ad ad

बागमती


मकवानपुरबाट ४ जीपीए ल्याउने एक्ली छात्रा बनिन् रितिका, १६ विद्यालयको नतिजा शून्य

मकवानपुरबाट ४ जीपीए ल्याउने एक्ली छात्रा बनिन् रितिका, १६ विद्यालयको नतिजा शून्य

सुनिता विष्ट
असार १४, २०८१ शुक्रबार २१:६, हेटाैँडा

यसवर्षको एसईईको परीक्षाको नतिजा अघिल्ला वर्षहरू भन्दा निकै खस्कियो। परीक्षामा सहभागीमध्ये ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको परीक्षाफलमा ४७.८७ प्रतिशत अर्थात् दुई लाख २२ हजार ४७२ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन्। ५२.१३ प्रतिशत अर्थात २ लाख ४२ हजार ३१३ परीक्षार्थी फेल भए।

देशभरकै यस्तो परीक्षाफल आएको अवस्थामा मकवानपुरका केही विद्यालयको एसईई नतिजा शून्य भएको छ। १० वटा स्थानीय तह रहेको मकवानपुरमा सामुदायिक विद्यालयतर्फको नतिजा अझ खस्किएको पाइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको तथ्यांक अनुसार जम्मा ३६.४७ विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन्।

मकवानपुर जिल्लाबाट गत वर्षको एसइईमा सहभागी ५ हजार ७ सय ५२ जना विद्यार्थीमध्ये २ हजार ९८ जना मात्रै उत्तीर्ण भएका छन्। जिल्लाका ३ हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना हुन नपाउने अर्थात् ननग्रेडेड (एनजी) भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका इकाइ प्रमुख दीनानाथ गौतमका अनुसार जिल्लाबाट जीपीए ३.६ देखि ४ सम्म हासिल गर्ने २५८ जना, जीपीए ३.२ देखि ३.६ हासिल गर्ने ५९२ जना रहेका छन्।

यस्तै, जीपीए २.८ देखि ३.२ हासिल गर्ने ७६५ जना, जीपीए २.४ देखि २.८ हासिल गर्ने ४५१ जना र जीपीए २.० देखि २.४ हासिल गर्ने ३२ जना रहेका छन्।

मकवानपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ४ जीपीए ल्याउने एक्ली छात्रा बनेकी छिन् रितिका छत्कुली।

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार उनी जिल्लाबाट परीक्षामा सहभागी पाँच हजार सात सय ५२ जनामध्ये उत्कृष्ट हुन सफल भएकी हुन्। हेटौंडा उपमहानगरपालिका– २ मा रहेको बालजागृति इंग्लिस सेकेन्डरी स्कुलकी छात्रा रितिका एसईई परीक्षामा ४ जीपीए ल्याएसँगै मकवानपुर जिल्ला प्रथम भएकी हुन्।

त्यसोत, मकवानपुरको थाहा नगरपालिका बाहेक अन्य ९ वटा स्थानीय तहका १६ विद्यालयहरूको नतिजा शून्य आएको तथ्यांक छ। सामुदायिक र संस्थागत गरी १९ वटा माध्यामिक विद्यालय रहेको थाहाका कुनै पनि विद्यालयको एसईई नतिजा शून्य नरहेको नगरपालिकाका शिक्षा शाखा अधिकृत सूर्य बहादुर थिङले जानकारी दिए। उनका अनुसार सन्तोषजनक नतिजा नभए पनि कुनै विद्यालयको शून्य अवस्था भने छैन।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका ५ मा रहेको कालिदेवी माध्यामिक विद्यालयमा कुल ११ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा एकजना पनि उत्र्तीण भएनन्। ६ वटा माध्यामिक विद्यालय रहेको इन्द्रसरोवर गाउँपालिकामा ८४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा १४ जना मात्रै उत्तीर्ण भए।

यता, मकवानपुरकै मकवानपुरगढी गाउँपालिकाको दुईवटा विद्यालयको नतिजा शून्य छ। गाउँपालिकामा १० वटा माध्यामिक विद्यालय रहेकोमा २ वटा विद्यालयका नतिजा शून्य आएको हो।

३३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी रहेको वंशगोपाल माध्यामिक विद्यालय र २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका रानीसेरा माध्यामिक विद्यालयका एकजना विद्यार्थी पनि उत्तीर्ण भएनन्। यस गाउँपालिकाबाट कुल ३ सय जना विद्यार्थी एसईई परीक्षामा सहभागी रहेकोमा ४६ विद्यार्थी मात्रै उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम घलानले जानकारी दिए।

भीमफेदी गाउँपालिकामा ८ वटा माध्यामिक विद्यालय रहेकोमा २ वटा विद्यालयका एकजना पनि विद्यार्थी उर्तीण भएका छैनन्। उनीहरूको एसईई नतिजा निल आएको हो।

भीमफेदी ८ मा रहेको माध्यामिक विद्यालय कोगटे र लेकाली बेसीफाँट माविको नतिजा शून्य आएको छ। माध्यामिक विद्यालय कोगटेमा ८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी थिए भने लेकाली बेसीफाँट माविबाट २२ जना विद्यार्थी सहभागी थिए।

बाँकी अन्य विद्यालयहरूको नतिजा पनि सन्तोषजनक छैन। कुल २ सय १४ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा २१ जना मात्रै कक्षा ११ पढ्न पाउने भएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत चक्र साउदले बताए।

यता, ११ वटा माध्यामिक विद्यालय रहेको मनहरी गाउँपालिकामा ३ वटा विद्यालयको एसईई नतिजा शून्य आएको छ। ८ वटा सामुदायिक र ३ वटा प्राइभेट विद्यालय रहेकोमा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो।

पशुपति मावि, महेन्द्र ज्योति मावि र सीता माविबाट एकजना पनि विद्यार्थी पास भएनन्। गाउँपालिकाभरबाट कुल ४ सय ७३ विद्यार्थी एसईई परीक्षामा सहभागी रहेकोमा १ सय १३ जनामात्रै उत्तीर्ण भएको मनहरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत प्रदिप पराजुलीले जानकारी दिए।

यस्तै, राक्सिराङ गाउँपालिकामा पनि एउटा विद्यालयको एसइईको नतिजा शून्य आएको छ। राक्सिराङ ४ मा रहेको कालिका माध्यामिक विद्यालयको नतिजा शून्य आएको हो। उक्त विद्यालयबाट १० जना विद्यार्थी एसईई परीक्षामा सहभागी रहेका थिए।

कुल ५ वटा माध्यामिक विद्यालय रहेको यस गाउँपालिकामा २ सय ३४ जना विद्यार्थी परीक्षामा सहभागी रहेकोमा २३ जनाले मात्रै कक्षा ११ पढ्न पाउने भएका हुन्।

कुल ११ वटा माध्यामिक विद्यालय रहेको बकैया गाउँपालिकामा २ वटा विद्यालयका एकजना विद्यार्थी पनि उत्तीर्ण भएका छैनन्। कुल ४ सय ४ विद्यार्थीले एसइईको परीक्षा दिएकोमा ५२ जनामात्रै उत्तीर्ण भएका हुन्।

बकैया ८ स्थित जनजागृती माविबाट २६ जना विद्यार्थी र बकैया १० मा रहेको प्रसिद्ध माविबाट १३ विद्यार्थीले एसइई दिएकोमा एकजना पनि उत्तीर्ण भएका छैनन्। गाउँपालिकाका शिक्षा शाखा अधिकृत आइतराम तामाङका अनुसार यी मध्ये जनजागृती माविका कुनै विद्यार्थी पनि ग्रेडबृद्धिमा सहभागी हुन नपाउने भएका छन् भने प्रसिद्ध माविबाट ५ विद्यार्थी ग्रेडबृद्धिमा सहभागी हुन पाउने भएका छन्।

त्यसोत, बागमती गाउँपालिकाबाट ३ सय ३९ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा २७ जनाले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। ५ वटा माध्यमिक विद्यालय रहेको यस गाउँपालिकामा २ वटा विद्यालयका एकजना विद्यार्थी पनि कक्षा ११ मा भर्ना हुन योग्य भएनन्। बागमती माविबाट ६३ र बाघ भैरव माविबाट १० जना सहभागी परीक्षार्थी मध्ये एकजना पनि उत्तीर्ण नभएका हुन्।

कैलाश गाउँपालिकाको पनि २ वटा विद्यालयका एकजना परीक्षार्थी पनि पास भएका छैनन्। ६ वटा माध्यामिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भएका कुल १ सय ९९ विद्यार्थीमध्ये ११ जनामात्रै उत्तीर्ण भए।

कैलाश १० मा रहेको रत्नज्योति माविबाट २४ जना परीक्षार्थी र कमलादेवी माविबाट २६ परीक्षार्थी एसईई परीक्षामा सहभागी भएकोमा सबै विद्यार्थी अनुत्तीर्ण भए।

यता, हेटौंडा उपमहानगरपालिकामा रहेका ५४ सामुदायिक विद्यालयमध्ये एउटा विद्यालयको नतिजा शून्य रहेको छ। हेटौंडा १८ हटियामा रहेको त्रिभुवन माविका सबै परीक्षार्थी अनुत्तीर्ण भएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .