ad ad

ब्लग


मेलम्ची–इन्द्रावती बाढीको अन्तर्कथा

मेलम्ची–इन्द्रावती बाढीको अन्तर्कथा

असार १ को बाढीपछि मेलम्चीको खानीगाउँबाट देखिएको मेलम्ची बजार (तस्बिरः देवराज सुवेद, रासस)


डम्बर रसिक भारती
साउन ४, २०७८ सोमबार १३:२७,

मेलम्ची र इन्द्रावती हिउँद याममा पनि प्रशस्त पानी हुने नदी हुन्। मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं लैजाँदा पनि यसमा राम्रै मात्रामा पानी हुन्थ्यो। लार्के र याङ्ग्री दुई खोला मिलेर इन्द्रावती बनेको हो। यी दुई खोलाबाट पनि दैनिक १७/१७ करोड लिटर पानी काठमाडौं लैजाने योजनाअन्तर्गत काम भइरहेको थियो।

यसबाट भन्न सकिन्छ– मेलम्ची र इन्द्रावती पर्याप्त पानी भएका नदी हुन्। मेलम्ची र इन्द्रावतीको संगमस्थलमा मेलम्ची बजार छ। 

मेलम्ची बजार
मेलम्ची बजारको पुरानो नाम पुलबजार हो। यहाँ झोलुङ्गे पुल भएकैले पुलबजार नाम राखिएको हुनुपर्छ। वि.सं. १९८६ मा निर्माण भएको झोलुङ्गे पुल धेरैतिरको सम्पर्क सेतु थियो। काठमाडौं र तिब्बत जोड्ने छोटो बाटो भएकाले पनि शताब्दीअघि यो पुल बनेको हो। गाविसगत संरचना हुँदा ४० गाविसको नाका हो– मेलम्ची बजार। हेलम्बु र पाँचपोखरी मेलम्ची भएरै जाने हो।

डेढ दसकमै धेरै फड्को मारेको मेलम्ची बजार अहिले बगरमा परिणत भएको छ। यहाँका पक्की पुल भत्किँदा सदरमुकाम चौतारा र पाँचपोखरी थाङ्पाल गाउँपालिकासँग सम्पर्क टुटेको छ। मेलम्ची नगरपालिकाको महत्वाकांक्षी योजना ग्रिन सिटीपार्क बन्दै थियो। ‘स्वप्न सरोबर’ निर्माणबारे अध्ययन सकिएको थियो। बसपार्क, कभर्डहल निर्माणकै चरणम थिए। यी सबै योजना बालुवामा मिलेका छन्।

हेलम्बु

हेलम्बु पर्यटकीय  क्षेत्र हो। सोहीअनुसार काम हुँदै पनि थियो। मेलम्चीघ्याङ, तार्केघ्याङ, शेर्माथाङजस्ता पर्यटकीय स्थान छन्। ग्रेट ट्रेल निर्माण सुरु भएकाले पनि हेलम्बुको चर्चा चुलिँदै थियो। मेलम्ची खानेपानी मुहान क्षेत्र पनि हेलम्बु नै हो। मेलम्ची मुहानदेखि नै नदी छेउछाउ बाक्लै मात्रामा भौतिक संरचना बनेका थिए।

राजधानीको ट्राउट माछाको माग थेग्ने ठाउँ पनि यहीँ हो। ‘ट्राउट हब’ नै बनेको थियो– मेलम्ची किनार। पर्यटकको सुविधाका लागि बनेका आवासका संरचना तथा माछाका लागि बनेका पोखरी टन्नै थिए। मेलम्ची बाढीले यी सबैलाई बढारेको छ। अहिले ती संरचनाभन्दा माथिबाट नदी बगिरहेको छ।

पाँचपोखरी क्षेत्र
मुख्य खोला याङ्ग्री र लार्के मिलेर इन्द्रावती नदी बन्छ। असार १ गते याङ्ग्रीमा पनि ठूलो बाढी आएको थियो। रुख तथा काठपात ठूलो मात्रामा बगाएर ल्याएको थियो। यस नदीमा दिउँसै बाढी आएकाले मेलम्चीवासी सतर्क हुन पाएका हुन्।

याङ्ग्रीको बस्ती नै सार्नपर्ने अवस्थामा पुगेको छ। अहिले अस्थायी वासस्थान निर्माण गरी बसाइएको छ। मेलम्चीको मोटर पुल बगाएकाले त्यता पुग्न असहज भएकाले त्यस क्षेत्रको धेरै जानकारी अझै बाहिरिएको छैन। सहयोग पनि कमै पुगेको छ।

मेलम्ची बाढी : स्वाभाविक कि अस्वाभाविक?
शताब्दी अवधिमा यस किसिमको बाढी आएको पाइँदैन। ९२ वर्षअघि निर्माण सम्पन्न भएको पुल बाढीले लैजान सकेको थिएन। नदीले निश्चित क्षेत्र लिन्थ्यो, बर्खाको समयमा त्यही क्षेत्र भरिन्थ्यो। नदीको बहाव परिवर्तन भएका कतिपय ठाउँमा बिराएर खेतीपाती गरेका थिए। त्यस्ता जमिन व्यक्तिको स्वामित्वमा थिएनन्।

मेलम्ची नदीले व्यापक मात्रामा लेदो ल्याएको छ। पानीको मात्रा अत्यधिक होइन। अहिलेसम्मको बुझाइमा मेलम्ची मुहानभन्दा ७ किमिमाथि भेमाथाङ भन्ने स्थानको ठूलो चौर नै बगेर नदीमा परेको छ। बाढी आउने दिनमा त्यहीँ केही समय नदी थुनिएर खोलिएको अनुमान गर्न सकिन्छ। खोलिएर एकैपटक ह्वात्त आउँदा नदी आसपासमा रहेकालाई बढारेको हो। नदी आसपासका भौतिक संरचना पनि क्रमशः बगाउँदै तलतल आउँदा यसले विकराल रूप लिँदै आएको पाइन्छ। अलि सम्मजस्तो स्थानमा बगाएका ढुंगा तथा लेदो जम्दै नदीको सतह बढ्दै जाँदा आवादी जमिनका साथ घरगोठ साथै ट्राउट फर्म बगाएको छ।

मेलम्चीले ल्याएको लेदो इन्द्रवतीसँगको संगमस्थल मेलम्ची आउँदा मेलम्ची दोभानमा भुमरी परी नदी बजार क्षेत्रमै प्रवेश गरेको हो। इन्द्रावतीमा पानीको मात्रा बढी भएका कारण मेलम्ची बग्न मद्दत पुगेको छ। ठूलो मात्रामा ढुंगा, बालुवा तथा लेदो मेलम्ची दोभानमा थुप्रिँदा १० मिटरभन्दा बढीसम्म नदीको सतह माथि आयो। सम्म परेको ठाउँ भएकाले पनि नदीले बोकेका सामग्री थिग्रिन सजिलो भयो। यसका साथमा यहाँको झोलुङ्गे तथा पक्की पुलमा रुख, जस्ता, फलामे खम्बा तेर्सिदाँ बाँधजस्तो बनेर पनि बालुवा, ढुंगा थेग्रिन मद्दत पुग्यो। बाँध थेग्न नसक्ने अवस्था आएपछि पुल भाँचिएको हो।

मेलम्ची बजारबाट तल्लो क्षेत्र लागेपछि नदीको किनारा फराकिलो छ। नदी प्रशस्त फैलन पाएको छ। नयाँ बनेको बस्ती पूर्ण डुबानमा पारेपछि नदीको विनासलीला कम हुँदै गएको छ। एक त फराकिलो क्षेत्र अर्को त क्रसर उद्योगहरूले गिटी–बालुवा झिक्दा धेरै खाल्डा पारेका कारण बगेका सामग्री जम्मा हुन थालेका कारण बस्तीसम्म नदी पुगेको छैन। मेलम्ची बजार क्षेत्रबाट १२ किलोमिटर तलसम्म पनि नदीले २ मिटरसम्म गेग्रन जम्मा गरेर त्यसमाथि बगेको छ।

मेलम्ची र इन्द्रावती नदी एकैपटक उर्लेका कारण मेलम्ची बजारमा बढी क्षति भएको हो। कुनै एक नदी मात्र उर्लिंदा यत्तिको क्षति हुने थिएन। मेलम्ची दोभान फराकिलो क्षेत्र भएकाले पनि यहाँ कम क्षति हुन सक्थ्यो। दिउँसैदेखि इन्द्रावती उर्लिएकाले मेलम्चीवासी सतर्क थिए, साथै मेलम्ची नदी उर्लिएको पनि समयमै खबर आएकाले मेलम्चीमा कसैको ज्यान जान पाएन। हेलम्बु क्षेत्रमा चाहिँ एकैपटक ह्वात्तै बाढी आएका कारण मेलम्ची खानेपानीमा र ट्राउट फार्ममा काम गर्नेहरू, साथै नदी छेउछाउ गोठ भएका स्थानीयलाई बाढीले बगायो। सडकमा निस्किन खोज्दाखोज्दै पनि पानीले छेकेकाले उम्किन सकेनन्। दस सेकेन्डभन्दा बढी समय नभएकाले पनि बाँच्ने अवस्था न्यून भयो।

भूउपग्रहबाट लिइएका नक्सा अध्ययन गर्दा भेमाथाङभन्दा पनि माथि हिमाली क्षेत्रमा जेठ अन्त्यमा हिउँ परेको देखिन्छ। बाढी आउने एक/दुई दिनअघि गर्मी बढ्दा हिउँ पग्लिएको, साथै सानो हिमतालसमेत फुटेको अनुमान गर्न सकिन्छ। यसरी माथिल्लो भेगबाटै पानीको मात्रा बढी भेमाथाङमा नदी छेकिएर लेदोसहित आउँदा ठाडो खोलाले विनासलीला मच्चाउँदै वरपरका भौतिक संरचनासमेत सोहोरेर ल्याउँदा तल्लो भेगमा व्यापक क्षति पु¥याउँदै आएको भन्न सकिन्छ।

२०७२ सालको भूकम्पले सिन्धुभूमिलाई राम्रैसँग थिल्थिल्याएको थियो। ठूलो वर्षा हुनासाथ पग्लन थाल्ने भएकाले पहिरोको पीडा भोग्दै आएको हो। मेलम्ची तथा इन्द्रावती उग्र हुनुमा पनि यो एक कारक मान्न सकिन्छ। दस/बीस वर्षमै नदीले व्यापक धार परिवर्तन गर्छ भन्ने होइन, शताब्दीमै पनि ठूलो परिवर्तन हुन्छ भन्ने होइन। तीन सय, पाँच सय वर्षमा नदीले आफ्नो क्षेत्र लिन सक्ने विज्ञहरू बताउँछन्। यो कुरा सत्य मान्ने हो भने असार १ को बाढीलाई स्वाभाविक मान्न सकिन्छ, होइन भने अस्वाभाविक, अकल्पनीय नै हो।

बाढीपछिका दैनन्दिन
बाढीपछि बाँकी रहेका बस्ती तथा आवादी जमिन जोगाउने प्रयत्न भएका छन्। यस कार्यमा मेलम्चीवासी तथा स्थानीय सरकारको तदारुकता देखिएको छ। हेलम्बु तथा पाँचपोखरीमा पनि प्रयास भएका छन्। खासगरी बस्ती जोगाउन मेलम्चीमा त धेरै खर्च पनि भइसकेको छ। ढुंगा, बालुवा भरिएर नदीको बहाव निकै माथि भएकाले यसखाले प्रयत्न तत्कालका लागि सान्त्वना त हो, तर दीर्घकालीन रूपमा के गर्ने भनेर अध्ययन गरी विस्तृत योजना बनाएर काम गर्न जरुरी छ।

अर्कातर्फ बाढी आउनाको वास्तविक कारण पत्ता लगाई आगामी दिनमा यसको अवस्था के हो, जान्न आवश्यक छ। भेमाथाङमा खसेको पहाडको २५ प्रतिशत मात्र भाग बगेको भनिएको छ। बाँकी भाग बग्ने अवस्थामा छ कि छैन, एक पटकमा कति मात्रामा बग्न सक्ला, अनुसन्धान जरुरी छ। उस्तैगरी बाढी आएमा अहिले बनाएका छेकबारले काम गर्न सक्दैन।

हेलम्बुको चनौटे बजार माथितिरका घर बगेका छन्। किउल कविकुञ्ज क्षेत्र निरन्तर कटानले जोखिममा परेको छ। चनौटे बजारका घर नबगे पनि बालुवाले भरिएका छन्, निरन्तर नदीले हिर्काउँदा थिलथिलो बनेका छन्। झण्डै बजारकै तहमा नदी बगेकाले पुनः बस्नलायक बस्ती बनाउन मुस्किल देखिन्छ।

मेलम्चीको सवालमा विस्तृत अध्ययन गरी स्तरीय तटबन्ध गर्न सकिए नबगेका घर पुनः प्रयोगमा ल्याउन सक्ने देखिन्छ। तल्लो क्षेत्रमा निरन्तर गिटी–बालुवा निकालिरहने हो भनेचाहिँ तत्काल बाँधिएका बाँध नै कालान्तरमा नदीमा खस्न सक्छन् र अर्को विपत्ति आउन सक्छ। यसकारण पनि दीर्घकालीन योजना नभए  यहाँको बस्ती सदैव जोखिममै रहने देखिन्छ।

अन्त्यमा,
मेलम्ची, हेलम्बु, पाँचपोखरी क्षेत्रमा छोटो अवधिमै विकासले फड्को मारेको थियो। विकासका विस्तृत योजना बनेका थिए। पर्यटकीय दृष्टिले पनि राम्रो क्षेत्र भएको हुँदा जनप्रतिनिधिहरूले पनि समुदायसँग मिलेर सोहीअनुसार योजना बनाएका थिए। मेलम्ची खानेपानी, साथै याङ्ग्री र लार्के काठमाडौं लैजाने भएपछि यहाँ विकास, निर्माणका काममा आर्थिक अभाव हुन्नथ्यो। अहिले बाढीको विपत्ति आइलागेपछि योजना अवरुद्ध भएका छन्। विस्थापित वासिन्दालाई पुनःस्थापना गर्नु नै चुनौती बनेको छ। आवादी जमिन गुम्दा गरिखाने ठाउँ छैन। रोजीरोटी नहुनु अर्को समस्या बनेको छ। प्रभावित वासिन्दाका यी समस्या समाधान नै जटिल बनेकाले अरू विकासका काम पछि परेका छन्।

मोटर चल्ने पुल बगेसँगै कतिपय बस्ती दुई दसक पछि धकेलिएको अनुभूति भएको छ। तत्काल मोटर चल्ने पुल निर्माणमा जोड दिनुपर्ने देखिन्छ। भत्किएका सडक बनाएर साविक आवतजावतको व्यवस्था मिलाउनुपर्नेछ। शैक्षिक संस्था अस्थायी भए पनि तत्काल सञ्चालनमा ल्याउन मिल्नेगरी निर्माण गर्नुपर्नेछ। बस्ती तथा जमिन कटान निरन्तर रहेकाले तिनलाई जोगाउनु त पहिलो काम नै भयो। यस समयमा जरुरी र जटिलताका आधारमा कामको प्राथमिकीकरण गरी समुदायलाई आश्वस्त बनाउनुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .