काठमाडौँ- हेटौँडा जोड्ने फाखेल–कुलेखानी सडकखण्ड १ महिनाको लागि बन्द हुने भएको छ। यस सडक खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका स्थित महालक्ष्मी खोलामा पुल निर्माण कार्यका कारण सडक १ महिनाका लागि बन्द हुने भएको हो।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय मकवानपुरले काठमाडौँ र मकवानपुरलाई पत्राचार गर्दै आवश्यक समन्वय तथा सहजीकरण गरिदिन अनुरोध गरेको हो।
पत्रअनुसार फर्पिङ हुँदै फाखेल–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–२ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण भइरहेको छ। सोही क्षेत्रमा आजदेखि सडक ढलानको काम सुरु भएको र चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।

दैनिक सयौं सवारी साधन सञ्चालन हुने उक्त सडकमा निर्माण कार्यका कारण सवारी आवागमन प्रभावित हुने तथा जामको समस्या बढ्ने देखिएकाले १ महिनासम्म सडक पूर्ण रूपमा बन्द गरिने जनाइएको छ।
कार्यालयले वैकल्पिक मार्गका रूपमा हेटौँडा–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक प्रयोग गर्न अनुरोध गरेको छ। उक्त सडकमार्फत दुवैतर्फको सवारी आवागमन व्यवस्थापन गर्न प्रशासन कार्यालयसँग समन्वय माग गरिएको छ।
हाल काठमाडौँ–हेटौँडा सडकखण्ड विभिन्न स्थानमा निर्माण र मर्मत कार्यलाई तीव्रता दिएको छ।
Shares

प्रतिक्रिया