पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने दाउन्ने क्षेत्रको सडकको सास्ती यही आर्थिक वर्षभित्र हट्ने भएको छ।
दाउन्ने क्षेत्रमा पहाड कटान गरेर सडक विस्तार हुँदा पानी पर्नासाथ हिलो र घाम लाग्दा धुलो हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। तर यो बाध्यता आगामी असारभित्रै हट्ने सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले जनाएको छ।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुडाराज ढकालले दाउन्ने सडक खण्डको सास्तीपूर्ण यात्रा चालू आर्थिक वर्षभित्र अन्त्य गर्ने लक्ष्यका साथ काम भइरहेको बताए।
उनका अनुसार दाउन्ने खण्डको ११ किलोमिटर जेठ १५ गतेसम्म ढलान सक्ने गरी काम भइरहेको छ।
‘८ किलोमिटर ढलान सकिइसकेको छ। अब ३ किलोमिटर मात्र ढलान गर्न बाँकी छ’, ढकालले नेपालखबरसँग भने, ‘त्यसमा पनि आधा काम सकिसकेको छ। बाँकी काम पनि छिट्टै सम्पन्न हुन्छ।’
अब दाउन्ने सडकको पूर्वी खण्डमा ३३३ मिटर र पश्चिम खण्डमा १ हजार ७५ मिटर मात्रै दुईतर्फी ढलान गर्न बाँकी रहेको उनले जनकारी दिए।
बाँकी करिब साढे एक किलोमिटर खण्डको एकतर्फ ढलान अबको १० दिनभित्र सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ।
‘बाँकी एकतर्फी ढलान १० दिनमा सक्छौँ। ढलान सकेको २० दिनपछि मात्र गाडी चलाउन मिल्छ। ढलान सेट हुन केही समय दिनुपर्छ। गर्मी भएकाले २० दिनको समय राखेका हौँ। नत्र ३० दिन छोड्नुपर्ने हुन्थ्यो’, उनले भने, ‘ढलान भएको ठाउँबाट गाडी गुड्न थालेपछि मात्र अर्कोतर्फ काम गर्न मिल्छ।’
उनका अनुसार अबको एक महिनाभित्र ढलान सेट भएर अवरोधविना गाडी चलाउन सक्ने गरी सडक सञ्चालनमा आउनेछ। एकतर्फी गाडी सञ्चालन हुन थालेसँगै अर्कोतर्फ पनि ढलानको काम सुरु हुनेछ। लक्ष्यअनुसार काम भएमा चालू आर्थिक वर्षभित्र दाउन्ने खण्डको ढलानको काम सकिने ढकाल बताउँछन्।
नारायणगढ–बुटवल सडकको ११३ किलोमिटर खण्डमध्ये १०२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी काम पनि चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य छ।
दाउन्ने सडक खण्डमा सुरुमा ठेक्का लगाउँदा ढलान गर्ने योजना भने थिएन। तर पहाडी भूभाग भएकाले पानीले कालोपत्रे बगाउँदा भेरियसन गरेर यस खण्डमा ढलान कार्य अघि बढाइएको हो।
नारायणगढ–बुटवल सडक खण्डको अन्य भूभाग चार लेनमा विस्तार गरिए पनि जटिल भौगोलिक संरचनाका कारण दाउन्ने खण्ड भने तीन लेनमा मात्र विस्तार भइरहेको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको दुई लेनका नारायणगढ–बुटवल ११३ किलोमिटर सडक खण्डलाई फराकिलो बनाउने योजनासहित आयोजना अघि बढाइएको थियो। नारायणगढ–बुटवल सडकलाई दुई खण्ड नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटरमा विभाजन गरी दुई प्याकेजमा ठेक्का लगाइको थियो।
यी दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको हो। २०७५ माघ २३ गते ४२ महिनामा सक्ने गरी कर्पोरेसनले काम सुरु गरेको थियो। सुरुवाती सम्झौताअनुसार विस्तार कार्य २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो।
तर काम नसकिएपछि पटक–पटक गरी चार पटक म्याद थप गरिएको छ। पछिल्लो पटक २०८३ असार २४ गतेसम्म ठेक्काको म्याद थप गरिएको छ।
यो सडक कुल १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँमा ठेक्का लागेको हो। जसअन्तर्गत नारायणगढ–दाउन्ने ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटवल सडक खण्डको ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ।
यो सडक तीन भागमा सहर, जंगल तथा ग्रामीण र पहाडमा विभाजन गरी स्तरोन्नति भइरहेको छ। सहरी क्षेत्रमा सर्भिस लेनसहितको चार लेन सडक, जंगल तथा ग्रामीणमा सर्भिस लेनविनाको चार लेनको सडक र पहाडी क्षेत्रमा तीन लेनको सडक निर्माण भइरहेको छ।
निर्माणपछि एक लेन साढे ३ मिटरको हुनेछ। उकालो चढ्ने सवारीका लागि दुई लेन र ओरालो झर्ने सवराीका लागि एक लेन मात्र निर्माण भइरहेको छ।
Shares

प्रतिक्रिया