चितवनको राप्ती नगरपालिका-३ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाए।
हेटौंडाबाट नारायणगढका लागि छुटेको ०३-००१ ज २९९ नम्बरको इभी भ्यान र धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस आपसमा ठक्कर खाँदा इभी भ्यानमा सवार ७ जनाको मृत्यु भयो।
जसमध्ये हालसम्मको अवस्थामा ६ जनाको मात्रै शनाखत भएको छ।
चितवन प्रहरीका अनुसार सनाखत हुनेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल, हेटौंडा-४ का ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर-६ की ३१ वर्षीया सिता कुमारी, इभी भ्यान चालक हेटौंडा -१० का राजु थिङ रहेको चितवन प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए।
दुर्घटनामा मृत्यु भएकाहरुमध्ये ४ जना मकवानपुरका रहेका छन्। जसमध्ये पनि तीन जना एउटै परिवारको रहेको पाइएको छ। मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल तीनै जनाको मृत्यु भएको डीएसपी खनालले बताए।
यता, हेटौंडा उपमहानगरपालिका-५ का वडाध्यक्ष शुशिल घिमिरेका अनुसार उनीहरु रेनुकाको प्रसुती गराउन भरतपुर अस्पताल जाँदै थिए। आइतबारको डेलिभरी (बच्चा पाउन) रहेकी रेनुकालाई उनको श्रीमान् र सासुआमाले अस्पताल लैजाने क्रममा दुर्घटनामा परेको वडाध्यक्ष घिमिरेले बताए।
उनीहरुको शव यतिबेला पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एउटा शवको भने पहिचना हुन सकेको छैन।
Shares

प्रतिक्रिया