ad ad

कला


ऋषभ, सुनील र सुयाशामध्ये को बन्ला कमेडी च्याम्पियन?

ऋषभ, सुनील र सुयाशामध्ये को बन्ला कमेडी च्याम्पियन?

लक्ष्मी बलायर
असार १४, २०८१ शुक्रबार १७:८, काठमाडौँ

चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करणको अन्तिम प्रतिस्पर्धा शनिबार हुँदै छ।

काठमाडौँमा हुने ग्रान्ड फिनालेमा तीन प्रतिस्पर्धी भिड्दै छन्।

सुनसरीका ऋषभ काफ्ले, काठमाडौँका सुनील खड्का र नवलपुरकी सुयाशा खनाल फाइनलमा पुगेका हुन्। यी तीनमध्ये सर्वाधिक मत पाउनेलाई विजेता घोषित गरिनेछ।

ऋषभ काफ्ले यस सिजनको बलिया प्रतिस्पर्धीको रूपमा रहेका छन्। सुनसरी घर भएका उनी केही वर्षदेखि स्ट्यान्ड अप कमेडीमा सक्रिय छन्। कमेडी च्याम्पियनको फिजिकल अडिसनमा ऋषभले मलामीको विषयमा केन्द्रित प्रस्तुति दिएका थिए, जहाँ निर्णायकहरूले मन पराएका थिए। अझ प्रदीप भट्टराईले त उनलाई यो सिजनकै पछिसम्म पुग्ने प्रतिस्पर्धी भनेर घोषणा गरेका थिए।

त्यसपछिका प्रस्तुतिमा सुरुमा केही सुस्त भए पनि ऋषभले क्रमशः दमदार प्रस्तुति दिन थाले। र, निर्णायकसहित दर्शकहरूको पनि मन जित्दै गए। विशेषतः ऋषभले मौलिक कथावस्तुलाई हास्यव्यंग्यमा समेट्छन्। साथै उठान गरेको विषयको गहिराइमा पुग्नु र फरक तरिकाले प्रस्तुत गर्न सक्नु उनको विशेषता हो। मञ्चमा ऋषभलाई सबैभन्दा क्वालिटी कन्टेन्ट दिने प्रतिस्पर्धीको रूपमा लिइन्छ।

त्यसैगरी, काठमाडौँको दक्षिणकाली बस्ने सुनील पनि विजेताको दाबेदार प्रतिस्पर्धी हुन्। फिजिकल अडिसनमा उनले अविवाहित युवालाई दिइने बिहेको प्रेसरबारे केन्द्रित भएर कमेडी गरेका थिए। प्रस्तुतिपछि निर्णायकहरूले उनको आत्मविश्वास र प्रस्तुतीकरणको खुलेर प्रशंसा गरेका थिए। साथै उनलाई सम्भावना बोकेको कमेडियनको रूपमा हेरिएको थियो।

निर्णायकहरूको अनुमानजस्तै सुनीलले पनि आफ्नो कमेडीमा विविधता थप्दै गए। कहिले ट्राफिक प्रहरी त कहिले झाँक्री बनेर हँसाउन थाले। आफ्नो स्वाभाविक प्रस्तुतिले आमदर्शकको ध्यान तान्ने प्रतिस्पर्धीका रूपमा उनी चिनिन्छन्। लेखनमा पनि सुनीलको दख्खल छ।

नवलपरासीकी सुयाशा खनाल कमेडी च्याम्पियनको फिनालेसम्म पुग्ने अहिलेसम्मकै कान्छी प्रतिस्पर्धी हुन्। अडिसन राउन्डमा ‘फिल्म र परिवार’ नामक प्रस्तुतिमार्फत फिल्म क्षेत्रका विभिन्न विकृतिलाई व्यंग्य गर्दैँ उनी टप ३० मा छानिएकी थिइन्।

टप ३० मा स्कुले विद्यार्थीको प्रस्तुति दिएसँगै सुयाशा चर्चामा आइन्। उक्त प्रस्तुतिमा सुयाशाले स्कुले विद्यार्थीको समस्या, महँगो भर्ना शुल्कलगायतका विषयमा व्यंग्य गरेकी थिइन्। त्यसपछि सुयाशा प्रत्येक प्रस्तुतिमा दमदार देखिएकी छन्। १२ वर्षिया सुयाशाको दमदार प्रस्तुतीकरण र संवादका लागि तारिफ हुने गर्छ।

सानैदेखि हास्यव्यंग्यात्मक प्रस्तुतिमा रुचि राख्ने सुयाशाका बुवा सन्तोष खनाल पनि व्यंग्य कलाकार हुन्। बुवाको लय समात्दै आएकी सुयाशाको सामाजिक सञ्जालमा पनि राम्रो क्रेज छ। सुयाशाले आफूभन्दा पाका कमेडियनभन्दा दमदार प्रस्तुति दिँदै आएकी सुयाशा ‘जिरे खुर्सानी’ को रूपमा लिइन्छ। स्क्रिप्टअनुसार जस्ताको त्यस्तै प्रस्तुत गर्न सक्ने सुयाशाको क्षमता अद्भूत छ।  

‘कमेडी च्याम्पियन सिजन ३’ मा २ हजारले डिजिटल अडिसन दिएका थिए। जसमध्ये प्रि-जजिङ हुँदै १ सय ३२ जनालाई फिजिकल अडिसनको लागि छानिएको थियो। जसबाट टप ३०,१६ र १० हुँदै शोको फिनालेमा तीनजना प्रतिस्पर्धी पुगेका हुन्।

यस कार्यक्रमको निर्णायकका रूपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन्।

विशाल भण्डारीले निर्देशन गरेको शोको होस्ट रिमा विश्वकर्मा र मेक्सन गौडेल छन्। शनिबार हुने फिनाले ४ बजे सुरु हुनेछ। विजेताले २५ लाख नगदसहित विद्युतीय गाडी नेटा भी कार पाउने भनिएको छ। फस्ट र सेकेन्ड रनरअपले भने एक/एक वटा स्कुटर दिने आयोजकले बताएको छ।

यसअघि पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणि पौडेल विजेता बनिसकेका छन्। तेस्रो सिजनको उपाधि कसको हातमा पर्ला? त्यो भने भोलि साँझ नै थाहा हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .