बागमती


स्वकीय सचिव मृत्यु प्रकरण: विपक्षी दलले मागे सहकारी मन्त्रीको राजीनामा

स्वकीय सचिव मृत्यु प्रकरण: विपक्षी दलले मागे सहकारी मन्त्रीको राजीनामा

सहकारी मन्त्री मदुकुमार श्रेष्ठ र स्वकीय सचिव रवि थापा


नेपालखबर
फागुन १५, २०८१ बिहिबार १२:११, हेटौँडा

बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा निधनबारे निष्पक्ष छानबिनका लागि प्रदेशसभाका विपक्षी दलहरूले मन्त्री श्रेष्ठको राजीनामा मागेका छन्। 

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिनका लागि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग गरेका हुन्।

विज्ञप्तिमा नेकपा एकीकृत समाजवादीका सांसद वसन्त प्रसाद मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक कुमारी तामाङ र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले हस्ताक्षर गरेका छन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको उल्लेख गरिए पनि ‘सुसाइड नोट’ र अडिओ रेकर्डमा मन्त्रीश्रेष्ठसहित अन्य केही व्यक्तिको नाम रहेकाले तिनलाई पनि छानबिनको दायरामा ल्याउन उनीहरूले माग गरेका छन्। 

विज्ञप्तीमा भनिएको छ, ‘मृतक रवि थापाको अकल्पनीय मृत्युपछि प्रहरीले फेला पारेको सुसाइड नोट भनिएको पत्र तथा सहकारीसम्बन्धी मृतक रविको बाहिरिएको अडिओ रेकर्डमा मन्त्री मदुकुमार श्रेष्ठलगायत नेताहरूको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आशयका समाचार आदिले घटनालाई रहस्यमय बनाएको छ। हामी यस घटनाको निष्पक्ष छानबिनका लागि सहज वातावरण निर्माण गर्न मा. मन्त्री मदुकुमार श्रेष्ठको राजीनामा माग गर्दछौँ।’

छानबिन प्रक्रिया स्वतन्त्र र निष्पक्ष बनाउन मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनीहरूको जिकिर छ।

प्रदेशसभाका तीन विपक्षी दलले यस घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै सबै कोणबाट घटना छानबिन हुन जरुरी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। 

‘यस घटनाको प्रदेश स्तरमा संसदीय छानबिन समिति बनाई वास्तविकता बाहिर ल्याउनु पर्दछ। त्यसैले हामी प्रदेशसभाको बैठक अविलम्ब सञ्चालन गरी रवि थापा मृत्युसम्बन्धी सर्वदलीय संसदीय छानबिन समिति निर्माण गर्नका लागि प्रदेशसभाको बैठक तत्काल सुचारु गरी छानबिन समिति गठन गर्न माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

धादिङको धुनिबेँसी नगरपालिका-९, निवासी सहकारी मन्त्रीका स्वकीय सचिव ३६ वर्षीय रवि थापा विष पिएको अवस्थामा मृत भेटिएका थिए। उनको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको हो।

सहकारी गिरोहले आफूलाई मर्न बाध्य बनाएको उल्लेख गरिएको सुसाइड नोट उनको साथमा फेला परेको प्रहरीले जनाएको छ। 

ललितपुरमा रहेको सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिडेटका पूर्वसचिव विनोद आचार्यसँग कुरा गरेको अडिओ बाहिरिएपछि आफू ज्यान फाल्न बाध्य भएको कुरा सुसाइड नोटमा लेखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad