मकवानपुर प्रहरीले अवैध घरेलु मदिरा उद्योगमा छापा मारेर ४ जनालाई पक्राउ गरेको छ।
आइतबार अपराह्न करिब ४ बजेतिर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकिटोलस्थित एक घरमा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
स्थानीय जगतबहादुर घिसिङको जस्ताले बनाएको घरमा सञ्चालन भइरहेको मदिरा भट्टिमा प्रहरीले खानतलासी गर्दा ठूलो परिमाणमा मदिरा, कच्चा पदार्थ तथा उपकरणहरू फेला परेको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार भट्टि सञ्चालक अन्दाजी ६० वर्षीय घिसिङसहित भट्टिमा काम गर्ने कामदारहरू चितवन कालिका नगरपालिका–७ का २३ वर्षीय सुजन तामाङ, बारा कोल्बी नगरपालिका–८ का १९ वर्षीय अजय लामा र चितवन कालिका नगरपालिका–९ का ३४ वर्षीय सुरेश प्रजालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले उक्त स्थानबाट करिब ४ हजार लिटर तयारी घरेलु मदिरा र करिब ५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जनाएको छ। साथै ८ वटा ग्यास सिलिन्डर, २ वटा भट्टे चुलो, २ बोरा चामल तथा मदिरा उत्पादनमा प्रयोग हुने प्लास्टिकका ड्रम र बोतलहरू समेत बरामद गरिएको डीएसपी बोगटीले बताए।
पक्राउ परेका व्यक्ति तथा बरामद सामग्रीसहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shares

प्रतिक्रिया