बागमती


एमाले दोलखामा विद्रोह, पार्वत गुरुङलाई एकल सिफारिस गरेपछि १० जिल्ला सदस्यले दिए राजीनामा

कालिञ्चोक गाउँ कमिटीको पनि विद्रोहमा साथ
एमाले दोलखामा विद्रोह, पार्वत गुरुङलाई एकल सिफारिस गरेपछि १० जिल्ला सदस्यले दिए राजीनामा

सुनिता विष्ट
पुस २०, २०८२ आइतबार १८:५४, हेटौँडा

नेकपा (एमाले) दोलखामा विद्रोह भएको छ।

आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्वत गुरुङको नाम बहुमतका आधारमा एकल सिफारिस गरेपछि जिल्ला कमिटीका १० जना सदस्यले पार्टीबाट विद्रोह गरेका हुन्।

उम्मेदवारका आकांक्षी नेता बालकृष्ण शिवाकोटीले जिल्ला कमिटीका उपसचिवसहित १० जना जिल्ला सदस्यले विद्रोह गरेको जानकारी दिए। 

उनका अनुसार पार्वत गुरुङलाई गरिएको सिफारिसविरुद्ध कालिञ्चोक गाउँ कमिटीले समेत विद्रोहलाई साथ दिएको छ।

‘पार्वत गुरुङको निर्देशनमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले नियोजित ढंगले नाम सिफारिस गर्नुभयो। त्यसका विरुद्ध जिल्ला कमिटीका उपसचिव हरि ओलीसहित १० जिल्ला सदस्यले विद्रोह गर्नुभएको छ’ सिवाकोटीले नेपालखबरसँग भने, ‘त्यसका साथै कालिञ्चोक गाउँकमिटीले विद्रोह गरेको छ। त्यहाँबाट जिम्मेवारीमा रहेका सबै साथीहरूले जिम्मेवारी परित्याग गर्नुभएको छ।’

नेता सिवाकोटीका अनुसार जिल्ला कमिटीका उपसचिव हरि ओली, सदस्यहरू गणेश सिवाकोटी, ईश्वरी दाहाल, निलकुमार खुलाल, सविना पाण्डे, श्यामसुन्दर सिवाकोटी, प्रल्हाद लामिछिाने, ईन्द्र थामी, सुवास थामी, होम थामी, कुमार बस्नेत, विक्रम खड्का राधा चापागाई र रमा सिवाकोटीले जिल्ला कमिटीको निर्णय विरुद्ध विद्रोह गरेका हुन्। 

यस्तै, कालिन्चोक गाउँ कमिटीका अध्यक्ष गणेश सिवाकोटी, सचिव सुवाश थामी लगायत गाउँ कमिटीका सबै पदाधिकारी र सो गाउँपालिकामा रहेका एमालेका सबै जिम्मेवार पदाधिकारीले विद्रोह गरेका छन्।

आइतबार बसेको जिल्ला कमिटी बैठकले बहुमतका आधारमा गुरुङको नाम सिफारिस गरेको हो। आज बसेको जिल्ला कमिटी बैठकबाट बहुमतका आधारमा गुरुङको नाम सिफारिस गरेर प्रदेशमा पठाइएको एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए।

एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा धेरैजना आकांक्षीहरूबीच गुरुङको नाम मात्रै सिफारिस गरेपछि असन्तुष्टि प्रकाट भएको हो।आकांक्षीमध्ये धेरैजसोले नाम फिर्ता लिए पनि गुरुङ र बालकृष्ण शिवाकोटी दुवैजनाले दाबी गरिरहेका थिए।

१०१ सदस्यीय कार्यसमितिको बहुमतको आधारमा गुरुङको नाम सिफारिस गरिएको थियो।

११ औं महाधिवेशनबाट खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित गुरुङ यसअघि एमालेको पोलिट्ब्यूरो सदस्यको जिम्मेवारीमा थिए।

२०७४ सालको निर्वाचनमा दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ सूचना तथा सञ्चारमन्त्री समेत बनेका थिए। केपी ओली नेतृत्वको सरकारमा उनले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सञ्चार मन्त्रालय गरी दुई वटा मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका थिए। ओली नेतृत्वको सरकारमा सरकारको प्रवक्ताको जिम्मेवारी पाएका गुरुङ ओलीका विश्वासपात्र मानिन्छन्।

पार्टीबाट विद्रोह गरेपछि पत्रकार सम्मेलन गर्दै उम्मेदवार आकांक्षी नेता सिवाकोटीले नियोजित ढंगले जिल्ला अध्यक्षले पार्वत गुरुङको नाम सिफारिस गरिएको बताए। उनले आफूसहित रचना खड्का, श्याम बस्नेत, डबल पाण्डे लगाएतले उम्मेदवारमा आकांक्षा जनाउँदा जनाउँदै एकलौटी ढंगमा जिल्लाका पार्टी नेतृत्व तहले निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरे।

शिवाकोटी पनि एमाले अध्यक्ष केपी शर्मा ओली निकटका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad