बागमती


बागमती प्रदेश सभामा प्रधानमन्त्रीको राजीनामा माग

बागमती प्रदेश सभामा प्रधानमन्त्रीको राजीनामा माग

नेपालखबर
जेठ १८, २०८३ सोमबार १९:३४, काठमाडौँ

बागमती प्रदेश सभामा प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सांसदहरूले आक्रोश पोखेका छन्। सोमबार बागमती प्रदेश सभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आक्रोश पोखेका हुन्।

प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले रोष्ट्रमबाट गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रदेश सभा बैठकको विशेष समयमा अधिकांश सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गंगानारायण श्रेष्ठले नेपालले भारतको भूमि कहाँ मिचेको हो? भन्ने जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताए। आफू काठमाडौँ महानगरपालिकाको मेयर हुँदा कार्यकक्षमा विशाल नेपालको नक्सा टाँसेका प्रधानमन्त्रीले आज नेपालले भारतको सीमा मिचेको कुरा गर्नु गैर जिम्मेवारीपन भएको बताए। 

‘एक ठाउँ दुई ठाउँ होइन, नेपालले भारतको धेरै ठाउँमा सीमा मिचेको रहेछ भनेर गम्भीर आरोप लगाउनुभयो,’ श्रेष्ठले भने, ‘धेरै ठाउँ भनेको २७ सिमावर्ती जिल्लामा फैलिएको १८ सय ८० क्षेत्रफलमध्ये नेपालले कहाँ कति सीमा मिचेको हो? अनि कुन कुन ठाउँ हो? भारतीयले त गौतम बुद्ध जन्मिएको लुम्बिनी पनि भारतकै हो भन्छन्। कालापानी, लिपुलेख र लिम्पीयाधुरा पनि भारतकै हो भनिरहेका छन्। के यो सत्य हो त प्रधानमन्त्री ज्यू?’

नेकपा बागमती प्रदेश सभाका सचेतक रत्न प्रसाद ढकालले पनि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए। उनले प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई सामान्य लिन नहुने बताए। जसलाई प्रधानमन्त्रीको बोली सामान्य लागेको छ उसलाई अलिकति पनि नेपाल प्रतिको माया र नेपालीपन छैन भन्ने प्रष्ट हुने ढकालले बताए। 

‘नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिताप्रति देशको नेतृत्कर्ता अभिभावकले प्रतिनिधि सभाको रोष्ट्रममा बोलेकोप्रति सिंगो नेपाली स्तब्ध छन्,’ ढकालले भने, ‘एकपटक फेरि राष्ट्रियताका लागि प्रधानमन्त्रीज्यूले नाडी छाम्न खोजीरहनु भएको छ। उहाँलाई थाहा हुनुपर्ने हो २०१६ देखि २०१८ सम्म अंग्रेजहरूसँग वीर गोर्खालीहरूले लडेर सुगौली सन्धीपछि नेपाल बचेको थियो। संसदको नियमावलीभन्दा बाहिर गएर भारत खुसी बनाउन दिएको अभिव्यक्ति खेदजनक छ।’

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि प्रधानमन्त्रीको अभिव्यक्ति रियर्सल जस्तो मात्र भएको बताए। भारतले अहिलेसम्म हाम्रो भूमि मिचियो भनेर नबोलेको अवस्थामा प्रधानमन्त्रीले रोष्ट्रमबाट यस्तो अभिव्यक्ति दिनु इतिहासमा कालो धब्बा पोतेको नेता थपलियाले बताए। विश्वसामु छिमेकी मुलुकको सीमा मिच्ने देश भनेर दर्ज गराउनु ठिक नभएको थपलियाको भनाइ छ। 

‘प्रधानमन्त्रीज्यूलाई सम्पूर्ण नेपालीहरू माफ सदनमार्फत माफ माग्नुहुन अनुरोध गर्दछु,’ नेता थपलियाले भने, ‘बागमती प्रदेश सभामा पनि प्रधानमन्त्रीको अभिव्यत्तिप्रति खेद प्रस्ताव पारित गर्न अनुरोध गर्दछु। राष्ट्रियताको सवालमा सिंगो सदन एकजुट होस्।’

नेपाली कांग्रेसका सांसद मदुकुमार श्रेष्ठले प्रधानमन्त्रीले नेपालले भारतको भूमी मिचेको छ भनेर भारतले नेपालको मिचेको भूमी बराबर गराउन खोजेको आरोप लगाएका छन्। प्रधानमन्त्रीले आफू देशको नेतृत्वमा छु भन्ने बिर्सेर मेयरकै हैसियतमा धारणा राखेको उनले बताए। 

‘सार्वभौमसत्ता सम्पन्न देशको प्रधानमन्त्री भएर नेपालको भूमी मिचिरहेको छ भन्ने थाहा हुँदाहुँदै उल्टै भारतको भूमी नेपालले मिचेको छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति भत्सर्ना गर्दछु,’ श्रेष्ठले भने, ‘प्रतिनिधि सभा जस्तो गरिमामय रोष्ट्रममा उभिएर नेपालले भारतको धेरै भूभाग मिचेको छ भन्ने अभिव्यक्ति कसलाई खुसी बनाउन राखिएको हो?’

सांसद श्रेष्ठले पनि सदनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खेद प्रस्ताव पारित गर्न अनुरोध गरे। 

नेपाली कांग्रेसका सांसद पुकार महर्जनले पनि प्रदेश सभा बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले सीमा क्षेत्रमा विवाद र झगडा निम्त्याउन सक्ने सांसद महर्जनले बताए। प्रधानमन्त्रीका कारण राष्ट्रिय सुरक्षामाथि खतरा हुनसक्ने उनले बताए। 

‘आजसम्म भारतीय मिडिया र भारतीय उच्चपदस्थले नेपालले हाम्रो भूमी मिच्यो भनेको छैन,’ महर्जनले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई नेपालको भन्दा भारतको चिन्ता धेरै देखियो। बजेट बनाउँदा पनि नेपाली नागरिको भान्सासम्ममा करको बोझ थपिदिएको सरकारको अब कसरी विश्वास गर्न सकिन्छ?’

नेकपाकी सांसद शुस्पा भुजेलले प्रधानमन्त्रीको बोलीले नेपालीको शिर निहुरिहेको बताइन्। प्रदेश सभा बैठकको विशेष समयमा आफ्नो धारणा प्रस्तु गर्दै उनले संगीतको धुन सुनेर सरकारमा पुगेको सरकारले राष्ट्रप्रति माया नदेखाएको बताएकी हुन्।

‘तपाईं मिठो संगीतको धुन सुनेर आउनुभयो, हामी इतिहास बनाएर आयौँ,’ भुजेलले भनिन्, ‘हामी न्यायका लागि बम, बन्दुक र बारुदको आवाज सुनेर आयौँ। त्यसैले तपाईंलाई न नेपालको माया छ, न त राष्ट्रप्रेम नै। त्यसैले प्रधानमन्त्रीले हामी सबैको शिर निहुराउने काम गर्नुभयो। यो खेदजनक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad