ब्लग


मैले आमालाई माया गर्न जानिनँ

मैले आमालाई माया गर्न जानिनँ

राधिका अधिकारी
बैशाख १७ , काठमाडौँ

फिक्का आकाशे रङको खद्दरको गुन्यु, धुँदा पनि नगएका स–साना खैरा टाटा। आमाको जस्तै लाग्ने गन्ध खै कसरी बहन्थ्यो त्यहाँबाट। मलाई आमाको त्यो फरिया आमाभन्दा प्यारो लाग्थ्यो। सानैबाट आमासँग सुत्न त्यति नरुचाउने म, आमाको त्यही फरियाको तन्ना हालेर वर्षौँसम्म सुतेँ। के कारणले मलाई सानैमा आमाको काखभन्दा काठ खाट प्यारो भयो, थाहा छैन। तर, अहिले पनि बुबा भन्नुहुन्छ, ‘आमाछोरीको एकै राशी भएकाले एक–अर्काबीच दुरी सानैबाट बनिरह्यो।’ 

तर, आमासँग जोडिएका हर चिज आमाभन्दा सुन्दर र प्यारा लागे। मैले १० कक्षा पास गर्ने बेलासम्म आमाको त्यही फरिया ओछ्याएँ। र, मेरो ओछ्यानमा आमाको फरियालाई तन्ना बनाएर सुत्ने सौभाग्य अरुले पाएनन्। सायद मैले आमालाई माया गर्न जानिनँ, आमाको माया आमाले चलाएका सामानमा मिसिएको थियो।

सामान्य बच्चाले गर्नेभन्दा अलि फरक खालको उपद्रो गर्थेँ र सताइँरहन्थे आमालाई। आमा दुई जिउकी हुनुहुन्थ्यो, अरुलाई पनि मन पर्ने रहेछ त्यो बेला माटोको स्वाद। आमाले पनि कमेरो माटो खुब खानुभयो। म पेटमा हुँदा पनि त्यसैगरी खानु भएको थियो रे, पछि सुनाउनु भएको। आमाले खाएको मिठो होला भन्ने लागिरह्यो। आमा सकेसम्म लुकेर कमेरो खानुहुन्थ्यो। मैले पनि लुकेरै कमेरो खान सिकेँ। खाँदै गएपछि भातको भन्दा कमेरोको स्वाद मिठो लाग्दै गयो। कसैले पत्तै नपाई भात कम माटो बेसी खाने भएछु। यहीबीच म पहिलो पटक पर सरेँ। २२ दिनसम्म घरभन्दा पर लुकेर बसेँ। लुकेर बस्दा खाएको खाना आमाले पाकएको जस्तो पटक्कै भएन। सिरानीमुनि कमेरो राखेर खाने आदत लामै समय बस्यो। त्यहीबेला महिनावारी भएको रगत दुई महिनासम्म थामिएन। निरन्तर रगत बगिरहेपछि बुबाले अस्पताल लैजानु भयो। पहेँलिएको सालकोे पातजस्तै भएकी थिएँ रे, आमाले नै भन्नु भएको। मलाई भने उति साह्रो थाहा छैन। 

डाक्टरले माटोको बढी सेवनका कारण यस्तो भएको भनिदिएछन्। बुबाले आमालाई के भन्नु भयो थाहा छैन। आमालाई आफ्नै कारण छोरीले माटो खान सिकी भन्ने लागेको हुँदो हो। आमालाई माटोको स्वाद मिठो गराउने भाइ त जन्मेर पनि बिदा भैसकेको थियो। मलाई पनि त्यही स्वादले गुमाउनु पर्ने हो कि भन्ने पीरले आमा खुब रुनु हुन्थ्यो। सायद माटोभन्दा असाध्यै नमिठो लाग्यो आमाको आँसु र बुबाको खबरदारी। माटोको आदत त्यहीबेलाबाट सकियो। म मरेर बाँचेँ। आमा खुसीले रुनुभयो। 

मभन्दा चार वर्ष कान्छी बहिनी। आमा कोक्रामा बहिनी सुताएर कोदो रोप्न जानुहुन्थ्यो। बहिनी हेर्ने जिम्मा मेरो भागमा। दाइ घरमा हुनुहुन्थेन। ‘आमाले मेरा छोराछोरी हेर्दिनु हुन्छ र म आमाले जन्माएकी छोरी हेर्नु?’ भन्दै ३ कान्लामुन्तिर हजुरआमाकोमा जान्थेँ। बहिनी दिनभरी कोक्रामै रुन्थी, थाक्थी र निदाउँथी। मलाई लिटो असाध्यै मन पर्ने, ‘बहिनीलाई ख्वाउनु है छोरी’ भनेर आमाले छोडेर गएको लिटो आमा आँखाबाट ओझल पर्दासम्म खाइसक्थेँ र हिँडिदिन्थे एकातिर। आफ्नै धुनमा दिनभरि खेल्थेँ। कयौँ पटक यही निहुँमा आमाको लबटा गालामा छाप बस्नेगरी खाएकी छु। त्यतिबेला आमालाई मैले धेरै पटक ‘म आमा भएपछि तिमीलाई देखाउँछुँ’ भनेथेँ। अहिले सम्झिँदा आमा बन्ने आशक्ति कसरी आयो त्यो बेला भन्ने लाग्छ। आमा अहिले पनि त्यही सम्झदै रुँदै गर्नु हुन्छ। आमालाई पीर छ मैले आमा बनेर आमालाई त्यो बेला भनेझैँ देखाउन नसकेकोेमा। 

घरमुनि बारीमा काँक्रा खुब फल्थे। आमाले बाँस, टाँकी, सिसौका हाँगाको थाँक्रो हालेर माथि पुर्‍याउनु हुन्थ्यो काँक्राको झाल। थाक्रो झपक्कै ढाकेर काँक्राको चिचिला लाग्थे। आमा खुब मेहनत गर्नु हुन्थ्यो। हुर्किएपछि चिचिला डोकोभरी टिप्नु हुन्थ्यो। थप्नु हुन्थ्यो दुईतीन गट्टा फर्सी र पुग्नुहुन्थ्यो हाट। 

फर्केर आउँदा घरमा चाहिने नुन र तेलसँगै भारी लागेर आउँथे मेरा लागि कपी र पेन्सिल। दाइ र बहिनी पढ्नमा तेज। त्यतिबेलासम्म उनीहरूलाई स्कुलले दिएको पुरस्कारले नै पुग्थ्यो वर्षभरि। म भने आमाले फर्सी र काँक्रासँग साटेर ल्याएका तिनै कापी र पेन्सिलमा थप्थेँ, स्कुलका किताब र गाडिदिन्थेँ भकारीमा। अनि दिनभरि खोजिबस्थेँ घरपरको खोलाको बगरको बालुवामा कुटुनी बूढी। थाहा पाएपछि आमा खुइय्य सुस्केरा काढ्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, यसले पढेर नखाने भई। त्यतिबेला लाग्थ्यो, आमाले नपढे पनि गरिखानुभएको छ त। पछि गाउँमा प्रौढ शिक्षाको लहर चल्यो। आमाले पनि पढ्नुभयो। आमाले मेरो नाम अक्षरमा लेखेपछि मलाई पनि पढ्न मन लाग्यो। मैले पनि आमाले मेरो नाम जस्तै मिलाएर लेखेँ आमाको नाम, आमाका भन्दा राम्रा गोला अक्षरमा। आमा खुसी हुनुभयो। 

उमेरले बालापन लग्यो, आमासँगको झगडा लग्यो र बिस्तारै तन्नेरी बनायो। उमेरको फेर जति लम्बिँदै गयो, त्यही अनुपातमा बढिरह्यो आमासँगको दुरी। आमाले मामाघरजस्तै मैले पनि आमाको घर छाडेँ। झन् धेरै लम्बियो हामी आमा–छोरीको भौतिक दुरी। जिन्दगी बा–आमाले सोचेजस्तै भएन। हुन त आफूलाई पनि बाँच्न सहज भएन लामो समय। हो त्यही समयले आमासँग सबैभन्दा धेरै झुट बोल्ने बनायो। सबैभन्दा धेरै बिसन्चोमा सञ्चो भएको अभिनय गरियो। चुलो नबलेको दिन मिस्ठान्न खाएको खबर छोडियो। हिजोआज यस्ता कुरामा हामी आमाछोरी कसले धेरै झुटो खबर पठाउँछौँ थाहा छैन। भन्न त आमा पनि नखाएको दिन भोकै छु कहिल्यै भन्नु हुन्न। भातको काँडो रित्तिएको दिन आमालाई कहिल्यै भोक लाग्दैनथ्यो। त्यतिबेला आमाको भोक किन हराउँथ्यो हिजोआज महसुस गर्न सक्छु। 

जिन्दगीको यो यात्रामा उक्लेका पहाड र गुल्टिएका कान्लाजस्तै अप्ठ्यारा बाटाहरु छाडेर मुस्किलले वर्षमा तीन दिन आमालाई भेटियो। घर पुगिसक्दा सुरु हुन्छ आमाको पोको/पन्तरो बाँध्ने काम। म भने कहिले बाख्रा समातेर होलीतिर पुगे। कहिले डोको बोकेर होलीपरि। फर्किनेबेला सधैँ आमा सुकुसुकाइ रहनु भयो। त्यतिबेला पनि राम्रोसँग हेर्ने आँट आउँदैनथ्यो आमाको अनुहारमा। म सधैँ आमाले बनाइदिएको पोको बोकेर रात्री बसको यात्रा नापिरहेँ। आमालाई दिन त छोराछोरीसँग केही नहुदो रहेछ आमासँग जस्तो। 

आमाको जस्तै हुन सक्दो रहेनछ जतिनै बुझ्ने भएपनि छोराछोरीको मन। बिस्तारै मुजा पर्दै गएको अनुहार। काँसझै फुल्न थालेका कपाल। राम्रोसँग भर पाउन छाडेका गोडा। धमिलिँदै गएको आँखाको दृष्टिले पनि गुमेको छैन आमाको आत्मविश्वास। आज पनि आमा हरेक छाक पाकेपछि सम्झनुहुन्छ मलाई। यता म भने एक छाक पकाउन नसकेपछि सम्झन्छु आमालाई। सन्तानलाई सम्झन फुर्सद नचाहिँदो रहेछ आमालाई। लाग्छ यो संसारकै महान कलाकार हुन् मेरी आमा। जसले सन्तानका निम्ति समयले जे चाह्यो त्यही बनेर अभिनय गरिरहनु भयो। मैले मेरी आमाबाट सिक्नुपर्ने धेरै कुराहरु छन् तर तीमध्ये कति कुराहरू जति नै कोसिस गरे पनि सिक्न सकेकी छैन।

 

बैशाख १७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad