आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर–१ मा राजनीतिमा निखारिएकादेखि पहिलो इन्ट्री गर्नेहरूसम्मको चुनावी भीडन्त हुने भएको छ।
मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित उज्यालो नेपाल पार्टी (उनेपा) र श्रम संस्कृति पार्टीका उम्मेदवारहरू समेत चुनावी मैदानमा छन्।
मकवानपुर–१ मा उम्मेदवारी दर्ता गराएका २३ जना मध्ये मुख्य प्रतिस्पर्धीको रुपमा कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना), एमालेका रामेश्वर राना, राप्रपाका दीपक बहादुर सिंह, नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतमलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ।
५ जना मध्ये राजनीतिमा खारिएका व्यक्ति हुन्, कांग्रेसकी डीना, राप्रपाका सिंह र एमालेका राना। बाँकी दुई जना नयाँ अनुहार हुन्।
दोस्रो महाधिवेशन अघि नेपाली कांग्रेसको सह–महामन्त्रीको जिम्मेवारीमा रहेकी डीना राजनीतिमा प्रखर छिन्। पार्टीको पदाधिकारी समेत बनिसकेकी डीना जनमतमा भने सधैँ पछाडि पर्दै आएकी छिन्। उनको यो पाँचौ पटकको प्रतिस्पर्धा हो। यसअघिका ४ वटा निर्वाचनमा हार व्यहोरेकी डीना दुई पटक समानुपातिक तर्फबाट सांसद बनेर राज्यमन्त्री समेत भएकी थिइन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनेकी उनले राप्रपाका दीपक बहादुर सिंहसँग पराजित हुन पर्यो। गठबन्धन हुँदाहुँदै पनि राप्रपासँग पराजित भएपछि कांग्रेसकै केही नेताहरू आफूलाई हराउन लागेको आरोप उनले लगाएकी थिइन्। तर आगामी निर्वाचनमा भने मकवानपुर कांग्रेस बलियो बनेर मैदानमा उत्रिएका कारण जीत सुनिश्चित रहेको दाबी गर्छिन्।
यता, एमालेका रामेश्वर राना सबै उम्मेदवारभन्दा निखारिएका र पाका उम्मेदवार हुन्। तत्कालीन मालेदेखि राजनीतिमा लागेका राना शालिन, त्यागी र संगठन बुझेका पाका नेताको छवि बनाएका छन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमै जिल्लाले उम्मेदवारको रुपमा अघि सारेकोमा पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पार्टीको चुनाव चिह्न दिएका थिए।
थापाले टिकट पाएपछि ‘ब्याक’ भएका राना यो पटक चुनावी मैदानमा छन्। जिल्ला विकास समितिको सभापतिको अनुभव भएका रानाको संसदीय यात्रा भने पहिलो हो। सधैँ एकअर्का दलसँग गठबन्धन गरेर चुनाव हुँदै आएकोमा यो पटक एक्लाएक्लै चुनाव लड्दा रानाकै जीत हुने एमाले नेताहरूको दाबी छ।
यता, नेकपाबाट उम्मेदवार बनेका विजय गौतम मकवानपुरे मतदाताको लागि नयाँ अनुहार हुन्। नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा श्रेष्ठको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेका गौतमले केन्द्रका नेताकै बलमा टिकट हात पारेको भन्दै जिल्लास्थित नेकपाका केही नेताहरू असन्तुष्ट छन्। तथापि, युवा उम्मेदवारका कारण गौतमको पक्षमा युवा जमातको मत खस्ने आकलन नेकपाको छ।
जिल्लाका हेभीवेट नेताहरूसँग चुनावी मैदानमा उत्रिएका गौतमको संसदीय निर्वाचन प्रक्रियामा यो पहिलो सहभागिता हो। जेन–जी आन्दोलनपछि मतदाताहरूले युवा उम्मेदवारको खोजी गरेको भन्दै आफूलाई पार्टीले उम्मेदवार बनाएको उनी बताउँछन्।
त्यसोत, यी प्रमुख ४ दलका लागि रास्वपा चुनौती बन्ने देखिन्छ। पछिल्लो समय घण्टीको बढ्दो लोकप्रियताका कारण रास्वपाका उम्मेदवार प्रकाश गौतम ठूला दलहरूका लागि चुनौती बन्न सक्ने आकलन गरिएको छ। रास्वपा मकवानपुरका उपसभापति समेत रहेका गौतम पनि नयाँ अनुहार हुन्। होटल व्यवसायी गौतम रास्वपामा लागेर संगठन विस्तारतर्फ केन्द्रित छन्।
अघिल्लो पटकको निर्वाचनमा मकवानपुरको दुवै क्षेत्रमा उम्मेदवार उठाएको रास्वपाले जीत निकाल्न सकेको थिएन। तर समानुपातिक तर्फ भने जिल्लामै तेस्रो भएको थियो। कुल १ लाख ७७ हजार ८५८ मतमा रास्वपाले २९ हजार ८८९ मत प्राप्त गरेको थियो।
समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो भएको थियो। यो पटक समानुपातिकमा आएको मतलाई प्रत्यक्षतर्फ समेत तान्ने राणनीतिमा रास्वपा जुटेको छ। जसका लागि हरेक स्थानीय तह देखि वडा/वडामा कमिटी गठन गरेर कार्यकर्ताको संख्या बढाएका कारण मकवानपुर–१ मा रास्वपमा उम्मेदवार गौतम पुराना दलका नेताहरूको लागि चुनौती बन्ने देखिन्छन्।
कसको पल्लाभारी?
यो क्षेत्र २०७९ अघि एमालेले जित्दै आएको क्षेत्र हो। २०७४ मा एमालेका कृष्णप्रसाद दाहाल विजयी भएका थिए भने २०७९ मा कमल थापालाई उठाउँदा एमालेले हार भोगेको थियो।
गत निर्वाचनमा एमालेको चुनाव चिह्नबाट थापाले लोकप्रिय मत पाएका थिए। यो पटक आफ्नै नेता उम्मेदवार पाएपछि जिल्लाका नेताकर्ताहरूमा उत्साह थपिएको एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा बताउँछन्।
रानाको टिकट खोसेर थापालाई दिएपछि पार्टी कार्यालयमा ताला लगाउनेसम्मको विवाद सिर्जना हुँदा पनि थापाले २५ हजार ४२० मत प्राप्त गरेका थिए। यही मतलाई आधार मानेर एमालेले यस क्षेत्रमा भत्किएको आफ्नो विरासत फिर्ता ल्याउने योजनासहित चुनावी मैदानमा होमिएको छ।
२०७९ को निर्वाचनमा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह विजयी भएका थिए। पटक/पटक निर्वाचनमा हार व्यहोरेका सिंहको त्यो पहिलो जित थियो। यो पटक पनि उनै सिंह चुनावी मैदानमा छन्। २७ हजार ८१६ मत ल्याएर विजयी भएका सिंहले गठबन्धनकी उम्मेदवार डीनालाई २ हजार ३८२ मतान्तरले पराजित गरेका थिए। गत निर्वाचनकै विरासत जोगाउन सिंहको दौडधुप सुरु भैसकेको छ।
तत्कालीन अवस्थामा कांग्रेसकी उम्मेदवार डीनासँग असन्तुष्ट नेताहरूले आन्तरिक रुपमा राप्रपालाई मत दिन अभियान नै चलाएको कांग्रेसका एकथरी नेताहरूको आरोप छ।
उतिबेला दोस्रो भएकी डीना यो पटक जसरी पनि जित्ने राणनीतिमा छिन्। नेपाली कांग्रेस बागमती सभापति ईन्द्रबहादुर बानियाँले निर्वाचनमा हराएको आरोप लगाउँदै आएकी उनलाई उम्मेदवारी दर्ता गराउन बानियाँले नै हात समातेर मुख्य निर्वाचन अधिकृतको कार्यालय लगेका थिए। बानियाँको साथले डीनाको विजयको यात्रा सुरु भएको जिल्लाका कांग्रेस नेताहरू बताउँछन्।
Shares

प्रतिक्रिया