ad ad

बागमती


बीपी र मदनको नाममा काठमाडौँको बजेट : ३ घन्टासम्म बालेनलाई कुरेर फर्किए नगरसभा सदस्य

बीपी र मदनको नाममा काठमाडौँको बजेट : ३ घन्टासम्म बालेनलाई कुरेर फर्किए नगरसभा सदस्य

असार १० गते बजेट प्रस्तुत गर्ने क्रममा काठमाडौँ महानगरपालिका नगरसभा सदस्यहरू (इन्सेकमा मेयर बालेन, तस्बिर : सरोज बैजु)


नेपालखबर
असार १४, २०८१ शुक्रबार १२:४६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको शुक्रबार बिहानका लागि बोलाइएको नगरसभा बैठक बस्दै नबसी स्थगित भएको छ। आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो। 

तर, तयारी नपुगेका कारण बैठक बस्न नसकेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार, नीति तथा कार्यक्रमको प्रतिवेदनमाथि आवश्यका तयारी नसकिएकाले आजको बैठक बस्न नसकेको हो।

‘प्रतिवेदनमा केही काम बाँकी थिए, तयारी पूरा भएको छैन,’ उनले भने, ‘तयारी नपुगेकाले आजको बैठक बस्न नसकेको हो।’

तर, मेयर बालेन्द्र शाह (बालेन) ले भने नेकपा एमाले र नेपाली कांग्रेसका सदस्यहहरूले नगरसभा बैठक रोकेको आरोप लगाएका छन्।

एमाले–कांग्रेसका नगरसभा सदस्यहरूले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँ कार्यक्रम राख्न भनेकोमा आफूले भने चार सहिदहरूको नाममा गर्न आग्रह गरेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्। 

यद्यपि, बिहान ८ बजेका लागि बोलाइएको बैठकमा मेयर शाह आफैँ उपस्थित नभएका कारणले बैठक रोकिएको वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले नेपालखबरलाई बताए। 

मेयर शाहले बैठक ‘फेस’ नगरी बाहिर बाहिरबाटै स्टाटस लेखेर आफूहरूमाथि आरोप लगाएको उनले गुनसो गरे। 

‘सुरुमा त उहाँ बैठकमा आएर फेस गर्नुपर्यो नि,’ महर्जनले भने, ‘बिहान ८ बजे बैठक बोलाउनुभयो, अनि हामी ११ बजेसम्म कुर्दापनि उहाँ आउनुभएन, हामीलाई मात्रै आरोप लगाउने गरेर हुन्छ त?’

उनले नेपालको राजनीतिक इतिहासमा लामो त्याग गरेका नेताहरूको नाममा केही कार्यक्रमहरू हुनुपर्ने समेत बताए। 

‘मेयर साबले भनेको मात्रै सत्य हुँदैन नि,’ उनले भने, ‘यति लामो राजनीतिक इतिहास बोकेका नेताहरूको नाममा केही कार्यक्रम राखौँ भन्दा उहाँले नमान्नु दुःखद छ।’

मेयर शाहले आफूले भने स्वतन्त्र सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठको नामाम कार्यक्रम राख्नुपर्ने बताए। 

यसअघि असार १० गते बसेको १५ औँ नगरसभाको तेस्रो बैठकमा नीति तथा कार्यक्रम नै पारित नगरि बजेट प्रस्तुत गरिएको थियो। 

सोही बैठकमा केही नगरसभा सदस्यहरूले सुरुमा नीति तथा कार्यक्रम पारित गरेर मात्रै बजेट ल्याउनुपर्ने बताएका थिए। तर, मेयर शाहले नीति तथा कार्यक्रम र बजेट एकैदिन पारित गर्ने बताउँदै उपप्रमुख डंगोललाई बजेट पढ्न लगाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .