरुप धारण गर्दछन्, जब उनी साम्यवादी विचारका प्रतिनिधिपात्र ठानिएकाहरुको पाखण्डलाई उजागर गर्छन्, नांगेझार पार्छन्। उनी त्यस्ता विकृत प्रवृत्तिहरुको अवश्यंभावी क्षय र अवसानको गीत मात्रै गाउँदैनन्, तिनको शीघ्रातिशीघ्र क्षयीकरण गर्न कलमको शक्तिको प्रयोग पनि गर्छन्। यस्तो लाग्छ, मानौँ संग्रौला भूपी शेरचनको ‘हामी’ कवितालाई गद्यमा रुपान्तरित गरिरहेका छन्। माथि पुगेर आफ्नो धरातल बिर्सनेहरुबारे हामी कविताको एउटा अंश हेरौँः

अनि एकचोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौँ
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुरले 
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुकेझैँ
हामी भुक्तछौँ
र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौँ
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौँ
र फेरि परिणत हुन्छौँ पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउछौँ बाँकी जीवन
टर्रटर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर
विष नभएका साँपहरु अंगालेर।

त्यसैले इतिहासको एउटा कालखण्डमा नेपालको श्रमिक वर्ग र उत्पीडित समुदायको काँधमा उम्रिरहेको यो निम्न पुँजीवादीदेखि नवधनाढ्य वर्गसम्मका ऐजेरुहरुलाई बुझ्न र त्यसको विरुद्ध आम मानिसहरुमा सचेतनता ल्याउनका लागि एउटा लेखकले गरेको प्रयत्नको दस्तावेजको रुपमा संग्रौला युगौँसम्म पढिए भने आश्चर्यको विषय हुनेछैन। कांग्रेसजनहरुको संग्रौलाप्रतिको आकर्षणको एउटा कारण यो पनि हुन सक्छ। यद्यपि, यसमा पनि कुनै सन्देह छैन कि यी दस्तावेजहरुमा तथ्य र यथार्थमा अतिरन्जनाको लेप लगाउने शैली र करिब एक दशकसम्म उनले काँधमा बोकेको माओवादी दललाई आवश्यक खबरदारी गर्न चुकेको जस्ता विरोधाभासहरु पनि तिनमा पाइनेछन्।

तर, संग्रौला त्यतिका लागि मात्रै पढिने छैनन्। उनी एक बागी नै हुन् र प्रकारान्तरले एक धोकेबाज पनि। धोकाको सन्दर्भमा रुसका ख्रुश्चेव र चीनका चाओ एनलाइको एउटा रमाइलो किस्सा छ, जुन निकै प्रसिद्ध पनि छ। एकदिन डिनर खाँदै गर्दा ख्रुश्चेवले भनेछन्, ‘श्रीमान् चाओ, तपाईं र ममा कुनै समानता छैन। तपाईं कुलीन वर्गबाट आउनु भएको छ, म मजदुर वर्गबाट।’ हाजिरजवाफ चाउले उत्तर दिएछन्, ‘कुरा त ठिकै हो श्रीमान् ख्रुश्चेव, तर तपाईं र मबीच एउटा गजबको समानता पनि छ। हामी दुवैले आ–आफ्नो वर्गलाई धोखा दिएका छौँ।’ 

संग्रौला चाउ एनलाइ मार्काकै धोकेबाज देखिन्छन्। सुभाङका शासक खलकका तेश्रो पुस्ताका साना मुखिया ठूलो भएपछि उनीहरुद्वारा शासितजनहरुकै प्रखर प्रवक्ता बन्दै आफ्नै वर्गविरुद्ध खनिन्छ। ब्राह्मण भएर मृत्युसंस्कारका रुढ मान्यताको उछित्तो काढ्छ, ब्राह्मण जातकै इज्जतलाइ धरापमा पार्दै एउट गुरुङ्सेनीसँग प्रेमविवाह गर्छ। बाल्यकालमा लीला सरले सिँगाने सार्की उर्फ संग्रामबहादुर सार्कीलाई उनीसँगै बेन्चमा बसाएपछि निरन्तर दलित समुदायको पक्षमा दृढतापूर्वक उभिन्छ र उमेरको ७५ औँ वसन्तमा रुकुममा मारिएका दलितजनको स्वरलाई आवाज दिन लट्ठी टेक्दै पुग्छ। थोरै अतिरञ्जनासहित एउटा एनजीओको सामाजिक उत्थानका असल प्रयत्न र माओवादी दलको कटु आलोचना गर्दा कहिले माओवादीका सर्वोच्च नेताबाट भौतिक कारबाहीको धम्की पाउँछ, कहिले उनले अनुवाद गरेका माओका ठेलीहरुबाट पाएका शिक्षाको लागि तिनै सर्वोच्च नेताबाट कृतज्ञता र आभार पाउँछ। अनि समयप्रवाहमा वर्षौँ ओढेको पहाडे राष्ट्रवादको बर्को लाइ फ्याल्दै मधेशी र थारुजलाई अँगाल्न पुग्छ। यी र यस्तै विद्रोह र विरोधाभासहरुका कारण र एउटा साधारण मनुवामा एक असाधारण उर्जाशील प्रतिबद्धता र जोखिम उठाउने क्षमता कसरी आउने रहेछ भन्ने कौतुहल मेट्न पनि संग्रौला पढिने छन्।

पाँचथरको सुभाङ गाउँबाट सुरु भएको उनको जीवनयात्रा अविरल बगिरहने उर्जाशील नदीजस्तै अनेक घुम्ती र पहरो छिचोल्दै, चुहानडाँडा, काठमाडौँ, खुदी, चुँदी, बन्दीपुर, चितवन हुँदै फेरि काठमाडौँ आइपुग्छ। उनका प्रमिथस लीला शिवाकोटी सरमार्फत किशोरवयमा प्रवेश गरिरहेको बालक संग्रौलामा परिवर्तनकारी शिक्षाको उज्यालो घामले स्पर्श गछ। ‘उच्च शिक्षाको खोजीमा उनी आठराईको चुहानडाँडा पढ्न जाँदा चन्द्रमान कन्दङ्वा, सूर्य कन्दङ्वा, भानुभक्त पोखरेलको संगतबाट मार्क्सवादको परिचय पाउँछन्। वामदेव पहाडीले अंग्रेजी भाषाको ज्ञान दिन्छन् तर त्यो भन्दा बढी आफ्नै शैलीमा शिक्षाको महत्व सम्झाउँछन्, ‘एउटा भौतिक सुर्जे आकाशमा छ, अर्को आत्मिक सुर्जे शिक्षा मा छ।’ पहाडीका शब्दहरुले किशोर खगेन्द्रको मानसमा गहिरो प्रभाव पारेको देखिन्छ। खगेन्द्रको लेखन यो आत्मिक सुर्जेको निरन्तर खोज पनि हो भन्दा अतिशयोक्ति होला र!

२०२४ सालमा आईए परीक्षा दिन काठमाडौँ आइपुगेर बीए उत्तीर्ण गरेको अवधिसम्ममा गोविन्द भट्ट, भवानी भिक्षु र पारिजात मात्रै होइन उनका मनपरेका कवि सिद्धिचरण श्रेष्ठसँग पनि भेट्ने मौका पाउँछन्। लेखकको रुपमा आफूलाई स्थापित गर्छन् र क्रान्तिको भाषण पनि ठोक्छन्। त्यो समय नेपालमा पञ्चायतको रजगज चलेको भए पनि छरछिमेकमा र विश्वभरि नै क्रान्तिकारी चेतनाको उभार आएको बेला थियो। चीनमा सांस्कृतिक क्रान्ति र भारतमा नक्सलवादी आन्दोलन सुरुभैसकेको थियो। भियतनाम युद्ध उत्कर्षमा थियो। चे ग्वेभारा क्युबा छाडेर बोलिभियाको जंगलमा गइसकेका थिए र त्यहीँ मारिएका थिए। रेजिस देब्रेको ‘रेभोल्युसन इन रेभोल्युसन’ले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशमा तहल्का मच्चाएको थियो र फ्रान्समा विश्वप्रसिद्ध विद्यार्थी आन्दोलन चर्किरहेको थियो, जसलाई सात्र्र र सिमोनको समर्थन थियो। 

नेपालभित्रै पनि झापाली आन्दोलन र नेकपा चौथो महाधिवेशनको केन्द्रीय न्युक्लियसगरी दुई क्रान्तिकारी वामपन्थी धार अस्तित्वमा आइसकेका थिए। त्यसैताका भारतबाट लन्डन स्वास्थ्य उपचार गर्न पुगेका नेपाली कांग्रेसका नेता बीपी कोइरालाले पत्रकारहरुलाई ‘नेपालको वर्तमान व्यवस्था सैनिक अधिनायकवाद हो र नेपालमा प्रजातन्त्र ल्याउन सशस्त्र संघर्ष गर्नुपर्छ’ भनेपछि नेपाली कांग्रेस सैन्य तयारीमा लागेको थियो, जुन पछि सोलु–ओखल्ढुङ्गा काण्डको दुखान्तमा टुंगिएको थियो। 

यो समयमा साहित्यबारे आफ्नो घोषणा पत्र भन्न सुहाउने धारणा खगेन्द्र सार्वजनिक गर्छन् र एमएको पढाइ बीचमै छोडेर कृषि क्रान्तिको अलख जगाउन रुक्स्याकमा माओका रेड बुक बोकी लमजुङ्गको खुदीतर्फ लाग्छन्। त्यसपछि चुँदी, बन्दीपुर हुँदै चितवनसम्म आइपुग्दा जालीफटाहाविरुद्धको संघर्षमा अनेक हण्डर खान्छन्। त्यही क्रममा बन्दिपुरमा जमुना गुरुङ उनको जीवनसंगिनी बन्छिन्, छोरी डेजी र छोरा मित्र पनि जन्मिन्छन्। साथी स्वनामसँग मिलेर सर्वहारा कम्युनिस्ट लिगका संस्थापक सदस्य समेत बन्छन् तर उनको जीवन अति कष्टकर र असुरक्षित भएपछि क्रान्तिकारी जागरण त्यति सजिलो काम चाहिँ होइन रहेछ भन्ने गम्दै १३ वर्षपछि काठमाडौँमै फर्कन्छन्। संगठनको जिम्मेवारी सम्हालेर होइन, लेखनको स्वतन्त्रता र प्रगतिवादी साहित्यको मोर्चा मार्फत छेउ किनारबाट तर वैचारिक बहसको मूलधारमै रहेर जनजीवनका संघर्षलाई सघाउन थाल्छन्।

खगेन्द्र संग्रौलासँग मेरो प्रत्यक्ष भेट उनी पछिल्लो पटक काठमाडौँ आएपछि २०४१–४२ साल तिर भएको हो। त्यसपछिका वर्षहरुमा हामी प्रगतिशील लेखक संघ, गर्जन, मूल्यांकन र जनएकता पत्रिका, नागरिक आन्दोलन र जन आन्दोलनहरुमा सहकार्य गर्यौँ। मलाई लाग्छ, विनोदविक्रम केसीको कविताले भनेझैँ खगेन्द्र संग्रौलाले ‘काँध थापेकाहरु’मध्ये म पनि एक हुँ। तर त्यो कविताले यो पनि भन्छ कि ‘काँधमा चढ्नेहरुका खुट्टाले बनाएका कोखाका घाउहरु देखाउदैन खगेन्द्र संग्रौला।’

उनको कोखामा घाउ बनाउनेहरुमध्ये म चाहिँ पर्दिनँ कि भन्ने लाग्छ। तर यसै के भन्न सकिन्छ र? मैले अङ्गीकार गरेको विचारको गोरेटोमा हिँडिरहनमा संग्रौलाको ठूलो योगदान छ, यो चाहिँ भन्न सक्छु। छलफलका क्रममा विचारहरुको प्वाख उम्रेर खुला आकाशमा विचरण गरिरहेझैँ लाग्ने र आज भेट हुँदैछ भन्ने अनुभूतिले पनि मन आनन्दित हुने व्यक्तिहरुमा गोविन्द भट्ट, पारिजात, खगेन्द्र संग्रौला र निनु चापागाईंको नाम मैले एक संस्मरण मा उल्लेख गरेको पनि छु। 

तर संग्रौलासँग उनको कृतिमार्फत परिचय भएको भने आधा शताब्दी भएछ। भियतनाम प्रतिरोधी संघर्षमा आधारित ‘द भिलेज द्याट वुड नट डाइ’लाई ‘अजम्मरी गाउँ’मा संग्रौलाले अनुवाद गरेका थिए। मैले त्यो किताब ०२९–३० साल तिर पढ्न पाएको थिएँ। त्यो बेला मेरो मनमा रहेको एउटा अति प्रिय नायकको वैचारिक अवसानले जन्मेको पीडा र खिन्नता निकै प्रबल र दुखदायी थियो। ‘हो ची मिन्ह लाइ चिट्ठी’ कविता लेखेर हाम्रो मनलाई अचम्मको जोश, प्रतिरोधी सौन्दर्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको भावले ओतप्रोत गर्ने कवि भूपी शेरचन, आफू ‘कम्युनिस्ट’ र ‘कवि’ भएकोमा पश्चाताप गर्न थालिसकेका थिए। कुनै ताका ‘काका हो’लाई सम्बोधन गर्दै ‘तिम्रो हनोइमाथिको बमवर्षाका रातहरु, मैले पनि जागरणका ट्रेन्चहरुमा बिताएको छु’ र ‘बन्दैन मुलुक दुईचार सपुत मरेर नगए’ लेख्ने कवि, अब यस्तो लेखेर वाह वाहि पाउन थालेका थिए–

मैले पिएकोमा रिसाएका साथीहरु
पिएर त हेर, पिउनु झन् गाह्रो छ
मरेर सहिद हुनेहरु
जिएर त हेर, जिउनु झन् गाह्रो छ।

‘अजम्मरी गाउँ’ पढेपछि मैले ठूलो हौसला पाएँ। भूपीहरु जालान् तर अरु आउनेछन् जस्तो लाग्यो। त्यस उपन्यासमा एक अटल र अविचलित संकल्प छ, फ्रान्सेली र अमेरिकी उपनिवेशबाट मुक्त हुने बलिदानी संकल्प, मान्छे हुनुको गरिमासहित बाच्ने संकल्प। र, त्यहाँ ‘काका हो’ छन्, प्रत्यक्ष दृष्टिगोचर नहुने तर प्रतिरोधी संघर्षको स्पिरिट बनेर चारतिर वायुझैँ व्याप्त हुने। त्यसपछि मैले भूपीको ‘हो ची मिन्हलाई चिठी’कै शैलीमा ‘भूपीलाई चिठी’ लेखेँ र अस्कल होस्टेलको भित्तेपत्रिकामा टाँसे। त्यो मेरो पहिलो कविता थियो। केही वर्षपछि मदनमणि दीक्षितले त्यस कवितालाई समीक्षामा पनि छाप्नु भयो। १७ वर्षे किशोर उमेरमा भूपीले दिएको निराशालाई तह लगाउन र त्यो कविता फुर्नमा त्यतिबेलासम्म प्रत्यक्ष भेट नभएका संग्रौलाको ‘अजम्मरी गाउँ’को योगदान म कहिल्यै बिर्सन सक्दिनँ। यो अनुदित कृतिको नयाँ संस्करणको भूमिकामा संग्रौला आफैँले भनेका छन्, ‘भोलि दृश्य जगतमा म नहुँदा पनि लोक उपयोगिता र शिल्प सौन्दर्यको शक्तिले गर्दा मेरो अनुवाद यो ‘अजम्मरी गाउँ’ जीवित रहनेछ।’

पारिजात र खगेन्द्र संग्रौलाको वैचारिक विकासका खुड्किलाहरु पुनर्भ्रमण गर्ने प्रयत्न गर्दा भूपी गजपको ‘रेफेरेन्स’ व्यक्तित्व लाग्छन् मलाई। एक जमानाका भुपेन्द्रमान शेरचन ‘सर्वहारा’ यूटर्न भएर राजा वीरेन्द्रको गुणगानमा कविता लेख्न थाल्दा पारिजात र खगेन्द्र मार्क्सवादको जोखिमयुक्त बाटोमा दृढतासाथ हिँडिरहेका थिए। पारिजात निराशा, निस्सारता र निरुदेश्यताको अन्धकारबाट बाहिरिँदै र खगेन्द्र ब्राम्हण शासकको वर्ग र वर्णजन्य संस्कारबाट बाहिरिँदै। दुवैले जीवनको अर्थवत्ता र उन्नत समाज निर्माणको सपना बोकेका थिए। वास्तवमा पारिजातभन्दा पाँच वर्षअघि नै संग्रौला मार्क्सवादी पथका पथिक भैसकेका थिए।

तथापि यौवनको उत्कर्षमा मार्क्सवादको गाढा लाल रङ विद्यार्थी, किसान, बुद्धिजीवी, लेखक कलाकारका मन मस्तिष्कमा भर्न उद्धत संग्रौला उमेरको सन्ध्याकालमा त्यस दायित्वबाट किञ्चित विश्राम लिन खोजेका देखिन्छन्। यदाकदा लाल रङको विभ्रमबाट बाहिर निस्केको अनुभूति पनि उनलाई हुँदो हो, अर्थात् जेलाई रातो सम्झेँ, त्यो रातो नै थिएन रहेछ भन्ने पनि लाग्दो हो। अथवा अहिले उनले जुन रङ भर्न खोजिरहेका छन्, त्यहाँ रातोले मात्रै पुग्दैन भन्ने पनि हो कि? पोखराको एउटा साहित्यिक कार्यक्रममा नारायण वाग्ले सुरुमै एउटा ठाडो प्रश्न गर्छन्, ‘तपाईं एउटा रातो झोला भिर्ने गर्नुहुन्थ्यो आजकल धेरै भयो देखिँदैन नि, तपाईंको रातो झोला खै?’ संग्रौला पनि सिधा उत्तर दिन्छन्, ‘त्यो झोला मजस्तै खुइलियो र त्यसलाई थन्क्याइयो।’ सबैले सजिलै बुझ्ने बिम्बमा यो प्रश्नोउत्तर भएको छ। युट्युबबाट त्यो संवाद सुनेपछि मेरो मनमा पनि एउटा प्रश्न उठेको छ– उनको त्यो झोला खुइलिए पनि नया पिँढीका युवाहरु पुनः जोसका साथ विगतका अनुभवहरुको पाठले भरिएको नयाँ गाढा रातो झोला बोकेर हिँडे भने संग्रौला दिक्दारीसाथ पन्छिने छन् कि नयाँ जोससहित तिनका पछिपछि लाग्नेछन्? 

धेरैअघि मान्छेको सक्कली अनुहार चिन्न संग्रौलाले मलाई एउटा पहेलीजस्तो बुझ्न गाह्रो तर काइदाको अर्ती दिएका थिए। कुरैकुरामा एकदिन भनेका थिए, ‘बुझ्नुभयो मास्केजी, मान्छे चिन्न सँगै बसेर तीन पाथी नुन खानुपर्छ।’ अब तीन चिम्टी नुन खान त कष्टसाध्य हुन्छ, तीन पाथी खाने कसरी? धेरै दिन घोत्लिएपछि कुरोको चुरो फेला पर्यो। तीन पाथी नुन खानु भनेको एकैचोटि होइन रहेछ। तीन पाथी नुन सिध्याउने खानपिन सहितको लामो अवधि संगत गरेपछि बल्ल मान्छे चिनिने रहेछ भन्ने त्यसको अर्थ रहेछ। मलाइ लाग्छ, विगत करिब चालीस वर्षको संगतमा मैले तीन पाथी नुनको ‘क्राइटेरिआ’ पुरा गरिसकेको छु। त्यसैले संग्रौलालाई अलिकति चिन्छु र उनीबारे दुईतीन वटा मेरा अनुमानयुक्त अभिमतहरु यहाँ राख्न मलाई संकोच छैन। 

पहिलो, माथिको प्रश्न, अर्थात् युवाहरु जोसका साथ हिँडे भने उनी के गर्लान्? यो प्रश्नको उत्तर संग्रौलाले दिनुपर्यो भने मलाई लाग्छ, उनले विनोदविक्रम केसीकै कविताका निम्न पंक्तिहरुतर्फ इसारा गर्नेछन्ः 

तथापि तिमीसँग एक झिल्को मात्र भए पनि 
एजेन्डा छ भने उज्यालोको 
तम्तयार छ बोक्न तिमीलाई 
खगेन्द्र संग्रौलाको एक थान काँध।

यहँ उल्लेख गर्नलायक कुरा के छ भने उनले नारायण वाग्लेलाई त्यो खुइलिएको झोला ‘थन्क्याएको छु’ भनेका छन् ‘मिल्काएको छु’ भनेका छैनन्। 

दोश्रो, संग्रौलासँगको लामो संगतमा मलाई सधैँ लागिरह्यो, उनमा मार्क्सवादसँगै अराजकतावाद पनि जब्बर रुपले अवस्थित छ। मार्क्सियन एनार्किस्ट वा एनार्को–मार्क्सिस्ट जस्ता कुनै हाइब्रिड पदावली छ भने संग्रौलामा फिट हुने धेरै सम्भावना छ। किनकि राज्यसत्ताबारे संग्रौलाको जुन बुझाइ छ, त्यो मूल रुपमा मार्क्सवादी होइन, अराजकतावादी हो भन्ने मेरो अभिमत हो। 

लेखक बागी हुन्छ र सधैँ सत्ताको प्रतिपक्षमा बस्नु पर्छ भन्ने विचार यस पुस्तकमा पनि ठाउँ ठाउँमा चर्चा गरिएको छ, तर तमसोम ज्योतिर्गमय नामक एउटा टीभी कार्यक्रममा संग्रौला आफैँले ‘बागी’ शब्दको अर्थ प्रष्ट्याउने कोसिस गरेका छन्। त्यसैले म त्यो सन्दर्भलाई यहाँ जोड्छु। उनी भन्छन्, म विद्यार्थी कालदेखि नै बागी चरित्रमा हुर्कें, मार्क्सवादमा हुर्कें।’ यसरी ठिक उठान गरेपछि उनी लगत्तै भन्छन्, ‘सत्ता सधैँ भ्रष्ट हुन्छ, चाहे त्यो सामन्तवादी होस्, पुँजीवादी होस् वा समाजवादी होस्। त्यसैले शासक भ्रष्ट हुने खतरा हुन्छ, शासक भ्रष्ट भए भने सामान्यजन ले दुःख पाउँछन्, त्यसैले शासकहरुको भ्रष्टतालाई नियन्त्रणमा राख्न बौद्धिक, दार्शनिक र लेखक सधैँ सत्ताको प्रतिपक्ष मा रहन्छ। लेखक भनेको आलोचक हो, विचारक हो, बागी हो।’

सत्ताको प्रतिपक्ष बनेर आलोचकको दायित्व निर्वाह गर्नु व्यक्तिको स्वतन्त्र निर्णय र अधिकार हो। हरेक युगमा हरेक समाजमा त्यस्ता व्यक्तिहरुको आवश्यकता रहन्छ। तर माथिको अवधारणालाइ एक थान प्रतिप्रश्न गर्न सकिन्छ। सत्ता सधैँ भ्रष्ट हुने हो भने पुरानो भ्रष्ट सत्तालाई ध्वस्त गरी अर्को नया भ्रष्ट सत्ता स्थापित गर्ने प्रयत्न नै किन गर्नु? क्रान्ति र परिवर्तनको लागि यत्रो बलिदानको औचित्य के? भ्रष्टाचारको तराजुमा शोषकहरुको सत्ता र शोषितहरुको सत्ता बराबर हुन्छन्? कुनै एक कालखण्डमा समाजले जन्माएका सबैभन्दा इमान्दार, असल र क्षमतावान मानिसहरु चाहिँ सत्ताबाहिर बसेर आलोचना मात्र गरिरहने अनि सत्तामा भ्रष्ट नेता र तिनका हनुमान मात्र जाने हो भने बाहिरकाले आलोचना गर्दैमा त्यो सत्ता भ्रष्टाचारमुक्त होला? सत्तालाई भ्रष्ट बनाउने संरचनागत प्रणाली कसले बदल्छ? आफूलाई आलोचक र बागी भन्नेहरुले सत्तामा गए पनि भ्रष्ट हुनबाट बच्न सकिन्छ भन्ने मात्रै होइन, सत्ताको भ्रष्ट चरित्रलाई बदल्ने उद्यम गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्ने दायित्व हुन्छ कि हुँदैन? 

यो पुस्तकमा एक ठाउँमा ‘सत्ता भनेको यस्तो ह्युम पाइप हो जसको एउटा कुनाबाट खगेन्द्र संग्रौला छिरे भने अर्को तर्फबाट धनपति नेपाल भएर निस्कन्छ’ भन्ने एक जमानाको प्रचलित कटाक्षलाइ प्रसाईले स्मरण गरेका छन्। अर्को कुनाबाट निस्कने ती व्यक्तिको नाम छद्म रखिएको पनि भनेका छन्। वास्तव मा ३० वर्षअघि नै खगेन्द्र संग्रौला त्यस्ता बिम्ब भइसकेका थिए, अब नाम किन लुकाउनु, त्यतिबेला हामीले सुनेको चाहिँ उनी सत्ताको ह्युम पाइपमा छिरे भने प्रदीप नेपाल बनेर निस्कने छन् भन्थे। त्यतिबेला हामी सत्ता भन्ने शब्दबाटै बडो आतंकित हुन्थ्यौँ। तर ती हिजोका दिन थिए। अबका दिनमा सत्ताको पाइपमा एक छेउबाट खगेन्द्र संग्रौलाहरु छिरे भने अर्को छेउबाट पनि खगेन्द्र संग्रौलाहरु नै निस्केर देखाउनु पछ। तब पो संग्रौला–बिम्बको सार्थकता! बदलिनु पर्ने त सत्ताको ह्युम पाइप हो, संग्रौलाहरु होइनन्। तथापि सत्तामा जाने नहुने जस्तो सोच मा अलि बदलाव आएको हो कि भन्ने संकेत यो किताबमा छ। नागरिक आन्दोलनका दुई अभियन्ताहरुलाई सांसद बन्न संग्रौलाले कुनै एक दललाई सिफारिश गरेको कुरा उज्ज्वल प्रसाईले यस किताब मा उल्लेख गरेका छन्।

तेस्रो, संग्रौलाको खुइलिएको झोलाको बिम्ब कतै राष्ट्रवादको सन्दर्भमा उनको धुमिल हुँदै गइ रहेको वर्गीय चेतको प्रतीक पनि पो हो कि?

पहाडे राष्ट्रवादमुनि दबिएका मधेशीजनको पीडालाई उनले आवाज दिएका छन्। सीमामा बसेका मधेशीहरुले नै सबै भन्दा बढी हाम्रो सीमाको रक्षा गरेका छन् भन्ने सत्यलाई पहाडि कानमा पुर्याउन उनको ठूलो योगदान छ। तर मधेश सोलोडोलो छैन। मधेशमा चरम वर्गीय, जातीय र लैंगिक उत्पीडन छ। मधेशी जनतालाई उत्पीडन गर्ने मधेशी वर्ग र जातबाटै कतिपय त्यस्ता नेता र दल उत्पादन भैरहेका छन्, जो बेलाबखत आफ्नो र आफ्नो दलको निहित स्वार्थको लागि पहाडे राष्ट्रवादका प्रतीक पुरुषहरुसँग अँगालो मार्ने, घुक्र्याउने र उनीहरुबीच पेन्डुलम झैँ हल्लिने उपक्रम पनि गर्छन् र गरिरहेका छन्। मधेशी राष्ट्रियताको मूल शक्ति र श्रोत मधेशभित्र का उत्पीडित मधेशी जनता हुन्, त्यसैले त्यसको प्रत्याभूति, वर्गीय उत्पीडनबाट मधेशी जनताको मुक्तिको ऐक्यबद्ध संघर्षबिना सम्भव छैन भन्ने प्रष्टताका साथ संग्रौलाका अन्तर्वार्ता, मन्तव्य र लेखहरु किन त्यति नआएका होलान्?

तीन पाथी नुन पचाइसकेको दाबी गरे पनि र उज्ज्वल प्रसाईंले तयार गर्नु भएको यो खँदिलो पुस्तक दोहोर्याएर तेहेर्याएर पढिसके पनि खगेन्द्र संग्रौलालाइ मैले राम्रोसँग चिनेको छु भन्ने दाबी म गर्न सक्दिनँ, सायद कसैले पनि सक्दैन। 

हाम्रो ब्रम्हाण्ड ५ प्रतिशत मात्रै दृष्टिगोचर हुने र ९५ प्रतिशत नदेखिने ‘डार्क म्याटर’ र ‘डार्क इनर्जी’ले भरिएजस्तै हाम्रा गतिविधिको ५ प्रतिशत मात्रै चेतन मनद्वारा निर्देशित छ, बाँकी ९५ प्रतिशत अवचेतनको गहिराइबाट सञ्चालित हुन्छ। जीवनीमा न समेटिएका त्यस्ता धेरै ‘अव्यक्तहरु’ हुन सक्छन्, जसले त्यो व्यक्तिको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुनसक्छ तर सधै ओझेलमै रहन्छ र त्यसबारे व्यक्ति स्वयंलाई पनि थाहा नहुन सक्छ। 

किताबको पुछारतिर लेखक प्रसाईले संग्रौलाको जीवनमा होस् वा लेखनमा, फुटकरहरु धेरै छन्, महाख्यान र महाकाव्य छैनन् भनेका छन्। यो निष्कर्षप्रति चाहिँ म आफ्नो पाठकीय अनुभूतिलाई साक्षी राखेर गतिलो असहमति जनाउँदछु। संग्रौलाको जीवन र कर्म आफ्नो समयको परिवर्तनसँग जोडिएको निरन्तरताको लोमहर्षक महाख्यान हो। नेपाली वाङ्मयको मूल्यवान निधि हो। र त्यसको प्रस्तुतिको श्रेय उज्ज्वल प्रसाईलाइ जान्छ। 

पाँच वर्ष लगाएर, संग्रौलाका रचनाहरु तथा उनी सम्बन्धित अन्य लेखकका रचना, मन्तव्य र अन्तर्वार्ताहरुको विशद अध्ययन गरेर संग्रौलाको जीवन र कर्मलाई एकपल्ट सुरु गरेपछि पढ्न छोड्नै मन नलाग्ने शैलीमा उनेर, एक प्रेरणादायी कृतिलाई जन्म दिएर प्रसाईले आफ्नो लेखनको बिट मार्ने बेलामा पुनः विनम्रता का साथ आफ्नो भगिरथ प्रयत्नलाइ एक ‘फुटकर प्रयत्न’ भनेका छन्। त्यस भनाइ प्रति अर्को असहमति जनाउँदै मेरो मन्तव्य यही टुङ्ग्याउँदछु।

(उज्ज्वल प्रसाईलिखित खगेन्द्र संग्रौलाको जीवनी ‘एक बागी’को विमोचनमा मास्केले राखेको धारणा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .