ad ad

बागमती


बागमतीको मुख्यमन्त्रीमा कांग्रेस र एकीकृत समाजवादीले राप्रपालाई अफर गरेको हो?

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस र एकीकृत समाजवादीले राप्रपालाई अफर गरेको हो?

सुनिता विष्ट
पुस २२, २०७९ शुक्रबार १६:३०, हेटाैँडा

बागमती प्रदेशमा यही पुस २५ गतेभित्र दुई वा त्यस भन्दा बढी दलहरुको सहमतिमा सरकार बनाउनका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्माले आह्वान गरेसँगै राजनीतिक दलहरूको दौडधुप बढेको छ। 

बागमतीमा कसको सरकार बन्छ भन्नेमा अहिलेसम्म अन्यौल नै छ। छोटो समयभित्रै मुख्यमन्त्रीको दाबी पेश गर्न पर्ने भएपछि मुख्यमन्त्रीका आकांक्षी राजनीतिक दलहरुलाई यतिबेला शिर्ष नेताहरुसँगको लबिङमा भ्याइनभ्याइ भइरहेको छ।

मुख्यमन्त्रीको सहमति निकाल्न यतिबेला गठबन्धनमा रहेका दलहरू केन्द्रको मुख ताकेर बसिरहेका छन्। 

सत्तारुढ दलभित्र मुख्यमन्त्री बन्न तीन दलका नेताहरु आ–आफ्नै अडानमा छन्। नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा आफ्नै नेतृत्वमा सरकार बनाउने अडान कायम राख्दा थप जटिलता भएको छ।

त्यसो त, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि सरकार बनाउन अंकगणित पुर्याउने खेलमा जुटेको चर्चा छ। राप्रपालाई यस प्रदेशमा मुख्यमन्त्री दिएर भएपनि प्रदेश सरकार बनाउने दाउमा कांग्रेस लगायत विपक्षी दलहरु छन्। 

११० प्रदेश सभा सदस्य रहेको बागमतीमा सरकार बनाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षमा रहेका नेपाली कांग्रेसको ३७ र नेकपा (एकीकृत समाजवादी)को ७ सिट गरी ४४ सिट हुन आउँछ। यदि कांग्रेस–समाजवादीले राप्रपाको साथ लिन सके १३ सिट जोडिँदा ५७ हुन्छ। जसअनुसार राप्रपालाई मुख्यमन्त्री दिएर अघि बढे सजिलै सरकार बनाउन सक्ने सम्भावना छ। 

यसै समीकरण अनुसार सरकार बनाउन कांग्रेस बागमती संसदीय दलको नेता बहादुर सिंह लामाले राप्रपालाई आग्रह गरिरहेको भन्ने चर्चा पनि सुरु भएको छ। राप्रपालाई मुख्यमन्त्री दिएर अन्य मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादीले दाबी गर्नेगरी गोप्य छलफल चलिरहेको चर्चा भैरहेको छ। 

यद्यपी कांग्रेसले भने यो विषयमा छलफल गर्नै बाँकी रहेको बताएको छ। मिलेसम्म सरकारका जाने रहर भएपनि छलफल नै नगरी इच्छा देखाएर मात्रै नहुने कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामा बताउँछन्।

‘सिटको अंकगणित मिलाउँदा राप्रपा, एकीकृत समाजवादी र कांग्रेस मिल्दा सरकार गठनका लागि सहज त हुन्छ, तर यसबारेमा व्यक्तिगत छलफल भएपनि संस्थागत छलफलका लागि तयारी भैरहेको छ’ कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामाले भने, ‘अहिले यो विषयमा कुनै पनि निर्णय भएको छैन। भर्खरै छलफलमा जुटेका छौं।’ 

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीका दावेदार हुन्। केन्द्रमा एमाले–माओवादीसँग गठबन्धनमा रहेको राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरिरहेको छ। जता मिलेर सरकार बनाए पनि निर्णायक भूमिकामा रहेकै कारण राप्रपाले मुख्यमन्त्रीको बार्गेनिङ बढाइरहेको छ। 

एमाले–माओवादीले राप्रपालाई मुख्यमन्त्री नदिए कांग्रेस– एकीकृत समाजवादीसँग मिलेर भएपनि सरकारमा राप्रपा जाला? भन्ने प्रश्न सबैको चासोको बिषय बनिरहेको छ। 

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस र एकीकृत समाजवादीले राप्रपालाई अफर गरेको हो? भन्ने नेपालखबरको प्रश्नमा राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले आफूहरुलाई यो प्रस्ताव आएको स्वीकार गरेका छन्। 

‘तपाइँ हामीसँग मिलेर मुख्यमन्त्री बन्नुस्, कांग्रेस र एकीकृत समाजवादीले समर्थन गर्छ भन्ने प्रस्ताव आएकै हो।’ 

तर केन्द्रले प्रदेशमा आफूखुसी निर्णय गर्ने अधिकार नदिएको कारण निर्णय गर्न नसकेको उनले बताए।

‘हामी जसरी पनि सरकारमा जान पर्छ भन्ने पक्षमा होइनौं। तर सकेसम्म बागमतीको मुख्यमन्त्री पाउनुपर्छ भन्ने लाइनमा पनि छौं’ उनले भने, ‘तर यतिबेला कोसँग मिल्ने भन्ने विषयमा भने केन्द्रको निर्णय कुरिरहेका छौं। केन्द्रले प्रदेश कमिटीलाई नै यो अधिकार दिएको खण्डमा भने हामी सोचेर निर्णय गर्ने थियौं।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .