बागमती


विशेष अदालतले ५ वटा भ्रष्टाचार मुद्दामा एकसाथ सफाइ दियो, लगत्तै घुससहित समातिए साह

विशेष अदालतले ५ वटा भ्रष्टाचार मुद्दामा एकसाथ सफाइ दियो, लगत्तै घुससहित समातिए साह

सुनिता विष्ट
कात्तिक ९, २०८१ शुक्रबार २०:०, हेटौँडा

विशेष अदालतले पाँचवटा भ्रष्टाचार मुद्दामा एकसाथ सफाइ दिएका एक अधिकृत घुससहित रंगेहात पक्राउ परेका छन्।

ती हुन्, बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु।

उनलाई सेवाग्राहीसँग ७८ हजार रूपैयाँ  घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले बिहीबार (हिजो) नियन्त्रणमा लिएको हो।

आयोगको हेटौँडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले दिएको जानकारीअनुसार बिल भुक्तानीको रकम दिएवापत् सेवाग्राहीसँग घुस लिँदै गर्दा साहलाई पक्राउ गरिएको हो। उनलाई कलैया उपमहानगरपालिका–४ को कार्यालय जाने बाटोमा लेनदेनकै क्रममा पक्राउ गरिएको हो।

रोचक कुरा त के छ भने उनले विशेष अदालतबाट चारवटा भ्रष्टाचार मुद्दामा सफाइ पाएको ६ महिना पनि पूरा भएको छैन। न्यायाधीशले फैसलाको पूर्ण पाठ तयार गर्न पनि भ्याएका छैनन्। न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले गत वैशाख १७ गते एकै दिनको सुनुवाइमा चारवटै मुद्दामा साहलाई एकसाथ सफाइ दिएको थियो।

अख्तियारले उनीविरूद्ध विशेष अदालतमा २०८० जेठ ३ गते पहिलोपल्ट भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जसअनुसार, आर्थिक वर्ष ०७७/७८ मा सिम्रौनगढ नगरपालिका-९, बारास्थित बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरी ग्राभेल निर्माणसम्बन्धी योजनामा गर्दै नगरेको कामको बिलभरपाई बनाएर १० लाख ८ हजार ९ रूपैयाँ उपभोक्ता समितिसँग मिलेर खाएको पाइएको थियो। मधेस प्रदेश सरकारको अनुदान हिनामिनाबारे संसदीय अनुगमन समितिले यस अनियमिततालाई सतहमा ल्याएको थियो। 

त्यही वर्ष उनी संलग्न असार र साउन महिनामा अरू चारवटा भ्रष्टाचार मुद्दा अदालत थपिए। यी सबै मुद्दाको बिगो (अनियमितता भएको) रकम जोड्दा ५३ लाख रूपैयाँभन्दा बढी हुन्छ।

सिम्रौनगढ नगरपालिकाका–३ मा सामुदायिक भवन निर्माण, वडा नं ३ नयकाटोलमा बर्थिङ सेन्टर निर्माण लगायतका योजनामा उनले एउटै शैलीमा रकम हिनामिना गरेको संसदीय अनुगमन र अख्तियारको अनुसन्धानले देखाएको थियो। 

विशेष अदालतमा पहिलो मुद्दा दायर भएपछि २०८० जे७ ३ मा पदबाट निलम्बित भएका थिए। गत वैशाख १७ गते सबै मुद्दामा एकसाथ सफाइ पाएपछि उनको निलम्बन फुकुवा भयो।

निलम्बन फकुवा भएपछि गत साउन २५ गते कार्यालयमा हाजिर भएको नगरपालिकाका प्रमुख किशोरी साह कलवारले बताए। ‘यही स्थानीय तहमा भ्रष्टाचार गरेको हाकिम ल्याउने चाहना त हाम्रो पनि होइन,’ नगरप्रमुख कलवारले नेपालखबरसँग भने, ‘भ्रष्टाचारको आरोप खेपेर एक वर्ष निलम्बनमा परेको हाकिम ल्याउन हामीलाई पनि थोडी रहर थियो र! संघीय मामिला मन्त्रालयबाट परिपत्र आएपछि हामीले हाजिर गराउन रोक्ने कुरा भएन। निलम्बन फुकुवा भएको ६ महिनामै फेरि भ्रष्टाचारमै मुछिनुभयो।’

निमित्त प्रमुख प्रशासकीय अधिकृत साह आफ्नो नगरपालिकामा ल्याउन कुनै कसरत नगरेको र संघीय मामिला मन्त्रालयले पठाएकै कारण हाजिर गराएको उनको भनाइ छ।

घुस रकम लेनदेनका क्रममा रंगेहात समातिएका साहबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख उमाकान्त आचार्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad