बागमती


एमाले सांसद तामाङमाथि नमोबुद्ध सहकारीको दुई अर्ब हिनामिना आरोप

एमाले सांसद तामाङमाथि नमोबुद्ध सहकारीको दुई अर्ब हिनामिना आरोप

सहकारीका तत्कालीन अध्यक्ष तथा बागमती प्रदेश सांसद ज्ञानबहादुर तामाङ


सुनिता विष्ट
कात्तिक १४, २०८१ बुधबार १६:४७, हेटौंडा

काठमाडौंमा रहेको नेसनल नमोबुद्ध सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेको छ।

सहकारीका तत्कालीन अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीको रकम अपचलन गरेर अध्यक्ष पदबाट बाहिरिएको आरोप लागेको हो।

२०७२ सालदेखि २०७८ सालसम्म सो सहकारीको अध्यक्ष पद सम्हालेका तामाङ बाहिरिएपछि सहकारीको रकम अपचलनको तथ्य खुलेको हो।

हाल बागमती प्रदेश सभा सांसद रहेका तामाङले आफू सहकारीको अध्यक्ष हुँदा बचतकर्ताहरूको रकम हिनामिना गरेको पीडितले दिएका निवेदनहरूमा उल्लेख छ। उनले अध्यक्ष पद छोडेलगत्तै केही बचतकर्ताहरूले प्रदेशको राजधानी हेटौंडास्थित सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएका थिए।

२०७९ पुस २९ गते सम्पन्न २२ औं वार्षिक साधारणसभाबाट राजकुमार लामालाई अध्यक्ष चयन गर्दै तामाङ बिदा भएका थिए।

२०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा नेकपा एमालेको तर्फमा काभ्रेबाट समानुपातिक सांसद निर्वाचित भएपछि तामाङले सहकारीको अध्यक्ष पद छोडेका थिए। मंसिरमा सांसद बनेका उनले पुसमा सम्पन्न साधारणसभामा यसअघि सचिव रहेका राजकुमार लामालाई अध्यक्ष पद सुम्पेका हुन्।

तामाङले सहकारीको नेतृत्व छोडेको ६ महिना नबित्दै बचतकर्ताहरू आफ्नो रकम फिर्ताका लागि आन्दोलनमा समेत उत्रिएका थिए। आन्दोलनको कुनै असर नपरेपछि उनीहरूले सहकारी रजिस्ट्रार कार्यालय, हेटौँडामा उजुरी दिएका हुन्।

२०८० भदौदेखि चैत महिनाको बीचमा पीडित बचतकर्ताले रकम फिर्ता माग्दै उजुरी दिएको पाइएको छ। २०८० भदौ २९ गते ९ जना बचतकर्ताले आफ्नो रकमको फिर्ताका लागि सहजीकरण गरिदिन निवेदन दिएका थिए। यस्तै, २०८० असोज १५ गते ३२ जना बचतकर्ताले आफ्नो २ करोड ३३ लाख ३९ हजार रुपैयाँ बचत फिर्ताका लागि सामूहिक उजुरी दर्ता गराएका थिए।

यसरी हालम्म सामूहिक र एकल गरी यस सहकारीको अपचलनविरुद्ध ४ वटा उजुरी परेको सहकारी रजिस्ट्रार कार्यालयका कानुन अधिकृत मनोज गुप्ताले जानकारी दिए।

त्यसो त यस नेसनल नमोबुद्ध सहकारीले बचतकर्ताको २ अर्ब रुपैयाँ अपचलन गरेर फिर्ता नदिएको आरोप खेपिरहेको छ। कतिपय पीडितले खुलेर उजुरीसमेत गर्न सकिरहेका छैनन्।

यता, बागमती प्रदेश सभा सांसद समेत रहेका सहकारीका तत्कालीन अध्यक्ष ज्ञानबहादुर तामाङ आफूले सहकारी सञ्चालन गर्दा कुनै समस्या नै नभएको जिकिर गर्छन्। आफूले छोडेपछि भएको अपचलन र बचत फिर्ताको विषयमा आफ्नो कुनै हात नहुने उनको दाबी छ।

तामाङले भने, ‘मैले २२ औं साधारणसभाबाटै छोडेको थिएँ। वर्तमान अध्यक्ष राजकुमार (लामा) जी हुनुहुन्छ। उहाँको नाम कतै जोडिएको छैन। जता पनि मेरै नाम आउनु नै गलत हो।’

उनले थपे, ‘सहकारी अहिले पनि सञ्चालनमै छ। सहकारी विभागलाई बुझाएको रिपोर्ट हेर्ने हो भने पनि जम्मा १ अर्ब ३० करोड बराबरको मात्रै उक्त सहकारीको पुँजी हो। जताततै २ अर्ब हिनामिना भयो भन्दै आउनुमा नै आपत्ति छ। सहकारीको सम्पत्ति त्यति पुगेको छैन, जति अपचलन भयो भन्ने हल्ला फैलिएको छ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad