ब्लग


मेयर बालेनज्यू, उहाँहरुले गरिखान नपाउने?

मेयर बालेनज्यू, उहाँहरुले गरिखान नपाउने?

जस्मिन ओझा
असार ३० , काठमाडौँ

‘यो देशमा गरिबले गरिखान पनि नपाइने रै’छ’ करिब ४० वर्षकी एक महिलाले गहभरि आँसु बनाउँदै बेदना पोख्नुभयो। मैतीदेवीमा भर्खरै मात्रै नगरप्रहरीको एउटा झुण्ड आएर उहाँसहितका फुटपाथ व्यापारीलाई लखेटेको थियो। जसोतसो उहाँले आफ्नो तरकारी त जोगाउनुभयो, तर बेच्न नपाएपछि यसलाई कहाँ लैजाने?

‘१० हजार हालेर ल्याएको तरकारी सबै कुहिने भयो,’ उहाँले पंक्तिकारसँग भन्नुभयो, ‘देश लुटेर खानेहरुलाई हाइसञ्चो छ, हामी काम गरेर खानेहरुलाई मात्रै लाग्छ कानुन।’

मैले उहाँको विषयमा थप जान्न चाहेँ। उहाँ हुनुहुँदो रहेछ, दोलखाकी कमला कार्की। उहाँको परिवारमा ५ जना सदस्य छन्। श्रीमान् एक वर्षदेखि पक्षाघात भएर थला परिरहेको पीडा उहाँले पोख्नुभयो।  यही सडक व्यापार गरेर उहाँले परिवारका लागि दुई गाँसको जोहो गर्दै आउनुभएको रहेछ।

उहाँका श्रीमान् पहिले होटल चलाउनुहुन्थ्यो। भूकम्प आएपछि घर भत्कियो। त्यसपछि वैदेशिक रोजगारीका लागि साउदी अरब जानुभयो। त्यहाँ पनि सोचेअनुसार नभएपछि फर्किनुभयो। तर, एक वर्षदेखि पक्षाघात भएर कुनै काम गर्न सक्नुभएको छैन। श्रीमानको उपचारसँगै दुई छोराछोरीको लालनपालन र शिक्षादीक्षाको दायित्व उहाँको काँधमा रहेछ।

सडकमा तरकारी–फलफूल बेचेर दैनिक ४–५ सय कमाइ हुने उहाँले बताउनुभयो। यति पैसाले कसरी चल्दो हो उहाँको गुजारा? त्यो पनि नगर प्रहरीसँग त्रस्त भएर व्यापार गर्नुपर्ने अर्को पिरलो। उहाँको व्यथा सुनेर म हैरान भएँ।

‘अरु व्यवसाय केही छैन। खान, बस्न, छोराछोरी पढाउन लाग्ने खर्च सबै आफ्नै थाप्लोमा छ। बरु थोरै भाडा तिर्नुपरे पनि सुरक्षित ठाउँ मिलाइदिए हुन्थ्यो। यसरी नगरप्रहरीको त्रासमा रहेर व्यापार गर्न गाह्रो भयो,’ उहाँले भन्नुभयो।

कमला कार्की एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ। काठमाडौँको फुटपाथमा व्यापार गर्ने हजारौँको कथा–व्यथा उहाँको जस्तै छ। दुई छाक जोहो गर्न फुटपाथमा पसल थाप्नेहरु सधैँ नगरप्रहरीको निसानामा पर्ने गरेका छन्।

केही दिनअघि मात्रै सडकमा पोलेको मकै बेच्ने क्रममा दुईजना बुबाआमामाथि नगर प्रहरीले गरेको ज्यादतीको घटना ताजौ छ। विदेशबाट भन्सार छलेर ल्याएको सामान नेपालमा कालोबजारी गरेकोजस्तो गरी उहाँहरुमाथि नगर प्रहरी जाइलागे। उहाँहरुले बेच्न राखेको मकै उठाएर लगियो। नगरप्रहरीले सायद ठूलै जितको महसुस गर्यो होला। तर, त्यो दृश्यले धेरै नेपालीहरुलाई रुवाएको छ। सामाजिक सञ्जालमा उहाँहरुप्रति सहानुभूति प्रकट भएका छन्। केहीले सहयोग पनि गरेका छन्।

 

उहाँहरुको घटना त कसैले भिडिओमा कैद गर्न भ्यायो र त्यो सामाजिक सञ्जालमा आयो। कम्तीमा जनताको सहानुभूति उहाँहरुले पाउनुभयो। तर, नगर प्रहरीका सबै ज्यादती भिडियोमा कैद हुँदैनन्। पीडितहरुसँग एक्लै रुनुबाहेक अरु विकल्प हुँदैन।

यतिबेला काठमाडौं महानगरपालिकामा युवा नेतृत्वका रुपमा बालेन्द्र शाह आएका छन्। उनीबाट काठमाडौँबासीले निकै ठूलो आशा राखेका छन्। फुटपाथ व्यापारीले पनि उनीतिर आशाको नजरले हेरिरहेका छन्।

चुनाव जित्नुअघि अन्तर्वार्ताहरुमा मेयर शाहले फुटपाथ व्यापारीहरुप्रति सहानुभूति दर्शाउने गरेका थिए। नगरप्रहरीले फुटपाथ व्यापारीको सामान खोस्ने र लखेट्ने गरेकोमा चिन्ता व्यक्त गरेका थिए। फुटपाथ व्यापारलाई निषेध गर्ने नभई व्यवस्थित गर्ने अवधारणा उनले प्रस्तुत गरेका थिए। तर, मेयरमा निर्वाचित भएपछि भने उनको यसबारेमा मौनता साँधिरहेका छन्। मकै बेच्ने दम्पतीमाथि भएको कारबाहीले ठूलो विवाद निम्तिरहँदा पनि मेयरले उनीहरुप्रति सहानुभूतिमा एक शब्द खर्चिन चाहेनन्।

यता नगर प्रहरीका प्रमुख चाहिँ मकै बेच्ने दम्पतीलाई थप कारबाही गर्ने भनेर मिडियाबाजी गरिरहेका छन्। मकै बेच्ने दम्पतीले नगर प्रहरीमाथि नै दुर्व्यवहार गरेको हास्यास्पद आरोप उनले लगाएका छन्। यस विषयमा मेयर शाहको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। पछिल्लो नगरसभा बैठकमा एक वडाध्यक्षले यो विषयमा उनको धारणा मागेका थिए। तर, शाहले कुनै जवाफ नदिएर टारे।

वडाध्यक्षलाई जवाफ नदिए पनि शाहले जनतालाई जवाफ दिनैपर्छ। आज नभए भोलि। बोली नभई व्यवहारबाट जवाफ दिए झन् राम्रो। उनले हिजो चुनावअघि गरेका बाचाहरु पुरा गरिदिए पुग्छ। या त फुटपाथका व्यापारीलाई यो भन्दा अर्को विकल्प दिनुपर्यो, होइन भने उनीहरुको रोजीरोटी खोस्न भएन। महानगरले भने अझै पनि फुटपाथ व्यापारलाई नियन्त्रण गरेरै छाड्ने भनेर सुगारटाइ गरिरहेको छ। फुटपाथमा व्यापार गर्न दिने नीति नरहेको बताइरहेको छ। तर, कुनै वैकल्पिक योजना अघि सारेको छैन। आशा गरौँ, मेयर शाहले छिट्टै त्यस्तो योजना अघि बढाएर फुटपाथ व्यापारलाई व्यवस्थित गर्नेछन्।

हो, फुटपाथ भनेको पसल थाप्नका लागि नभएर पैदलयात्रुको आवागमनका लागि बनाइएको हुन्छ। फुटपाथमा थापिएका पसलले गर्दा आवागमनलाई प्रभावित त गर्छ नै। काठमाडौंका सडकहरु यसै पनि साँघुरा छन्। त्यसमाथि सडकमा गरिने व्यापारले यसलाई झनै अस्तव्यस्त बनाइरहेको यथार्थ हो। त्यसैले सडक व्यापारको दिगो व्यवस्थापन आवश्यक छ। संसारका आधुनिकभन्दा आधुनिक सहरहरु पनि फुटपाथ व्यापारबाट मुक्त छैन। फुटपाथको किनमेल एउटा संस्कृति पनि हो।

फुटपाथको व्यापारबाट साना व्यापारीले घर चलाएका मात्रै छैनन्, न्यून आय भएका उपभोक्ता पनि लाभान्वित बनिरहेका छन्। सटरमा जस्तो चर्को भाडा तिर्नु नपर्ने भएकाले फुटपाथका व्यापारीले तुलनात्मक रुपमा सस्तोमा सामान बेच्न सक्छन्। हामी बाटो हिँड्दा पनि ‘५ सयमा दुइटा’ भन्दै टिसर्ट ट्राउजरहरु बेचिरहेका देख्छौँ। गरिब जनता सुपरमार्केटमा गएर नयाँ कपडा खरिद गर्न सक्दैनन्, उनीहरुको नयाँ कपडा लगाउने रहर फुटपाथ व्यापारीले पुरा गरिदिन्छन्। फुटपाथमा ५ सयमा दुई वटा भन्दै बेचिने कपडा सटरमा एक हजारको ट्याग लगाएर झुण्ड्याएको पनि नदेखिने होइन।

सडक व्यापार रहर होइन, बाध्यता हो। सजिलो छ र सडकमा बसेर व्यापार गर्न? कहिले टन्टलापुर घाम, कहिले झरी, सडकको धुवाँधुलो र कोलाहल, पैदलयात्रीहरुको दुर्व्यवहार। यावत् व्यवधानहरु छन्। त्यसमाथि कतिबेला नगर प्रहरी आएर सामान लुटेर लगिदिन्छ ठेगान हुँदैन। यो सबै सहेर उनीहरु किन सडकमा पसल थाप्छन्? किनकि उनीहरुसँग काठमाडौँका महँगा सटरमा मासिक भाडा तिरेर पसल थाप्ने हैसियत छैन। रोजगारीका अरु बाटोहरु छैनन्। र, रोज्न पुग्छन् यो कठिन विकल्प।

फुटपाथ व्यापारलाई व्यवस्थित गर्न सरकार र महानगरका लागि पक्कै चुनौतीपूर्ण छ। तर असम्भव छैन। यस्तो व्यापारका लागि निश्चित स्थान तोक्न सकिन्छ। निश्चित समय छुट्याइदिन सकिन्छ ताकि अफिस टाइममा धेरै प्रभाव नपरोस्। ललितपुर महानगरपालिकाले केही हदसम्म यसको अभ्यास गरिरहेको छ। काठमाडौँ महानगरले पनि यस्तै कार्ययोजना अघि बढाउनु आवश्यक छ।

काठमाडौँका सडकलाई सडक व्यापारले मात्रै व्यवधान गरिरहेको छैन। निर्माण सामग्रीहरु सडकमा यत्रतत्र पसारिएको हुन्छ। फोहोरको थुप्रो पनि जथाभावी थुपारेर हिँडिसक्नु हुँदैन। सटरमा व्यापार गर्नेहरुले पनि सडक कब्जा गरिरहेका हुन्छन्। यी सबैलाई अनदेखा गरेर केवल साना व्यापारीलाई निसाना बनाउनु महानगरको नालायकीपन हो।

फुटपाथ व्यापार नियन्त्रणको बहानामा महानगरले यसलाई पैसा कमाउने भाँडो पनि बनाइरहेको आरोप लाग्छ। आर्थिक वर्ष २०७४ देखि २०७९ सम्ममा महानगरले फुटपाथ व्यापारबाट उठाएको सामान लिलाम बिक्री तथा जरिबानावापत महानगरले एक करोड १६ लाख कमाएको रिपोर्ट गत फागुनमा प्रकाशित भएको थियो। यो गरिब जनतामाथि कानुनको डण्डा हानेर गरिएको वैधानिक लुटपाट हो। त्यसमाथि सडकबाट उठाइएका सामानहरुको लिलामी प्रक्रिया कति पारदर्शी छ भन्ने प्रश्न पनि उठ्छ। साथै, सडक व्यापारीबाट नगरप्रहरीले गर्ने अवैध असुलीको बेग्लै पाटो छ।

मेरो आग्रह छ, मेयर बालेन्द्र शाहलाई– जसरी काठमाडौँको फोहोरलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि दौडधुप गरिरहनुभएको छ, त्यसैगरी फुटपाथका व्यापारीको समस्याबारे पनि गम्भीर भइदिनुस्। उनीहरुको काम गरेर खाने अधिकार नखोसिदिनुस्।
 

असार ३०, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad