बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा कुनै बेला नेपाली कांग्रेसभित्र तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्र थिए। देउवाकै कारण उनी प्रदेश सांसद हुँदै मुख्यमन्त्रीसम्म बन्न सफल भएका थिए।
२०७९ को निर्वाचनमा नुवाकोट २ (२) मा चुनाव जित्दै बागमती प्रदेशसभामा प्रवेश गरेका उनी त्यही वर्ष प्रतिनिधि सभाको चुनाव लड्न चाहन्थे।
२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका चर्चित नेता पोस्टबहादुर बोगटीलाई भारी मतान्तरले हराएर विजयी उनी प्रदेशमा झर्न चाहन्थेनन्।
तर देउवा प्रतिनिधि सभा निर्वाचनका लागि टिकट दिन तयार नभएपछि लामा प्रदेशमा झर्न बाध्य भएका थिए। त्यतिबेला मुख्यमन्त्री बनाउने सर्तमा देउवाले लामालाई प्रदेश सांसदमा लड्न राजी गराएको चर्चा चलेको थियो।
नभन्दै २०७९ को निर्वाचनमा धेरै सिट जितेर कांग्रेस बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल बन्न सफल भयो। प्रत्यक्ष २५ र समानुपातिकतर्फ १२ गरेर कांग्रेसले सबैभन्दा धेरै ३७ सिट जितेको थियो।
तर प्रदेश सभामा प्रतिनिधित्व गरेका ७ दलमध्ये ६ दलले सहमतिमै संसदीय दलको नेता चुन्दा कांग्रेसमा भने निर्वाचन भयो।
अनि कांग्रेसमा बागमती प्रदेश संसदीय दलको नेता बन्न प्रतिस्पर्धामा होमिए- देउवानिकटकै दुई सांसद कांग्रेस केन्द्रीय सदस्य लामा र प्रदेश सभापति इन्द्रबहादुर बानियाँ।
जसमा लामा विजयी भए भने बानियाँ दल नेता बन्न असफल भए। अनि २०८१ साउन ९ मा मुख्यमन्त्री बन्न सफल भएका थिए- लामा।
तर १ वर्ष ९ दिनपछि नै अर्थात् २०८२ साउन १८ मा उनी मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भए।
कारण थिए- अन्य कोही नभएर दल नेतामा पराजित आफ्नै पार्टीका सांसद इन्द्रबहादुर बानियाँ।
जसले आफ्नै पार्टीबाट बनेका मुख्यमन्त्री लामाप्रति संसदीय दलमा बहुमतको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराए। योसँगै लााले संसदीय दलको नेता पद गुमाए। अनि संसदीय दलको नेता चुन्न फेरि गरियो चुनाव।
तर यसपटक बानियाँ विजयी भएपछि लामा मुख्यमन्त्री पदबाट बाहिरिन बाध्य भए।
त्यसो यसबिच मुख्यमन्त्री पद जोगाउन लामा आफूनिकट सांसदको टोली नै लिएर सभापति देउवाको तत्कालीन निवास बुढानीलकण्ठ पटकपटक नधाएका होइनन्।
देउवाले पनि दुवै पक्षलाई राखेर आन्तरिक विवाद मिलाउन विभिन्न विकल्पमा छलफल गरेकै हुन्।
यद्यपि अन्तत: उनले लामा समूहका सांसदलाई पनि मन्त्री बनाउने सर्तमा बानियाँलाई मुख्यमन्त्री बनाउने सहमति गराए।
तर मुख्यमन्त्री बनेपछि बानियाँले देउवा निवासमा भएको भनिएको सहमतिअनुसार लामा समूहका सांसदलाई मन्त्री पनि बनाएनन्। जसमा देउवाले पनि बानियाँलाई कुनै दबाब दिएनन्।
हो, त्यही बेलादेखि बागमती प्रदेशमा दुई फ्याक भएको थियो- कांग्रेस।
एउटाको नेतृत्व लामाले गरे भने अर्को समूहको अगुवाइ बानियाँले।
यहीबिच केन्द्रमा कांग्रेसभित्र सुरु भयो- विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद।
यसै अवसरमा लामा लागे- विशेष महाधिवेशन पक्ष अर्थात् गगन थापा नेतृत्वको समूहतर्फ।
यही पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा उनी पनि सहमहामन्त्री बन्न सफल भएका छन्।
अब लामा नुवाकोटबाट प्रतिनिधि सभा निर्वाचनमा होमिने तयारीमा छन्।
तर पहिले एउटा पदमा रहेका व्यक्तिलाई टिकट दिने कि नदिने भन्ने निर्क्यौल गर्न बाँकी रहेका कारण यो विषय छलफलमै रहेको लामा निकट स्रोत बताउँछ।
Shares

प्रतिक्रिया