बागमती


हेर्दाहेर्दै खाल्डोमै बिलायो गाडी, चालक र सहचालकले भागेर जोगाए ज्यान

शुक्रबार साँझ भासिएर हराएको गाडी अझै भेटिएन
हेर्दाहेर्दै खाल्डोमै बिलायो गाडी, चालक र सहचालकले भागेर जोगाए ज्यान

भासिएर गाडी हराएको हिले खाल्डो।


सुनिता विष्ट
बैशाख २०, २०८२ शनिबार १३:४२, हेटौँडा

हेटौँडामा डीआई गाडी हिलोसहितको खाल्डोमा दबिएर हराएको छ। 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ र १७ को सिमानामा पर्ने गौरीगाउँमा माछाको दाना लिन हेटौँडा बजारतर्फ आउन लागेको गाडी खाल्डोमा भासिएर हराएको हो। 

माछा पालिएको पोखरीको छेउमा रहेको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डीआई गाडी निकाल्ने क्रममा झन्‌झन् भित्र पसेर नदेखिने भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। 

सुरुमा उक्त गाडीमा चालक र सहचालक थिए। गाडी दबिँदै गएपछि उनीहरू गाडीबाट निस्किएर ज्यान जोगाउन सफल भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार उक्त गाडी ५ सेकेन्डभित्र खाल्डोमै हराएको थियो।

स्थानीय मानिसका अनुसार त्यहाँ बोरिङको लागि खाल्डो खनिएको थियो।

पानी ननिस्किएपछि छाडिएको सानो खाल्डोमा गाडी दबिएर हराएको उनीहरूको भनाइ छ।

बोरिङ खनेर छाडिएको ठाउँमा जमिन भासिँदा गाडी दबिएको स्थानीय बताउँछन्। 

शुक्रबार साँझ ५ बजेतिर भासिएर हराएको गाडी अझै फेला परेको छैन।

स्थानीय, प्रहरी र जनप्रतिनिधि उक्त गाडी खोजीमा जुटिरहेको डीएसपी अर्यालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad