काठमाडौं उपत्यकामा ट्राफिक बत्ती जडान भएको आधा स्थानमा मात्रै बल्ने गरेका छन्। उपत्यकाको २९ स्थानमा बत्ती जडान भएको भए पनि १६ स्थानमा मात्रै बलेको हो।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार मुख्य चोकमा बत्ती सञ्चालनमा आएको छ। ट्राफिक प्रहरी प्रवक्ता जीवन कुमार श्रेष्ठले सडक विभागको समन्वयमा १६ स्थानमा ट्राफिक बत्ती बालिएको बताए।
‘पूर्वाधार बनाउने जिम्मा सडक विभागको हो। जहाँ बनेका हामीले समन्वय गरेर सञ्चालन गर्दै छौं’, श्रेष्ठले भने, ‘केही ठाउँमा बत्ती जडान भए पनि टेक्निकल समस्याले चलेका छैनन्।’
काठमाडौंका मुख्य चोकहरु पुतली सडक, पद्मोदय मोड, सिंहदरबार, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, मुनिभैरव, महापाल चोक, नारायणगोपाल चोक, कालीमाटी, ठिमीमा बत्ती सञ्चालनमा रहेका छन् । करिब २० वर्षअघि जाइकाले बनाइदिएका ट्राफिक बत्ती पुनः प्रयोगमा ल्याइएको हो।
केशरमहल, नरायणहिटी दक्षिण गेटमा २०६७ देखि सञ्चालनमा आउनसकेका छैनन्। २०६७ देखि नै बन्द रहेका माइतीघर, कोटेश्वर, थापाथली, पुलचोक, जडीबुटी चोकमा हाल मर्मत भइरहेको छ तर अझै विभागले सञ्चालनमा ल्याउनसकेको छैन। २०६९ मा ट्रफिक बत्ती जडान गरेका सूर्यविनायक, कौशलटार गठ्ठाघर, सल्लाघारीमा १ वर्षभित्रै बिग्रिएर बसेका छन् ।
भौतिक पूर्वधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको अनुसार सानो मर्मतसम्भारमा पनि सञ्चालन गर्न सकिने ट्राफिकबत्ती सञ्चालन हुनसकेका छैनन्।
‘अहिले सानो खर्चमा हुनेलाई व्यवस्थापन गरी सञ्चालन गरिरहेका छौं। दीर्घकालीनको लागि विकल्प खोज्नैपर्छ,’ उनले भने। मन्त्रालयले २० वर्ष पुराना सबै ट्राफिक बत्ती विस्थापित गरी नयाँ ‘सेन्सर ट्राफिक लाइट’ जडान गर्ने योजना बनाएको छ।
मर्मत गरेर सञ्चालनमा ल्याइएका बत्ती दीर्घकालीन नुहने भन्दै सडक विभागले स्मार्ट ट्राफिक लाइटको डीपीआर तयार गरेको मन्त्री नेम्वाङले जानकारी दिए।

प्रतिक्रिया