ad ad

ब्लग


गोपीको ओलम्पिक-सपनामाथि पदाधिकारीको खेलवाड

गोपीको ओलम्पिक-सपनामाथि पदाधिकारीको खेलवाड

लक्ष्मी जि.सी
साउन ४, २०७८ सोमबार १२:२९,

पाँच दिनपछि टोकियो ओलम्पिक सुरु हुँदैछ। विश्वको सबैभन्दा ठूलो खेल मेलामा सबै देशको सहभागिता सुनिश्चित गरिएको हुन्छ। साउन ८ देखि २४ गतेसम्म हुने ओलम्पिकमा नेपालका पनि पाँच खेलाडीसहित दुई दर्जनबढी सहभागी हुँदैछन्। पौडीका गौरिका सिंह र एलेक्स शाह केही दिनअघि नै जापान पुगेर प्रशिक्षणमा जुटिसकेका छन्। १० सदस्यीय अर्को टोली शुक्रबार त्यसतर्फ गइसकेको छ। बाँकी खेलाडी र पदाधिकारी पनि चाँडै जापान पुग्नेछन्।

यहाँसम्म सबै स्वभाविक नै लाग्छ। तर, ओलम्पिककै सहभागितालाई लिएर एउटा खेलाडीमाथि भने अन्याय भएको छ। यो सम्भवतः नेपाली खेलकुदको एउटा दुःखद् घटनाका रुपमा इतिहासमा दर्ज हुनेछ। आन्तरिक छनोट पार गरेर ओलम्पिकका लागि छनोट भएको भनिएका धावक गोपीचन्द्र पार्की अन्ततः ओलम्पिक खेल्नबाट वञ्चित भएका छन्।

नेपाल ओलम्पिक कमिटी (एनओसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघकै स्वीकृतिमा गत वर्ष मंसिरमा नेपालगञ्ज म्याराथनलाई टोकियो ओलम्पिकको छनोटका रुपमा स्वीकृति दिइएको थियो। २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दैै गोपीले ओलम्पिकका लागि आफ्नो स्थान सुरक्षित गरेको समाचार प्राथमिकताका साथ प्रकाशित र प्रसारित भए। एपीएफका गोपीको एउटै लक्ष्य थियो– नेपाली धावक बैकुण्ठ मानन्धरले दक्षिण एसियाली खेलकुद (साग) मा राखेको २ घण्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान भंग गर्ने। ‘बैकुण्ठ दाइले राख्नु भएको कीर्तिमान भंग गर्नेगरी अब तयारीमा जुट्छ,’ गोपीले भनेका थिए। 

उनको त्यो लक्ष्यमा एपीएफले पनि राम्रो साथ  पनि राम्रो साथ थियो। कोराना महामारीका कारण लकडाउन हुँदा पनि उनलाई निरन्तर प्रशिक्षण गर्ने अवसर एपीएफले जुटाएको थियो। प्रशिक्षणमा पसिना बगाइरहेका गोपीले गत चैतमा भएको दोस्रो वीर गणेशमान सिंह १० किलोमिटर दौड पनि जिते। उनले त्यसपछि भनेका थिए, ‘मेरो प्रशिक्षण र प्रदर्शन हामीले तय गरेको योजनाअनुसार नै अघि बढेको छ। अब कान्तिपुर हाफ म्याराथन दौडिँदा म बैकुण्ठ दाइको कीर्तिमान भंग गर्न सक्छु कि सक्दिनँ भन्ने अनुमान गर्न सकिन्छ।’ दुर्भाग्यवश, कोरानाका कारण कान्तिपुर हाफ म्याराथन हुन पाएन। तर, गोपी आफ्नो प्रशिक्षणमा लागिरहे। 

गोपीका लागि असार १७ गतेको दिन आकाश खसेजस्तो भयो। उनले ओलम्पिक खेल्न नपाउने खबर सार्वजनिक भयो। एनओसी, राखेप वा संघबाट प्रष्ट जवाफ पाइरहेका थिएनन्। आफूले किन खेल्न नपाउने भन्ने पनि थाहा समयमै पाएनन्।

पछि तीनै निकायका पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गरे। उनीहरुले अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको प्राविधिक समितिले सहभागी संख्या धेरै भएका कारण गोपीलाई खेलाउन नसक्ने जवाफ दिएको दाबी गरे। गोपीलाई सहभागी गराउन नमिल्ने भएपछि उनको सट्टा एक सय मिटर दौडमा सरस्वती चौधरीलाई पठाइने निर्णय सार्वजनिक गरे। तर, त्यो जवाफले गोपीको चित्त बुझ्न सकिरहेको थिएन। आफ्नो सहभागिताको विषयमा कसै न कसैले कमजोरी गरेको उनको अनुमान थियो। तर, ठोस प्रमाण थिएन।

पछि थाहा भयो– एनओसी र संघ दुवै संस्थाले म्याराथनका लागि दिएको समयसीमाभित्र गोपीको नाम नै दर्ता गराएनन् भन्ने आशंका छ। लङलिस्टमा उनको नाम समावेश गरिएपछि म्याराथनकै लागि भने जुन २३ भित्र नाम दर्ता गर्नुपर्ने थियो। त्यो मितिमा गोपीको नाम दर्ता गरेको प्रमाण देखाउनुको सट्टा खेलकुदको जिम्मेवारी सम्हालेका निकाय आफ्नो कमजोरी लुकाउन लागे। त्यसपछि राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई साक्षी राखेर त्यो विषयलाई ढाकछोप गर्ने प्रयासस्वरुप विज्ञप्ति जारी गरिएको थियो।

समयमा खेलाडी दर्ता नगरेको आफ्नो गल्ती लुकाउनकै लागि तीन निकायका पदाधिकारी एक ठाँउमा जुटे। तर पदाधिकारीहरुको यस्तो गैरजिम्मेवार हर्कतको एउटा खेलाडीमाथि कस्तो असर पर्ला, उनीहरुले सोच्न जरुरी ठानेनन्। गोपी निराश भएर घर फर्के। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्य सचिव सिलवाल र संघका अध्यक्ष राजीवविक्रम शाहलगायत अन्य पदाधिकारीले गोपीलाई सान्त्वना दिने प्रयासमा आउने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने मौखिक बचन थिए।

खेलकुदका पदाधिकारीहरु कतिसम्म गिरेका छन् भने अहिले उनीहरु यसको दोष गोपीकै थाप्लोमा हाल्ने प्रयास गर्दै छन्। एनओसीले असार १८ पत्रकार सम्मेलन आयोजना गर्यो। कार्यक्रममा अन्त्यतिर पत्रकारलाई प्रश्न सोध्न खुला गरियो। स्वाभाविक रुपमा पत्रकारले गोपीको विषयमा प्रश्न गरे। एनओसीका उपाध्यक्ष समेत रहेका कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले यसको जवाफ दिन संघका अध्यक्ष शाहलाई समय दिए। 

जवाफ दिन अघि सरेको शाहले खेलाडीको नाम समेत सही लिन सकेनन्। उनले भने, ‘विनोद पार्कीजीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुभएको छ। तर, दुःखको साथ भन्नुपर्छ, गतवर्ष उहाँले एसियन गेममा त्यो इभेन्टमा पुरा गर्न सक्नुभएन, आधामा छोड्नु भयो। त्यो नछोडेको भए केही न केही वरियता हुन्थ्यो। अनि यसपाली म्यराथानका तोकिएको कोटाभित्र पर्नुहुन्थ्यो।’

अध्यक्ष श्रेष्ठले गोपीलाई कुनै वचन नदिएको बताए। गोपीले भने आफूलाई मौखिक रुपमा आश्वस्त पार्न खोजिएको र त्यसमा विश्वास गर्न नसक्ने बताइसकेका छन्। ‘एउटा खेलाडी जान नपाएर पदाधिकारीलाई के हुन्छ र? उनीहरुको पावर छ जे पनि गर्न सक्छन्, मेरो लागि बोलिदिने पनि कोही छैनन्,’ गोपीले भनेका छन्, ‘खेलाडीको हकहितका लागि बनेका संघहरु पनि राम्रो गर्नेलाई मात्र हामीले गरेर भएको भन्ने हो, नत्र खेलाडीको पक्षमा कोही बोल्दैनन्। यसअघिका खेलाडीले जसरी ओलम्पिक खेलेका थिए, मैले पनि त्यस्तै सोचेको हो। १३ औँ साग ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेपछि ओलम्पिकका लागि तयारी सुरु गरेको थिएँ।’

अमेरिकामा बस्दै आएका एथलेटिक्स संघका पूर्वमहासचिव सुनील राजवंशीले घटनाक्रम र संघको काम गराई हेर्दा नाम दर्ताको अन्तिम मिति गुजारेको हुनसक्ने पर्याप्त आधार देखिएको बताए। 

‘निर्धारित मितिमा कुनै खेलाडीको नाम दर्ता नभएपछि अर्को कुनै इभेन्ट्समा सहभागिता गराउन पनि आईएएएफले जुन २३ सम्मको मिति तय गरेको थियो। त्यो म्याद पनि संघ र एनओसीले गुजारेको देखिन्छ,’ उनले भनेका छन्, ‘हो म्याराथनको सहभागिता अन्तिम निर्णय आईएएएफको प्राविधिक समितिले गर्छ। उसले सहभागी गराउन नसक्ने भएको अवस्थामा जानकारी पनि दिन्छ। यदि तपाईंले समयमा खेलाडीको दर्ता नै गर्नुभएन भने त कसरी हुन्छ?’

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समन्यवकारी भूमिका निर्वाह गर्नुपर्ने एनओसी, खेलाडीका मुख्य जिम्मेवार सम्बन्धित खेलको संघ र देश भित्र खेलको अभिभावक संस्थाको रुपमा रहेको राखेपका पदाधिकारी यो विषयलाई ढाकछोप गर्न जसरी एकठाउँ उभिए, त्यसले पनि उनीहरु कति गैरजिम्मेवार छन् भन्ने स्पष्ट हुन्छ। सामान्यतः एकअर्कासँग फरक मत राख्ने तीन निकाय गोपीको विषय लुकाउन एकै ठाँउमा उभिएका छन्। कतिसम्म भने एनओसी र संघलाई स्पष्टीकरण सोध्न पनि राखेपले आवश्यक पनि सम्झेन। खेलको उन्नतिका लागि गठन गरिएका यी निकायले आखिरमा खेलाडीको भाग्यसँगै खेलवाड गरेका छन्। एउटा खेलाडीको ओलम्पिक खेल्ने सपनाको हत्या भएको छ। 

के एउटा खेलाडीले ओलम्पिक खेल्ने सपना देख्नु नै उसको दोष हो? आन्तरिक रुपमा सबै प्रक्रिया पुर्याएर पनि सम्बन्धित निकायको गल्तीका कारण त्यो अवसरबाट बञ्चित हुनु परेको छ। टोकियो ओलम्पिकबाट स्वदेश फर्किएपछि गोपीमाथि भएको अन्यायले उनीहरुलाई पोल्ला कि नपोल्ला?

यो घटनाले केही प्रश्न जन्माएको छ– खेलकुदका निकाय कसका लागि? खेल र खेलाडीको हकहितको लागि कि पदाधिकारी मोटाउने माध्यम? आगामी दिनमा खेलाडीले एनओसी, राखेप र संघलाई कसरी विश्वास गर्ने?
  
यो पनि: अन्तिम समयमा ओलम्पिकमा जान नपाउँदाको पीडामा गोपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .