ad ad

बागमती


काठमाडौँ उपत्यकामा अढाई महिनापछि हिउँदे वर्षा, अझै कति बेर पानी पर्छ?

काठमाडौँ उपत्यकामा अढाई महिनापछि हिउँदे वर्षा, अझै कति बेर पानी पर्छ?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
माघ १८, २०८० बिहिबार १८:४६, काठमाडौँ

आज (बिहीबार) साँझ काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यो खबर लेख्दै गर्दा पनि उपत्यकाका केही स्थानमा छिटपुट वर्षा जारी छ। 

‘उपत्यकामा साँझ ५ बजे पानी पर्न सुरु भएको थियो’, उनले भने, ‘अब केही बेर अझै जारी रहन्छ, तर त्यसपछि मौसम सुधार हुँदै जान्छ।’

उनका अनुसार काठमाडौँ उपत्यकामा छिटपुटदेखि हल्का मात्र वर्षा भएको हो। १० मिलिमिटरभन्दा कम वर्षा हुनुलाई हल्का वर्षा भनिन्छ। 

मौसमविद् झाका अनुसार काठमाडौँ उपत्यकामा अढाई महिनापछि छाता ओढ्नुपर्ने गरी हिउँदे वर्षा भएको हो। 

यसअघि जनवरी २५ तारिखका दिन पनि काठमाडौँ उपत्यकामा वर्षा त भएको थियो तर छिटपुट मात्र, रेकर्ड राख्न नमिल्नेगरी।

आज भने हल्का जमिन भिज्नेगरी नै हिउँदे वर्षा भएको हो। यसअघि उपत्यकामा यत्तिको वर्षा नोभेम्बर १२ तारिखमा मात्र भएको थियो। त्यसयता खासै वर्षा हुन सकेको थिएन।  

‘आज भने उपत्यकाका अधिकांश स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ’, मौसमविद् झाले भने कति वर्षा भयो भन्ने ठ्याक्कै तथ्यांकचाहिँ भोलि बिहान ८:४५ बजे आउँछ।’

तत्कालीन मापनमा चाहिँ गोदावरीमा १.५ मिलिमिटर तथा लेलेमा १.२ मिलिमिटर वर्षा भएको जानकारी उनले दिए।  

वर्षा भएसँगै काठमाडौँ उपत्यकामा तापक्रम पनि केही घटेको छ।

मौसमविद् झाका अनुसार दिउँसैदेखि मौसम बदली (आकाशमा बादल) भएकाले आज उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियसमा झरेको छ।

हिजो बुधबार उपत्यकाको अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो। 

पश्चिमी वायुसँगै पश्चिमबाट भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका पहाडी भेगसँगै काठमाडाैँ उपत्यकामा पनि वर्षा भएको हो। 

तर त्यो प्रणाली कमजोर हुँदै गएकाले अब क्रमशः मौसम सुधारतर्फ उन्मुख हुने सम्भावना देखिएको उनको भनाइ छ। 

तर काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने बढेको छ। आज उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियसमा उक्लिएको हो। हिजो बुधबार यहाँको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो।  

मौसम पूर्वानुमान महाशहाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बुधबार राति आकाशमा बादल लागेकाले उपत्यकाको न्यूनतम तापक्रम बढेको हो।

‘त्यसो त आजबाट फेब्रुअरी पनि लाग्यो, अब तापक्रम बिस्तारै उकालो लाग्ने बेला पनि हो’, उनले भने। 

विन्टर अर्थात् हिउँदको अवधि अब फेब्रुअरी एक महिना मात्र बाँकी रहेको मौसमविद् लामिछानेले जानकारी दिए। 

त्यसपछि प्रिमनसुन सिजन सुरु हुने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .