राजनीति


ब्रिटिस गोरखालाई वंशजको आधारमा नै नागरिकता दिनुपर्छ : भट्टराई

ब्रिटिस गोरखालाई वंशजको आधारमा नै नागरिकता दिनुपर्छ : भट्टराई

नेपालखबर
असार ७, २०८२ शनिबार १९:२४, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिस गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने उल्लेख गरे।

हिम्मत र शाहस भए ब्रिटिस गोरखा भर्ती बन्द गर्न आग्रह र्दै भट्टराईले संसारमा राष्ट्रिय राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता हुने जिकिर गरे।

‘नागरिकताको विषयमा नेपालमा असाध्यै बुझाईको अल्पता छ,’ उनले भने, ‘हाम्रो गहिराईमा गएर कुनैपनि चिजलाई बुझ्ने, विश्वको पछिल्लो प्रवृत्तिसँग आत्मसाथ गर्ने र त्यसअनुसार आफ्नो पदचाप मिलाउने कुरामा हामी हमेसा चुकेका छौँ। नागरिकता भनेको चिज सबैभन्दा महत्वपूर्ण विषय हो। राष्ट्रिय राज्य नै भएनन् भने बेग्लै कुरा। जतिबेलासम्म संसारमा राष्ट्रिय राज्य रहन्छन्, तबसम्म प्रत्येक मानिसको नागरिकता हुन्छ।’

भट्टराईले थपे, ‘उसले रगतको आधारमा जुन प्राप्त गर्ने अधिकार हुन्छ, त्यो कसैले खोज्न सक्दैन। एलन मस्कको तीन वटा देशको नागरिकता छ। बाउ दक्षिण अफ्रिाकाको भएकाले वंशजको आधारमा नागरिकता छ। आमा क्यानडेली भएकाले वंशजको आधारमा नागरिकाता छ। पछि अमेरिकामा गएर बसोवास गरे, त्यहाँ उनको अंगीकृत नागरिकता छ।’

उनले नेपालकै नागरिकको नागरिकता खोस्ने अधिकार कसैलाई नरहेको समेत बताए। ‘एकातिर हामीले आफ्नो देशको नागरिकलाई पठाउने, कि त पठाउनै हुँदैन थियो,’ भट्टराईले भने, ‘हाम्रो हिम्मत र शाहस छ भने गरौँ, होइन भने उनीहरु त्यहाँ जाने, त्यत्रो योगदान गर्ने, उनीहरुले प्रकारान्तले नागरिकता खोस्नेकुरा भएको छ। त्यसलाई सच्याऔँ। नत्र भने हाम्रै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार हामीलाई छैन। यो लोकतन्त्र हो। सबैले लडेर ल्याएको। संविधानमै कसैलाई पनि नागरिकताबाट वञ्चित गर्न सकिँदैन भनेर लेखिएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad