बागमती


एमाले सांसद तामाङ जोडिएको नेसनल नमोबुद्धसहित बागमतीमा ३ सहकारी सिल, ८ वटालाई अल्टिमेटम

एमाले सांसद तामाङ जोडिएको नेसनल नमोबुद्धसहित बागमतीमा ३ सहकारी सिल, ८ वटालाई अल्टिमेटम

बागमती प्रदेशको सहकारी मन्त्रालय र सांसद ज्ञानबहादुर तामाङ


सुनिता विष्ट
पुस २९, २०८१ सोमबार १८:२८, हेटौंडा

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको सहकारी महाशाखाले तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ। आइतबार तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेर सिल गरिएको सहकारी महाशाखाका रजिष्ट्रार कमल तामाङले बताए।

उनका अनुसार ललितपुरमा रहेको लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौंमा रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र काठमाडौंमै रहेको नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गर्दै सिल गरिएको छ।

नेसनल नमोबुद्ध सहकारीका तत्कालीन अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीको रकम अपचलन गरेर अध्यक्ष पदबाट बाहिरिएको आरोप छ। २०७२ सालदेखि २०७८ सालसम्म सो सहकारीको अध्यक्ष पद सम्हालेका तामाङ बाहिरिएपछि सहकारीको रकम अपचलनको तथ्य खुलेको हो। हाल बागमती प्रदेश सभा सांसद रहेका तामाङले अध्यक्ष पद छोडेलगत्तै केही बचतकर्ताहरूले प्रदेशको राजधानी हेटौंडास्थित सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएका थिए। २०७९ पुस २९ गते सम्पन्न २२ औँ वार्षिक साधारणसभाबाट राजकुमार लामालाई अध्यक्ष चयन गर्दै तामाङ बिदा भएका थिए।

लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताले आफ्नो बचत रकम अपचलन गरेको भन्दै ९७२ जनाले उजुरी दिएका थिए। उजुरीमा उल्लेखित भएको माग दाबी रकम १ अर्ब ६१ करोड ९९ लाख ७५ हजार रुपैयाँ छ। सहकारीले बचतकर्ताहरूको रकम फिर्ता दिन सक्ने प्रमाण पेस गर्न नसकेपछि उक्त सहकारी सिल गरिएको प्रदेशको सहकारी महाशाखाले जनाएको छ ।​

यस्तै, सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड विरुद्ध ८४८ जनाले उजुरी दिएका थिए। उजुरीको आधारमा उल्लेखित २ अर्ब २५ करोड १४ लाख रुपैयाँ बचत फिर्ताको माग गर्दै बचतकर्ताहरूले सहकारी महाशाखामा विभिन्न मितिमा उजुरी दर्ता गराएकोमा सञ्चालकहरूले सहकारीको कार्ययोजना तथा छलफलमा सहभागी नै नभएका कारण उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सिल गरिएको बताइएको छ।

ललितपुरको पुल्चोकमा कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका संस्थापक भरत महर्जनसहितले १० अर्ब बढी बचत हिनामिना गरेको आरोप छ। २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी थालेको थियो। महर्जनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर निजी कम्पनीहरू खडा गरेको खुलेको थियो।

यता, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि समस्याग्रस्त सहकारी घोषणा गरिएको छ। सहकारीका पूर्वअध्यक्ष तथा बागमती प्रदेश सांसंद ज्ञानबहादुर तामाङले रकम अपचलन गरेको भन्दै बचतकर्ताहरूले सहकारी महाशाखामा उजुरी दिएका थिए।

बचत फिर्ताको माग गर्दै ७२ जनाले उजुरी दिएकोमा सहकारी संस्थामा दायित्व भन्दा सम्पत्ति कम देखिएको तथा सहकारी संस्थाका सञ्चालकले बचत फिर्ताको विषयमा चित्तबुझ्दो काम नगरेका कारण समस्याग्रस्त सहकारी घोषणा गरिएको रजिष्ट्रार तामाङले बताए।

१ अर्ब ५० करोड दायित्व भएको नेसनल नमोबुद्धको सम्पत्ति ६० करोड मात्रै पाइएको थियो। सहकारी महाशाखाले खोजतलास गर्ने क्रममा ७० प्रतिशत ऋण प्रवाह बिना धितोमा गरेको पाइएको बताइएको छ।

अरु सम्पत्ति कहाँ कति छ भन्ने विषयमा सञ्चालक समितिले उत्तर नै दिन नसकेपछि समस्याग्रस्त सहकारी घोषणा गरेर सिल गरिएका प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठले बताए।  

८ सहकारीलाई अन्तिम अल्टिमेटम
त्यसोत, सहकारी महाशाखाले  ८ वटा सहकारीमाथि छानबिन सुरु गरेको छ। काठमाडौँमै रहेको जेष्ठ बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १५ दिन भित्र सम्पूर्ण सम्पत्तिको विवरण सहकारी महाशाखामा पेस गर्न निर्देशन दिइएको मन्त्री श्रेष्ठले बताए।

‘बचतकर्ताहरूको रकम कसरी फिर्ता दिन सकिन्छ? भन्ने विषय खुलाएर प्रमाण देखिने गरी क्यूआर समेत बनाएर १५ दिन भित्र उपस्थित हुन निर्देशन दिएका छौं,’ मन्त्री श्रेष्ठले भने।

उक्त सहकारीले आफ्नो बचत रकम अपचलन गरेको भन्दै १७ जना बचतकर्ताहरूले उजुरी दिएका छन्।

यस्तै, क्यापिटल सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडलाई ७ दिनको समय दिइएको उनले बताए। मन्त्री श्रेष्ठका अनुसार यस सहकारी विरुद्ध ११० जनाले सहकारी महाशाखामा उजुरी दिएका छन्।

गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि छिट्टै सहकारी महाशाखाको सम्पर्कमा आउन निर्देशन दिइएको उनले बताए। उक्त सहकारीले ११ करोड २ लाख ६२ हजार ६३७ रुपैयाँ बचत फिर्ताको माग गर्दै १ सय ९ जनाले उजुरी दर्ता गराएका थिए। तर सहकारी सञ्चालकले व्यवास्ता गरेको भन्दै सहकारी महाशाखाले आफ्नो सम्पर्कमा आउन निर्देशन दिइएको हो।

यस्तै, काठमाडौंमै रहेको संकटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई संस्थाको सम्पत्ति देखाउने तथा पैसा फिर्ता गर्ने प्रमाण सहितको कागजात ल्याउन निर्देशन दिइएको बताइएको छ। सहकारी सञ्चालकले दुई महिना भित्र एक बचतकर्ताको ५ लाख रुपैयाँ बचत फिर्ता गर्छौं भन्ने सर्त गरेको कारण दुई हप्ताको समय दिइएको मन्त्री श्रेष्ठले बताए।

संकटा सहकारी विरुद्ध १४ जनाले दिइएको उजुरीमा उल्लेखित रकम अनुरुप ६३ करोड ५ लाख ५८ हजार रुपैयाँ बचत फिर्ताको माग गर्दै सहकारी महाशाखामा उजुरी दिएका थिए।

शुक्रपथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि छिट्टो सहकारी महाशाखाको सम्पर्कमा आउन पत्र काटिएको छ। २ करोड २५ लाख ६ हजार रकम फिर्ताको माग गर्दै २० बचतकर्ताहरूले उजुरी दिएका थिए।

यता, ब्रिटिश गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि एक हप्ताभित्र सम्पत्तिको सम्पूर्ण रेकर्डहरू उपलब्ध गराउन निर्देशन दिइएको छ। उक्त सहकारी विरुद्ध २४४ जनाले रकम फिर्ताको माग गर्दै उजुरी दिएका थिए।

यता, संघीय सरकारले समेत छानबिन गरिरहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि सम्पत्तिको विवरण पेस गर्न भनिएको मन्त्री श्रेष्ठले बताए।

यस्तै, सुविधानगर जगदम्बा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको समेत छानबिन गरिरहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad