धादिङको धुनिवेशी नगरपालिका–९ जुगेडीका ४१ वर्षका सन्तोष राई १६ भदौ २०८२ मा वैदेशिक रोजगारीका लागि कम्बोडिया लागे। छिमेकी मुलुक भारतबाट अवैधानिक रुपमा कम्बोडिया उडेका सन्तोषको लागि केही समय सहज बन्यो। ६ महिनाको भिजिट भिषामा गएका उनले विभिन्न कम्पनीमा सेक्युरिटी गार्डको काम गरे।
सुरु सुरुमा काम पनि राम्रै भयो। तर केही समयपछि उनको भिजिट भिषाको समय सकियो। कम्बोडियन सरकारले अवैधानिक तवरले काम गरेको भन्दै उनलाई ओभर स्टे फाइन तिरेपछि मात्रै नेपाल फर्कन पाउने निर्णय सुनाएको थियो। तर, कम्बोडियास्थित नेपाली राजदूतावासको पहलमा उनलाई मे १३ तारिख अर्थात् गत वैशाख ३० गते बुधबार नेपाल फर्काउने तयारी भएको थियो।
घरमा एक महिना अघि सन्तोषका बुवा कान्छा राईको समेत मृत्यु भएको थियो। घर आएर बुवाको काजकिरिया गर्ने तयारी स्वरुप नेपाल फर्कन लागेका सन्तोषको स्वास्थ्यमा मे ११ तारिख अर्थात वैशाख २८ गते अचानक समस्या देखिएपछि अस्पताल लगिएको थियो।
श्वासप्रश्वासमा समस्या देखिएका कारण अस्पताल पुर्याएको उनको हृदयघातको कारण मे १४ तारिख अर्थात् वैशाख ३१ गते कम्बोडियामै मृत्यु भयो।

उपचारका लागि अस्पतालमा लागेको खर्च पछि व्यहोर्नेगरी राजदूतावासले सहकार्य गरेको थियो। उनको उपचारमा लागेको करिब १० हजार अमेरिकी डलर नतिरेसम्म सन्तोषको शव नेपाल ल्याउन नपाइएको धुनिवेशी नगरपालिका–९ का वडाध्यक्ष माधव प्रसाद सिलवाल बताउँछन्। परिवारको आर्थिक स्थिती कमजोर भएका कारण तत्काल त्यतिधेरै रकम जुटाएर पठाउन नसकिएको अध्यक्ष सिलवालले बताए। जसका लागि समाजिक सञ्जालमार्फत चन्दा संकलन गरिरहेको उनको भनाइ छ।
यता, कम्बोडियामै अस्ताएका श्रीमान्को शवको पर्खाइमा छिन् जुनु राई। करिब १७ वर्ष नेपाल आर्मीमा जागिर खाएका सन्तोषले ३ वर्षअघि मात्रै राजीनामा दिएका हुन्। राजीनामा दिएपछि केही समय घरमै बसेका उनले भिजिट भिषामा कम्बोडिया जाने योजना बनाएका थिए। बिरामी हुनुभन्दा अघिल्लो रात जुनु र सन्तोषको भिडिओ कलमा कुरा भएको थियो।
‘वैशाख २७ गते आइतबार उहाँसँग कुरा भएको थियो, घर फर्कने दिन पनि आउनै लाग्यो भनेर खुसी हुनुहुन्थ्यो,’ जुनुले भनिन्, ‘त्यो राति कुरा गर्दा मलाई सञ्चो छैन। टाउको भारी भएर दुखिरहेको छ भन्नुभएको थियो। त्यसपछि उहाँको अवस्था गम्भीर छ। उपचारका लागि पैसा पठाइदिनुस् भनेर एकैचोटी दूताबासबाट फोन आयो।’

उनको उपचारकै क्रममा मृत्यु भयो। अहिले सन्तोषको शव नेपाल ल्याउन करिब १० हजार अमेरिकी डलर लाग्ने खबर आएको जुनु बताउँछिन्।
‘त्यतिधेरै पैसा मैले कसरी जुटाउन सक्नु, उनले थपिन्, ‘यो भनेको नेपाली १३/१४ लाख रुपैँया हुने रैछ। खातामा जम्मा ७०/८० हजार रुपैँया छ। सहयोगका लागि खाता नम्बरहरू सार्वजनिक गरिएको छ। तर सहयोग उठेको भने छैन।’
२०६८ सालमा सन्तोषसँग विवाह बन्धनमा बाँधिएकी जुनु सोही वडामा रहेको सामुदायिक विद्यालयकी बालविकास शिक्षक हुन्।
‘श्रीमान्को श्वास भेट्न नपाए पनि अन्तिम पटक लाश भएपनि हेर्न मन छ,’ उनले रुँदै भनिन्, ‘एकले थुके थुक, सयौँले थुके समुन्द्र भन्छन्। त्यसैले सबैले सहयोग गरेर मेरो श्रीमान्लाई नेपाल झिकाउन सहयोग गर्नुहुन्छ भन्ने आशा राखेकी छु।’
उनका १३ वर्षको छोरा र ८ वर्षकी छोरी छिन्। राष्ट्रिय वाणिज्य बैँकमा जुनु राईको नाममा रहेको खाता नम्बर १०८०१००००१८९५०१० मा सहयोग गर्न सकिने उनले बताइन्।

Shares

प्रतिक्रिया