ad ad

समाज


देशभर मनसुन सक्रिय, राति यी प्रदेशमा भारीदेखि धेरै भारीसम्म वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, राति यी प्रदेशमा भारीदेखि धेरै भारीसम्म वर्षाको सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार १४, २०८१ शुक्रबार १८:५७, काठमाडौँ

हाल (शुक्रबार बेलुका) देशभर मौसम कतै आंशिक बदली (पातलो बादल) त कतै साधारणतया बदली (आकाशमा बाक्लो बादल) छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि मौसम देशभर साधारणतयादेखि पूर्णतया बदली (आकाशभरि बादल) रहने छ। 

यस क्रममा राति बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ अर्थात् देशैभर मनसुन सक्रिय छ। 

महाशाखाले आगामी २४ घण्टा (शुक्रबार साँझ ६ बजेदेखि शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना  रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ। 

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई भने अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .